अन्नपूर्ण टप टेन : महानगरपालिकाको कार्यालयमा फुटपाथ व्यापारीको नाराबाजी, संसद एक साताका लागि स्थगित
संक्रमणकालीन विधेयक पेश
प्रतिनिधिसभाको आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश भएको छ । २०७९ असार ३१ गते दर्ता भएको यो विधेयक आज कानुनमन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले सो विधेयक टेबुल गर्नुभएको हो । विधेयकविरुद्ध परेको विरोधको सूचना अस्वीकृत भएपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द बन्दीले विधेयक पेश गर्नुभएको हो ।
संसद एकसाताका लागि स्थगित
नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । भदौ १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो । एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । यसैगरी भदौ ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।
दुई मन्त्रालयमा ५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत
सरकारले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले सहरी विकास मन्त्रालयमा ३८० वटा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा २०४ वटा गरी ५८४ जना अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।
आफ्नै चुनाव चिन्हका साथ लड्छौँ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्हका साथ लड्ने प्रष्ट्याउनुभएको छ । आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएको बताउनुभएको हो । पाँचदलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्नै बताउदै नेपालले माओवादी केन्द्रसँग चुनावपछि एकता अघि बढ्ने बताउनुभएको हो ।
काठमाडौंको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न सांसदहरूको अनुगमन समिति
काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा सहजीकरणका लागि अनुमगन समिति बनाउने निर्णय गरिएको छ ।सहरी विकासमन्त्री मेटमणि चौधरीको समन्वयमा सोमबार बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा काठमाडौँ, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरू समेत सम्मिलित रहने छन् ।समिति गठनबारे जानकारी दिँदै कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल फेसबुकमा अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक रहेको बताउनुभएको छ ।
महानगरपालिकाको कार्यालयमा फुटपाथ व्यापारीको नाराबाजी
फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । महानगरले फुटपाथ व्यवस्थापन भन्दै साना व्यवसायीलाई हटाएको भन्दै फुटपाथमा व्यवसाय गर्ने व्यवसायीले महानगरपालिका प्राङ्गणमा नाराबाजी गरेका हुन् ।उनीहरुले मेयर बालेनलाई भेटेर ज्ञापन पत्र बुझाउन खोजेपनि वास्ता नगरेको भन्दै नाराबाजी गरेका हुन् । टीकापूर घटनाको सात वर्ष
थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको आज सात वर्ष पूरा भएको छ । २०७२ साल भदौ ७ गते आजकै दिन भएको सो घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले जन्म कैदको सजाय भोगिरहेका छन् । चौधरीको नागरिक उन्मुक्ति पार्टीले आजका दिन ‘विद्रोह दिवस’का रुपमा मनाउने भएको छ । नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीले जेलबन्दीका परिवारलाई सहयोग गरेर विद्रोह दिवसका रुपमा मनाइने जानकारी दिनुभयो ।
सिन्धुलीमा जङ्गली हात्ती बस्तीमा पसेपछि त्रास
सिन्धुलीको कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । रातका समयमा तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बस्नुपरेको थियो । कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जङ्गली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरिएको बताउनुभयो ।
भारतीय सेनाले अनधिकृत प्रवेशको प्रयास असफल बनायो
भारतीय सेनाले सोमबार राति जम्मूको राजौरी जिल्लाको नियन्त्रण रेखा (एलओसी) बाट अनधिकृत प्रवेशको प्रयासलाई विफल पारेको छ । जम्मुस्थित एकजना सुरक्षा अधिकारीका अनुसार भारतीय सेनाले जम्मू कश्मीरको राजौरीको नौशेरा क्षेत्रमा एलओसी बाट भारत प्रशासित क्षेत्रमा प्रवेश गर्न भएको प्रयासलाई सफलतापूर्वक रोकेको तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको बताएका छन् ।
नेपालको वरीयता यथावत
एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा नेपाल यथावत रहेको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालले आफ्नो स्थान यथावत राखेको छ ।नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको छ।एकदिवसीय अन्तराष्ट्रिय वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत रहेको छ ।२० राष्ट्र सहभागी वरीयतामा नेपाल १९ औं स्थानमा रहेका छ । २० औं स्थानमा पपुवा न्युगिनी रहेको छ ।