Live Streaming

अन्नपूर्ण खबर : नागरिकता विधेयक हुबहु पारित, १३५ जनाले गरे पक्षमा मतदान, गठबन्धनमा सिट बाँडफाँडमा अन्यौल

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट हुबहु पारित÷राष्ट्रपतिलाई दोस्रो पटक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता/दलहरु राजनीतिक दाउपेचमै व्यस्त ।

आज बस्ने भनिएको माओवादी स्थायी कमिटी बैठक भोलिका लागि स¥यो/पदाधिकारी नियुक्ती टुंगो नजिक पुगेको दावी÷पाँच नेतालाई उपाध्यक्षको जिम्मेवारी ।

एमसीसी कार्यान्वयनको चरणमा जान अझै १ वर्ष लाग्ने एमसीए नेपालको भनाइ/साढे २८ किलोमिटर प्रसारण लाइनको रुट परिवर्तन हुने ÷ पूर्वतयारीमै सकियोसाढे ६ अर्ब ।

सङ्कटग्रस्त श्रीलङ्काको आर्थिक सङ्कुचन आठ प्रतिशतले बढ्ने चेतावनी/रुसद्वारा महासभा भ्रमणका लागि अमेरिकाले विदेशमन्त्री र प्रतिनिधिमण्डललाई भिसा दिने अपेक्षा ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताईरीद्धारा एन्फासामू जावाफी पत्र ÷एन्फाले राजीनामा र अलमुताईरीले बर्खास्ती चाहदा विवाद झन बढ्दै ।
अन्नपूर्ण खबर 

नागरिकता विधेयक हुबहु पारित, १३५ जनाले गरे पक्षमा मतदान

प्रतिनिधि सभाको आज बसेको बैठकले नागरिकता विधेयक बहुमतले हुबहु पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा सन्देशसहित फिर्ता पठाएको विधेयक आजको संसद् बैठकले पूर्णतया छलफल गरी मत विभाजनसहित बहुमतले हुबहु पारित गरेको हो । मतदानमा नागरिकता विधेयकको पक्षमा १३५ मत, विपक्षमा ६० मत परेभने मतदिन्न भन्ने पक्षमा एकमत पनि परेको थिएन । प्रतिपक्ष दल नेकपा एमालेले विधेयक पास गर्न मतदानको माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई मतदानको अवसर दिएका थिए । सरकारले अब विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई फेरि पठाउने छ । 

नेपालको संविधानको धारा ११३ को उपधारा ४ मा राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । 

राष्ट्रपतिको सन्देशमा यहाँनेर संविधान मिचियो भनिएको छैन : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नगारिकता विधेयक फिर्ता गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचिएको कुरा उल्लेख नगरेको बताउनुभएको छ । प्रतिनिधिसभामा नागरिकता विधेयक र राष्ट्रपतिले फिर्ता पठाएको सन्देशमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्रीले यस्तो दाबी गर्नुभएको हो । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाँणले संविधानको आधारशीलामा टेकेर नै नागरिकता विधेयक ल्याएको र त्यसमा राष्ट्रपतिले संविधान मिचेको कुनै आधार नदेखाएको दाबी गर्नुभयो । 

राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकता विधेयकको प्रतिवेदन संसदीय प्रक्रिया अनुसारनै वर्तमान सरकारले फिर्ता लिएको पनि गृहमन्त्री खाँणको भनाई थियो । नयाँ सरकार बनेपछि राज्यव्यवस्थाको प्रतिवेदन प्रस्तुत गर्ने वातावरण नभएको र त्यो एमालेका कारण नै भएको गृहमन्त्री खाणको आरोप छ ।

त्यसअघि विधेयकमाथिको छलफलमा प्रतिपक्षका सांसदहरुले पूर्ण प्रकृयाबाट विधेयक अघि बढ्नुपर्ने र राष्ट्रपतिले दिएका सुझावहरु मान्नुपर्ने बताएका थिए । नागरिकतालाई हरेक पटक राजनीतिकीकरण गर्ने क्रम यो विधेयकमा पनि रोकिएको छैन । सत्तापक्षका सांसदहरुले भने अध्यादेशसंग जोड्दै उहिले सहि भए अहिले किन गलत भन्ने प्रश्न उठाएका छन्  । 

