Live Streaming

अन्नपूण दिनभर : कांग्रेस नेता गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि, ३ दिनसम्म पार्टी कार्यालयहरुमा आधा झन्डा झुकाउने


कांग्रेस नेता गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि, प्रधानमन्त्रीसहित शीर्ष नेताहरुद्वारा श्रद्धाञ्जलि अर्पण, कांग्रेसले ३ दिनसम्म पार्टी कार्यालयहरुमा आधा झन्डा झुकाउने ।

आगामी निर्वाचनका लागि नेपाल प्रहरीले सरकारसंग २६ सय हतियार र एक लाख २० हजार म्यादी प्रहरी माग्यो÷चुनावका लागि मनोनयन दर्ताअघि सांसद पदमा नरहेको सुनिश्चितता हुुनुुपर्ने ।

काठमाडौंमा फेरि अर्को सहकारी संस्थाका संचालक ६ महिनादेखि फरार÷हजारौँ बचतकर्ताको लगानी डुब्ने खतरा÷नीति नियम कार्यान्वयनमा राज्यको ध्यान नजाँदा समस्या आएको सरोकारवालाको भनाइ ।
 
केही तालिवान अधिकारीको यात्रा प्रतिबन्ध हटाउने संयुक्त राष्ट्रसंघको निर्णय÷उत्तरपश्चिम चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो ।

असोज अन्तिम साताबाट सुरु हुने नवौँ राष्ट्रिय खेलकुदको सचिवालय आजदेखि संचालनमा÷सचिवालयले प्रतियोगिताको सम्पूर्ण तयारी र व्यवस्थापकीय काम गर्नेे ।
अन्नपूण दिनभर 
 

आर्यघाटमा प्रदीप गिरिको अन्तिम बिदाइ 


नेपाली कांग्रेस नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट शवयात्रा गर्दै गिरिको शवलाई पशुपति आर्यघाटमा लगिएको थियो ।

पशुपति आर्यघाटमा गिरिको शवमा उहाँका छोरा सन्तोष सिलवाल गिरिले दागबत्ती दिनुभयो । अन्त्येष्टि अघि पशुपति आर्यघटमा नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुले गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्नुुभएको थियो । यस्तै गिरिका शुभचिन्तक तथा समर्थकको पनि ठूलो संख्यामा उपस्थिति थियो ।


त्यसअघि दिउँसो २ बजेसम्म गिरीको पार्थिव शरीर कांग्रेस कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिएको थियो । गिरीलाई श्रद्धाञ्जली दिन नेता, आफन्त तथा शुभचिन्तक पार्टी कार्यालय पुगेका थिए । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गिरीको पार्थिव शरीरमा पार्टी झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

सभामुख अग्नि सापकोटा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष बाबुराम भट्टराई एमाले नेताहरू सुवास नेम्वाङ, प्रदीप ज्ञवालीलगायतका नेताहरूले पनि श्रद्धाञ्जली व्यक्त गर्नुुभएको थियो । कांग्रेसका शीर्ष नेता तथा सयौंको संख्यामा कार्यकर्ता गिरीलाई श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालय परिसरमा पुुगेका थिए ।

प्रखर समाजवादी चिन्तक नेता गिरीको ७५ वर्षको उमेरमा गएराति साढे नौ बजे ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

कांग्रेसका सबै कार्यक्रम भदौ ७ सम्म स्थगित

नेपाली कांग्रेसले गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । पार्टी मुख्यालय सानेपामा आकस्मिक रुपमा बसेको कांग्रेसको बैठकले दिवंगत नेता गिरीप्रति उच्च सम्मान प्रकट गर्दै आजदेखि ३ दिनसम्म केन्द्रीय र मातहतका सबै कार्यालयहरूमा पार्टी झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

त्यस्तै भोलि केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, १३ औं दिन (भाद्र १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र सोही दिन केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने कांग्रेसले जनाएको छ । यसैबीच प्रतिनिधिसभा सदस्य एवम् नेता प्रदीप गिरीको निधनका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ ।

