अन्नपूर्ण दिनभर : आगामी कदम बारे विज्ञहरुसंग राष्ट्रपतिको छलफल, बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन
सिट बाँडफाँटका लागि बनेको सत्ता गठबन्धनको कार्यदलले ७ गते प्रतिवेदन बुझाउने / पहिले प्रतिनिधिसभा र त्यसपछि प्रदेशको सिट बाँडफाँट हुने प्रचण्डको भनाइ ।
उत्तरी नाका तातोपानी र रसुवागढी सात वर्षदेखि विभिन्न बहानामा पटक–पटक अवरुद्ध / फेरि एक सातादेखि आयात निर्यात ठप्प / यही अवस्था रहे दशैंतिहार नै प्रभावित हुने चिन्ता ।
बुटवल सडकमा तीन दिनभित्र बेस तयार नभए ठेक्का तोड्ने अनुगमन समितिको निर्णय / पोल व्यवस्थापनका लागि विद्युत प्राधिकरणलाई जिम्मेवारी ।
आर्थिक शंकटपछि देश छाड्नुुभएका श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षद्वारा ‘ग्रीन कार्ड’ का लागि आवदेन/श्रीमतीमार्फत परिवारका सबै सदस्यको अमेरिकी नागरिकता लिने तयारी ।
नवौँ राष्ट्रिय खेलकुदका लागि राखेपको तयारी तीव्र÷गण्डकी प्रदेशका सबै जिल्लामा कम्तीमा एउटा खेल खेलाउने योजना ।
अन्नपूर्ण खबर
राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएको नागरिकता अध्यादेश संसद्ले हुबहु पारित भएपछि अब राष्ट्रपतिले के गर्लिन् भन्ने कुरा सर्वत्र चासाको विषय बनेको छ । प्रतिनिसिभाले सो विधेयकलाई राष्ट्रियसभामा पठाएको अवस्थामा राष्ट्रपति भण्डारीले आफ्नो आगामी कदमका बारेमा विज्ञहरुसंग छलफल गर्नुभएको छ ।
हिजो शीतलनिवासमा संविधानविद् तथा सरोकारवालाहरूसँग उहाँले आफ्नो आगामी संवैधानिक कदमबारे निर्णय गर्न छलफल गर्नुभएको हो । छलफलका क्रममा राष्ट्रपति भण्डारीले सरकारले संसद्मा आवश्यक छलफल समेत नगरी हुबहु नागरिकता विधेयक पारित हुन् लागेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो । त्यस्तै, उहाँले सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको तथा राष्ट्र र राष्ट्रियताबारे पनि चिन्तित रहेको बताउनुभयो । छलफलमा डा. सुरेन्द्र भण्डारी, डा. भीमार्जुन आचार्य, डा. विपिन अधिकारी लगायत हुनुहुन्थ्यो ।
छलफलका क्रममा सहभागीहरूले राष्ट्रपतिले संवैधानिक दायरा अनुसार दिएको सुझावहरूमा साधारण छलफल समेत नगरी संसदीय मर्यादा समेत पालना नुहुन दुखद भएको बताएका थिए । छलफलमा सहभागि संविधानविद् डा. सुरेन्द्र भण्डारीले राष्ट्रप्रमुखले गरेका प्रत्येक संवैधानिक कदमका जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने अन्तराष्ट्रिय अभ्यास रहेको बताउदै नेपालमा भने यसको परिपालना नभएर दूर्भाग्यपूर्ण स्थिति देखा परेको उहाँको निष्कर्ष थियो ।
त्यस्तै, संविधानविद् डा. भीमार्जुन आचार्यले पनि राष्ट्रपतिको सुझाव संवैधानिक प्रयोगको उत्कृष्ठ अभ्यास भएको उल्लेख गर्नुभयो । त्यस्तै, संविधानविद् डा. विपिन अधिकारीले राष्ट्रपतिको सन्देशमाथि संसदमा छलफल हुनुपर्ने भएपनि संसदमा आवश्यक विषयमा छलफल नै नभएको बताउनुभएको छ । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र पूर्व उपाध्यक्ष यशोदा तिमिल्सिनाले संसद सिमित नेताहरूको निर्णय अनुमोदन गर्ने थलोमात्र भएको उल्लेख गर्दे अबको १५ दिन भित्र राष्ट्रप्रमुखले सरकार, प्रमुख दलहरुसँग संवाद गरी उपयुक्त निर्णय लिनुपर्ने सुझाव दिनुभएको थियो ।
सत्ता गठबनधन : सिट बाँडफाँटको प्रतिवेदन ७ गते
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडका लागि बनेको सत्ता गठबन्धनको कार्यदलले यही भदौ ७ गते प्रतिवेदन बुझाउने भएको छ । आगामी संसदीय निर्वाचनका लागि सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न बनेको ११ सदस्यीय कार्यदलले आगामी ७ भदौसम्ममा प्रतिवेदन गठबन्धनमा बुझाउने भएको हो ।
