अन्नपूर्ण दिनभर : 'अर्थमन्त्रीमाथिको छानविन प्रभावित, एमालेमा उम्मेदवार छनोटको मापदण्ड प्रस्ताव'
सशस्त्र द्वन्द्वको २ दशकपछि संक्रमणकालीन न्यायमा सरकारको चाँसो बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्ने विधेयक संसदमा प्रस्तुत पिडीत भन्छन् णणण सरकारले ब्ल्याकमेल ग¥यो ।
आगामी निर्वाचनका लागि एमालेमा उम्मेदवार छनोटको मापदण्ड प्रस्ताव वाम गठबन्धन नहुने निष्कर्ष नवप्रवेशीलाई जिम्मेवारी दिन विशेष सर्कुलर ।
साईकल खरिद प्रकरणमा तानिएपछि मधेष प्रदेशका मुख्यमन्त्रीमाथि राजीनामाको दावाव अर्थमन्त्रीले अनधिकृत बजेट पठाएको बारेमा असहयोग हुँदा संसदीय छानविन नै प्रभावित ।
सर्वोच्च अदालतद्वारा कर्मचारी समायोजनसम्वन्धिका केहि मुद्दा खारेज लोकसोवा आयोगलाई नयाँ कर्मचारी भर्नाको बाटो खुल्यो ।
इरानी सैन्य सल्लाहकार अलीजानीको युद्धग्रस्त देश सिरियामा मृत्यु अफ्रिकी मुलुक कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित फेला ।
अन्नपूर्ण खबर
अन्यायका दुई दशकमा संक्रमणकालीन न्यायको छलफल
२०५२ फागुन १ देखि २०६३ मंसिर ५ सम्म चलेको सशस्त्र द्वन्द्वको २ दशकपछि सरकारले संक्रमणकालीन न्यायको छलफल शुरु गरेको छ । यहि बर्षको मंसिर ५ गते शान्ति सम्झौताको १६ बर्ष पुरा हुँदैछ तर द्धन्द्धमा मृत्यु भएका तथा वेपत्ता पारिएकाहरुको खोजी अँझै पनि भएको छैन ।
तत्कालीन अवस्थामा भएका घटनाहरूको छानबिन गर्न औपचारिक रुपमा आयोगहरु समेत गठन भएका छन् तर तीनले पनि अपेक्षित रुपमा काम गर्न सकिरहेका छैनन । सत्य निरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता पारिएकाहरुको छानविन आयोग गठन भएको ८ बर्ष वित्दा समेत ठोस उपलब्धिबिनै म्याद थप्ने काम मात्रै भएको छ ।
यहि बिचमा सरकारले एक विधेयकमार्फत ती समस्याहरु समाधन खोज्न प्रकृया अघि बढाएको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गर्नुभएको छ ।
२०७९ असार ३१ गते दर्ता भएको यो विधेयक आज संसदमा टेबुल भएको हो । विरोधको सूचनामाथि गरिएका प्रश्नहरुको जवाफ दिँदै कानुनमन्त्री बन्दीले सातै प्रदेश र सरोकारवालहरुसँग छलफल परामर्श गरेर विधेयक ल्याइएको बताउनु भयो । उहाँले संक्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन विधेयक आएको बताउनु भयो ।
सामान्य समयमा, युद्ध नभएको बेलामा, सामान्य अपराधको समय र मुलुकमा भएको युद्धका समयमा भएका मानव अधिकार उल्लंघनको घटनालाई एकै रुपमा लिन नसकिने उहाँले बताउनु भएको छ । सरकारले द्धन्द्धपिडीतका समस्याको समाधान थालेपनि कतिपयले भने चुनाव केन्द्रित भनेर पनि आलोचना गरेका छन् भने विधेयकमा पिडीतलाई भन्दा पनि पिडकलाई न्याय दिने खालका प्रावधाहरु राखिएको बताएका छन् ।
विशेषगरि द्वन्द्व कालीन अवस्थामा गिरफ्तार गरेपछि बलात्कार गर्ने, हत्या गर्ने, हतियारको प्रयोग गर्ने कुरामा कसैलाई पनि छुट दिन नहुने भन्दै सचेत गराउँदै आएका छन् । द्वन्द्वरत दुवै पक्षले मानवअधिकारको गम्भीर उलंघन गरेका कुराहरु र विशेष अदालत बनाएर ६ महिनाभित्र महान्याधिवक्ताले सक्ने जस्ता कुराले पीडितहरूलाइ थप पीडा दिने देखिएको पिडीतहरुको भनाइ छ ।
रेडियो अन्नपूर्ण नेपालको यन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै द्धन्द्धपिडीत राष्ट्रिय सञ्जालका अध्यक्ष गोपाल शाहले भने सरकारले भावनात्मक ब्ल्याकमेलिङ गरि पिडीतलाई उन्मुक्ति दिनेगरि विधेयक ल्याएको बताउनुभएको छ ।