आफ्ना धारणा राख्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले संसद्बाट पारित विधेयक फिर्ता पठाउने तर संसद् विघटन गरी ल्याएको अध्यादेश संविधानको व्यवस्था देखाएर फिर्ता गर्नै मिल्दैन भन्ने ? भनेर प्रश्न गर्नुभएको छ ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ जेठ ९ गते प्रतिनिधिसभा दोस्रोपटक विघटन गरेको भोलिपल्ट नागरिकता अध्यादेश जारी गरेको प्रसंग उल्लेख गर्दै रिजालले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई प्रश्न गर्नुभएको हो । 

यस्तै नेकपा एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा स्वीकार्य नहुने बताउनुभएको छ । रावलले बालुवाटारमा बसेर ५ दलीय गठबन्धनले गरेको कुरा संविधानभन्दा माथि नहुने भन्दै संविधानअनुसार चल्न सरकारसँग आग्रह गर्नुभयो । 

यस्तै एमालेकै सांसद प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्नका लागि संसद्मा फिर्ता गरेर सर्वस्वीकार्य बनाउने अवसर दिएको बताउनुभएको छ । 

यता माओवादी केन्द्रका सांसद वर्षमान पुनले कार्यकारी वा सरकारका दैनिक काममा प्रश्न उठाउनका लागि राष्ट्रपतिलाई संवैधानिक अधिकार नदिइएको बताउनुभयो । 

माओवादी बैठक भोलि बिहानसम्मलाई स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि स्थगित भएको छ । आज बिहान ९ बजे बोलाइएको बैठक दिउँसो ४ बजेलाई सारिएको थियो । संसदमा नागरिकता विधेयकमाथिको छलफल नसकिएका कारण बैठक भोलि बिहान ८ बजेसम्मलाई स्थगित भएको माओवादीका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पदाधिकारी घोषणा गर्ने तयारी थियो । 

माओवादी केन्द्रले पाँच जना नेताहरुलाई उपाध्यक्षको जिम्मेवारी दिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरु दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेका माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभयो । प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठलाई दिइसक्नुभएको छ । माओवादी स्रोतका अनुसार देव गुरुङ महासचिव हुने पक्का जस्तै छ । महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने जनाइएको छ । 

मतदान केन्द्र र स्थललाई अशक्त तथा लैंगिकमैत्री बनाउन सरकारलाई आयोगको निर्देशन

निर्वाचन आयोगले मतदान केन्द्र र स्थललाई अपांग, अशक्त तथा लैंगिकमैत्री बनाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले आज निर्वाचन अधिकृतको कार्यालय स्थापनामा आवश्यक सहयोग र सहजीकरण गर्न भन्दै सरकारलाई ३ बुँदे निर्देशन दिएको हो ।

आयोगले दिएको निर्देशनमा आयोगबाट कायम भएका मतदानस्थल तथा मतदान केन्द्रहरूमा रहेका संरचना संरक्षण, मर्मत सम्भार एवम् उक्त स्थनमा खानेपानी शौचालय, विद्युत्, सडक, पुल पुलेसा, कम्पाउण्ड वाल, तारबार तथा सञ्चारजस्ता सुविधाको आवश्यक व्यवस्था गर्नुका साथै मतदानस्थल तथा मतदान केन्द्रलाई अपांग, अशक्त तथा लैंगिकमैत्री बनाउने व्यवस्था मिलाउने विषय उल्लेख छ । 

निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक पर्ने सरकारी भवन, फर्निचर सरसामान र सवारी साधनलगायत भौतिक सामग्रीहरूको व्यवस्थापन गरी तयारी अवस्थामा राख्न पनि आयोगले भनेको छ । 

