अन्नपूर्ण दिनभर : सत्ता गठबन्धनका नेताहरु राष्ट्रपतिको कदमप्रति असन्तुष्टि, आयोगमा ७६ दल दर्ता
नागरिकता विधेयक जस्ताको त्यस्तै पास गरेर फेरि प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पठाउने सत्ता गठबन्धनको निर्णय\राष्ट्रपतिको कदमप्रति प्रमुख प्रतिपक्ष एमालेद्वारा खुशी व्यक्त ।
आसन्न निर्वाचनका लागि आयोगमा ७६ दल दर्ता\नेसपा सहितका दलले माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने\बाबुरामसंगको चुनावी सहकार्यले ठूलो अर्थ राख्ने प्रचण्डको भनाइ ।
देश बनाउने राजनीतिलाई घृणा गर्न नहुने एमाले अध्यक्ष ओलीको भनाइ\देउवा सरकारले आफन्तलाई अघि सारेर भ्रष्टाचार गरिरहेको आरोप ।
पेट्रोलियम पदार्थको मूल्य घटाउन आयल निगमको आनाकानी\भारतबाट तीनपटक मूल्य घटेर आएपनि ठूलो घाटाका कारण मूल्य समायोजन गर्न नसक्ने निगमको जवाफ\अझै मासिक ६२ करोड घाटा ।
लामो खडेरीसँगै युरोपमा खाद्यान्न संकटको जोखिम÷समग्र अन्न उब्जनी ३० प्रतिशतले घट्ने आकलन ।
एन्फाद्वारा नेपालमा हुने महिला साफ च्याम्पियनसिपका लागि विभिन्न कमिटीहरु गठन ।
६ महिनापछि बोलाइयो सिफारिस समितिको पहिलो बैठक
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि कारबाही प्रक्रिया सुरु हुने भएको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक बुधबार साढे ११ बजेका लागि बोलाइएको छ ।
न्यायपालिका प्रमुखविरुद्ध महाभियोग दर्ता भएको ६ महिनापछि सिफारिस समितिको बैठक बसेर छानबिन प्रक्रिया सुरु हुन लागेको हो । महाभियोग सिफारिस समितिका सचिव लक्ष्मी गौतमले बुधबारको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका एजेन्डा रहेको बताउनुुभयो ।
जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा पर्नुुभएको थियो । साउन २२ गतेको प्रतिनिधिसभा बैठकले जवराविरुद्धको महाभियोगलाई सिफारिस समितिमा पठाएको थियो ।
नागरिकता विधेयकमा सत्ता गठबन्धनको निर्णय
संघीय संसदको दुवै सदनले पारित गरी प्रमाणिकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेपछि सत्ता गठबन्धन टक्कर लिने पोसिजनमा पुगेको छ । यता प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने राष्ट्रपतिको कदमलाई स्वागत गर्दै खुशी व्यक्त गरेको छ ।
तर सत्ता गठबन्धनका नेताहरुले भने राष्ट्रपतिको कदमप्रति असन्तुष्टि पोखेका छन् । सत्ता गठबन्धनले फिर्ता भएको विधेयकलाई संसदमा पेस गरी जस्ताको तस्तै पास गरेर प्रमाणिकरणका लागि फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । राष्ट्रपतिले संसदमा पुनर्विचारका लागि सन्देशसहित पठाउनु भएको विधेयकलाई सत्ता गठबन्धनले भने एकअक्षर पनि तलमाथि नगर्ने अडानका साथ फेरि जस्ताको तस्तै पठाउने निर्णय लिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको ‘राजनीतिक कदम’ भएको निष्कर्ष निकाल्दै विधेयक संघीय संसदबाट हुबहु पास गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेको नागरिकता विधेयक सभामुख अग्निप्रसाद सापकोटाले गत साउन १५ गते प्रमाणित गरेर प्रमाणीकरण गर्न शीतलनिवास पठाउनु भएको थियो । त्यसको १४ दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार सो विधेयक पुनः संसदमै फिर्ता पठाउनुभएको थियो ।
यस्तै सत्ता गठबन्धनले सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा सरोकारवालाहरू, मानव अधिकारकर्मी तथा नागरिक समाजका सुझावलाई मनन गरेर विधेयक अगाडि बढाउने निर्णय पनि भएको छ।सरकारले संक्रमणकालिन न्यायसम्बन्धी विषयलाई सधैंका लागि टुंग्याउने गरी कानुन बनाएर अघि बढ्न चाहेको सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्मा पेस गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो ।