आफुहरु कुनैपनि राजनीतिक दलका नेतालाई नभइ अनुसन्धनले देखाएका तथ्यहरुमा केन्द्रित रहेर दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको उहाँको भनाइ छ । शाहले सर्वोच्च्को फैसला, अन्र्तराष्ट्रिय कानून, संक्रमणकालीन न्यायका सिद्धान्त, अन्तरिक संविधान र विद्यमान फौजदायी न्याय प्रणालीमा टेकेर ऐन बनाए आफुहरुले मान्ने अन्यथा राजनीतिक रंग दिन खोजिए मान्य नहुने समेत बताउनुभएको छ ।
संसद एकसाताका लागि स्थगित
नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । भदौ १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो ।
एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । यसैगरी भदौ ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।
आगामी निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड प्रस्ताव
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आसन्न निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड प्रस्ताव गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बसेको एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेद्वार छनोटको मापदण्ड प्रस्ताव गरेको र प्रस्तावमाथि सवैको सुझाव लिएर केन्द्रीय कमिटी बैठकमा पेस गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै एमालेले एकल बहुमतको सरकार बनाउने घोषणासहित पार्टीले चुनावी अभियान सञ्चालन गर्ने जनाएको छ । एमालेको चुनावी अभियानको रणनीति, गठबन्धन सरकारले गरेको गलत काम, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई अध्यक्ष केपी ओलीले भदौ १० गतेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने गुरुङले बताउनुभयो ।
बैठकमा राजनीतिक प्रतिवेदनका बारेमा अध्यक्ष ओलीले सुझाव लिनभएको थियो । उहाँले गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर एमाले नबसेको भन्दै एमालेसँग गठबन्धन गर्न चाहनेलाई ढोका खुल्लै रहेको जिकिर पनि गर्नुभयो । यद्यपी वाम गठबन्धनको सम्भावना नरहेको पार्टीको निश्कर्ष छ । अब कुनै पनि गठबन्धनको नाममा पार्टीभित्र फरक–फरक धारणा आउन नहुने कुरा बैठकमा नेताहरुले उठाएका छन् ।
स्थायी कमिटीको बैठकमा घनश्याम भुसाल लगायत केही नेताले वाम गठबन्धनको पहल गर्नुपर्ने बताएपनि आफूलाई वामपन्थी भन्नेहरु कांग्रेस छाडेर फर्किने अवस्थामा नरहेकाले त्यसमा अलमलिन नहुने निष्कर्ष बैठकले निकालेको छ । त्यस्तै बैठकमा स्थानीय तह विकास विभागको निर्देशिका र नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि अनुमोदनका बारेमा जानकारी गराइएको छ भने पार्टीको वार्षिक बजेट पारित गरिएको गुरुङले बताउनुभएको छ ।
बैठकले विभिन्न पार्टी र समूहबाट प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापनका लागि विशेष शर्कुलर जारी गरेको छ । त्यसको कार्यविधी नै बनाएर देशभर पार्टी प्रवेश गरेकाहरुको विवरण दुरुस्त राख्न सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएको छ । नवप्रवेशीहरुलाई केन्द्रको अनुमतिमा जिल्ला वा मातहत कमिटीमा मनोयन गर्न र समस्या भएमा माथिल्लो कमिटीसँग समन्वय गर्न भनिएको छ । एमालेको पोलिट्व्युरो बैठक भदौ ९ गते र केन्द्रीय कमिटी बैठक १० र ११ गते बस्ने एमालेले जनाएको छ ।
गठबन्धनको सिट बाँडफाँट दुई दिनभित्र टुंगो लगाइने
सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि मापदण्डमै सहमति नभएपछि आजकोे बैठक पनि निष्कर्षविहीन भएको छ । भोली पुनः छलफल गरेर भदौ ९ गतेसम्म टुंगो लगाइने कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कार्यदलका संयोजक कृष्ण सिटौला उपस्थित हुन नसकेका कारण बैठक भोलीका लागि सारिएको उहाँले बताउनुभयो । पुरीका अनुसार भोली साँझ ५ बजे बस्ने बैठकले निष्कर्ष निकाल्ने र ढिलोमा ९ गते विहीवारभित्र टुंगो लाग्ने दाबी गर्नुभयो । हिजो साँझ बसेको बैठकले सिट बाँडफाँडको विषय टुंगो लगाउन नसकेपछि आज पुनः बैठक बसेको हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गर्ने विषयमा छलफल गर्न गठन गरिएको कार्यदलस्तरमा सहमति हुन नसकेपछि शिर्ष तहबाटै पहल भइरहेको छ । निर्वाचनमा तालमेल गर्ने सहमति भएपनि गठबन्धनमा सिट बाँडफाँटको विषयमा भने सहमति जुट्न सकेको छैन ।
दलहरुको आ आफ्नै अडानका कारण गठबन्धनमा सिट बाँडफाँटबारे टुंगो लगाउन सकस भएको छ । गठबन्धनमा २०७४ मा भएको निर्वाचनमा जितेका आ आफ्ना सिटमा लड्ने तथा अन्य दलले जितेका मध्ये कांग्रेस ६० र अन्यले ४० प्रतिशत पाउने मापदण्ड बनाउने नयाँ प्रस्तावका विषयमा पनि छलफल भइरहेको जनाइएको छ ।
कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटायो
नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित अभियानकालागि ७७ वटै जिल्ला केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो । प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको हो ।
उहाँका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ । कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ ।
केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ । प्रवक्ता महतले सम्बन्धित जिल्लामा रहेका सबै निर्वाचन क्षेत्रमा पुगेर त्यहाँ पार्टीको संगठन र वस्तुस्थितिको यथार्थ बुझेर आउन केन्द्रीय प्रतिनिधिहरू परिचालित गरिएको बताउनुभयो । त्यस्तै, सम्बन्धित जिल्लामा गठबन्धन दलहरूबीच समन्वय र सहकार्यको स्थिति कस्तो छ भन्ने मूल्यांकन गरी थप सहजीकरण गर्न समेत निर्देशन गरेको छ ।
मधेशका मुख्यमन्त्री राउतलाई राजीनामा दिन दबाब
‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत साइकल खरीद प्रक्रियाका कारण विवादमा तानिएका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन दबाब बढेको छ । जनता समाजवादी पार्टी (जसपा) राजनीतिक समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका राउतलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले राजीनामा माग्नुभएो थियो ।
तर पार्टीका यादवले भने आफुले राजीनामा दिन दवाव नदिएको भन्दै बोली फेर्नुभएको छ । हिजोको बैठकमा संघीय परिषद अध्यक्ष अशोक राई सहित नेताहरूको उपस्थितिमा राउतलाई पार्टी अध्यक्ष यादवले राजीनामा माग गरेका थिए ।
अध्यक्षले राजीनामा माग गरे पनि मुख्यमन्त्री राउतले आरोप निराधार भएको बताएको बैठकमा सहभागी एक नेताले बताएका छन् । मुख्यमन्त्री राउतले अहिले प्रदेश सभाका सांसदहरूलाई टेलिफोन गरि अध्यक्ष यादवमाथि दवाव बढाउन लागिपर्नुभएको बुझिएको छ ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार‚ राउत भोलि बिहान जनकपुर फर्किने कार्यक्रम छ ।
‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत साइकल खरीद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयका केही कर्मचारीहरूमाथि विशेष अदालतमा मुद्दा दर्ता गराएको छ ।
