Live Streaming

अन्नपूर्ण खबर : माओवादीले टुंग्यायो २१ सदस्यीय पदाधिकारी, ओलीबारे पोजिटिभ प्रचार गरिए सैह्य नहुने


 

महाधिवेशन सकिएको ८ महिनापछि माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारी टुंग्यायो महासचिवको जिम्मेवारी देव गुरुङलाई नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय चुनावी घोषणपत्र तयारी समिति गठन ।

नेपाली कांग्रेसले भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउने राष्ट्रपतिले विधेयक फिर्ता गरेर त्रुटि रहेछ कि भन्ने भ्रम सिर्जना गरेको प्रवक्ता महतको भनाइ ।

आगामी चुनावपछि एमाले नेतृत्वमा सरकार नबने देश बर्बादीमा जाने अध्यक्ष ओलीको चेतावनी÷एमाले र अध्यक्ष ओलीबारे सकारात्मक हुने कुरा गर्दै नगर्न नेता तथा कार्यकर्तालाई एकीकृत समाजवादीका अध्यक्ष नेपालको निर्देशन ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढाइने भोलि बस्ने बैठकमा पेश गर्ने कार्यसुची ।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई मानहानी मुद्दामा सफाइ उत्तर भारत हिमाचंलमा बाढीमा परी १५ जनाको मृत्यु, ८ जना वेपत्ता ।

नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश सरकारद्वारा तीन करोड ४६ लाख बजेट निकासा ।

माओवादीले टुंग्यायो २१ सदस्यीय पदाधिकारी

महाधिवेशन सकिएको ८ महिनापछि नेकपा माओवादी केन्द्रले आज २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकबाट अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत पारित भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो । २१ सदस्यीय पदाधिकारीमा महिला एक जना मात्रै पर्नुभएको छ ।

महासचिवमा देव गुरुङ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन हुनुभएको छ । यस्तै उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत रहनुभएको छ । सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम पारित भएको छ । यस्तै, कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाइएको छ ।

विशेष महाधिवेशनसम्मका लागि मात्रै पदाधिकारीलाई पूर्णता दिइएको उपाध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो । तर विशेष महाधिवेशन कहिले गर्ने भन्नेबारे यकिन नभएको उहाँको भनाइ छ । महाधिवेशन सकिएपछिको पहिलो केन्द्रीय कमिटीको अपुरो बैठकबाट दाहाल अध्यक्षमा चयन हुनुभएको थियो । महासचिवका दावेदार रहेका जनार्दन शर्माले भने पदाधिकारी चयनप्रति असन्तुष्टि जनाउनुभउको छ । तर शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले प्रस्ताव गरेको नाममा कसैको असहमति भए पनि निर्णय मानेर जाने समझदारी बनेको थियो ।

नारायणकाजीको नेतृत्वमा १७ सदस्यीय घोषणपत्र तयारी समिति

नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति बनाएको छ आज बसेको स्थायी समिति बैठकले घोषणापत्रको मस्यौदा तयार गर्न नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, विष्णु चौधरी, भीमा ढुंगाना र जगत शिम्खडा रहेको समिति गठन गरेको हो । उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार साझा घोषणापत्र तयारीका लागि सत्तारुढ गठबन्धनमा छलफल भइरहेको छ । तर पार्टीको तर्फबाट मस्यौदा निर्माणका लागि समिति गठन गरिएको हो ।

यसैबीच नेकपा माओवादी केन्द्रले भदौ ८ गतेदेखि प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको छ । आजको बैठकले ८ गते मधेश प्रदेशबाट प्रदेशस्तरको बैठक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ ९ मा गण्डकी प्रदेशमा, १० गते प्रदेश १ मा, ११ गते लुम्बिनी प्रदेशमा, १२ गते बागमतीमा प्रशिक्षण कार्यक्रम हुनेछ ।

त्यसपछि १३ गते विशेष प्रदेश समितिको, १५ गते सम्पर्क समन्वय समितिको, १६ गते कर्णाली प्रदेशको र १७ गते सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने माओवादी केन्द्रको निर्णय छ । माओवादी केन्द्रले सत्तारुढ गठबन्धनले सिट बाँडफाँटमा मोटामोटी सहमति जुटाएपछि मात्र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तय गरेको थियो । ७ भदौसम्म गठबन्धनको बैठक भएकाले त्यसपछि प्रशिक्षण तय गरेको उपाध्यक्ष महराले बताए ।