पीडितहरूले पीडकलाई उन्मुक्ति दिने गरी कानुन ल्याउन लागेको भन्दै सडकमै प्रदर्शन गरेका थिए । सञ्चारमन्त्री कार्कीले यसबीचमा आन्दोलनरत द्वन्द्वपीडित, नागरिक समाजका अगुवा र मानवअधिकारवादीहरूसँग छलफल गरी विधेयकलाई अघि बढाउन तयारी गरेको बताउनुभयो ।
प्रतिनिधि सभा बैठक
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकोमा एमालेका सांसदहरुले खुशी व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा एमाले सांसद बिना श्रेष्ठले राष्ट्रपतिलाई नागरिकता विधेयक फिर्ता गरेकोमा आभार व्यक्त गर्नुभयो । त्यस्तै, एमाले सांसद विमला विश्वकर्माले पनि नागरिकता विधेयक फिर्ता पठाएकोमा राष्ट्रपतिप्रति उच्च सम्मान रहेको भनाइ राख्नुुभयो ।
साथ,ै एमालेले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा राख्न प्रस्ताव गरेको छ । बैठकको विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक संदेशसहित फिर्ता हुनु राजनीतिक दलहरूका लागि नागरिकता विधेयकमा साझा धारणा तय गर्ने सुवर्ण अवसर भएको बताउनु भयो ।
उहाँले प्राप्त अवसरको सदुपयोग गर्दै वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको वर्तमान व्यवस्था बदलेर कम्तिमा पनि ७ वर्षे समयसीमा राख्नुपर्ने बताउनु भएको हो । उहाँले नागरिकता जस्तो विषयमा साझा धारणा तयर गरेर अगाडि बढ्न आहवान समेत गर्नुभयो ।
संविधानले अधिकार दियो भन्दैमा राष्ट्रपतिले जे पनि गर्न हुदैन लक्ष्मणलाल कर्ण
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद लक्ष्मणलाल कर्णले संविधानले अधिकार दियो भन्दैमा राष्ट्रपतिले जे पनि गर्न नहुने बताउनुुभएको छ । आज प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कर्णले देशमा ७ लाख नागरिकहरू नागरिकताविहीन भएको संवेदनशीलताको विषयमा हेक्का राष्ट्रपति विद्यादेवी भण्डारीले राख्नुपर्ने बताउनुुभयो । सांसद कर्णले राष्ट्रपतिले नागरिकता विधेयकलाई एक दिन पनि रोक्न नहुने बताउनुुभयो । नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपति भण्डारीले संवेदनहीन काम गरेको उहाँको आरोप छ ।
आयोगमा ७६ दल दर्ता
आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएका हुन् ।आयोगले आजसम्म समय दिएर आगामी निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेको थियो ।
त्यसअनुसार ७६ वटा दल दर्ता भएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगको सूचनाअनुसार दल दर्ता गर्ने समय आजसम्म भएको र अपराह्न ५ बजेसम्म ७६ वटा दल दर्ता भएको प्रवक्ता पौडेलले बताउनुभयो । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकैचरणमा गर्ने घोषणा गरेको छ भने त्यहीअनुसार आयोगले तयारी गरिरहेको छ ।
आयोगलेस्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई कारबाहीको प्रक्रिया सुरु भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १ लाख २३ हजार ७ सय ८३ उम्मेदवारलाई कारबाही प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । आयोगले आज विज्ञप्ति जारी गरेर स्थानीय तह निर्वाचनमा गरेको खर्च नबुझाउने र तोकिएको समयभन्दा ढिलो बुझाउने उम्मेदवारलाई कारबाही गर्ने प्रक्रिया थालेको हो ।
आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भाग लिई तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख १५ हजार १ सय ३१ जना र तोकिएको समयावधिभन्दा ढिलोगरी निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६ सय ५२ जना समेत गरी कूल जम्मा १ लाख २३ हजार ७ सय ८३ जना उम्मेदवारहरूलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो ? भनी आफ्नो सफाई सहितको स्पष्टीकरण ७ दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न आदेश दिएको छ । चुनावमा गरेको खर्चको विवरण आयोगले तोकेको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ ।
बाबुराम र म सँगै उभिने कुराको ठूलो अर्थ छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराई र आफू सँगै उभिने कुराको ठूलो अर्थ रहेको बताउनुुभएको छ । आज पेरिशडाँडामा भट्टराईसहित नेपाल समाजवादी पार्टीका नेताहरूसँग छलफल गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले अब बाबुराम र आफू एकै ठाउँमा उभिएको प्रतिक्रिया दिनुुभएको हो । उहाँले अहिले एकै चुनाव चिन्ह र घोषणा पत्र लिएर चुनावमा जाने सहमति भएको बताउनुुभयो ।
तर अहिले नै पार्टी एकताबारे सहमति भइनसकेको उहाँको भनाइ छ । प्रचण्डले अरू वामपन्थी पार्टीसँग पनि कुराकानी गरिने बताउनुुभएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरिने उहाँको भनाइ छ ।
‘बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरण गर्ने लक्ष्य’ : बाबुराम
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरणका लागि नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेको बताउनुुभएको छ । माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज दुई पार्टीका शीर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीसँग कुराकानीमा गर्दै भट्टराईले सत्ता गठबन्धनको मापदण्ड अनुसार आगामी चुनावमा तालमेल हुने जानकारी दिनुुभयो ।
वामदेव गौतमको प्रतिक्रिया
राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताउनुुभएको छ । आज आगामी चुनावमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्नेसम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका गौतमले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको बताउनुुभयो । जित्नकै लागि माओवादीको चुनाव चिह्न लिएको उहाँको भनाई छ । नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको उहाँको भनाइ थियो ।
राजनीतिमा महिलाहरूको भूमिका असाधारण छ : केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरूको राजनीति प्रशंसनीय रहेको बताउनुुभएको छ ।आज काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो समयमा राजनीतिमा महिलाले खेलेको भूमिका असाधारण रहेको तर महिलाहरूले राजनीति नगरे आधा समाज पछाडि पर्ने भनाई राख्नुुभयो ।
पछिल्लो समय राजनीतिप्रति घृणा पैदा भएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले शुद्ध राजनीति गर्नुपर्ने बताउनुुभयो । राजनीति देश बनाउने कुरा भएकाले यसलाई घृणा गर्न नहुने उहाँको भनाइ थियो ।
यस्तै, ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत् देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकिर समेत गर्नुभयो ।
राणा शासनमा नै महिलाहरूले समाजमा जागरण ल्याउने भूमिका खेलेको स्मरण गर्दै ओलीले महिलाहरूको भूमिकाको प्रशंसा गर्नुुभयो । साथै उहाँले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने र महिलाहरू राजनीतिमा सहभागी हुनुपर्ने सुझाव दिनुुभयो ।
