अन्नपूर्ण दिनभर : 'एमालेलाई रोक्न गठबन्धनको प्रयास, कोइराला समूहको माग ४० प्रतिशत भाग'
एमालेलाई रोक्न सत्तारुढ दलहरु गठबन्धन विस्तारको प्रयासमा रहेको अध्यक्ष ओलीको टिप्पणी÷गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर सत्रुता गर्न खोजिरहेको आरोप ।
आगामी निर्वाचनका लागि उम्मेदवार मनोनयनको जिम्मेवारी सभापति देउवालाई दिने कांग्रेसको निर्णय÷निर्वाचनमा ४० प्रतिशत हिस्सेदारी पाउनुुपर्ने कोइराला समूहको माग ।
माओवादी केन्द्रले २०७४ मा भएको निर्वाचनलाई आधार मानेर गठबन्धनमा सिट दाबी गर्ने / आफूले जितेको स्थानमा टिकट पाउनुपर्ने अडान ।
प्रहरी समायोजन नभएको भन्दै संघ सरकारविरुद्ध आन्दोलन गर्ने मधेस प्रदेश सरकारको घोषणा / मधेसबाट सल्किएको आगोको लपेटा सबै प्रदेशमा पुग्ने मन्त्री साहको भनाइ ।
चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्दै / अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्याण्ड पठाउने ।
र आगामी असोज अन्तिम साताबाट आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राखेपद्वारा तयारी सुरु ।
अन्नपूर्ण खबर
एमालेलाई रोक्न गठबन्धनले प्रयास गरिरहेको छ, तर सक्दैन : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउनबाट रोक्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताउनुुभएको छ ।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले जति प्रयास गरे पनि नेपाली जनता आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिन दृढ रहेको दाबीसमेत गर्नुभयो ।
लोकतान्त्रिक शेर्पा संघ, नेपालले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको जिकिरसमेत गर्नुुभयो ।
सेना र प्रहरी समेत नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढछ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागिरहेको आरोप लगाउनुुभयो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले विजयी हुनैपर्ने भन्दै देशलाई माथि उठाउनका लागि एमालेको विकल्प नभएको तर्क समेत गर्नुुभयो । त्यस्तै ओलीले नेपाली कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लगेको आरोप पनि लगाउनुुभएको छ ।
उहाँले सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर सत्रुता गर्न खोजिरहेको आरोप लगाउनुुभएको हो । कांग्रेसको आलोचना गर्दै ओलीले कांग्रेस लौरो टेकेर पनि अडिन नसक्ने भएको टिप्पणी समेत गर्नुुभयो ।
स्थानीय चुनावमा अन्तर्घातकै कारण ६० सिट बढी गुमायौ : सुवास नेम्वाङ
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गएको स्थानीय चुनावमा अन्तर्घातकै कारण ६० सिट बढी गुमाएको बताउनुुभएको छ । एमालेले २०६ स्थानीय तह मात्रै जित्ने अवस्था बन्नुमा अन्तर्घात पनि कारण रहेको उहाँले बताउनुुभयो ।
बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेम्वाङले ‘२५०÷३०० पार्टीको सदस्य रहेकोमा भोट भने २४ आएको बताउनुुभयो । नेम्वाङले आगामी चुनावमा त्यस्तो गल्ती हुन नहुने बताउनुुभयो ।
तर, पपुलर मतमा भने एमाले प्रमुख शक्ति बनेको उहाँले बताउनुुभयो । उपाध्यक्ष नेम्वाङले नेपाली कांग्रेस भने गठबन्धनबिना एमालेसँग आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गर्नुुभयो ।
कांग्रेसको उम्मेदवार मनोनयनको औपचारिक पत्र दिने जिम्मेवारी देउवालाई
नेपाली कांग्रेसले उम्मेदवार मनोनयनको औपचारिक पत्र दिने जिम्मेवारी सभापति शेर बहादुर देउवालाई दिएको छ । आज बिहान पार्टी कार्यालय सानेपामा बसेको बैठकले निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाईउम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
आजको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।
