Live Streaming

अन्नपूर्ण दिनभर : गठबन्धनमा सिट बाँडफाँटको मापदण्डमै अलमल, प्राधिकरण बिजुली व्यापार गर्न सफल


दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु/६ जना घाइते ।

सत्ता गठबन्धनमा आगामी निर्वाचनका लागि सिट बाँडफाँटको मापदण्डमै अलमल/आज बस्ने बैठकमा मोडालीटी पेश हुँने ६० सिटमा माओवादीको दावी । 

निलम्बित प्रधानन्यायधीष विरुद्धको महाभियोगमाथि अध्ययन शुरु÷आन्तरिक कार्यविधि तयार महाअभियोग प्रस्ताव चाँडै निष्कर्षमा पुर्याउन सबै दलको एकमत ।

कर्मचारीलाई तलव खुवाउन समेत ऋण लिनुपर्ने अवस्थामा रहेको विद्युत प्राधिकरणको नाफा बढ्दै विद्युतीय प्रणाली सुधार्नेदेखि ठूला आयोजना बनाउनेसम्मका २ दर्जन नयाँ योजना सार्वजनिक ।

चीनमा अत्याधिक तापक्रम वृद्धिका कारण उर्जा संकट ६ दिनसम्म उद्योग बन्द गर्न निर्देशन । 

सी डिभिजन छनोटका लागि भदौ २४ सम्म टिम दर्ताको समय तोकियो ।

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् । गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप आज अपराह्न शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिनुभयो  । 

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ । जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ । 

गठबन्धनमा सिट बाँडफाँटको मापदण्डमै अलमल

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरि अघि बढ्न सहमत भएका सत्तारुढ दलहरुबीच भागबण्डाका बिषय पेचीलो बन्दै गएको छ । विशेषगरि सिट बाँडफाँटको मापदण्डमा अलमल देखिएको छ ।

पाँच दलका नेता सम्मिलित कार्यदलले पटक पटक बैठक बसेर छलफल गरे पनि सिट बाँडफाँटको मापदण्ड के हुने भन्नेमै सहमति जुटाउन सकेको छैन ।नेताहरूका अनुसार सिट बाँडफाँटको आधारबारे गठबन्धन दलले फरक फरक धारणा राखेका छन् । 

कार्यदलमा सिट बाँडफाँटको मापदण्डमै सहमति नभएपछि अहिलेसम्म दलहरूले आफ्नो दाबीसमेत औपचारिक रुपमा उठाउन सकेका छैनन् ।

कार्यदललको अघिल्लो बैठकमा सिट बाँडफाँडका चार आधारबारे छलफल भएको थियो । तर, सबै दल ती आधारमा छलफल गर्न तयार छैनन् । त्यसबेला ०७४ को प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम, २०७९ को स्थानीय तहको मत परिणाम र दलभित्रको संवेदनशीलतालाई ख्यालमा राखेर सिट बाँडफाँट गर्न सकिने विषय उठेको थियो । 

नेताहरूले त्यसमा सहमति भएको समेत भनेका थिए ।तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत गठबन्धनका अन्य दलले भने २०७४ को सिट संख्यालाई प्रमुख आधार बनाएर सिटको बाँडफाँड गर्नुपर्ने दाबी छोडेका छैनन् । त्यसो गर्न कांग्रेसले मानेको छैन ।

कांग्रेस महामन्त्री गगन थापाले सार्वजनिक रुपमै कांग्रेसले सिट बाँडफाँटमा ०७९ को स्थानीय तह निर्वाचनको परिणाम नै प्रमुख आधार बनाउने बताउनुभएको छ । 

माओवादीको दाबी ६० सिट

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ६० सिट आफूले पाउनुपर्ने बताएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको आज बस्ने बैठकमा माओवादी नेतृत्वले कार्यदलमा रहेका सदस्यहरुलाई ६० सिटमा दाबी गर्न भनेको स्रोतले बताएको छ ।  