गगन थापाले भने – २०७९ को चुनाव सम्झिँदा फुर्ती बढ्छ
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत स्थानीय तहको चुनावमा निर्वाचित भएका जनप्रतिनिधिहरूकै आधारमा रहेर आफ्नो पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिस्पर्धा गर्न लागेको बताउनुुभएको छ । स्थानीय तहबाट निर्वाचित भएका पार्टीका जनप्रतिनिधिका लागि आयोजना गरिएको अभिमुखीकरणमा थापाले केही दलका नेताहरूले २०७४ को चुनावतिर फर्काउन खोजेको आरोप लगाउनुुभयो ।
३० वैशाखको स्थानीय चुनावमा कांग्रेसले पाएको मतलाई बुझ्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
आगामी चुनावका लागि पार्टीले गठबन्धनमा कांग्रेसले शीर्ष स्थान बनाइसकेको थापाको दाबी थियो । आफ्नो हैसियतअनुसार सिट पाउने उनले बताए भन्दै उहाँले वर्तमान पार्टीको राजनीतिक हैसियतका आधारमा सिट बाँडफाँट हुने बताउनुुभयो ।
थप ८४८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२२ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण देखिएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमणमुक्त भएका छन् ।आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु छ ।
बञ्चरेडाँडामा प्रहरीको गोली लागेर १ जना घाइते
काठमाडौंको फोहोर व्यवस्थापन गरिने बञ्चरेडाँडा क्षेत्रमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन् । स्थानीय वासिन्दाले काठमाडौंबाट फोहोर लिएर गएको गाडी रोकेपछि प्रहरीले अवरोध हटाउने क्रममा रबरको गोली चलाएको थियो । प्रहरीले हानेको गोली आँखानजिकै लागेर स्थानीय कमल तामाङ घाइते भएका धुनीवेशी नगरपालिका–१ का वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार उनलाई उपचारका लागि काठमाडौंको मनमोहन अस्पतालमा भर्ना गरिएको छ । उनको आँखामाथिको भागमा रबरको गोली अड्किएको छ । आज दिनभरजसो बञ्चरेडाँडा क्षेत्रमा प्रहरी र स्थानीय वासिन्दाबीच तनावग्रस्त स्थिती सिर्जना भयो । तनावकै बीच डेढ सय भन्दा बढी गाडीले बञ्चरेडाँडामा फोहोर खसालेका छन् ।
प्रहरी समायोजन गर्ने प्रधानमन्त्रीको आश्वासनपछि मधेसको आन्दोलन स्थगित
प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर आएकै दिन आज प्रदेश सरकारले आन्दोलन रोकेको हो ।
मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेट गर्नुभएको छ । मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतलाई भेटनुभएको हो । महानिरीक्षक सिंह प्रदेशस्तरीय अपराधन अनुसन्धान समीक्षा गोष्ठीमा सहभागी हुन जनकपुर आएका पुग्नुभएको छ । सो कार्यक्रममा मधेसका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह पनि सहभागी हुनुभएको थियो ।प्रदेश प्रमुखको कार्यालय अगाडि मधेस सरकारले तीन दिनदेखि धर्ना दिँदै आएको थियो ।
मंसिर २३ भित्र देशभर कृषि र गैरकृषि जग्गा छुट्याइसक्नुपर्ने
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ गतेभित्र कृषि तथा गैरकृषि जग्गा छुट्याउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । तत्कालको लागि स्थानीय भूउपयोग परिषद्बाट निर्णय गरी कृषि र गैरकृषि क्षेत्र आगामी मंसिर २३ गतेभित्र छुट्याउनुपर्ने मन्त्रालयले जनाएको छ ।नापी विभागले ७ सय ५३ वटै स्थानीय तहको भूउपयोग नक्सा, सोको विद्युतीय अभिलेख वा तथ्यांक तयार गरी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिसकेको जनाएको छ । स्थानीय तहले सो नक्सा तथा तथ्यांकको प्रयोग गरी भूउपयोग क्षेत्र छुट्याउन सक्नेछन् ।