आज विहान ११ बजेका लागि बोलाइएको बैठक गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा बैठक भोली दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । राजनीतिज्ञ तथा समाजवादी चिन्तक प्रदीप गिरिको निधनमा भारतका नेताहरूले शोक व्यक्त गरेका छन् ।

बिहारका मुख्यमन्त्री नीतिश कुमार, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरी, भारतीय राष्ट्रिय कांग्रेसका प्रवक्ता मोहन प्रकाश, बहुजन समाज पार्टीका प्रवक्ता सुधीन्द्र भदौरियाले गिरिको निधनप्रति शोक व्यक्त गरेका छन् । बिहारका मुख्यमन्त्री नीतिश कुमारले फेसबुकमार्फत् निधन प्रति दुःख व्यक्त गर्दै उहाँ नेपाली राजनीतिका दार्शनिक र समाजवादी चिन्तक रहेको उल्लेख गर्नुभएको  छ ।

यस्तै भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव येचुरीले गिरि प्रजातन्त्रको अविचलित योद्धा भएको बताउनुुभएको छ । त्यस्तै भारतीय कांग्रेसका प्रवक्ता मोहन प्रकाशले गिरिलाई समाजवादी, गान्धीवादी र लोहियावादी भएको बताउनुुभएको छ । 

प्रहरीले माग्यो सरकारसँग २६ सय हतियार र एक लाख २० हजार म्यादी


प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि सरकारसँग एक लाख २० हजार म्यादी प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले सो प्रस्ताव गृह मन्त्रालयलाई प्रस्ताव पठाइएको छ । यसअघि स्थानीय निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख १८ हजार म्यादी प्रहरी माग गरेकामा सरकारले एक लाख मात्र नियुक्त गर्ने निर्णय गरेको थियो । यसै गरी प्रहरी प्रधान कार्यालयले सरकारसँग २६ सय हतियार माग गरेको छ ।

निर्वाचन सुरक्षाका लागि २६ सय हतियार अपुग रहेको भन्दै प्रहरी प्रधान कार्यालयले त्यसबारे सरकारलाई जानकारी गराएको हो । यसअघि स्थानीय निर्वाचनका बेला नेपाल प्रहरीले नेपाली सेनासँग हतियार मागेर निर्वाचन सुरक्षा गरेको थियो । नेपाल प्रहरीले नेपाली सेनासँग २ हजार थान हतियार माग गरेकामा एक हजार थान मात्र उपलब्ध गराएको थियो। यस पटक पनि सेनासँग मागेर निर्वाचन सुरक्षा गर्ने तयारी नेपाल प्रहरीको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताउनुभएको छ ।ललितपुरमा आज बिहान पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले असोज २ गते मनोनयन दर्ता हुने भएकाले त्यसको अघिल्लो दिनसम्म उम्मेदवारले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताउनुभएको हो । उहाँले चुनावको लागि आयोगले आचारसंहिता बनाउने काम थालेको जानकारी पनि दिनुभयो ।

आगामी निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिह्न मात्रै मतपत्रमा समावेश हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिह्न राखेर मतपत्र छपाइ गरिएको थियो । त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र ठूलो भएको र बदरको संख्या पनि बढाएको थियो । त्यस्तै आयोगले निर्वाचनका लागि १० खर्ब रुपैयाँ बजेट लाग्ने अनुमानसहित स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।  


एमाले सरकारमा आएर नागरिकता विधेयक सच्याउँछ  भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारले संसद्बाट बलपूर्वक पारित गरेको नागरिकता विधेयक एमालेको सरकार आएपछि परिवर्तन गर्ने बताउनुुभएको छ । प्रेस चौतारी नेपाल रामेछापले आइतबार रामेछापको मन्थलीमा राखेको पत्रकार भेटघाटका क्रममा भट्टराईले राष्ट्रपतिले संसद्मा फिर्ता गरेको नागरिकता विधेयकलाई शेरबहादुर देउवा सरकारले बलपूर्वक पास गरेको आरोप लगाउनुुभयो ।