कार्यदल सदस्य एवम् जनमोर्चा नेता हिमलाल पुरीका अनुसार ७ गतेभित्र सिट बाँडफाँट सुझावसहितको प्रतिवेदन पेश गर्ने तयारी छ । गठबन्धनका दलबीच १ सय ६५ सिटको बाँडफाँट मोडालिटीसहितको सुझाव प्रस्ताव बुझाउने उहाँको भनाइ छ ।
बाबुरामसँग पार्टी एकता अहिले हुन्न : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका बीचमा पहिला प्रतिनिधि सभाको सिट बाँडफाँड हुने अनि मात्र प्रदेशसभाको हुने बताउनु भएको छ। नेपाल जेसिसको कार्यक्रममा गोरखा पुग्नु भएका प्रचण्डले पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँडको कुरा केही समयमा टुङ्गोमा पुर्याउने दाबी गर्नुभयो । उहाँले स्थानीय तह झै यस पटक हतार नहुने पनि बताउनुभयो ।
उहाँले मंसिर ४ गते हुने निर्वाचनमा सबै पार्टीलाई न्यायोचित हुने गरि सिट वाँडफाँड हुने बताउनुभयो । साथै प्रचण्डले बाबुराम भट्टराई अहिले माओवादी केन्द्रको निर्वाचन चिह्नमा चुनाव लड्ने र निर्वाचनपछि मात्र त्यसबारेमा छलफल हुने जानकारी दिनुभयो । अहिले नै बाबुराम भट्टराईसँग पार्टी एकता नहुने स्पष्ट पार्दै उहाँले एउटा बलियो समाजवादी केन्द्र बनाउने छलफल अन्र्तगत अघि वढ्ने बताउनुभयो ।
त्यसअघि आजै काठमाडौँमा आजदेखि सुरु भएको पार्टी निकट योङ्ग कम्युनिष्ट लिग वाईसीएलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा संघर्षमा जान नभइ पदका निम्ति प्रतिस्पर्धा हुने गरेको गुनासो गर्नु भयो । प्रचण्डले सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै अहिले भने नमिठो अनुभव हुन थालेको बताउनुभयो । प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिनुभएको छ ।
वाईसीएललाई शान्ति पूर्ण आन्दोलनमा फौजको रूपमा प्रस्तुत हुन उहाँको निर्देशन छ । क्रान्ति नदोहोरिने भएकाले परिमार्जित र विकसित रूपमा संघर्ष गर्नुपर्ने भन्दै उहाँले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
दुई दिनसम्म चल्ने भेला उद्घाटन सत्र, बन्दसत्र र समापनसत्र गरी तीन सत्रमा सञ्चालन हुनेछ । भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला र प्रदेशबाट ६ सय प्रतिनिधि सहभागी छन् ।
माओवादीले आज पदाधिकारीको टुंगो लगाउँदै
नेकपा माओवादी केन्द्रको पदाधिकारी टुंग्याउन बसेको बैठक बिना निष्कर्ष सकिएको छ । निर्धारित समय भन्दा ढिला गरी सुरु भएको स्थायी कमिटी बैठक पदाधिकारी चयन नगर्दै सकिएको हो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम सिफारिस गर्ने र बैठकबाट अनुमोदन गर्ने भनिए पनि टुंगोमा पुग्न नसकिएको माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । पदाधिकारीको विषयमा लगभग टुंगोमा पुगिसकेको र सम्भवतः अब बस्ने बैठकले टुंगो लगाउने महराले बताउनु भयो ।
नेताहरु विभिन्न कार्यक्रममा सरिक हुनुपर्ने र पार्टीको भातृ संगठन वाईसीएलको भेलामा पनि सहभागी हुनुपर्ने भएकाले आजको बैठक छोटो छलफलपछि स्थगित गरिएको महराले जानकारी दिनुभयो । स्थायी कमिटीको अर्को बैठक भोली दिउँसो १ बजे बस्ने जनाइएको छ । गत असार १८ गते बसेको स्थायी कमिटी बैठकले पदाधिकारीको टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । प्रचण्डले दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने चर्चा छ । उहाँले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठलाई दिइसक्नु भएको छ । त्यस्तै महासचिवमा देव गुरुङको चर्चा छ ।