आर्थिक खबर
इन्धनको मूल्य नघटाउने आयल निगमको निर्णय
नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । भारतबाट आज मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।नेपाल आयल निगमका अनुसार आज प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको छ ।नेपालमा हालको मूल्यलाई यथावत राख्दा पेट्रोलमा अब निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा देखिएको छ भने डिजलमा प्रतिलिटर ५ रुपैयाँ घाटा रहनेछ ।
समग्रमा अब निगमलाई १५ दिनको नोक्सान ३१ करोडमा झरेको छ । यसअघिको नोक्सानीका कारण भारतीय आयल कर्पोरेसनलाई निमगले अझै २४ अर्ब तिर्नुपर्ने दायित्व छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ भने डब्लूटीई तेलको मूल्य प्रतिब्यारेल ८८ डलर छ । यो भाउ अझै घट्ने अनुमान छ । दुई महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि पुगेको कच्चा तेलको मूल्य पछिल्ला दिनमा घट्दै गएको छ ।
विदेशका खबर
खडेरीसँगै युरोपमा खाद्यान्न संकटको जोखिम
जुन महिनादेखिको निरन्तर खडेरीका कारण यस वर्ष युरोपेली मुलुकमा खाद्यान्न संकट उत्पन्न हुने भएको छ । जलवायु परिवर्तनका कारण उत्पन्न खडेरीले जुनदेखि युरोपका अधिकांश भाग गर्मीको चपेटमा परेसँगै ‘ब्रेड बास्केट’ राष्ट्रहरूमा स्थिर बाली उत्पादनमा कमी आउने युरोपेली संस्थाहरूले बताएका छन् । खाद्यान्न उत्पादन घट्दा युरोपेली मुलुकभर दैनिक जीवनको खर्च बढ्न गई संकटलाई गहिरिने देखिएको हो ।
युरोपव्यापी तातो लहरका कारण युरोपेली संघ (ईयू) ले मकै, सूर्यमुखी र सोयाबिनको उत्पादनमा ८ देखि ९ प्रतिशत र समग्र अन्न उब्जनीमा ३० प्रतिशत उत्पादन घट्ने जनाएको छ । मकै, सूर्यमुखी तेल र सोयाबिन युरोपमा अत्यधिक प्रयोग हुने उत्पादन हुन् । युक्रेन यी वस्तुको एक महत्त्वपूर्ण उत्पादक हो । पछिल्लो समय युक्रेनसँग युद्ध चर्केसँगै रुसले यी वस्तुको निर्यातमा प्रतिबन्ध लगाइसकेको छ । जसका कारण अहिले नै सय प्रतिशतभन्दा बढीले मूल्यवृद्धि भइसकेको छ । सन् १९९१ र २०२२ बीच जुलाई महिनामा हुने औसत वर्षा ८४ प्रतिशतले कम हुँदा फ्रान्सले सन् १९६१ यताकै चर्को खडेरीको सामना गरिरहेको छ ।
खेल खबर
महिला साफका लागि विभिन्न कमिटि गठन
अखिल नेपाल फुटबल संघ एन्फाले नेपालमा हुने महिला साफ च्याम्पियनसिपका लागि विभिन्न कमिटिहरु गठन गरेको छ ।एन्फा कम्प्लेक्समा आज बसेको आयोजक समितिको बैठकले समिति गठन गर्दै सबै समितिमा संयोजकसमेत तोकेको हा े। एन्फाकोआजको बैठकले हस्पीटालिटि कमिटि, स्वास्थ्य कमिटि, होटल तथा यातायत कमिटि, टेक्निकल कमिटि, रेफ्रि को–अडिनेटर कमिटि, समारोह कमिटि, प्रचार प्रसार कमिटि, नेपाली राष्ट्रिय टोलीको व्यवस्थापन कमिटि गठन गरेको छ ।
हस्पीटालिटि कमिटिको संयोजकमा मनिष जोशी, स्वास्थ्य कमिटिको संयोजकमा रमेश ब्यन्जनकार, होटल तथा यातायत कमिटि संयोजकमा पुरुषोेत्तम थापा, टेक्निकल कमिटिमा कृष्ण थापा, रेफ्रि को–अडिनेटर कमिटिको संयोजकमा बुद्धि गुरुङ, समारोह कमिटिको संयोजकमा विकास नारायण श्रेष्ठ, प्रचार प्रसार कमिटिको संयोजकमा सुरेश शाह, नेपाली राष्ट्रिय टोलीको व्यवस्थापन कमिटिको संयोजकमा शरिला श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । यस्तै, बैठकले प्रतियोगिताको टिकट अधिकारका लागि न्यूनतम २५ लाखको टेण्डर आह्वान गर्ने निर्णय पनि गरेको छ।महिला साफ यही भदौ २४ गते देखि असोज तीन गतेसम्म काठमाडौंमा आयोजना हुदैँछ ।