कांग्रेसले भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउने

नेपाली कांग्रेसले आउँदो चुनावलाई लक्षित गरी भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले आज पत्रकार सम्मेलन गरेर चुनाव लक्षित अभियानबारेमा जानकारी गराउनुभएको हो । अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म रहनेछ भने दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि हुने र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि कायम रहने पत्रकार सम्मेलनमा प्रवक्ता महतले जानकारी दिनुभयो ।

उहाँले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने, नागरिकले कांग्रेसलाई सुनाउन चाहेको कुरा सुन्ने, नागरिक भावना अनुसार रुपान्तरण र विकास परियोजनाहरु बारे नागरिकसँगै छलफल गर्ने, कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे नागरिकलाई जानकारी गराउने र चुनावमा कांग्रेसको जितको लागि वातावरण बनाउने उद्देश्यसहित अभियानमा जान लागेको बताउनुभयो । 

यसै सन्दर्भमा रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डेमा कुराकानी गर्दै प्रवक्ता महतले अब राष्ट्रपतिले नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नु बाध्यकारी भएको बताउनु भएको छ । कांग्रेसले नागरिकता विधेयकबारे भ्रम निवारण गरेको बताउँदै उहाँले अब नागरिकता विधेयक अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट गर्दा आफूहरूले धेरै सिटमा उम्मेदवारी दिनेभन्दा पनि परिणाम धेरै ल्याउने विषयलाई प्राथमिकता दिएको प्रवक्ता महतले बताउनुभयो । 

ओलीको चेतावनी : मंसिरको चुनावपछि एमाले सरकार बनेन भने देश बर्बादीमा जान्छ

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने चेतावनी दिनुभएको छ । गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको उहाँको जिकिर छ । आज झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताउनुभयो । 

त्यस्तै ओलीले गठबन्धन नामको झुसे बारुलोले एमालेलाई असर पार्न नसक्ने टिप्पणी गर्नुभएको छ । झापामै आज एक अर्को कार्यक्रममा बोल्दै ओलीले निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही पनि गर्न नसक्ने दाबी गर्नुभएको हो । उहाँले एमालेको लागि झापा मक्कामदिना जस्तै भएको बताउनुभयो ।

ओलीले एमाले ठिक हो कि होइन भन्ने दुविधा पाल्न नहुने समेत बताउनुभयो । नारी शक्ति उठेर सबै खाले गठबन्धनलाई परास्त गर्नुपर्ने ओलीको भनाई छ ।  महिलाहरू दृढताका साथ पार्टीको पक्षमा उभिएका र अब पनि महिलाहरू पार्टीको निर्णय र गन्तव्यको पक्षमा उभिनु पर्ने उनले बताए। ओलीले बताउनुभयो । ओलीले अहिलेको एक मात्र लक्ष्य मंसिरको चुनाव जित्ने भएको पनि बताउनुभयो । 

ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने नेता नेपालको चेतावनी 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनु भएको छ । आज काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै अध्यक्ष नेपालले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टी पंक्तिलाई सचेत गराउनु भएको हो । ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उहाँको चेतावनी थियो ।  

अध्यक्ष नेपालले अपराधि घोषणा गर्ने, देशद्रोही भन्ने, अस्तित्वलाई समेत स्विकार नगर्ने ओलीलाई मुखभरीको जवाफ दिन पार्टीका नेता, कार्यकर्ताहरुलाई सक्रिय हुन आग्रह समेत गर्नुभयो । उहाँले एमालेसँग जाने कल्पना समेत गर्न नसकिने पटकपटक दोहो¥याउनु भयो । अध्यक्ष नेपालले विचार मिल्ने, कुरा मिल्ने बामपन्थी दलहरुसँग एकतावद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडि बढाईरहेको तर एमालेसँग भने मिल्ने कुनै सम्भावना नभएको बताउनुभयो । 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुने

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढ्ने भएको छ । प्रतिनिधिसभाको भोलीको बैठकमा सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धी कानुनलाई प्रस्तुत गर्ने भएको हो । प्रतिनिधिसभाको भोली बिहान ११ बजे बैठक बस्दैछ । सो बैठकमा ’बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसदीय प्रक्रियामा अघि बढ्ने भएको हो ।