महासचिवका दुई दावेदार वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेललाई उपमहासचिव प्रस्ताव गर्ने प्रचण्डको तयारी छ । पुन र शर्मा दुवैले महासचिवमा दाबी गरेपछि सहमतिको मध्यबिन्दु खोज्न गुरुङलाई महासचिव बनाउने तयारी भएको बताइएको छ ।
जसपाले तोक्यो उम्मेदवारको मापदण्ड, उम्मेदवार छनौटको कार्यक्रम पनि तय
जनता समाजवादी पार्टीको राजनीतिक समितिको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । बुधबार र बिहीबार दुई दिन बसेको बैठकले मापदण्ड तय गरेको हो । मापदण्डमा पार्टी र समाजमा लोकप्रिय, सक्रियता, दक्षता, निष्पक्षता, निरन्तरतालाई मूल मापदण्ड मानिएको छ ।
यस्त,ै निर्वाचन क्षेत्रको गहन अध्ययन गरी उम्मेदवार गरिने र त्यसका लागि थप ७ वटा मापदण्डहरू तय गरिएका छन् । जसमा पार्टीको नीति, विचार र सिद्धान्त आत्मसात् गर्ने, संगठन सक्रिय, पार्टी तथा सामाजिक कार्यमा समर्पित हुने, स्वच्छ छवि र नैतिकवान् भएको, विजय हासिल गर्न सक्ने, सम्बन्धित जिल्ला र क्षेत्रको वस्तुस्थिति बुझेको र सुशासनको प्रत्याभूति दिन सक्ने उल्लेख छ ।
यस्तै उम्मेदवार छनौटको प्रक्रियाका विषयमा पनि निर्णय गरिएको छ ।
जसमा निर्वाचन क्षेत्र समन्वय समितिले भदौ ११ भित्र जिल्ला समन्वय समितिलाई नामावली पठाउने, जिल्ला समन्वय समितिले भदौ १६ गतेभित्र ५ जनाका दरले प्रदेश समितिमा पठाउने र प्रदेश समितिले प्रतिनिर्वाचन क्षेत्र ३ जनाको नाम भदौ २० भित्र संसदीय बोर्डमा पठाउने निर्णय गरेको छ ।
पार्टीबाट डा. बाबुराम भट्टराई समूह बाहिरिएपछि नेताहरूको कार्य विभाजनमा व्यापक हेरफेर भएको छ । त्यस्तै विभिन्न विभागहरू समेत गठन भएका छन् ।काठमाडौँमा दुई दिनसम्म बसेको जसपा बैठकले सबै गतिविधि चुनाव केन्द्रित गर्ने भन्दै नेताहरूको जिम्मेवारीमा हेरफेर र मनोनयन गरेको हो ।
सात वटा भौगोलिक तथा अन्य जातीय प्रदेश समेत गरी २० प्रादेशिक इन्चार्ज सहइन्चार्जहरु पनि तोकिएका छन् ।जसपाले संगठन विभाग प्रमुख रामसहायप्रसाद यादवलाई तोकेको छ भने पार्टीको मुख्य आधार मानिएको मधेस प्रदेश इन्चार्जमा कृषि मन्त्री मृगेन्द्र कुमार सिंह यादव चयन भएका छन् ।कर्णाली प्रदेशलाई भने केन्द्रबाटै हेर्ने गरी कसैलाई पनि जिम्मा दिइएको छैन ।
तातोपानी र रसुवागढी नाका
सीमा क्षेत्रमा कोभिड संक्रमण बढेको भन्दै चीनसँग जोडिएका दुई प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी एक सातादेखि अवरुद्ध बनेका छन् । चिनियाँ रोकअनुसार तातोपानी नाका गत साउन २५ र रसुवागढी नाका साउन २६ गतेबाट सामान आउन बन्द भएको छ । तिब्बतमा कोरोना संक्रमण वृद्धि भएको भन्दै चीनले त्यहाँका भन्सारबाट आउने सामानमा रोक लगाएको हो । कोराना भाइरस संक्रमणको पहिलो लहरदेखि नै चीनले आफूसँग जोडिएका नाकामा कडाइ गर्दै आएको थियो ।
चीनले विभिन्न बहानामा सात वर्षदेखि पटकपटक नाका बन्द गर्दै आएको हो । दक्षिणी सीमामा बेलाबेलामा समस्या आउँदा विकल्पको रुपमा हेरिने गरेका यी दुई नाका जब नेपालमै समस्या पर्दा बन्द हुने गरेका छन् ।
भारतले २०७२ असोजदेखि नाकाबन्दी गर्दा चीनले तातोपानीबाट आउजाउ गर्न रोकेको ६ महिना बितेको थियो । भारतले नेपाललाई नाकाबन्दी गरुन्जेल चीनले तातोपानी खुलाएको थिएन । यस्तै २०७२ को भूकम्पका बेला पनि चीनले नाका बन्द गरेको थियो । चीनसँग नेपालको करिब १ हजार सय १४ किमी लम्बाइमध्ये तातोपानी र केरुङ मात्रै दोहोरो अवागमन हुने नाका हुन् ।