पहिलो चरणमा भएको १४ हजार साइकल खरीदको कागजात पठाउन अख्तियारले मुख्यमन्त्री कार्यालयलाई गत साउन २० गते पत्र पठाएको थियो। खरीद प्रक्रियादेखि भुक्तानीसम्मको कागजात १० दिनभित्र पठाउन निर्देशन थियो। तर‚ कागजात फेला परेको छैन ।
अर्थमन्त्रीमाथिको छानविन प्रभावित
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह लगायत मन्त्रालयका कर्मचारीहरुले असहयोग गरेपछि मनत्रीले आफ्नो निर्वाचन क्षेत्रमा अनधिकृत रुपमा बजेट पठाएको बारेमा संसदीय छानविन समितिको छानविन प्रभावित बनेको छ । संसदीय विशेष समितिले सम्बन्धित मन्त्रालयलाई आवश्यक कागजात उपलब्ध गराउन पटकपटक ताकेता गर्दा पनि उपलब्ध गराएको छैन ।
संसदीय विशेष समितिका सदस्य एवं प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सचेतक परमेश्वर साहले पटकपटक बैठक बसेर योजनासँग सम्बन्धित फाइल माग गर्दा पनि मन्त्रालयले नदिएको जानकारी दिनुभयो ।
उहाँले समितिलाई छानबिन गर्न १५ दिनको समय दिइए पनि समिति गठन भएको महिना दिन बित्दासमेत मन्त्री र मन्त्रालयको असहयोगका कारण छानबिन पूरा हुन नसकेको बताउनुभयो । अर्थमन्त्री शैलेन्द्रप्रसाद साहको निर्वाचन क्षेत्रमा विकास निर्माणको कार्यमा अनियमितता भएको भन्दै प्रदेशसभामा विरोध भएपछि यसबारे छानबिन गर्न असार २० गते संसदीय विशेष समिति गठन गरिएको थियो ।
उपसभामुख उपमा देवको संयोजकत्वमा गठन गरिएको सो समितिमा विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह सदस्य हुनुहुन्छ ।
लोक सेवा आयोगलाई नयाँ कर्मचारी भर्नाको बाटो खुल्यो
सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी कतिपय मुद्दा खारेज गरिदिएपछि लोक सेवा आयोगलाई नयाँ कर्मचारी भर्नाको बाटो खुलेको छ । यसअघि नै सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिए पनि आज फैसला सुनाइएको हो । यसअघि साउन १७ गते नै फैसला सुनाउने भनिएको थियो ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वम्भरप्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान सम्मिलित संवैधानिक इजलासले सो मुद्दामा सुनुवाइ गरेको हो । सर्वोच्चले अन्तिम फैसला नसुनाउँदा लोकसेवा आयोगले निजामती सेवाका एक हजार बढी पदमा तीन वर्षदेखि पदपूर्ति गर्न सकेको थिएन ।
अदालतले एउटै प्रकृतिको मुद्दामा फरक–फरक आदेश दिएका कारण समायोजन प्रक्रिया, कर्मचारी पदपूर्ति र खटनपटनमा बेथिति मौलाउँदै गएको थियो । प्रशासनिक संघीयता कार्यान्वयनको क्रममा २०७६ सालमा गरिएको समायोजन प्रक्रियासमेत पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।
सर्वोच्चको अन्तिम फैसला नआउँदा कर्मचारी पदपूर्ति प्रक्रिया तीन वर्षदेखि प्रभावित बनेको थियो । यसले गर्दा नायब सुब्बा, खरिदार र अधिकृत तहका प्राविधिक तथा प्रशासनिकसमेत झन्डै एक हजार कर्मचारीको पदपूर्ति रोकिएको छ ।
दुई मन्त्रालयमा ५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत
सरकारले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले सहरी विकास मन्त्रालयमा ३८० र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा २०४ गरी ५८४ जना अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
आज मन्त्रिपरिषदको निर्णय सुनाउँदै कार्कीले दुबै मन्त्रालयमा आर्थिक वर्ष ०७९ / ८० का आयोजना सञ्चालन गर्न राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी थप गर्ने निर्णय भएको बताउनुभयो । त्यस्तै सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको छ । सरकारले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गरी त्यसबारे आवश्यक अध्ययन गरी सिफारिस गर्न आयोग गठन गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान नपाउने गरी यसअघि गरेको निर्णय खारेज गरेको छ । यसअघि २०७८ वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने निर्णय गरेको थियो ।
त्यस्तै, बैठकले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । बैठकले फौजदारी कसुर दोस्रो संशोधन नियमावली २०७८, विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश २०७९ स्वीकृत गरेको छ ।
सप्तरीमा प्रहरी र स्थानीयबीच झडप, ३ राउन्ड हवाइ फायर
सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार अपरान्ह स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले ३ राउन्ड गोली चलाएको छ । तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार कुनै अप्रिय घटना हुन नदिन प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको हो । घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पु¥याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियो । झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएका प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।
आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्हका साथ लड्छाैँ : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्हका साथ लड्ने प्रष्ट्याउनुभएको छ । आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएको बताउनुभएको हो । पाँचदलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्नै बताउदै नेपालले माओवादी केन्द्रसँग चुनावपछि एकता अघि बढ्ने बताउनुभएको हो ।
हिजो मात्र प्रचण्ड–माधव बसेर दुई दलबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने समझदारी बनेको छ । त्यस्तै पार्टी एकताका लागि राजनीतिक, वैचारिक काम गर्न पार्टी एकता संयोजन समिति गठन गर्ने सहमति पनि भएको छ ।
टिपरमा आगजनी गर्ने चालक र सहचालक पक्राउ
नेपाल बन्दको बहानामा टिपरमा आगजनी गरेको शंकामा प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । आज बिहान साढे चार बजे टिपरमा आगजनी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने चालक राप्ती गाउँपालिका सिसहनियाका अर्जुन चौधरी र सहचालक कृष्ण रहेका छन् ।
घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ख १६९४ नम्बरको टिपरमा बिहान ४ साढे बबई खोलाको पुल नजिक आगजनी गरिएको थियो । नेकपाले बन्द कार्यक्रम बिहान ५ बजे पछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफूहरूको संलग्नता नभएको जानकारी गराएपछि चालक र सहचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी दाङले तुलसीपुर र घोराहीबाट पक्राउ परेका पत्रकारसहित ८ जनालाई तत्काल रिहाइको माग गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्द शान्तिपूर्ण गर्ने र शान्तिपूर्ण तरिकाले नेता कार्यकर्ताहरू सडक, सहरमा उपस्थित भइरहेको सन्दर्भमा राज्य पक्षबाट अनावश्यक आतङ्कित पार्ने, भए र त्रास सिर्जना गर्ने जस्ता हर्कत गरेको भन्दै विरोध जनाएको छ । नेकपा मंगलबार नेपाल बन्द कार्यक्रम बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म रहेको जनाएको छ ।