यसैगरी प्रक्रिया पुर्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देश गर्ने र निर्वाचन केन्द्रीत राष्ट्रव्यापीअभियान २०७९ भदौ १० गतेदेखि भाद्र २४ गतेसम्म संचालन गर्ने निर्णय भएको छ ।
कोइराला समूहको माग, ४० प्रतिशत भाग
नेपाली कांग्रेसभित्रको डा. शेखर कोइराला समूहले पार्टीमा न्यायोचित व्यवहार हुनुपर्ने माग गरेको छ । सो समूहको आज काठमाडौंमा भएको भेलाका सहभागीहरूले न्यायोचित व्यवहार हुनुपर्ने निष्कर्ष निकालेका हुन् ।
भेलापछि युवा नेता गुरुराज घिमिरेले ८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि सभापतिले नसमेटेको र राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि नगरेको बताउनुुभयो ।
यसबाट आगामी संसदीय निर्वाचनमा पनि सभापतिले प्रतिस्पर्धी समुहका नेता नसमेट्ने भन्दै ४० प्रतिशत हिस्सेदारीको माग जोडतोडका साथ उठाइने बताउनुुभयो ।उहाँले अब पार्टीभित्र संघर्ष गर्नुपर्ने अवस्था आएको समेत बताउनुुभयो । भेलामा केही केन्द्रीय सदस्यहरू र युवा नेताहरू सहभागी रहेका थिए ।
२०७४ को निर्वाचनमा जितेको स्थान दाबी गर्ने माओवादी केन्द्रको निर्णय
माओवादी केन्द्रले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अघिल्लो निर्वाचनको नतिजालाई आधार मानेर सत्ता गठबन्धनमा सिट दाबी गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिस डाँडामा आज बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले २०७४ सालको निर्वाचनमा पार्टीले प्राप्त गरेको सिट संख्यालाई आधार मानेर सत्ता गठबन्धनमा आफ्नो दाबी पेस गर्ने निर्णय गरेको हो ।यसअघि जितेको स्थानमा आफूले नै टिकट पाउनुपर्ने अडान लिने निर्णय गरेको स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिनुभयो ।
२०७४ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी एकता गरी बाम गठबन्धनको गठन गरेको थियो । यद्यपि, तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको निर्वाचन सिट सुनिश्चित नभएपछि उहाँले गठबन्धन त्याग गर्नुभएको थियो ।
अन्तिममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा माले र राष्ट्रिय जनमोर्चा मिलेर चुनावी बाम गठबन्धन बनेको थियो ।२०७४ को संघीय निर्वाचनमा प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये एमालेले प्रत्यक्षतर्फ ८० सिटजितेको थियो भने समानुपातिक तर्फको मतसमेत गरेर प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बनेको थियो ।
नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जितेको थियो भने समानुपातिक मतसमेत जोड्दा कांग्रेस दोस्रो दल बनेको थियो । यस्तै, माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको थियो भने समानुपातिक मतसमेत जोडेर तेस्रो स्थानमा थियो ।
चुनावमा पहिलो वामपन्थी पार्टी बन्ने प्रबल सम्भावना : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा आफ्नो पार्टी पहिलो वामपन्थी शक्तिका रूपमा स्थापित हुने बताउनुुभएको छ ।
जनतामा माओवादीप्रति आकर्षण देखिएको तर स्थानीय चुनावमा पार्टीभित्रको अन्तर्विरोधले सोचेजस्तो नतिजा नआएको उहाँले बताउनुुभयो ।पोस्टबहादुर स्मृति प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय चुनावमा दोस्रो शक्ति बन्ने अवसर गुमेको गुनासो गर्नुुभयो ।
उहाँले जनतामा पार्टीको जनमत भने नखस्किएको र अहिले माओवादीप्रति जनतामा आकर्षण देखिएको प्रचण्डले दाबी गर्नुभयो । यसलाई बचाउन सकेमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पहिलो वामपन्थी शक्ति बन्न सकिने उहाँको भनाइ थियो ।गठबन्धनलाई अगाडि बढाउनु पर्ने र वामपन्थी आन्दोलनलाई एकजुट गराउनुपर्ने दोहोरो जिम्मेवारी रहेको प्रचण्डले उल्लेख गर्नुुभयो ।
प्रहरी समायोजन नभएको भन्दै मधेस सरकारले गर्यो आन्दोलन घोषणा