यी दुई बाहेक संखुवासभाको किमाथाङ्का, हुम्लाको हिल्सा, मुस्ताङको कोरोला र दार्चुलाको टिङ्कर व्यापारिक कारोबारका हिसाबले महत्वपूर्ण मानिए पनि भौतिक पूर्वाधार र सरकारी संरचना नहुँदा सञ्चालनमा आएका छैनन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघ पूर्वअध्यक्ष नरेश कटुवालले चीनबाट नेपालमा सामान आउन रोकिएको पुष्टि गर्दै दशैं नजिकिँदै गर्दा चीनबाट सामान आउन रोकिएकाले स्थिति यस्तै रहे दशैंतिहारको बेलामा सामान अभाव हुनसक्ने तर्फ सचेत गराउनुभयो । अभावका केहि प्रभावहरु ऋहिलै नै देखिन थालेको पनि उहाँको भनाइ छ ।
बुटवल सडकमा तीन दिनभित्र बेस तयार नभए ठेक्का तोड्ने निर्णय
पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग र उत्तरदक्षिण जोड्ने सिद्धार्थ राजमार्गमा पर्ने बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक विस्तार कार्यमा तीन दिनभित्र बेस तयार नभए ठेक्का तोड्ने र वैकल्पिक व्यवस्था गर्न सिफारिस गर्ने निर्णय गरिएको छ ।
बुटवलको मुख्य सडक निर्माणमा देखिएको समस्याबारे विशेष अनुगमन तथा सहजीकरण समितिको बैठकले तीन दिनभित्र बेस तयार नभए वैकल्पिक व्यवस्था गरिने विशेष अनुगमन तथा सहजीकरण समितिका संयोजक बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।
पोल तत्काल गाड्न नसकिएको वा गाड्न नपर्ने पोल एकीकृत गरी व्यवस्थित गर्न विद्युत प्राधिकरणका कार्यालय प्रमुखलाई जिम्मेवारी तोकिएको उहाँले बताउनुभयो । त्यस्तै, खानेपानी पाइप व्यवस्थित गरी गाड्नु पर्ने वा नपर्ने यकिन गरी ३ दिनभित्र उचित व्यवस्थापनका लागि नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुखलाई जिम्मेवारी तोक्ने निर्णय गरिएको छ ।
सडकमा पर्ने नेपाल टेलिकमको ट्राफिक चोकमा भएको म्यानुअल चेम्बरलाई ७ दिनभित्र सबै कार्य सम्पन्न गर्ने व्यवस्थापनका लागि नेपाल टेलिकमको निर्देशनालयका निर्देशकलाई जिम्मेवारी तोक्ने निर्णय गरिएको अनुगमन तथा सहजीकरण समितिका संयोजक पन्थीले बताउनुभएको छ ।
थप छ सय २३ मा कोरोना सङ्क्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप छ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार छ सय २१ जनाले पिसिआर र तीन हजार तीन सय २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय २३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा चार सय ८७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७७ हजार आठ सय ४५ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २४ रहेको छ ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९० पुगेको छ । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् ।
आज श्रीकृष्ण जन्माष्टमी
आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ । कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।
यसैगरी काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भिड लागेको छ । आज काठमाण्डौका विभिन्न ठाउँमा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।‘श्रीकृष्ण जन्माष्टमी’का अवसरमा आज सरकारले सार्वजनिक बिदा दिइएको छ ।
बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन
बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन भएको छ । हिजो काठमाण्डौ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भएपछि काठमाण्डौबाट फोहर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् ।