सिट बाँडफाँडमा अन्यौल गठबन्धन बैठक बसेन

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनमा सिट बाँडफाँडमा अन्यौलता देखिएको छ । गठबन्धनमा सिट बाँडफाँडको लागि गठन गरिएको कार्यदललाई साउन अन्तिम सातासम्म सिट बाँडफाँडबारे प्रस्ताव ल्याउने समय दिइएको थियो । तर कार्यदलका सदस्यहरुमै बाँडपफाँडको आधार केलाई मान्ने भन्नेमा मतभेद देखिँदा कार्यदलले सिट बाँडफाँडको टुृंगो लगाउन सकेन । कांग्रेस, माओवादी केन्द्रसहित पाँच दलबीच आगामी चुनावमा तालमेल गर्ने सहमति छ । 

गठबन्धनले कृष्णप्रसाद सिटौला नेतृत्वमा कार्यदल बनाए पनि कार्यदलले सिट बाँडफाँटको टुंगो लगाउन नसकेको हो । अब बस्ने गठबन्धनको बैठकमा कार्यदलका संयोजक सिटौलाले सिट बाँडफाँटबारे कार्यदलमा भएको छलफलको प्रगति प्रस्तुत गर्ने तयारी छ । त्यस्तै आज बस्ने भनिएको गठबन्धन दलका शिर्षनेताहरुको बैठक पनि बस्न सकेन । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूबीच पनि भेटवार्ता भएको छ । 

लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहित नेताहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुभएको हो । भेटमा नागरिकता विधेयक, सरकार र चुनावी गठबन्धनका विषयमा छलफल कुराकानी भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिनुभयो ।

एमसीसी एक वर्षपछि मात्र कार्यान्वयनको चरणमा जाने

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानअन्तर्गत बन्ने विकास परियोजनाहरुको काम अबको एक वर्षपछि कार्यान्वयनको चरणमा जाने भएको छ । परियोजनाअन्तर्गत बन्ने प्रसारण लाइन र सडक मर्मत सम्भारका लागि एक वर्षभित्र सबै पूर्वतयारी सकेर २०२३ अगस्टबाट निर्माण सुरु गरिने लक्ष्य राखिएको मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल विकास समितिले जनाएको छ ।परियोजना कार्यान्वयन भएको मितिले ५ वर्षभित्र सकिसक्ने लक्ष्य राखिएको छ ।एमसीए नेपालअन्तर्गत ३ सय १५ किलोमिटर लामो ४ सय केभी विद्युत् प्रसारण लाइनका साथै ३ वटा सबस्टेसन निर्माण गरिने छन् ।

त्यसैगरी, सडक मर्मततर्फ दाङ जिल्लामा पर्ने पूर्व–पश्चिम लोकमार्गको सडकखण्डमा ७७ किलोमिटर सडकमा काम गरिने छ । रातामाटे सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ४ सय रोपनीमध्ये अधिकांश जग्गाको मुआब्जा वितरण र अधिग्रहणको काम सकिइसकेको छ । तर ‘राइट अफ वे’ मा स्थानीयले विरोध गरेपछि साढे २८ किलोमिटर बराबर प्रसारण लाइनको रुट परिवर्तन गर्न लागिएको छ । नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा एमसीसी नेपाल कम्प्याक्टमा हस्ताक्षर भएको थियो । 

कुल ६३ करोड अमेरिकी डलर बराबर लागत रहेको यो परियोजनामा ५० करोड अमेरिकी डलर एमसीसी र १३ करोड अमेरिकी डलर नेपाल सरकारले बेहोर्ने जनाइएको छ ।हालसम्म यसका लागि करिब साढे ६ अर्ब रूपैयाँ खर्च भएको एमसीए नेपालले जनाएको छ । पूर्वतयारीमा पाँच वर्ष विनाअवरोध काम हुन्छ भन्ने सुनिश्चित भएपछि कार्यान्वयनमा गएको मितिलाई आधार मानेर पाँच वर्षको समय सुरू हुनेछ ।

क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको छ । क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग राखी अधिवक्ता सागर बराल लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ । आगामी सोमबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