२०७४ चुनावमा नेकपा एमालेसँग तालमेल गरेको माओवादीले ३७ सिट जितेको थियो । २०७४ सालको चुनावमा एमाले र माओवादीबीच ६०–४० को भागबण्डा भएको थियो । जस अनुसार माओवादीले ६० सिटमा उम्मेदवारी दिएको थियो ।

माओवादी सँग एसको एकता 

नेकपा एकीकृत समाजवादी चुनावपछि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गरी एकता संयोजन समिति बनाउन तयार भएको छ । आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले यसका लागि छलफल अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकीकृत समाजवादीसँग एकता गर्न छिट्टै एकता संयोजन समितिको घोषणा हुने बताउनुभएको थियो । 

त्यस्तै बैठकले भदौ ९ गते देशभर पार्टी स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ । नेकपा एमालेबाट विभाजित भएपछि नेकपा एकीकृत समाजवादीले ९ भदौमा नयाँ पार्टी दर्ता गरेको थियो ।भदौ पहिलो साताभित्र पार्टीले संघ र प्रदेशका लागि उम्मेदवार तय गरिसक्ने निर्णय समेत बैठकले गरेको खतिवडाले जानकारी दिनुभयो । 

नेकपा (एकीकृत समाजवादी) ले संघीय निर्वाचन अन्तर्गत पार्टीबाट उम्मेदवार हुन मापदण्ड तय गरेको छ । आज बसेको नेकपा एसको केन्द्रीय सचिवालय बैठकले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नको लागि सात वटा मापदण्ड तय गरेको हो । पार्टीले तय गरेको सात वटा मापदण्डभित्र पर्नेमात्रै पार्टीको उम्मेदवार बन्न सक्नेछ । 

नेकपा एसले संघीय चुनावमा उम्मेदवार बन्नको लागि पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको, जनतामा स्थापित र लोकप्रीय रहेको लगायतका मापदण्ड तय गरेको छ । त्यसैगरी आजको बैठकले सातवटा मापदण्डभित्र रहेर जिल्ला र प्रदेश निर्वाचन कमिटीलाई उम्मेदवार पठाउन निर्देशनसमेत दिएको छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी रहेन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको बताउनुभएको छ । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कांग्रेस विचार, आचरण, नीति, सिद्धान्त र व्यवहार केहीमा पनि लोकतान्त्रिक नरहेको उहाँले दावी गर्नुभयो । माओवादी केन्द्र ‘प्रचण्ड एण्ड कम्पनी’ रहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले कांग्रेस पनि त्यसैको पछिपछि दौडेको आरोप लगाउनुभयो । 

यस्तै अध्यक्ष ओलीले वर्तमान सत्तारूढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिनुभएको छ । एमसिसीलाई पत्र लेख्ने भनेर जनतालाई ढाँटेको प्रशंग निकाल्दै ओलीले गठबन्धनका नेताहरूलाई लाजसरम नभएको टिप्पणी गर्नुभयो यस्तै ओलीले जनयुद्धमा मारिएका सहिदको सट्टा मदीरा सेवन गरि मृत्युभएका नेताका आफन्तको शालिक बनाइएको बताउनुभएको छ । महान जनयुद्ध भनेर १७ हजार मान्छे मारेको उहाँको आरोप छ । माओवादीले चुनावमा फेरी जनतालाई ढाँटेर मत लुट्ने गरेको अध्यक्ष ओलीले बताउनुभयो । 

जबराविरुद्ध महाभियोगमाथि अध्ययन गर्न कार्यविधि मस्यौदा तयार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन थालिएको छ । थप अध्ययनका लागि महाभियोग सिफारिस समितिको पहिलो बैठक आज सिंहदरवारमा बसेको छ । बैठकले आन्तरिक कार्यविधि २०७९ पनि तयार गरेको छ । आज सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६३ को उपनियम (५) बमोजिम कार्यविधिको मस्यौदा पेस भएको हो । 

