Live Streaming

अन्नपूर्ण टप टेन : सत्ता गठबनधनले सिट बाँडफाँटको प्रतिवेदन ७ मा बुझाउने, राजीनामाबारे सोचेको छैन !

सत्ता गठबनधन : सिट बाँडफाँटको प्रतिवेदन ७ गते

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडका लागि बनेको सत्ता गठबन्धनको कार्यदलले ७ गते प्रतिवेदन बुझाउने भएको छ ।

आगामी संसदीय निर्वाचनका लागि सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न बनेको ११ सदस्यीय कार्यदलले आगामी ७ भदौसम्ममा प्रतिवेदन गठबन्धनमा बुझाउने भएको हो । 

कार्यदल सदस्य एवम् जनमोर्चा नेता हिमलाल पुरीका अनुसार ७ गतेभित्र सिट बाँडफाँट सुझावसहितको प्रतिवेदन पेश गर्ने तयारी छ । गठबन्धनका दलबीच १ सय ६५ सिटको बाँडफाँट मोडालिटीसहितको सुझाव प्रस्ताव बुझाउने उहाँको भनाइ छ । 

राष्ट्रपतिले भनिन्, राजीनामाबारे सोचेको छैन !

नागरिकता विधेयक प्रतिनिसिभाले हुबहु पारित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले के गर्नुहुन्छ भन्ने चाँसो बढेको छ । राष्ट्रपति भण्डारीले संसद्मा नागरिकता विधेयकमाथि छलफल भइरहँदा आफ्नो आगामी संवैधानिक कदमबारे निर्णय गर्न बिहीवार शीतलनिवासमा संविधानविद् तथा सरोकारवालाहरूसँग छलफल गर्नुभएको छ ।

छलफलका क्रममा राष्ट्रपति भण्डारीले सरकारले संसद्मा आवश्यक छलफल समेत नगरी हुबहु नागरिकता विधेयक पारित हुन् लागेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । त्यस्तै, उहाँले सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको तथा राष्ट्र र राष्ट्रियताबारे पनि चिन्तित रहेको बताउनुभयो ।
 
प्रचण्डको गुनासोः पदका निम्ति प्रतिस्पर्धा हुन थाल्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा संघर्षमा जान होइन, पदका निम्ति प्रतिस्पर्धा हुने गरेको गुनासो गर्नुभएको छ ।

आज काठमाडौंमा भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरेको स्मरण गर्नुभयो । तर आजभोलि नमिठो अनुभव हुन थालेको भन्दै उहाँले संघर्षका लागि प्रतिष्पर्धा गर्ने प्रवृति घट्दै गएको बताउनुभयो । 

भट्टराई गुटका अराजक गतिविधिले जसपा ठप्प : यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र देखिएको अस्वस्थ गतिविधिले पार्टीलाई क्षति पुगेको बताउनुभएको छ । राजनीतिक समितिको प्रथम बैठकमा अध्यक्ष यादवले प्रस्तुत गरेको प्रस्तावमा बाबुराम भट्टराई र उनको गुटले गर्दा पार्टी जीवन नै ठप्प हुन पुगेको समेत आरोप लगाउनुभएको हो । 

पार्टी केन्द्रीय समितिको वीरगञ्ज बैठकपछि पार्टीभित्रका अनुशासनहीन र अराजक तत्वलाई कारबाही गरेर पार्टीलाई गतिशील र सक्रियताका साथ अगाडि बढाउने काम सुरु भएको अध्यक्ष यादवले बताउनुभयो । 

नागरिकता विधेयकले राष्ट्रियतालाई थप बलियो पार्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले हालै प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकले राष्ट्रियतालाई थप बलियो पार्ने विश्वास व्यक्त गर्नुभएको छ । कतिपय राजनीतिक दलले विधेयकमा भएका कुरालाई तोडमोड गरेर भ्रम छर्ने र चुनावको मुखमा भोटको राजनीति गर्ने प्रयास गरेको उहाँले आरोप लगाउनुभयो । 

आज काठमाडौंमा कृष्ण जन्माष्टमीको अवसरमा भएको चैतन्य झाँकी प्रवचन कार्यक्रममा मन्त्री खाँणले नागरिकता विधेयकले नेपाली नागरिकता भएका आमा बाबुका नागरिकता पाउन नसकेका छोराछोरीलाई नागरिकता दिलाउन सहयोग पुगेको बताउनुभएको हो । 

पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै संसदीय समितिमा उजुरी

राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले निवेदन दिनुभएको हो । 

केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख छ । निगमले बेइमानी कपटपूर्ण व्यवहार गरी उपभोक्ता ठग्ने काम गरेको भन्दै मञ्चले तत्काल समितिले पहल कदम लिइ मूल्य घटाइ नागरिकलाई राहत दिलाउनु पर्ने पनि निवेदनमा उल्लेख छ ।

नतिजाको तयारी 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलको प्रकाशन अन्तिम तयारी थालेको छ । बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकाएर प्राप्तांक चढाउने तथा ‘कम्प्युटर इन्ट्री’ थालिसकेको छ ।

प्राप्तांक कार्य सम्पन्नसँगै परीक्षाफल प्रकाशन तयारी हुनेछ ।गत १६ देखि २५ जेठसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । 

माथिल्लो अरुणको मुआब्जा निर्धारण

संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाबाट प्रभावित क्षेत्रको जग्गाको मुआब्जा ७ लाखदेखि १५ लाख रुपैयाँसम्म वितरण गरिने भएको छ । आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोला गाविसको जग्गाको मूआब्जा दर निर्धारण गरेको हा े । 

उत्तर–दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी १५ लाख रुपैयाँ मुआब्जा तय गरिएको हो  । कोसी राजमार्गले छोएको तर बस्ती नभएको जग्गा प्रतिरोपनी १० लाख रुपैयाँ मूल्य तोकिएको छ  । 

ताइवानद्वारा सैन्य अभ्यास, चर्कंदै तनाव

अमेरिकी प्रतिनिधिसभाकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि उक्त क्षेत्रमा तनाव जारी रहेकै बेला ताइवानले आफ्नो अत्याधुनिक लडाकु विमानसहित सैन्य अभ्यास गरेको छ । ताइवानी कदमपछि चीनसँगको सम्बन्धमा थप तनाव बढेको छ । 

चीनको बारम्बारको चेतावनीको बेवास्ता गर्दै अमेरिकी सभामुख पेलोसी आफ्नो एसिया भ्रमणका क्रममा अगस्ट पहिलो साता ताइवान पुग्नुभएको थियो । ताइवान मामिलामा अमेरिका र चीन केही शान्त रहेका बेला ताइवानले पनि सैन्य अभ्यास सुरु गरेपछि त्यस क्षेत्रमा पुनः तनाव चर्कने निश्चित भएको छ  । 

नवौँ राष्ट्रिय खेलकुदको तयारी तिव्र

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिव्र पारिएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपबाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन् । हाल खेलस्थल छनोट, खेलाडी छनोट तथा प्रशिक्षणको काम भइरहेको छ ।