थप ५४२ जनामा कोरोना संक्रमण, ४२१ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो हो ।पछिल्लो २४ घण्टामा ४२१ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २६५ जना रहेको छ ।

उपत्यकामा हैजाका बिरामीको संख्या ५७ पुग्यो 

काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अधिकांशमा हैजाको स्रोत पानी रहेको छ ।हैजा नियन्त्रणको काम भइरहेको मन्त्रालयले जनाएको छ । भिब्रिओ कोलरी ब्याक्टेरियाका कारण लाग्ने हैजा गम्भीर खालको झाडापखाला हो । 

दाङमा ‘हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोज्ने ५ जना पक्राउ

दाङमा ‘हनी ट्रयाप’मा पारेर पैसा असुल्न खोज्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय दिलिपकुमार वली, दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँकी ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया शर्मिला भन्ने प्रमिला नेपाली रहेका छन् । 

उनीहरुले घोराही उपमहानगरपालिका– १० नारायणपुरका सुनचाँदी व्यवसायी दिनेश घर्तीमगरलाई प्रेम सम्बन्धको नाटक गरी उनीसँग रकम असुल्न खोजेको प्रहरीको भनाइ छ । पक्राउ परेका दिलिपकुमारको संलग्नतामा युवती प्रमिलालाई प्रयोग गरेर सो गिरोहले पैसा असुल गर्न खोजेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।  

काफ्लेका अनुसार घर्तीसँग उनीहरुले १ लाख नगद, २ लाखको २ वटा चेक र ७ लाख २० हजारको अर्को चेक लगेका थिए । पक्राउ परेकाहरुमाथि अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

६९ लाख रूपैयाँसहित काठमाडौंबाट तीनजना हुन्डी कारोबारी पक्राउ

हुन्डी कारोबारीको आरोपमा काठमाडौंबाट ६९ लाख रूपैयाँसहित तीनजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई घण्टाघर र कलंकीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–१० का ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाई–७ घर भई काठमाडौंको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिशलकुमार शाह र धनुषाको जनकपुर–३ घर भई काठमाडौंको टेकु बस्ने ३३ वर्षीय अंकित गोयन्का रहेका छन् ।

घण्टाघरमा श्रेष्ठले सञ्चालन गर्दै आएको सर्जोग टुर एन्ड ट्राभल्सबाट ६० लाख र कलंकीमा गोयन्काले सन्चालन गर्दै आएको आनी इन्टरनेसनलबाट ९ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार गोयन्काको कर्मचारी रहेका शाहले श्रेष्ठको कार्यालयमा हुन्डीको रकम लिन आएको बेला छापा मारिएको थियो ।

गौतमश्री सहकारीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्पष्टीकरण सोधेको छ । करिब ५ हजार सदस्यको ७ अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेर सञ्चालकहरू फरार भएकाले उजुरी परेपछि सहकारी विभागले गत साउन १८ मा उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा सो सहकारीलाई १५ दिनको समय दिएर स्पष्टीकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआए समस्याग्रस्त घोषणा गर्ने निर्णय भएको सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले बतानुभयो । 

करिब डेढ महिनाअघि सहकारीका सञ्चालक र उच्च तहका कर्मचारीहरु फरार भएपछि बचतकर्ताले आफूहरुको बचत फिर्ताको माग गर्दै सहकारी विभागमा उजुरी दिएका थिए । जसअनुसार बुधबारसम्म सो सहकारीका बचतकर्ताहरुबाट करिब १४ सयभन्दा बढी उजुरी परेको छ । ती उजुरीका आधारमा सहकारी विभागलेसहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । 