बिहानैदेखि त्यहाँ फोहर विसर्जन भइरहेको र काठमाण्डौबाट पनि गाडी पुगिरहेका काठमाण्डौ महानगरपालिकाले जनाएको छ । महानगरले आजदेखि दैनिक ३ सय गाडीबाट फोहर विसर्जनको तयारी गरेको छ । ल्यान्टफिल साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का बासिन्दाले पनि आज फोहर बोकेका गाडीलाई रोकेका छैनन् ।
महानगरपालिकाले एक हप्ताभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले सो अवधिसम्म कुनै अवरोध नगर्ने उनीहरुले बताएका वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो । बञ्चरेडाँडामा फोहरका गाडी नियमित जान थाले पनि काठमाण्डौ उपत्यकामा थुप्रिएको फोहर उठाउन समय लाग्ने महानगरपालिकाले जनाएको छ ।
घुम्ती भ्यान खरिदमा भ्रष्टाचार आरोप लागेका १३ जनाले पाए सफाइ
सम्झौता अनुसार सामान आयात भएको र गुणस्तरहीन भ्यान खरिद गरेको नदेखिएको भन्दै विशेष अदालतले खाद्य परीक्षण गर्ने घुम्ती भ्यान खरिदको भ्रष्टाचारको आरोप लागेका १३ जनालाई सफाइ दिएको छ ।सार्वजनिक खरिद नियमावलीमा सामान आपूर्ति गर्दा कुनै त्रुटि वा कमजोरी भए सच्याउने दायित्व आपूर्तिकर्ताको हुने र त्यस अनुसार उसले काम गरेको देखिएको भन्दै विशेष अदालतले भ्रष्टाचार भएको भन्न नमिल्ने व्याख्या गरेको हो ।
स्थलगत रुपमा नै खाद्यवस्तुको परीक्षण गर्न मिल्ने ल्याबसहितको भ्यान खरिदमा अनियमितता गरेको आरोप लगाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ असार २०७६ मा १३ जनाविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो । आरोप पुष्टि हुन नसकेको भन्दै विशेष अदालतका सदस्यहरु रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुसी प्रसाद थारुको इजलासले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णलगायतलाई सफाइ दिएको हो ।
कुनै एउटा ब्राण्डको नभई एसेम्बल्ड गरी भ्यान खरिद गर्न मिल्नेगरी बोलपत्र आह्वान भएको भन्दै विशेष अदालतले मापदण्ड नमिलेको भ्यानका बारेमासमेत सप्लायर्सले पछि मिलाउने प्रतिवद्धता जनाएकाले अन्यथा भन्न नहुने भनी व्याख्या गरेको हो ।
आर्थिक खबर
माथिल्लो अरुणको मुआब्जा निर्धारण
संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाबाट प्रभावित क्षेत्रको जग्गाको मुआब्जा ७ लाखदेखि १५ लाख रुपैयाँसम्म वितरण गरिने भएको छ । आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोला गाविसको जग्गाको मूआब्जा दर निर्धारण गरेको हो । उत्तर–दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी १५ लाख रुपैयाँ मुआब्जा तय गरिएको हो ।
कोसी राजमार्गले छोएको तर बस्ती नभएको जग्गा प्रतिरोपनी १० लाख रुपैयाँ मूल्य तोकिएको छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो । त्यस्तै हटिया ८, ९ र चेपुवा–१ को अलैंची बालीसहितको जग्गा प्रतिरोपनी ९ लाख ५० हजार र चेपुवा–१, हटिया–८ र ९, पावाखोला–३ का अलैंची बाली नभएको पाखाबारीको प्रतिरोपनी ७ लाख रुपैयाँ कायम गरिएको छ । एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको सो आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण अघि बढेको छ ।
विदेशका खबर
श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबायद्वारा अमेरिकी ‘ग्रीन कार्ड’ का लागि आवदेन
श्रीलङ्काका निवर्तमान राष्ट्रपति गोटाबाय राजापाक्षले अमेरिकी ‘ग्रीन कार्ड’ का लागि आवेदन दिनुभएको छ । उहाँले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिनुभएको समाचारमा उल्लेख गरिएको छ । राजापाक्षे श्रीलंकामा गत जुलाईमा भएको प्रदर्शनका कारण पद र देश छाडेर भाग्नुभएको थियो । उहाँले अमेरिका बस्ने गरी आवेदन दिनुभएको बुझिएको छ ।