समितिसमक्ष कुनै पनि उजुरी वा प्रस्ताव प्राप्त भएपनि वा प्रस्तावको विषयमा समितिको पहिलो बैठक बसेको मितिलाई नियमावलीको उपनियम (४) बमोजिम समितिले आफ्नो कारवाही प्रारम्भ गरेको मिति मानिने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा आरोप लागेको व्यक्तिको उजुरी एवम् छानविनको सिलसिलामा प्राप्त भएको सूचना वा जानकारी र समितिले बुझेको वा संकलन गरेको प्रमाणलाई राखिने भनिएको छ । निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि आजदेखि अध्ययन थालिएको हो । 

आजको बैठकमा समितिका सबै सदस्यहरु महाभियोग प्रस्ताव माथिको छानविनलाई सक्दो चाँडो निश्कर्षमा पु¥याउनुपर्ने बताएका छन् ।  बैठकमा एमालेले सत्ताधारी दलका सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएको ६ महिनाभन्दा लामो समय बितिसक्दा पनि प्रस्तावलाई टुङ्गोमा पुर्याउन ध्यान नदिएको भन्दै आपत्ति जनाएको छ ।

सांसद कृष्णभक्त पोखरेलले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि सत्तापक्षले चासो नदिनु गम्भीर विषय भएको बताउनुभयो । उहाँले महाभियोग दर्ता भएको सात दिनभित्र सदनमा ल्याउनुपर्ने, नभए १५ दिनभित्र सदन आह्वान गरेर प्रक्रिया थाल्नुपर्ने कानुनी व्यवस्था भए पनि त्यसो हुन नसकेको बताउनुभयो । 

यता नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले अझै ३ महिना समय भएकाले महाअभियोग प्रस्तावमाथि छलफल गर्न समय अपुग नहुने बताउनुभएको छ । अब महाअभियोग प्रस्ताव र अरु दस्तावेजमाथि अध्ययन गरेर छलफललाई तिब्रता दिनुपर्ने उहाँको भनाइ छ  ।  गत फागुन १ गते सत्ता रुढ दलका सांसदहरुले जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । 

माओवादीले बिहीवार पदाधिकारी टुङ्गो लगाउने

नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारीको टुङ्गो भोलिसम्म लगाउने भएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा सङ्गठनसम्बन्धी एजेन्डामा केन्द्रित भएको बताउनुभयो । 

उहाँले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुङ्गो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल सुरु भएको बताउनुभयो । उहाँले आजको बैठकबाट पदाधिकारीबारे करिब–करिब टुङ्गोमा पुगेको र । भोलि बस्ने बैठकले सबै पदाधिकारीको टुङ्गो लगाउने बताउनुभयो । प्रवक्ता महराका अनुसार पार्टीको स्थायी कमिटीको बैठक भोलि बिहान ८ बस्नेछ । 

बागमतीले ल्यायो प्रदेश र स्थानीय सेवाको अध्यादेश

बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय तहको सेवा गठन र सञ्चालनसम्बन्धी दुई छुट्टाछुट्टै अध्यादेश ल्याएको छ । प्रदेश सरकारले ल्याएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकरण गर्नुभएको हो ।

प्रदेश मन्त्रिपरिषद्को साउन २४ गतृबसेको बैठकले प्रदेश र स्थानीय तहको सेवा गठन र सञ्चालनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो र प्रमाणीकरणका लागि २६ साउनमा प्रदेश प्रमुख समक्ष पठाएको थियो ।

अध्यादेश अनुसार बागमती प्रदेशमा इन्जिनियरिङ, कृषि, न्याय, प्रशासन, वन, शिक्षा र स्वास्थ्य सेवा गरी ६ वटा सेवा रहने व्यवस्था गरेको प्रदेश प्रमुख कार्यालयका कानून अधिकृत प्रकाश चापागाईंले जानकारी दिनुभयो ।

