Live Streaming

अन्नपूण टप टेन : चुनावका लागि दलहरुको रुजु आजदेखि,पातलो प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध

गठबन्धनमा सिट बाँडफाँटको प्रस्ताव आउने संभावना न्यून

आगामी प्रदेश र  प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटको सहमति जुटाउन बनेको कार्यदलमा सिट बाँडफाँट प्रस्ताव आउने संभावना न्यून देखिएको छ । सोमबार कार्यदलले सिट बाँडफाँटबारे प्रस्ताव ल्याउने जिम्मा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो । त्यही अनुरुप नै उहाँले सत्तारुढ दलका नेताहरुलाई अनौपचारिक रुपमा छलफल गरिरहेका छन् । तर छलफलका आधारमा अहिलेसम्म सिट बाँडफाँटको मिलनबिन्दु के हो भनेर फेला परिनसकेको बुझिएको छ । 

चुनावका लागि निवेदन दिएका दलहरुको रुजु आजदेखि

आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरुको रुजु आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको रुजु आजदेखि सुरु गरेको हो । 

आजबाट पातलो प्लास्टिकको झोला प्रतिबन्ध

सरकारले आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजदेखि कडाइका साथ लागू गर्ने भएको हो । यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागू हुनेगरी उक्त नियम बनाएको थियो । तर, त्यही महिना जनधनको ठूलो क्षति पुर्याउने गरी गएको भूकम्पको कारण कार्यान्वयन हुन सकेको थिएन ।  

अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा. पोखरेल नियुक्त

अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त हुनुभएको छ । डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक पनि हुनुहुन्छ । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उहाँलाई काजमा मन्त्रालय तानिएको हो ।

बञ्चरेडाँडामा तनाव, फोहोर फाल्न अवरोध गर्ने पक्राउ

बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीयको विरोधका बीच प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी लैजान खोज्दा झडप भएको हो ।  सो क्रममा नुवाकोट प्रहरीले स्थानीय एक जनालाई नियन्त्रणमा लिएको छ । 

सहकारीले अब हरेक महिना लगानीकर्तालाई संस्थाको अवस्था जानकारी गराउनुपर्ने

पछिल्लो समय सहकारीहरू समस्यामा देखिन थालेसँगै सहकारी विभागले हरेक महिना बचतकर्ता तथा सेयरधनीलाई आफ्नो वित्तीय जानकारी गराउनुपर्ने निर्देशन दिएको छ । सहकारी विभागको निर्देशन अनुसार पहिलो पटक निर्देशन जारी भएको १५ दिनमा र त्यसपछि हरेक महिना सहकारीहरूले सेयर पुँजी, लगानीमा रहेको कर्जा, बचत लगायतको जानकारी सार्वजनिक सूचनामार्फत् जारी गर्नुपर्ने भएको छ । 

कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

सम्झौता अवधिमा कल्भर्ट नबनाएपछि बुटवलका एक वडाध्यक्षले निर्माण व्यवसायीको एक्साकाभेटरमा ताला लगाइदिएका छन् । बुटवल–१५ का वडाध्यक्ष शिव रानाले ठेकदारको एक्साकाभेटरमा ताला लगाइदिएका हुन् । 

एक महिनामा सरकारको आम्दानी ९१ अर्ब, खर्च २२ अर्ब २५ करोड

सरकारले चालु आर्थिक वर्षको पहिलो एक महिनामा ९१ अर्ब रुपैयाँ आम्दानी गर्दा २२ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले साउनमा राजस्वबाट ७९ अर्ब ७२ करोड २५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । जुन यस वार्षिक लक्ष्यको ५.६८ प्रतिशत संकलन रहेको छ  । 

चीनमा अत्याधिक गर्मी 

चीनले अत्याधिक तापक्रम वृद्धिका कारण सिछुआनका सबै उद्योगहरू ६ दिन बन्द गर्न आदेश दिएको छ । प्रान्तीय सरकारले उर्जा संकट टार्नका लागि उद्योगहरू बन्द गर्न आदेश दिएको हो । औद्योगिक प्रान्त सिछुआनमा एप्पल, फक्सकोन र इन्टेललगायतका विश्व प्रसिद्ध कम्पनीहरूका कारखाना रहेका छन् । 

सी डिभिजन छनोटका लागि भदौ २४ सम्म टिम दर्ता गर्न आह्वान

अखिल नेपाल फुटबल संघ (एन्फा)ले असोज १ गतेदेखि सुरु हुने शहिद स्मारक सी डिभिजन छनोट फुटबलका लागि भदौ २४ गतेसम्म टिम दर्ता गर्न आह्वान गरेको छ । एन्फाले आज सूचना जारी गर्दै इच्छुक क्लबहरुले भदौ २४ गते भित्र एन्फाको सचिवालयमा क्लब र खेलाडी दर्ता गर्नुपर्ने जनाएको हो ।