श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उहाँ अमेरिका जाने तयारीमा रहनुभएको जानकारी दिनुभयो । पूर्वराष्ट्रपति गोटाबायसँग निकट मानिनु हुने विरातुङ्गाले थाइल्यान्ड फर्किने उहाँको योजना रद्ध भइसकेको पनि बताउनुभयो । पहिला उहाँले नोभेम्बरसम्म थाइल्यान्डमै बस्ने योजना बनाउनुभएको थियो । तर कानुन व्यवसायीहरूसँगको परामर्शपछि उहाँ यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुग्नुभएको डेलि मिरर पत्रिकाले लेखेको छ ।
उच्च श्रोतहरूलाई उल्लेख गर्दै लेखिएको समाचारमा गएको महिनादेखि नै उहाँले अमेरिका जाने प्रक्रिया सुरु गर्नुभएको उल्लेख गरिएको छ । उहाँकी श्रीमती आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी गर्नुभएको छ । उहाँले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरूले सङ्कट समाधानको प्रयास गरिरहेका छन् ।
खेल खबर
नवौँ राष्ट्रिय खेलकुदको तयारी तिव्र
गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।राष्ट्रिय खेलकुद परिषद् राखेपबाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन् ।
हाल खेलस्थल छनोट, खेलाडी छनोट तथा प्रशिक्षणको काम भइरहेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपबाट गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले गण्डकी प्रदेशका सबै जिल्लामा खेलकुद पूर्वाधारको निरीक्षण तथा अवलोकन गरेको छ । प्रतियोगिताका अधिकांश खेल पोखरामा हुने भएपनि प्रदेशका सबै जिल्लामा राष्ट्रिय खेलकुदको अपनत्वका लागि कम्तीमा एक खेल खेलाउने योजना राखेपको छ ।
खेल पूर्वाधार रहेका जिल्लामा आवास, अस्पताल, यातायात र सुरक्षालाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय भदौ १५ भित्र टुङ्गो लाग्ने खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले बताउनुभयो ।राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धात्मक ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेल सञ्चालन गर्ने निर्णय राखेपले गरिसकेको छ ।
कतार विश्वकपका लागि साढे २४ लाख टिकट बिक्री
फुटबलको सर्वोच्च निकाय फिफाले कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि आयोजकले २४ लाख ५० हजार टिकट बिक्री गरेको जनाएको छ । जसमध्ये जुलाई ६ देखी १६ सम्मको पहिल्लो बिक्री अवधिमा भन्दा अहिले ५ लाखभन्दा बढी बिक्री भएको जनाइएको छ ।
फिफाका अनुसार समूह चरणमा क्यामरुनविरुद्ध ब्राजिल, ब्राजिलविरुद्ध सर्बिया, पोर्चुगलविरुद्ध उरुग्वे, कोस्टारिकाविरुद्ध जर्मनी र अष्ट्रेलियाविरुद्ध डेनमार्क जस्ता खेलका लागि सबैभन्दा बढी टिकट छुट्याइएको छ ।
फिफाले जनाए अनुसार कतार, साउदी अरेबिया, अमेरिका, मेक्सिको, संयक्त अरब इमिरेट्स, इङ्गल्याण्ड, अर्जेन्टिना, ब्राजिल, वेल्स र अष्ट्रेलियामा बसोबास गर्ने समर्थकहरूले सबैभन्दा धेरै टिकटहरू सुरक्षित गरेका छन् । यस्तै, फिफाले अर्को चरणको टिकट बिक्री खुला सेप्टेम्बरको अन्त्यमा घोषणा गरिने बताएको छ ।
अन्तिम चरणको बिक्री पश्चात कतारको दोहामा ‘ओभर–द–काउन्टर’ बिक्री पनि सुरु हुने फिफाले बताएको छ । फिफाले विश्वकपको उद्घाटन खेल पूर्व निर्धारित सयमभन्दा एक दिन आगाडि सारेको छ । जसअनुसार आयोजक राष्ट्र कतारले नोभेम्बर २० आइतवार इक्वेडरबिरूद्धको खेलबाट प्रतियोगिता सुरु हुनेछ । मध्यपूर्वमा आयोजना गरिएको यो पहिलो विश्वकप हुनेछ । यस क्षेत्रको चर्को गर्मीबाट बच्न विश्वकपको नियमित जुन–जुलाई तालिका परिवर्तन गरी नोभेम्बर–डिसेम्बरमा सारिएको छ ।