नागरिकताको सवाल ख्यालख्याल नभएको बताउँदै यस्तो विषयमा राष्ट्रिय सहमति बनाएर जान एमालेले आग्रह गरेको भट्टराईको दाबी थियो ।आसन्न निर्वाचनमा एमालेले समाजवादी धारको नेतृत्व गरेर जाने बताउनुुभयो । संविधानले समाजवादमा पुग्ने कल्पना गरेकाले एमालेले त्यसको अगुवाइ गर्ने र पुँजीवादी नेतृत्व गर्दै आएको कांग्रेस बिस्तारै पतनको बाटोमा जाने उनले आरोप लगाउनुुभयो ।वर्तमान गठबन्धनको सरकार विचार नमिल्नेहरूको समूह भएको भन्दै भट्टराईले विचार र सिद्धान्त नमिल्नेको गठबन्धन सम्भव नहुने बताउनुुभएको छ ।

 
काठमाडौंबाट अर्को सहकारी बेपत्ता, विभाग बेखबर


गौतमश्री सहकारीका संचालक भागेको घटना सेलाउन नपाउँदै काठमाडौंको अर्को एक सहकारी ६ महिनादेखि बेपत्ता भएको खुलेको छ । बौद्ध टुसालमा रहेको अक्षता बचत तथा ऋण सहकारी बन्द गरेर ६ महिनादेखि सञ्चालक सम्पर्कविहीन भएको ग्राहरुले बताएका छन् । सहकारी बन्द हुँदा आफूले बचत गरेको रकम निकाल्न नपाएको ग्राहकले बताएका छन् । सो सहकारीका बचतकर्ता डम्बरबहादुर राईले बेलाबेला कार्यालय गएर हेरेपनि ६ महिनादेखि अध्यक्ष निमा लामा र सहकारीका सुपरभाइजर ६ महिनादेखि सम्पर्कविहीन भएको बताउनुुभएको छ ।

उहाँले सहकारीमा आफ्नो १ लाख बचत भएको र सहकारी विभागमा पटकपटक फोन गर्दा पनि कुनै सुनुवाइ नभएको बताउँदै राईले लिखित उजुरी दिने तयारीमा आफूहरू रहेको जानकारी दिनुुभएको छ । सहकारी विभाग भने अक्षता बचत तथा ऋण सहकारी संस्था बन्द भएकोमा कुनै जानकारी नभएको बताएको छ । सहकारीले कति बचतकर्ताको बचत ठगी गरेर हिँडेको छ भन्ने कोहीसँग पनि तथ्यांक छैन । सहकरी विभगमा धेरै उजुरी नआएकाले पनि एकिन हुन नसकेको हो । केही समयअघि मात्रै सर्वसाधारणको अर्बौं रूपैयाँ निक्षेप फिर्ता नदिएर गौतमश्री सहकारी पनि भागेको थियो । 

यस्तै, काठमाडौँ, शान्तिनगरको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका बचतकर्ताहरू आन्दोलनमा उत्रिएका छन् । २५ वर्षदेखि सञ्चालनमा रहेको सो सहकारीले आफूहरूको बचत रकम फिर्ता नदिएको भन्दै आन्दोलन थालेका हुन् । सहकारीले भने सबै बचतकर्ता एकैपटक पैसा लिन आएपछि समस्या परेको भनेर पन्छिएको छ । फिक्स डिपोजिटमा राखेको बचतको समय अवधि पूरा हुँदासम्म पैसा निकाल्न नदिएको गुनासो बचतकर्ताहरूको छ । 

यसैबीच, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष एवं एमाले नेता केशव बडालले एक तहमाथिको निकायसँग संगठित भएको सहकारीमा समस्या नरहेको तर संगठित नभएका सहकारीमा भने समस्या रहेको बताउनुभयो । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डेमा कुराकानी गर्दै उहाँले राज्यले सहकारी दर्ता गर्ने तर त्यसलाई संरक्षण गर्ने नीति अवलम्बन नगर्दा बचतकर्ताको लगानी डुब्ने अवस्था आएको बताउनुभयो । सहकारी सञ्चालनका लागि तालिम÷प्रशिक्षण दिने, नियम र अनुगमनमा राज्यको ध्यान नजाँदा केही सहकारीबाट बदमासी भइरहेको उल्लेख गर्नुभयो । 