प्रतिनिधिसभाको आइतबारको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ’बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्ने उल्लेख छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभमा असार ३१ गते दर्ता भएको थियो । सो विधेयकका कतिपय प्रावधानमा द्वन्द्वपीडितले असन्तुष्टि व्यक्त गरेका छन् । त्ययसमा राखिएका व्यवस्थालाई संशोधन गर्नुपर्ने भन्दै उनीहरूले सरकारलाई मागपत्र बुझाएका छन् भने सडकमा प्रदर्शन पनि गरेका छन् ।

नयाँ आयोजना सञ्चालन नगर्न प्रदेश सरकारलाई आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागले तीनै तहका सरकारहरूलाई यस्तो निर्देशन दिएको हो । आयोगले आज विज्ञप्ति जारी गर्दै आयोगले त्यस्ता कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने जनाएको छ । समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा समेत प्रत्यक्ष असर पार्न सक्ने आयोगको भनाइ छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो मंसिर ४ गते एकै चरणमा हुने तय छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति २०७९ मंसिर ४ गते एकै चरणमा हुने गरी घोषणा भई निर्वाचनको तयारीका कार्यहरू भइरहेको सन्दर्भमा मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रमहरू सञ्चालन तथा कार्यान्वयन नगर्न÷नगराउन नेपाल सरकार, सातै प्रदेश र सबै स्थानीय तहलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
 
थप २९९ कोरोना संक्रमण पुष्टि, ५७७ निको, २ जनाको मृत्यु  

नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ६ सय ७० पीसीआर परीक्षणमा १ सय ८० र २ हजार ६ सय ६७ एन्टीजेन परीक्षणमा १ सय १९ जनामा संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण दुई जनाको ज्यान गएको छ भने पाँच सय ७७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार ६ सय २५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १८ हजार ६ सय ७० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  
यसैबीच काठमाण्डौ उपत्यकामा हैजाको संक्रमण पुष्टि हुनेको संख्या ६१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजाको परीक्षण, नियन्त्रण र उपचारका लागि काम गरिरहेको जनाएको छ ।

आर्थिक खबर

साताको सेयर बजार

यो साता सेयर बजार परिसुचक नेप्से ३० अङ्कले बढेर बन्द भएको छ । साताको ५ कारोबार दिनमध्ये २ दिन मात्रै बढेको नेप्से ३० अङ्कले बढेर २०६८ अङ्कमा पुगेर रोकिएको हो । यो साता नेप्सेको कारोबार २०३८ अङ्कबाट सुरु भएको थियो ।साताभरमा सोमबार र बिहीबार मात्रै नेप्से परिसूचक बढेको थियो । यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.४१ अङ्कले बढेको छ। यो साता नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । गत साता १२ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकामा यो साता जम्मा १० अर्ब ५० करोडको कारोबार भएको छ । जुन, गत साताको तुलनामा १ अर्ब ५५ करोड रुपैयाँ कम हो ।परिसूचक बढेको साता कारोबार रकम घटे पनि बजार पुँजीकरण भने बढेको छ । गत साता २९ खर्ब १० अर्ब रहेको नेप्से पुँजीकरण यो साता बढेर २९ खर्ब ६३ अर्ब पुगेको छ । यो एक सातामा आएको ५३ अर्बको वृद्धि हो ।


विदेशका खबर

ट्विट गरेको आरोपमा साउदीमा एक महिलालाई चौतीस वर्षको जेल सजाय

ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एकजना विद्यावारिधीका विद्यार्थीलाई चौँतीस वर्षको जेल सजाय सुनाएको छ । बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो ।

साउदी अदालतको यो निर्णयको विश्वव्यापीरूपमा निन्दा भएको छ । वासिङटनस्थित मानवअधिकार समूह फ्रिडम इनिसिएटिभका अनुसार बिदामा स्वदेशमा रहेकी उनलाई बेलायत फर्कने तयारीमा रहेका बेला गत वर्षको जनवरी १५ मा हिरासतमा राखेर साउदी प्रशासनले कारबाही थालेको थियो । एसोसिएटेड प्रेसले प्राप्त गरेको कानुनी कागजातहरूले उनको मुद्दा अदालतमा पठाउनु अघि अल–शेहाबले न्यायाधीशहरूलाई दुई सय ८५ दिन भन्दा बढी एकान्त कारावासमा राखिएको थियो ।