साथै, बन्दमा आगजनी तथा तोडफोडका कुनै कार्यक्रम नभएको स्पष्ट पारेको छ । उनीहरूले टिपर आगजनी आफ्नो पार्टी संलग्नता नरहेको विज्ञप्तिमा उल्लेख गरेको छ । नेपाल कम्युनिस्ट पार्टी र राज्य पक्ष बिच भएको ३ बुँदे सहमति कार्यान्वयन, चर्को मूल्य वृद्धि, एमसिसी र एसपिपीविरुद्धमा चरणबद्ध सङ्घर्षका कार्यक्रम सहित बन्द गरेको हो ।
विमानस्थलबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ
प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७७७ ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक पश्चिम विहारका ३४ वर्षीय विकास महाजन रहेका छन् । सारजाह एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीलाई त्रिभुवन विमानस्थल विशेष सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट दिउँसो पक्राउ गरेको हो ।
प्रहरीले विकासको साथबाट ७७७ ग्राम तौल बराबरको १ थान सुन र ५ सय दरका भारतीय १९ हजार ५०० रुपैंयाँ बरामद गरेको छ । पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौरचणमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
थप ६३४ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षण गर्दा ६३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
आर्थिक खबर
राष्ट्र बैंकको अडिटमा प्रश्न उठाउँदै आईएमएफले रोक्यो नेपाललाई दिने ऋण
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालसँग प्रतिबद्धता गरेको ऋणको दोस्रो किस्ता रोकेको छ । विदेशी विनिमय भित्र्याउने नेपाल राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रिय अडिट फर्मबाट गराउनुपर्ने उसको माग छ । तर, राष्ट्र बैंकको अडिट सरकारी लेखा परीक्षण गर्ने संस्था महालेखा परीक्षकको कार्यालयले गर्दै आएको छ । ऋण रोकिएपछि सरकारले नेपाल राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रियस्तरको अडिट फर्मबाट गराउन प्रक्रियासमेत सुरू गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
महालेखाले एक पटकका लागि अडिट गराउन अन्तर्राष्ट्रिय स्तरको लेखापरीक्षक नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । आईएमएफले पहिलो किस्ता (७८.५ मिलियिन एसडिआर) सन २०२१ डिसेम्बर २२ मा दिएको थियो ।
दोस्रो किस्ता ३९.२ मिलियन एसडीआर आउन भने ढिला भएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले बताउनुभयो । आईएमएफले एक्टेण्डेड क्रेडिट फ्यासिलिटी (ईसीएफ) अन्तर्गत रकम दिने प्रतिबद्धता जनाएको थियो ।
यो रकम सरकारले आफ्नो आवश्यकताका आधारमा खर्च गर्न सक्नेछ । आईएमएफले ३८ महिनामा नेपाल सरकारलाई ३९८.८ मिलियन डलर बराबरको रकम दिने गरी सम्झौता गरेको थियो । सात किस्तामा यो रकम नेपालले पाउनेछ ।
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्बमै सीमित
साताको कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेर हरियो देखिएको छ । आज नेप्से १.८५ अंकले बढेर २०५४.९८ बिन्दुमा पुगेर बजार बन्द भएको हो । बजार बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.५८ अंकले बढेर ३९७.६९ बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २२२ वटा कम्पनीमध्ये ७१ वटा कम्पनीका लगानिकर्ताले कमाएका छन् भने १०४ वटा कम्पनीका लगानिकर्ताले गुमाएका छन् । यस्तै, आज २७ हजार पटकको शेयर कारोबारमा १ अर्ब ३३ करोड ३५ लाख ६० हजार रुपैयाँ बराबरको ४० लाख ३१ हजार कित्ता शेयर कारोबार भएको छ । यसदिन सर्वाधिक कमाउनेमा रुरु जलविद्युत् परियोजना, मन्दकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावर रहेका छन् ।
रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ९०९ रुपैयाँ कायम भएको छ भने मन्दकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । यस्तै, आज सिद्धार्थ इक्वटी फण्डको शेयर मूल्य सर्वाधिक ६ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।
विदेशका खबर
इरानी सैन्य सल्लाहकार सिरियामा मारिए
सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरका एक वरिष्ठ सदस्यको मृत्यु भएको सरकारी स्वामित्वको प्रेस टिभीले आज जनाएको छ । युद्धग्रस्त देशमा सैन्य सल्लाहकारको रूपमा काम गरेका अबोलफजल अलीजानीको हिँजो बिहान मृत्यु भएको बताइएको छ ।
अलिजानीको शव केही दिनमा इरानमा पुर्याइने छ । घटना बारे थप विवरण भने सार्वजनिक गरिएको छैन । इरानले सन् २०११ देखि सिरियाली सरकारको अनुरोधमा सिरियामा आफ्ना सैन्य सल्लाहकारहरूको उपस्थिति रहेको पुष्टि गरेको छ ।
कङ्गोमा इबोलाका नयाँ सङ्क्रमित भेटिए
अफ्रिकी देश कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ एकजनामा हिँजो इबोला भाइरसको सङ्क्रमण भेटिएको हो । कङ्गोको स्वास्थ्य मन्त्रालयले कङ्गोको उत्तरी प्रान्त किभुमा एकजनामा इबोला भाइरसको सङ्क्रमण देखिएको एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
यहाँ यसअघि पनि गत जुलाईमा ४६ वर्षका एकजना पुरुषमा इबोला भाइरसको सङ्क्रमण देखिएको थियो ।
इबोलाकै कारण उनको यही अगष्ट १७ मा निधन भएको सो मन्त्रालयले जनाएको थियो ।
यसअघि पनि सन् २०१८ र सन् २०१९ मा अफ्रिकी मुलुक कङ्गोका दुई उत्तरी प्रान्त किभु र इतुरीमा इबोला भाइरसको ठूलो सङ्क्रमण भेटिएको थियो । सो सङ्क्रमणमा परी यहाँका तीन हजार आठ सयभन्दा बढी व्यक्ति प्रभावित भएका थिए । सो दुई वर्षको अवधिमा मात्र यहाँका दुई हजार दुई सयभन्दा बढीको निधन पनि भएको थियो । त्यससमय अफ्रिकाका अरु देशमा पनि इबोलाको सङ्क्रमण पाइएको थियो । त्यसमा परेर हजारौँ व्यक्तिले ज्यान गुमाएका थिए ।
खेल खबर
नेपालको वरीयता यथावत
एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा नेपाल यथावत रहेको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालले आफ्नो स्थान यथावत राखेको छ ।नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको छ।एकदिवसीय अन्तराष्ट्रिय वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत रहेको छ ।२० राष्ट्र सहभागी वरीयतामा नेपाल १९ औं स्थानमा रहेका छ । २० औं स्थानमा पपुवा न्युगिनी रहेको छ ।
नवौँ राष्ट्रिय खेलकुद
गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले भदौ ९ देखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ । जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी सो प्रतियोगिताका लागि खेलाडी छनोट गरिने समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्बाट तोकिएका ३६ खेलमध्ये १४ खेलको विशेष प्रशिक्षण र २२ खेलको प्रतियोगिता नै सञ्चालन गरी खेलाडी छनोट गरिनेछ ।
खेलाडी छनौट अन्र्तगत उसुको घिरिङमा, बक्सिङको खैरेनीटारमा र क्रिकेटको निर्मल माविमा खेल हुनेछ । त्यस्तै भदौ १० गते दमौलीमा फुटबल, भलिबल, ब्याडमिन्टन, एथ्लेटिक्स, कबड्डीको र तेक्वान्दोको खैरेनीटारमा खेल सञ्चालन गरिनेछ ।
भदौ ११ गते दमौलीमा भलिबल, बास्केटबल, टेवलटेनिस, बुद्धिचाल र कराँतेको छनोट हुनेछ भने आइटिएम तेक्वान्दोको भिमाद र फुल कन्ट्याक्ट करातेको शुक्लागण्डकीमा खेल सञ्चालन हुने कार्यतालिका सार्वजानिक गरिएको छ ।