यस्तै, अध्यादेशले प्रदेश निजामती कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष कायम गरेको छ । यस्तै, संघीय निजामति सेवा, जुनसुकै प्रदेश र स्थानीय सेवाका स्थायी कर्मचारी प्रदेश लोक सेवा आयोगको पदपूर्ति प्रक्रियाद्वारा बागमती प्रदेशको कुनै निकायमा नियुक्ति वा पदस्थापना भई साविक निकायबाट रमाना लिई आएमा सेवा अवधि जोडिने व्यवस्थासमेत अध्यादेशले गरेको छ ।

    प्राधिकरण बिजुली व्यापार गर्न सफल : घिसिङ

नेपाल विद्युत् प्राधिकरणको नाफ बढ्दै गएको छ । प्राधिकरणको ३७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो बताउनुभएको हो । उहाँले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले बिजुली निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताउनुभयो । घिसिङले प्राधिकरणका कर्मचारीलाई तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । 

प्राधिकरणका कर्मचारीले बोनस लिने निर्णय नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने उहाँले स्मरण गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले अहिले प्राधिकरण नाफामा रहेकाले तलब खान ऋण लिनुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो । 

प्राधिकरणले कर्मचारीको वृद्धि विकास र सेवा सुविधामा चार वर्षमा ठूलो फड्को मारको उहाँको भनाइ छ । यस्तै प्राधिरकणले आफ्नो करिब २ दर्जन भावी कार्ययोजनाहरू सार्वजनिक गरेको छ ।

६३५ मेगावाटको दुधकोशी, १०६१ मेगावाटको अपर अरुण, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी–पाचौं र ६० मेगावाटको मोदी–माथिल्लो र तल्लो) जलविद्युत आयोजनाहरुको निर्माणलाई उच्च प्राथमिकतामा राखी आवश्यक कार्य अघि बढाउने योजनामा उल्लेख छ ।

प्राधिकरण र सतलज जलविद्युत कम्पनीबीच ४९०.२ मेगावाटको अरुण–४ जलविद्युत आयोजना निर्माण गर्न संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने योजना पनि समेटिएको  छ ।

फोहोर व्यवस्थापनबारे सीडीओको बैठक

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनमा भइरहेको असहज परिस्थितिबारे छलफल गर्न नुवाकोटको ककनीमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जनप्रतिनिधिबीच छलफल भइरहेको छ । छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल हुनुहुन्छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार छलफलमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल लगायत सहभागी छन् । छलफल आज दिउँसो २ बजेदेखि जारी छ । 

आठ सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि 

पछिल्लो २४ घण्टामा आठ सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ८ सय ७६ जनाको पीसीआर र २ हजार ५ सय ७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

सोही अवधिमा तीन सय २८ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । हाल नेपालमा पाँच हजार चार सय ६२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ८९ हजार सात सय ६७ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सहकारीले अब हरेक महिना लगानीकर्तालाई संस्थाको अवस्था जानकारी गराउनुपर्ने

पछिल्लो समय सहकारीहरू समस्यामा देखिन थालेसँगै सहकारी विभागले हरेक महिना बचतकर्ता तथा सेयरधनीलाई आफ्नो वित्तीय जानकारी गराउनुपर्ने निर्देशन दिएको छ । सहकारी विभागको निर्देशन अनुसार पहिलो पटक निर्देशन जारी भएको १५ दिनमा र त्यसपछि हरेक महिना सहकारीहरूले सेयर पुँजी, लगानीमा रहेको कर्जा, बचत लगायतको जानकारी सार्वजनिक सूचनामार्फत् जारी गर्नुपर्ने भएको छ ।

विभागले सहकारीहरूलाई कोपोमिस प्रणालीमा तथ्यांक अद्यावधिक गर्न र सकेसम्म स्थिर सम्पत्तिमा लगानी नगर्न पनि निर्देशन दिएको छ । यस्तै, विभागले सहकारीहरूलाई दीर्घकालीन स्रोत सुनिश्चित नभएमा लगानी मात्र नबढाउन समेत निर्देशन दिएको हो । 

कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

सम्झौता अवधिमा कल्भर्ट नबनाएपछि बुटवलका एक वडाध्यक्षले निर्माण व्यवसायीको एक्साकाभेटरमा ताला लगाइदिएका छन् । बुटवल–१५ का वडाध्यक्ष शिव रानाले ठेकदारको एक्साकाभेटरमा ताला लगाइदिएका हुन् । बुटवलको तामनगर–फर्साटिकर सडकखण्ड अन्तर्गत बुटवल–१५ सेमलारमा कल्भर्ट निर्माणको जिम्मा पाए पनि काम पूरा नगरेकाले ठेकदारको एक्साकाभेटरमा ताला लगाइदिएको रानाले बताउनुभयो । 

सो सडक खण्डमा चार वटा कल्भर्ट निर्माणका लागि महेश इन्जिनियरिङ सत्यवतीले २ करोड ९९ लाख रुपैयाँमा ठेक्का पाएको थियो । गत असार मसान्तसम्म काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तीनवटा कल्भर्ट बनाए पनि चौथो कल्भर्ट बनाउने काम पूरा भएको छैन । प्रदेश पूर्वाधार कार्यालय मणिग्रामका प्रमुख इन्जिनियर ललित न्यौपानेले ठेकदारले चौथो कल्भर्ट बनाउन ढिला गरेर म्याद समेत गुजारेको बताएउनुभयो ।

प्रदेशसभा निर्वाचन ‘बहिष्कार’ गर्दै रवि लामिछानेले अघि सारे नयाँ प्रस्ताव

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचन ‘बहिस्कार’को नीति लिएको छ । हालै बसेको सो पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै सभापति रवि लामिछानेले प्रदेशसभा निर्वाचनमा भाग नलिने घोषणा ग्र्नुभएको हो । जनताको सुझावअनुसार आफूहरु अहिलेकै संरचनामा प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णयमा पुगेको लामिछानेको भनाइ छ ।  

संघीयताको तीन तहमध्ये बीचको संरचनालाई लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नागरिकमा चरम निराशा देखिएको लामिछानेको दाबी छ । प्रदेश तहको अहिलेको संरचना केबल राज्यकोषको दोहोन गरेर नेता व्यवस्थापन गर्ने थलो बनाइएको  उहाँले बताउनुभयो ।

प्रदेश सरकार र संरचनाको यही स्वरुप कायम हुनु भनेको यो तह राष्ट्रिय ढुकुटी खर्च गर्ने थलोबाहेक केही नहुने लामिछानेको भनाइ छ । तर आफ्नो पार्टी प्रदेश संरचना खारेजीकै पक्षमा भने नरहेको उहाँको जिकिर छ । 

आर्थिक खबर

नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.३६ अङ्कले ओरालो लागेर दुई हजार ४०.७० मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२८ अङ्कले उकालो लागेर तीन सय ९४.६७ मा पुगेको छ ।  आज दुई सय २० वटा कम्पनीको ३४ लाख ९७ हजार कित्ता शेयर एक अर्ब ४० करोड ५९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोको १८ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो । 

कारोबार भएका कुल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । आज साम्लिङ पावर कम्पनी र मनकामना स्मार्ट लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज अपर सोलु हाइड्रो, अपर हेवाखोला हाइड्रो, मन्दाकिनी हाइड्रो, श्वेतगंगा हाइड्रो र सपोर्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

राजपत्रको त्रुटि सच्चियो, भन्सारमा रोकिएका ९ सय गाडीको जाँचपास खुला

सरकारले बिलासिताका १० वस्तुको आयातमा रोक लगाउने निर्णय लिनु अगाडि नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भएका मालवस्तु भित्र्याउन पाइने भएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो निर्णय गरेको हो । 

यससँगै भन्सारमा रोकिएका ९ सय गाडीको जाँचपास खुला हुने भएको छ । मन्त्रालयका अनुसार २०७९ वैशाख १३ भन्दा अगाडि बैकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भएको हकमा मालवस्तु पैठारी गर्न बाधा नपर्ने निर्णय भएको छ । पौने ५ अर्ब रुपैयाँ बराबरको गाडी भन्सारमा रोकिएका छन् ।

