Live Streaming

अन्नपूर्ण टप टेन :  मिटर ब्याजीविरुद्ध उजुरी, अण्डरग्राउण्ड पार्किङ खुलाउन भत्कायो संरचना


 


एउटै घोषणापत्रमा चुनाव लड्न प्रचण्ड र माधव नेपाल सहमत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच एकै घोषणापत्रमा चुनाव लड्ने सहमति भएको छ । प्रचण्डका एक नातेदारको हात्तिवनस्थित घरमा उहाँहरुबीच भएको भेटमा यस्तो सहमति भएको हो । २०७४ मा वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणा पत्र बनाएका थिए ।
 
गठबन्धनभित्र सिट बाँडफाँटमा समस्या हुँदैन : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा समस्या नहुने बताउनुभएको छ । आज समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खनालले सिट बाँडफाँट शीर्ष नेतृत्वले टुंगो लगाउने बताउनुभएको हो । 

नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बसेको अलग अलग बैठकले प्रखर समाजवादी चिन्तक समेत रहेका प्रतिनिधिसभा सदस्य गिरिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो । त्यस अवसरमा उहाँको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो ।

उम्मेदवारले १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारलाई बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने प्रस्ताव आएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा दल वा उम्मेदवारले बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव आएको हो ।

बेलायतसँग नेपालले ग¥यो श्रम सम्झौतामा हस्ताक्षर

बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने बाटो खुलेको छ । आज सो सम्बन्धी सम्झौतापत्रमा दुई देशका सरकारी प्रतिनिधिबीच हस्ताक्षर भएको छ । नेपाल र बेलायतबीच जीटूजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हस्ताक्षर भएको हो । पहिलो चरणमा कम्तीमा एक हजार नर्स पठाउने गरी सम्झौता भएको जनाइएको छ । यद्यपि संख्याबारे अहिलेको सम्झौतामा उल्लेख छैन । 

सरकारविरुद्ध देशभरका एक लाख कर्मचारी एकैपटक आन्दोलनमा

देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी कर्मचारी आजदेखि एकैपटक आन्दोलनमा उत्रेका छन् । आजदेखि ती कर्मचारीले सबै सरकारी कार्यालयमा कालोब्यानर टाँसेर हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका छन् । कर्मचारीले आगामी भदौ १७ सम्म अधिकांश सरकारी कार्यालयमा कालो ब्यानर टाँग्ने र कालोपट्टी बाँधेर काम गर्ने गरी विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । 

मिटर ब्याजीविरुद्ध उजुरी 

मिटर ब्याजीविरुद्ध देशभरबाट दुई हजारभन्दा बढी उजुरी परेको छ । मिटर ब्याजबाट पीडितहरूको समस्या सम्बोधन गर्न सरकारले गठन गरेको कार्यदलले हिजोसम्म उजुरी दिनका लागि समय छुट्याएको थियो । कार्यदलको आह्वानअनुसार देशभरबाट २ हजार ४३ जनाले उजुरी दिएको कार्यदलका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव डाक्टर भीष्मकुमार भुसालले जानकारी दिनुभयो । 

अण्डरग्राउण्ड पार्किङ खुलाउन भत्कायो संरचना

नयाँ बानेश्वर चोक क्षेत्रमा व्यवसायिक भवनका अन्डरग्राउण्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिकाले संरचनाहरू भत्काउन सुरु गरेको छ ।अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेका  बानेश्वर कम्प्लेक्सलगायत त्यस वरपर क्षेत्रका व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर महानगर प्रहरीले संरचना भत्काउन थालेको हो । धेरै व्यापारिक भवनहरुले अन्डरग्राउण्ड पार्किङलाई पसलका रुपमा भाडामा लगाउने गरेका छन् । जसले गर्दा मुख्य सहरी क्षेत्रमा फुटपाथमै पार्किङ गर्ने क्रम बढेको छ ।

सिङ्गापुरले समलिङ्गी यौनसम्बन्धमाथिको प्रतिबन्ध हटायो

सिङ्गापुरले समलिङ्गी यौनसम्बन्धमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।  यससम्बन्धी कानुन खारेज गर्दै सिङ्गापुरले समलिङ्गी सम्बन्धलाई  वैधता दिएको हो । वर्षौँको चर्को बहसपश्चात् राष्ट्रिय टेलिभिजनमार्फत् प्रधानमन्त्री ली सिएन लुङ्ले उक्त घोषणा गर्नु भएको हो । 

केन्या जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाई 

नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरेको छ । क्यानले आज कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो । केन्या भ्रमणमा नेपालले पाँच अन्तर्राष्ट्रिय टी–२० र तीन एकदिवशीय खेल खेल्नेछ ।