अन्नपुर्ण खबर

आर्थिक खबर

२८ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

साताको पाँचो कारोबार दिन आज सेयर बजारमा सुधार भएको छ । सेयर बजार परिसूचक नेप्से २७.७२ अंक (१.३६ प्रतिशत) ले वृद्धि भएर २०६८.४२ अंकमा बन्द भएको छ ।सोमबार ५५.८८ अंकले वृद्धि भएर मंगलबार २४.८३ अंक र बुधबार ०.३६ अंकको सामान्य गिरावट भएको नेप्सेमा बिहीबार पुन वृद्धि भएको हो ।नेप्सेसँगै सबै उपसूक बढ्दा वित्त कम्पनी र विकास बैंक उपसूचक ३ प्रतिशत माथि र हाइड्रोपावर उपसूचक २.९८ प्रतिशतले बढेको छ ।नेप्सेमा सुधार हुँदा कारोबार रकम पनि बढेको छ । 

हिँजो कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेको मा आज पुनः २ अर्ब नाघेको छ । हिँजो १ अर्ब ४० करोड ६० लाख कारोबार भएको बजारमा आज ५१ लाख १ हजार २२० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजारको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक १० करोड ४३ लाख ५९ हजारको कारोबार भएको छ । यस्तै अपी पावरको ७ अर्ब ८० करोड २७ लाख र शिवम् सिमेन्टको ६ करोड ३ लाख ९४ हजारको कारोबार भएको छ । आज बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको स्थिर छ । 

विदेशका खबर

सङ्कटग्रस्त श्रीलङ्काको आर्थिक सङ्कुचन आठ प्रतिशतले बढ्ने चेतावनी

श्रीलङ्काको आर्थिक मन्दीका कारण यस वर्ष कम्तीमा आठ प्रतिशतले संकुचन आउने तर सर्वसाधारणले चाँडै नै मुद्रास्फीतिबाट केही राहतको अपेक्षा गर्न सक्ने श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले बताउनुभएको छ । गत अप्रिलमा ५१ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक ऋण नतिरेको यो टापु राष्ट्रले महिनौंदेखि खाद्यान्न, इन्धन र औषधिको अभाव भएपछि अन्तर्राष्ट्रिय मुद्रा कोषको सहुलियत कर्जाको माग गरिरहेको छ । 

यसको दुई करोड २० लाख मानिसहरूले पनि लामो समयसम्म लोडसेडिङ, अभाव र मुद्रास्फीतिापछि जीवनयापनको लागतको बढ्दो दबाबबाट गुज्रेका छन् । श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२० मा ३.६ प्रतिशतले संकुचन आएकोमा सन् २०२० मा अर्थतन्त्र ७.५ प्रतिशतले खुम्चिने प्रक्षेपण गरिसकेको छ । आधिकारिक रूपमा ६०.८ प्रतिशतको हाराहारीमा रहेको मुद्रास्फीति सेप्टेम्बरमा ‘करिब ६५ प्रतिशत’ पुग्ने र त्यसपछि मागमा आएको कमी र आपूर्तिमा आएको सुधारका कारण क्रमिक रूपमा केही सहज हुने उहाँले बताउनुभयो । 

मुद्राको राम्रो प्रवाह र कम आयातका कारण आर्थिक सङ्कट निम्त्याएको विदेशी विनिमयको अभाव कम भएको उहाँले दाबी गर्नुभयो । श्रीलङ्कामा इन्धनको चरम अभावको चरणमा मोटर चालकहरूले इन्धन भर्न हप्तौं पर्खनु परेको थियो, तर ईन्धन वितरणलाई प्राथमिकताका आधारमा व्यवस्थित गरिएपछि इन्धन स्टेसनका लाइनहरूलाई छोटो बनाएको छ ।

विदेशमन्त्री र प्रतिनिधिमण्डललाई भिसा दिने अपेक्षा

संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको ७६ औँ महासभाको उच्चस्तरीय बैठकमा भाग लिनका लागि विदेशमन्त्री रुसी सर्गेई लाभरोभ र उहाँको प्रतिनिधिमण्डललाई भिसा दिने अपेक्षा रुसले गरेको छ । रुसी विदेश मन्त्रालायका  वरिष्ठ अधिकारी प्योत्र इलिचेभले विदेशमन्त्री ल्याभरोभ सहितको प्रतिनिधिमण्डललाई अमेरिकाले भिसा दिने अपेक्षा गरिएको बताउनुभएको हो । रुसी परराष्ट्रमन्त्री सर्गेई लाभरोभलाई फेब्रुअरीको अन्त्यमा अमेरिकाले प्रतिबन्धहरू लगाएको थियो । 

जसमा देश प्रवेश गर्न प्रतिबन्ध, अमेरिकामा सम्पत्ति रोक्का गर्ने र अमेरिकी कम्पनीहरू र नागरिकहरूलाई प्रतिबन्धहरूको सूचीमा समावेश भएकाहरूसँग व्यापार गर्नबाट समेत प्रतिबन्ध लगाइएको थियो । रुसी विदेश मन्त्रालयले भने प्रतिबन्धलाई अवैधानिक भन्दै लाभरोभको विदेशी बैंकहरूमा खाता नभएको जनाएको छ । जुलाई २७ मा केही मिडिया रिपोर्टहरूले संयुक्त राष्ट्रसंघका निकायहरूको काममा भाग लिन चाहने थुप्रै रूसी प्रतिनिधिहरूलाई अमेरिकाले भिसा जारी नगरेको कारण रूसले आफ्ना कूटनीतिज्ञहरूले अमेरिकी भिसा प्राप्त गर्न नसक्ने हुन सक्ने तर्फ सङ्केत गरेको हो । संयुक्त राष्ट्रसंघ र संयुक्त राज्य अमेरिका बीचको सम्झौता अनुसार मुख्यालयको आयोजक राष्ट्रको हैसियतमा अमेरिकी अधिकारीहरूले सङ्गठनका सदस्य राष्ट्रका प्रतिनिधि र अधिकारीहरूलाई संयुक्त राष्ट्रसंघको भ्रमणमा अवरोध गर्नु हुँदैन भन्ने प्रावधान भएको  स्पुतनिकले उल्लेख गरेको छ । 

 खेल खबर

अलमुताईरीले पठाए एन्फालाई पत्र  

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले  अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जवाफी पत्र पठाउनुभएको छ । मुख्य प्रशिक्षक अलमुताइरीले आज एन्फालाई इमेलमार्फत जवाफी पत्र पठाउनुभएको हो । एन्फा महासचिव किरण राईले अलमुताइरीको पत्र प्राप्त भएको जानकारी दिनुभयो । महासचिव राईले अलमुताइरीको पत्रमा उल्लेख भएको विषय खुलाउन चाहनुभएन तर, पत्रको अध्ययन र छलफलपछि सार्वजनिक गरिने उहाँको भनाइ छ । एन्फाले गत साउन अन्तिम साता छानविन समितिले दिएको प्रतिवेदनका आधारमा जवाफ माग्दै प्रशिक्षक अलमुताइरीलाई पत्र पठाएको थियो ।

गत बैशाखमा राष्ट्रिय टोलीका १० सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि उहाँ विवादमा तानिनुभएको थियो । सो विवादबारे छानविन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार मुख्य प्रशिक्षक समेत दोषी रहेको देखाएको छ ।प्रतिवेदनले एसियन कप छनोटपछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो ।
एन्फाले अलमुताईरीसँग मासिक झण्डै १० हजार डलर दिनेगरि तीन वर्षको सम्झौता गरेको थियो ।

यदी एन्फाले अलमुताईरीलाई बर्खास्त गरेको खण्डमा बाँकी दुई वर्षको करिब साढे दुई करोड रुपैयाँको क्षतिपूर्ती दिनुपर्छ ।  अलमुताईरी राष्ट्रियबाट हट्नै परे क्षतिपूर्ती सहितको सोही बर्खास्ती खेजिरहनुभएको छ । यसकारण पनि एन्फा र अलमुताईरीबीचको विवाद बढ्दै गएको छ । मुख्य प्रशिक्षकको राजीनामा खोजेको एन्फा र बर्खास्ती चाहेका अलमुताईरीको यही अन्तरद्धन्दले समस्या समाधानतर्फ उन्खुख भएको छैन ।