२८६ जनामा सङ्क्रमण पुष्टि, ४७९ जना निको भए
 

पछिल्लो २४ घण्टामा २८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ४२३ जनाको कोरोना परीक्षणमा गर्दा पीसीआर विधिबाट २०२ तथा एन्टीजेन विधिबाट ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ४७९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ४ हजार ३४८ पुगेको छ । 


दुई देशका राजदूतले लिए शपथ

विभिन्न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले आज शपथ लिएका छन् । ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल(भण्डारी)ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुुभएको हो । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

दिपायलबाट डडेल्धुरा गइरहेको जिप ऐरीमा दुर्घटना, ८ जना घाइते

डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आइतबार आज दिउँसो डोटीको दीपायलबाट डडेल्धुरा तर्फ गइरहेको से १ ज ५०४ नम्बरको जिप ऐरी गाउँ मोडमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।घाइतेहरू सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने अहिले खुल्न सकेको छैन ।


आर्थिक खबर


नेप्सेमा एकल अंकको गिरावट हुँदा २ अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । आज सुरुवाती समयमा वृद्धि भएपनि अन्तिम एक घण्टामा भने घटेर नेप्से रातो भएर बन्द भएको छ । आज बजार परिसूचक नेप्से ७.७२ अंक (०.३७ प्रतिशत) ले गिरावट हुँदा २०६०.५५ अंकमा बन्द भएको हो ।

बैंकिङ उपसूचकमा सामान्य वृद्धि हुँदा होटेल तथा पर्यटन, निर्जीवन बीमा र उत्पादनमूलक उपसूचक पनि बढेको छ । त्यसबाहेकका सबै उपसूचकमा गिरावट भएको छ । आज दिनभर नेप्सेमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख ९४ हजारको कारोबार भएको छ । दिनभर बजारमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १३२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ४७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ८ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

थप १११ मेगावाट बिजुली निर्यातको प्रस्ताव, साउनमा निर्यातबाट २ अर्ब आम्दानी

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको लागि भारतमा प्रस्ताव पठाएको छ ।प्राधिकरणले ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो ।

केन्द्रीय विद्युत प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत निर्यात सुरु हुने छ । अहिले ३६४ मेगावाट बिजुली भारतमा विक्री भइरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९÷८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात गरिसकेको छ । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाएको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । 

तातोपानी र रसुवागढी नाकाको अवरोध खुलाउनराष्ट्रिय व्यवसायी महासंघको आग्रह


नेपाल राष्ट्रिय व्यवसायी महासंघले तातोपानी र रसुवागढी नाकाको अवरोध खुलाउन सरकारलाई आग्रह गरेको छ । आज महासंघका अध्यक्ष कुमार कार्कीले एक विज्ञप्ति जारी गर्दै कुटनीतिक पहल गरेर तत्काल नाका खुल्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको हो ।

जारी विज्ञप्तिमादशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि करोडौं मूल्यको दशैंको बन्दाबस्ती र खाद्यान्नको सामान अलपत्र परेकाले व्यवसायीहरु धराशायी हुने खतरा बढेको उल्लेख गरिएको छ ।विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सामान आयात गर्न व्यवसायीहरुले निकै समस्या खेपिरहेका बेला नाकामा भएको अर्को अवरोधले व्यवसायी झनै मर्कामा परेको भन्दै सबै सरोकारवालालाई समस्या समाधानमा लाग्न महासंघले आग्रह गरेको छ ।