लामो समयदेखि प्रहरी समायोजनको माग गर्दै आएको मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ । आज मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै संघ सरकारविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गर्नु भएको हो ।
मन्त्री साहले पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना गरिने जानकारी दिनुभयो । भोलि आइतबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा प्रदेश प्रमुखको कार्यालय अगाडि १ हप्तासम्म धर्ना बस्ने मन्त्री साहले बताउनुभयो ।
१ हप्तासम्म पनि संघीय सरकारले माग सम्बोधन नगरे दोस्रो चरणको आन्दोलन घोषणा गरिने मन्त्री साहको भनाइ छ । धर्नामा प्रदेशका मन्त्री, सांसद र नागरिक समाजको सहभागिता रहने पनि मन्त्री साहले बताउनुभयो ।
संघले रोक्ने र प्रदेशले थुत्ने रस्साकसीमा पेचिलो बनेको प्रहरी समायोजनलाई आन्दोलनबाटै टुंग्याउने चेतावनी प्रदेश सरकारले दिएको हो । यसअघि मधेस सरकारले प्रहरी समायोजन सात दिनभित्र नटुंग्याए आन्दोलन गर्ने चेतावनीसहित गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र पठाएको थियो ।
संविधानको अनुसूची ६ मा प्रदेश प्रहरी र शान्ति–सुरक्षाको बन्दोबस्त प्रदेशको एकल अधिकार सूचीमा राखिएको छ । त्यसैलाई टेकेर मधेस प्रदेशले २०७५ असार १० मा प्रदेश सभामा दर्ता गराएको प्रदेश प्रहरी ऐन पास भई २०७५ पुस १५ मा प्रमाणीकरणसमेत भइसकेको छ । प्रहरी ऐन ल्याएपछि मधेस सरकारले प्रदेश प्रहरी गठन गर्न खोज्दा संघ तगारो बनिदिएको छ ।
काम नगर्ने ठेकेदारलाई कालोसूची मात्र होइन, लाइसेन्स खारेज : मन्त्री यादव
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले नेता बनेर काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिनुुभएको छ । वीरगञ्जमा आज तिलावे पुलको उद्घाटन गर्दै उहाँले वडाध्यक्षदेखि सांसदसम्म ठेकेदार बनेको र काम नगर्ने प्रवृत्ति बढेको टिप्पणी गर्नुुभयो । मुद्धा हालेर विकासमा अवरोध सिर्जना गर्नेलाई जनताले चिन्नुपर्ने मन्त्री राईको भनाइ छ । आफू मन्त्री हुँदा ८२ वटा पुल अलपत्र रहेकामा त्यसलाई ३४ मा झारेको उनले दावी गरे ।
उनले संघको जिम्मेवारीमा रहेका सडक, पुल लगायतका आयोजनाको काम समयमै सक्ने वतावरण बनाउन सडक विभागका महानिर्देशकलाई निर्देशन दिनुुभयो ।वीरगञ्जस्थित पदमरोडको ३ किलोमिटर खण्डमा ११ मिटर कालोपत्रे गर्ने गरी ठेक्का लगाउने, त्रिभुवन राजपथ अन्र्तगत गण्डकदेखि घण्टाघरसम्मको खण्डमा ओभर ले गर्ने लगायतका काम आफ्नो कार्यकालमा सम्पन्न गर्ने मन्त्री राईले आश्वासन दिनुुभएको छ । कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदीप यादवले वर्षौदेखि ठेक्का लिएर बस्ने काम नगर्ने ठेकेदारलाई कारबाही गर्न माग गर्नुुभयो ।
२६३ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ३ हजार १६५ नमुना परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ३९९ पीसीआर परीक्षणमा १६२ र १ हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा ५०१ जना निको भएका छन् भने थप २ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४३४ पुगेको छ ।२४ घण्टामा १ लाख २७ हजार ३२१ जनाले खोप लगाएका छन् ।
नवलपरासी पश्चिममा ट्रकले बसलाई ठक्कर दिँदा १९ घाइते
नवलपरासी पश्चिम (बर्दघाट–सुस्ता)मा ट्रकले बसलाई ठक्कर दिँदा १९ जना घाइते भएका छन्। आज दिउँसो पौने ३ बजे भैरहवा–भुमही सडखण्डमा ट्रकले बसलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।नवलपरासी रामग्राम नगरपालिका–५ बाईपास चोकमा पश्चिमबाट पूर्व जाँदै गरेको बागमती प्रदेश ०३÷००१ क ०१८९ नम्बरको ट्रकले लु १ ख ९५७७ नम्बरको बसलाई ठक्कर दिएको हो ।
