Live Streaming

अन्नपूर्ण टप टेन : प्रहरी समायोजन गर्ने प्रधानमन्त्रीको आश्वासन, कांग्रेस केन्द्रीय समितिमा १० महिला मनोनित

नागरिकता विधेयक जस्ताको त्यस्तै पास गरेर पठाउन सत्ता गठबन्धनमा सहमति

सरकारले नागरिकता विधेयक जस्ताको तस्तै फेरि अगाडि बढाउने भएको छ । बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक पुनः संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने सहमति गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार नागरिकता विधेयक पुनः संसदमै फिर्ता पठाउनुभएको थियो ।

  
वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा ७ वर्षे समयसीमा राख्न एमालेको प्रस्ताव

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा राख्न प्रस्ताव गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक संदेशसहित फिर्ता हुनु राजनीतिक दलहरूका लागि नागरिकता विधेयकमा साझा धारणा तय गर्ने सुवर्ण अवसर भएको बताउनु भयो । 

प्रहरी समायोजन गर्ने प्रधानमन्त्रीको आश्वासनपछि मधेसको आन्दोलन स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिनुभएपछि मधेस सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ । 

फोहोरका गाडीलाई अवरोध गरेपछि बन्चरेडाँडामा हवाई फायर

काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गरेपछि बन्चरेडाँँडामा प्रहरीले हवाई फायर गरेको छ । प्रहरीले अवरोध हटाउन अश्रुग्याँस र हवाई फायर गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिनुभयो । स्थानीयले फोहोरका गाडीलाई अगाडि जान दिएका छैनन् ।

कांग्रेस केन्द्रीय समितिमा १० महिला केन्द्रीय सदस्यमा मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना नेतृलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ । आज सभापति देउवाले १० महिला नेतृलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

माओवादीको चुनाव चिह्नबाट बाबुराम भट्टराई र वामदेव गौतम लड्ने  

आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनावमा एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले निर्वाचन आयोगमा निवेदन दिएका छन् । सो निवेदनसँगै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हसिया हथौडा प्रयोग गर्ने बाटो खुलेको छ । यसअघि आजै विहान माओवादी केन्द्रले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको थियो । 

मंसिर २३ भित्र देशभर कृषि र गैरकृषि जग्गा छुट्याइसक्नुपर्ने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ गतेभित्र कृषि तथा गैरकृषि जग्गा छुट्याउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । तत्कालको लागि स्थानीय भूउपयोग परिषद्बाट निर्णय गरी कृषि र गैरकृषि क्षेत्र आगामी मंसिर २३ गतेभित्र छुट्याउनुपर्ने मन्त्रालयले जनाएको छ । 

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ
 
भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार आज प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको छ । नेपालमा हालको मूल्यलाई यथावत राख्दा पेट्रोलमा अब निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा देखिएको छ भने डिजलमा प्रतिलिटर ५ रुपैयाँ घाटा रहनेछ । 
 
आई.टी.बी.पीको बस दुर्घटना हुदाँ ६ सैनिकको मृत्यु

तिब्बत सीमा प्रहरी बल (आई.टी.बी.पी)को बस दुर्घटना हुदाँ ६ सैनिकको मृत्यु भएको छ । आज बिहान ११ बजे कश्मीरको पहलगाममा भएको दुर्घटनामा परी अन्य ३० जना घाइते भएका छन् । बसको ब्रेक फेल भएर एक सय फिट गहिरो खाडलमा खसेको बताइएको छ ।

भारतमाथि फिफाको प्रतिबन्ध 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन एआईएफएफलाई प्रतिबन्ध लगाएको छ । एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै फिफाले आज भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको जनाएको हो । प्रतिबन्धसँगै भारतमा आगामी अक्टोबरमा हुने भनिएको यू–१७ महिला विश्वकप पनि सर्ने भएको छ ।