विदेशका खबर
भारतीय कोस्ट गार्डद्वारा २७ बङ्गलादेशी मछुवाको उद्धार


भारतीय कोस्ट गार्ड (आईसीजी) ले आइतबार १७ जना बङ्गलादेशी माछा मार्नेहरूलाई उद्धार गरेको छ । माछा मार्नेक्रममा समुन्द्रको बीचमा फसेका उनिहरुलाई एकैदिन तीन छुट्टाछुट्टै अपरेशनमा २७  जना बङ्गलादेशी माछा मारेर जीवीकोपार्जन गर्ने व्यक्तिहरूलाई उद्धार गरिएको जनाइएको छ । यसैबीच, अगस्ट १८ मा भारतीय तटरक्षकले दामनबाट चेतक हेलिकप्टरमार्फत वलसाड तटमा माछा मार्दै गर्दा फसेका १४ जना माछा मार्नेलाई उद्धार गरेको थियो । 

उत्तरपश्चिम चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो


चीनको उत्तरपश्चिमी प्रान्त छिङहाइमा भारी वर्षाका कारण आएको हिमाली आँधीबाट मृत्यु हुनेको सङ्ख्या बेलुका ४ बजेसम्म २६ पुगेको  बताइएको  छ । साथै  अन्य पाँच जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।  राति १०–२५ बजेबाट शुरु भएको भारी वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छवटा गाउँका ६ हजार २४५ बासिन्दा  प्रतयक्ष प्रभावित भएका छन् । मुसलधारे वर्षाका कारण दाताङमा बाढी र पहिरो जाँदा नदीको मार्ग परिवर्तन भई  बाढी गाउँ परवेश गरेको थियो । यसअघि बेपत्ता भएका २३ जनाको  पनि उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः चालु भएको छ भने सडक र पुल पनि सञ्चालनमा आएका छन् ।

केही तालिवान अधिकारीको यात्रा प्रतिबन्ध हटाइयो


संयुक्त राष्ट्रसंघले केही तालिवान अधिकारीको यात्रा प्रतिबन्धलाई हटाइने निर्णय गरेको छ । “संयुक्त राष्ट्रसंघले तालिबानका १३ जना अधिकारीलाई लगाइएको यात्रा प्रतिबन्धका लागि म्याद थपका लागि कुनै सम्झौता नगरेको र शुक्रबारदेखि लागु हुनेगरी अन्त्य गर्ने तयारी गरेको सुरक्षा परिषद्का सदस्यलाई उद्धत गर्दै एएफपीले जनाएको छ । सन् २०११ को संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावअनुसार १३५ जना तालिवान अधिकारीमाथि प्रतिबन्ध लगाइएको छ ।

तर तीमध्ये १३ जनालाई विदेशका अन्य अधिकारीसँग भेटघाट गर्न अनुमति दिन यात्रा प्रतिबन्धबाट छुट दिइएको थियो । गत जुनमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अफगानिस्तान प्रतिबन्ध समितिले तालिबानका दुई शिक्षामन्त्रीलाई महिला अधिकार कटौती गरेको भन्दै छुटको सूचीबाट हटाएको थियो । १३ जनामध्ये उपप्रधानमन्त्री अब्दुल गनी बरादर र उपविदेशमन्त्री शेर मोहम्मद अब्बास स्टानेकजई रहेका छन् ।


खेल खबर
नवौँ राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन


आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको सचिवालय सञ्चालनमा ल्याइएको छ । आज पोखरा रङ्गशालामा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको उपस्थितिमा सचिवालयको उद्घाटन गरिएको हो । उद्घाटनपछि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण गतिविधि, सम्पूर्ण तयारी र प्रतियोगिताको अवधिभरको व्यवस्थापकीय काम सचिवालयबाट हुने जानकारी दिनुभयो ।

मन्त्री गहतराजले संघीय सरकारले आवश्यक बजेट निकासा गरिसकेको जानकारी गराउँदै राष्ट्रिय प्रतियोगितालाई सफल पार्नु तीनै तहको सरकारको साझा दायित्व रहेको जिकिर गर्नुभयो । प्रतियोगिताका ३८ मध्ये २२ खेल पोखरामा गर्न प्रस्ताव गरिएको छ । बाँकी १६ खेल गण्डकी प्रदेशका अन्य १० जिल्लामा सञ्चालन गर्ने तयारी गरिएको छ भने केही खेल काठमाडौँमा आयोजना हुने सम्भावना पनि रहेको छ ।