एकै दिशामा जाँदै गरेको बसले दक्षिण मोड्नेक्रममा दुर्घटना भएको बताइएको छ । प्रहरीले दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। घाइते १९ जना मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। रामग्राम नगरपालिका–१६ तोनवा बस्ने ३५ वर्षीय रामरती यादव र बर्दघाट नगरपालिका–१२ दबिल्ला बस्ने ३० पर्षीय बिनु शाही गम्भीर घाइते छन्। उनीहरूको उपचारको लागि भैरहवा मेडिकल कलेज रूपन्देहीमा रिफर गरिएको छ।अरू घाइतेको जिल्लाकै पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ ।
आजबाट फोहोर विसर्जन शुरु
काठमाडौं महानगरपालिकाले सुरक्षाकर्मीको सहयोगमा आज बिहानदेखि राजधानीको फोहोर बिसर्जन गरेको छ । गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिनसहित फोहोर बोक्ने १७ सवारी साधानमा तोडफोड भएपछि उपत्यका लगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रखुख सरिता राइ सहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएको सवारी साधनको तत्काल क्षतिपुर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन शुरु गरेको हो ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले नेपाल प्रहरीको सहयोगमा आज १ सय ४३ ट्रिप फोहोर ल्याण्डफिल साइटमा बिसर्जन गरेको जानकारी दिनुभयो ।स्थानीय अवरोधको कारण केहीदिनयता उपत्यकाका १७ स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको थिएन । विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार राति फोहोर बोक्ने सवारी साधन तोडफोड गरेपछि फोहोर व्यवस्थापन ठप्प भएको थियो ।
सुन्दरीजलमा खस्दा एक पुरूष बेपत्ता
काठमाडौंको सुन्दरीजलमा एक जना पुरूष खसेर बेपत्ता भएका छन्। आज दिउँसोसुन्दरीजलस्थित बागमतीमा खसेर एक पुरूष बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । बेपत्ता भएका पुरूषको पहिचान खुलि नसकेको र खोजी गर्ने काम भइरहेको मैनालीले बताउनुभयो । उनको खोजी गर्न सामाखुसीबाट विपद् व्यवस्थापनको टोली पनि खटिएको छ।
आर्थिक खबर
एक हप्तामा बैंकले थपे ९ अर्ब लगानी
बैंक तथा वित्तीय संस्थाहरुले एक साताको अवधिमा ९ अर्ब थप लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो साताको तुलनामा यस साता बैंकहरुको ऋण प्रवाह बढेको हो। अघिल्लो साता ४६ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह देखिएकोमा यस साता ४६ खर्ब ९६ अर्ब पुगेको हो ।
ऋण प्रवाह बढ्दा बैंकहरुको निक्षेप भने घटेको छ। बैंक तथा वित्तीय संस्थामा अघिल्लो साता ५० खर्ब ४४ अर्ब रुपैयाँ रहेकोमा यस साता सम्ममा ५० खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ।त्यसमा वाणिज्य बैंकहरुको ४४ खर्ब १९ करोड र विकास बैंक फाइनान्स कम्पनी र लघुवित्त संस्थाको गरि ५ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको देखिएको छ ।
२ अर्ब १६ करोड २७ लाख रुपैयाँको बोसो आयात
नेपालमा गत आर्थिक वर्ष विदेशबाट २ अर्ब १६ करोड २७ लाख रुपैयाँभन्दा बढीको बोसो आयात भएको छ । विदेशबाट एकै वर्षमा अर्बभन्दा बढीको जनावरको प्रशोधित बोसो आयात भएको हो ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो मूल्य बराबरको १६ करोड २ लाख किलोग्राम बोसो आयात भएको छ ।
नेपालमा आयात हुने बोसो भारत, अष्ट्रेलिया र न्यूजील्याण्डबाट आउने गरेको विभागले जनाएको छ । गत वर्ष भारतबाट सबैभन्दा धेरै २ अर्ब ४ करोड ५५ लाख रुपैयाँको बोसो भित्रिएको छ । यस्तै, अष्ट्रेलीयाबाट ३ करोड ७३ लाख रुपैयाँको र न्यूजील्याण्डबाट ७ करोड ९८ लाख रुपैयाँको बोसो भित्रिएको तथ्यांक छ ।
विदेशका खबर
चीन र थाइल्याण्ड संयुक्त सैन्य अभ्यास गर्दै
चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । संयुक्त अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्याण्ड पठाउने भएको छ । चिनियाँ वायुसेनाले भोलि लडाकु र बमवर्षक विमान पठाउने सूचना सार्वजनिक गरेको छ । उत्तरी थाइल्याण्डको लाओसको सीमा नजिक अवस्थित उडर्न रोयल थाई एयर फोसर्कको आधार शिविरमा हुने संयुक्त अभ्यासमा दुवै देशका लडाकु विमान समावेश हुनेछन् ।
संयुक्त सैनिक अभ्यासमा हवाई सहयोग, स्थलगत लक्ष्यमा आक्रमण तथा सेनाको तैनाथी समावेश हुने चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ । अमेरिकाले इन्डोनेसियामा अष्ट्रेलिया, जापान, इन्डोनेसिया र सिङ्गापुरसँग सन् २००९ मा सैन्य अभ्यास प्रारम्भ गर्दै आएको सन्दर्भमा चीनले पनि थाइल्याण्डसँग मिलेर त्यस्तै सैनिक तालिम सुरु गर्न लागेको हो ।
एक देश दुई शासन पद्धतिअनुसार शासन व्यवस्था सञ्चालन भएको स्वशासित चिनियाँ टापु ताइवानमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीनले ताइवानको वरपरको जलक्षेत्र र आकाशमा युद्धपोत र क्षेप्यास्त्रसहित सैन्य अभ्यास गरेको थियो ।
महिलाको प्रदर्शनमा तालिवान लडाकुले गरे हवाई फायर
तालिवान सत्ताको विरोधमा अफगानिस्तानको राजधानी काबुलमा अफगान महिलाहरुले विशाल प्रदर्शन गरेका छन् । महिला प्रदर्शनकारीलाई तितरबितर पार्न तालिबान लडाकुहरुले आज हवाई फायर गरेका छन् । तालिबानले सत्तापलट गरेको वार्षिकीको पूर्वसन्ध्यामा महिलाले प्रदर्शन गरेका हुन् । ‘रोटी, काम र स्वतन्त्रता’ भन्दै काबुलको शिक्षा मन्त्रालयको भवन अगाडि प्रदर्शनमा उत्रिएका महिलाहरुलाई तालिबान लडाकुहरुले कुटपिटसमेत गरेका थिए ।तालिबानले अगस्ट१५ मा अफगान सत्ता कब्जा गरेका थिए । त्यसयता उनीहरुले महिलाहरुका अधिकार कटौती गरेका छन् ।
लेखकमाथि आक्रमण
अमेरिकाको न्यूयोर्कमा चर्चित लेखक सल्मान रुस्दीमाथि आक्रमण भएको छ ।आक्रमणमा परी सल्मान गम्भीर घाइते भएका छन् । चौतौकुवा इन्स्टिच्युटमा बोलिरहेका बेला ७५ वर्षीय लेखकमाथि स्टेजमै आक्रमण भएको हो । न्यूयोर्क प्रहरीका अनुसार एक पुरुषले स्टेजमा पुगेर सल्मानमाथि आक्रमण गरेका थिए । आक्रमणले उनको घाँटीमा चोट लागेको छ ।सल्मानलाई हेलिकोप्टरबाट नजिकैको अस्पताल लगिएको थियो ।
उहाँको अहिले गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भेन्टिलेटरमा रहेका लेखक सल्मान बोल्न नसक्ने अवस्थामा रहेको जारी वक्तव्यमा भनिएको छ ।सल्मानमाथि विगत लामो समयदेखि इस्लामिक समूहबाट हत्याको धम्की आउने गरेको थियो । सन् १९९८ मा प्रकाशित ‘द सटानिक भर्सेज’ उपन्यासलाई उनीमाथि ज्यान मार्ने धम्की आउने गरेको थियो । प्रहरीले आक्रमणमा संलग्न भएको अभियोगमा २४ वर्षका हादी मातरलाई न्यू जर्सीको फेयरभ्यूबाट पक्राउ गरेको छ ।
खेल खबर
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो राखेप
राष्ट्रिय खेलकुद विकास परिषद् (राखेप) नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटेको छ। परिषद्ले गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी सुरु गरेको हो। राखेपले पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको जनाएको छ। खेल पूर्वाधार, प्रशिक्षक, रेफ्रिलगायत जनशक्तिको अवस्थाको स्थलगत अध्ययनमा जुटेको परिषद्का सदस्य राजेश गुरुङले बताउनुभयो ।
राखेप सदस्य गुरुङको नेतृत्वको टोलीले आज म्याग्दी, बागलुङ र पर्वतका खेलमैदान र कबर्डहलहरूको निरीक्षण, जिल्ला खेलकुद विकास समिति, जनप्रतिनिधि र खेल संघका पदाधीकारीहरूसँग छलफल गरेको छ।
कुन जिल्लामा कुन खेल सञ्चालन गर्न उपयुक्त हुन्छ भन्ने पहिचानका लागि अध्ययनमा जुटेको राखेप सदस्य गुरुङले बताउनुभयो । टोलीले बेनीको खुल्लामञ्च र कालीपुलको कवर्डहहलको निरीक्षण गरेको छ। २०७७ सालमा हुनुपर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछिल्लो पटक असोज–कात्तिक महिनामा सारिएको थियो ।