व्यवसायीले विभिन्न मुलुकबाट आयात गरेर भैरहवा र वीरगञ्ज नाकामा ल्याइपु¥याइएको सवारी साधन वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना संशोधन नगरेका कारण रोकिएका थिए । भन्सार नाकामा ९ सय हारहारी कार र जीप अलपत्र रहेको व्यवसायीले बताएका छन् । व्यवसायीले राजपत्रमा प्रकाशित त्रुटि सच्याउन माग गर्दै आइरहेका थिए ।

विदेशका खबर

चीनमा अत्याधिक गर्मी 

चीनले अत्याधिक तापक्रम वृद्धिका कारण सिछुआनका सबै उद्योगहरू ६ दिन बन्द गर्न आदेश दिएको छ । प्रान्तीय सरकारले उर्जा संकट टार्नका लागि उद्योगहरू बन्द गर्न आदेश दिएको हो । औद्योगिक प्रान्त सिछुआनमा एप्पल, फक्सकोन र इन्टेललगायतका विश्व प्रसिद्ध कम्पनीहरूका कारखाना रहेका छन् । सोही प्रान्तका उद्योगहरू बन्द हुँदा विश्व बजारमा विद्युतीय सामाग्रीको अभाव हुनसक्ने आशंका गरिएको छ । 

साथै विद्युतीय कारको ब्याट्रिका लागि अत्यावश्यक लिथियम र सोलार प्यानलका लागि आवश्यक पोलिसिलिकनका प्रशोधन केन्द्र पनि सोही प्रान्तमा रहेका छन् । विगत ६० वर्षमा सबै भन्दा बढी तापक्रम वृद्धिको चपेटामा परेको चीनका दर्जनौं शहरमा हाल तापक्रम ४० डिग्री सेल्सियसमाथि पुगेको छ । जसका कारण जनजीवन कष्टकर बनेको छ भने उर्जा संकट पनि बढेको छ । सिछुआनका साथै, चियाङ्सु,आन्हुई र चचियाङ प्रान्तमा उर्जा संकट देखिएको छ । केही प्रान्तीय सरकारहरूले सडकमा बत्ति नबाल्न समेत आदेश जारी गरेका छन् । 

खेल खबर

सी डिभिजन छनोटका लागि भदौ २४ सम्म टिम दर्ता गर्नुपर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले असोज १ गतेदेखि सुरु हुने शहिद स्मारक सी डिभिजन छनोट फुटबलका लागि भदौ २४ गतेसम्म टिम दर्ता गर्न आह्वान गरेको छ । एन्फाले आज सूचना जारी गर्दै इच्छुक क्लबहरुले भदौ २४ गते भित्र एन्फाको सचिवालयमा क्लब र खेलाडी दर्ता गर्नुपर्ने जनाएको छ ।

क्लब दर्ता २५ हजार रुपैयाँ लाग्ने र खेलाडी र अफिसियल दर्ता शुल्क जनही १ हजार रुपैयाँ लाग्ने एन्फाले जनाएको छ । क्लब दर्ता गर्दा जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, वाणिज्य विभाग वा स्थानीय तहमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०७७÷७८ को कर चुक्ता, क्लबको विधानको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । टिम र खेलाडी दर्ताका लागि एन्फाको आधिकारिक वेवसाइटबाट फारम दर्ता गर्न सकिनेछ । 

नेपाल आइपुगे फुटबल प्रशिक्षक हुमागाई, छिट्टै प्रशिक्षण सुरु गर्ने

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक बन्नुभएका प्रदीप हुमागाई आज काठमाडौं आइपुग्नुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले हुमागाईलाई आजनै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्वागत गरेको छ ।

नेपालले असोज ११ मा दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसैका लागि साउन  २६ मा बसेको एन्फा कार्यसमिति बैठकले हुमागाईंलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो । एन्फाले हुमागाईंको सहायक प्रशिक्षकमा युगल किशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ ।