Live Streaming

अन्नपूर्ण टप टेन : 'क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट, पहिरोले पाठयपुस्तक अलपत्र'

गठबन्धन बैठक बसेन, देउवा–दाहालबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाले आज बिहान सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बिहान १० बजेका लागि बोलाउनुभएको थियो । तर, नेताहरूको व्यस्तताका कारण बिहान गठबन्धनको बैठक बस्न सकेन । सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भने छलफल गर्नुभएको छ । छलफलमा नागरिकता विधेयक अघि बढाउनेबारे कुराकानी भएको छ । 

आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी, व्यवसायीहरूसँग आग्रह गर्नुभएको छ । आज ललितपुरमा छैटौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न आग्रह गर्नुभयो । उहाँले महिला उद्यमशीलता प्रवर्द्धन क्षेत्रलाई थप प्रभावकारी बनाइ रचनात्मक भूमिका निर्वाह गर्न जरुरी रहेको पनि बताउनुभयो ।

पार्टी पहिले जस्तो नभएको प्रचण्डको भनाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी पहिलेको जस्तो नरहेको बताउनु भएको छ । आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको बताउनुभयो । अहिले  क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिस्पर्धा गर्नेतिर नभइ आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको उहाँको भनाइ छ । 

क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको छ । क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग राखी अधिवक्ता सागर बराल लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको हो । आगामी सोमबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको सुनुवाई आज पनि स्थगित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आजको लागि तय भएको पेशी स्थगित भएको छ। सर्वोच्च अदालतले आज भदौ २ गते अन्तिम बहस हुने गरि पेशी तोक्ने उल्लेख गरेको थियो । तर आज सो मुद्दा स्थगित भएको छ। सर्वोच्च अदालतले गभर्नर अधिकारीको मुद्दा स्थगितको सुचीमा राखेको छ।

यसअघि अदालतले गभर्नर कै पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । सो मुद्दामा बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एकल इजलाशले गभर्नरलाई निलम्बन गर्ने निर्णयबारे कारण देखाउ आदेश जारी गर्दै अल्पकालिन अन्तरिम आदेश जारी गरि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

पहिरोले पाठयपुस्तक अलपत्र

मुगुुको खत्याड गाउँपालिका जोड्ने मुख्य सडक बाढी–पहिरोले अवरुद्ध हुँदा पाठयपुस्तक विद्यालयमा पुग्न नसकी बीचमै अलपत्र परेका छन् ।

बाढी पहिरोले गोठीज्यूला कालाकाँडा गम्था सडक अवरुद्ध बनेपछि खत्याड गाउँपालिकाको सामुदायिक विद्यालयका लागि सुर्खेतदेखि ढुवानी भएको सम्पूर्ण पाठयपुस्तक जुम्ला गोठीज्यूलामै अलपत्र परेको हो । गत वैशाखमै सम्बन्धित विद्यालयमा पुग्नु पर्ने पाठयपुस्तक चार महिनासम्म पनि खत्याड गाउँपालिकाका विधार्थीको हातमा पाठयपुस्तक पुग्न सकेको छैन ।

गौतमश्री सहकारीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

करिब ५ हजार सदस्यको ७ अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेर सञ्चालकहरू फरार भएकाले उजुरी परेपछि सहकारी विभागले गत साउन १८ मा उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको आधारमा १५ दिनकोस्पष्टीकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआए समस्याग्रस्त घोषणा गर्ने निर्णय भएको हो । 

बजेट प्रणाली र सरकारी कोष बाहिरबाटै खर्च गर्छन् दातृ निकाय
नेपालमा वैदेशिक सहायता उपलब्ध गराइरहेका दातृ निकायहरु वार्षिक बजेट प्रणाली र सरकारी कोषभन्दा बाहिरबाट खर्च गर्न बढी इच्छुक हुने गरेको देखिएको छ ।

अर्थ मन्त्रालयले यसै साता सार्वजनिक गरेको ’विकास सहायता प्रतिवेदन २०२०÷२१’ अनुसार संयुक्त राष्ट्र संघ र युएसएड ले नेपालमा परिचालन गरेको सहायता रकममध्ये ९९ प्रतिशत गैर–बजेटरी र सरकारी कोषभन्दा बाहिरबाट खर्च गर्ने गरेका छन् ।

चीनमा कृतिक वर्षा गराउन तयारी 

चीनमा लामो समयको खडेरीसँगै तापक्रम अत्याधिक वृद्धि भएपछि कृत्रिम वर्षा गराउने तयारी भएको छ । चीनको मध्य तथा दक्षिणीपश्चिमी क्षेत्रमा चिनियाँ विमानहरुले आकाशमा बादल सिर्जना गर्ने सिल्भर आयोडाइड रडहरु विष्फोट गराएका छन् ।

चुरोटका खिल्ली जस्ता रडहरु आकाशमा देखिएका बादलभित्र विष्फोट गराएर त्यसबाट वर्षा गराउने प्रयास गरिएको हो । यद्यपी त्यसको परिणाम भने सन्तोषजनक नभएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

अलमुताईरीले पठाए एन्फालाई पत्र  

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले  अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जवाफी पत्र पठाउनुभएको छ । एन्फा महासचिव किरण राईले अलमुताइरीको पत्र प्राप्त भएको जानकारी दिनुभयो । महासचिव राईले अलमुताइरीको पत्रमा उल्लेख भएको विषय खुलाउन चाहनुभएन तर, पत्रको अध्ययन र छलफलपछि सार्वजनिक गरिने उहाँको भनाइ छ ।

मासिक झण्डै १० हजार डलर दिनेगरि तीन वर्षको अल्मुताईरीसंग सम्झौता गरेको एन्फाले बर्खास्त गरेको खण्डमा बाँकी दुई वर्षको करिब साढे दुई करोड रुपैयाँको क्षतिपूर्ती दिनुपर्नेछ । यसकारण पनि एन्फा र अलमुताईरीबीचको विवाद बढ्दै गएको छ ।