फ्रिडम इनिसिएटिभले अल–शेहाबलाई साउदी अरबको शिया मुस्लिम अल्पसङ्ख्यकको सदस्यको रूपमा वर्णन गरेको छ जसले लामो समयदेखि सुन्नी–शासित राज्यमा व्यवस्थितरूपमा भेदभाव गरेको गुनासो गरेको छ ।  मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले अल–शेहाबको मुद्दालाई ‘घोर अनुचित’ र उनलाई सुनाइएको सजाय ‘क्रुर एवम् गैरकानूनी’ भएको भन्दै आलोचना गरेको छ ।

कब्जामा रहेको युक्रेनको परमाणु ऊर्जा केन्द्र अवलोकनका लागि रुसले स्वीकृति दिने

रुसले आफ्नो कब्जामा रहेको युक्रेनको परमाणु ऊर्जा केन्द्र अवलोकनका लागि स्वीकृति दिने भएको छ ।रुस–युक्रेनबीच निरन्तर आक्रमणका घटना भइरहेका बेला जापोरिज्जिया परमाणु केन्द्रमा हुन सक्ने सम्भावित विपद्लाई लिएर चासो र चिन्ता बढिरहेको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्र सङ्घका अधिकारीलाई यो परमाणु केन्द्रको भ्रमणका लागि स्वीकृति दिने बताउनुभएको हो ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोबीच भएको वार्तापछि पुटिनले अवलोकनका लागि स्वीकृति दिने बताउनुभएको बीबीसीले जनाएको छ ।रुसले केन्द्रबाट उत्पादित विद्युत् युक्रेनी ग्रिडबाट अलग गर्ने तयारी गरेको युक्रेनले आरोप लगाउँदै आएको छ ।यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले केन्द्रको अवस्थालाई लिएर सार्वजनिक रुपमै चिन्ता व्यक्त गर्नुभएको थियो । साथै उहाँले विद्युत् आपूर्ति बन्द नगर्नसमेत आग्रह गर्नुभएको थियो ।

                                                                        खेल खबर
नवौँ राष्ट्रिय खेलकुद स् प्रदेश सरकारद्वारा साढे तीन करोड बजेट निकासा

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशले तीन करोड ४६ लाख बजेट निकासा गरेको छ ।प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बताउाुभयो ।

खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुदको तयारीका लागि पाँच करोड माग गरे पनि अर्थले हालका लागि सो रकम उपलब्ध गराएको हो । राष्ट्रिय खेलकुदका लागि भनेर चालू आर्थिक वर्षको बजेट कार्यक्रममा नै प्रदेश सरकारले एक करोड ४० लाख विनियोजन गरेको थियो । अर्थमन्त्रालयले बजेटमा व्यवस्था गरिएको बाहेक थप बजेट खेलकुद मन्त्रालयलाई उपलब्ध गराएको हो । अर्थमन्त्री बरालले राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदमा गण्डकीका टोलीको प्रशिक्षण, तयारी र आधारभूत आवश्यकताका लागि बजेट अभाव हुन नदिइने बताउनुभयो ।

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 
    
क्यान र क्रिकएचक्युबीच सम्झौता

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटको डिजिटल प्लेटफर्म कम्पनी क्रिकएचक्युसँग सम्झौता गरेको छ ।क्यानले आज एक विज्ञप्ति निकाल्दै नेपाली क्रिकेटमा डिजिटल प्रविधिको विकासका लागि न्युजिल्याण्डको कम्पनी क्रिकएचक्युसँग तीन वर्षको सम्झौता गरिएको जनाएको छ ।क्रिकएचक्यु क्रिकेटको लागि विश्वको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म  मानिन्छ ।

क्यानले क्रिकएचक्युसँगको साझेदारीले सबै तहका क्रिकेटका डिजिटलाइजेसन र लाइभ स्कोरिङ र स्ट्रिमिङलगायत प्राविधिक विकास ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले क्रिकएचक्युसँगको साझेदारीले क्यान हर्षितरहेको र क्यानका लागि एक पूर्ण डाटाबेस विकास गर्नमा धेरै मद्दत पुग्ने बताउनुभयो । क्रिकएचक्युका सीईओ इरिन वाल्सेले क्यानसँगको साझेदारीबाटनेपाली क्रिकेट डिजिटलाइज गर्न तत्पर रहेको बताउनुभयो ।