Live Streaming

अन्नपूर्ण दिनभर : चिनियाँ कल सेन्टरमा प्रहरीको छापादेखि बढ्दो कोभिड संक्रमणसम्म

 


कल सेन्टरमार्फत गठी धन्दा चलाउनेविरुद्ध प्रहरीको सक्रियता÷काठमाडौंबाट ४१ जना पक्राउ÷ विज्ञ भन्छन्ः कम्प्यूटराईज प्रणाली नेपाली लीपीमा नहुँदा साईबर सुरक्षामा चुनौती थपियो । 

बजेट प्रकरणबारे छानविन गरिरहेको संसदीय विशेष समितिलाई प्रहरीले सीसीटीभीको फरेन्सिक रिपोर्ट बुझायो÷सिलबन्दी रहेको रिपोर्ट भोलि बस्ने समिति बैठकमा खोलिने ।

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत÷ विधेयकका केही बिषयमा पुर्नविचार गर्न सांसदहरुको आग्रह÷आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त ।

आज एकैदिन ५६८ कोरोना संक्रमित थपिए÷एक जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ३५ सय नाघ्यो ।

म्यानमारमा चार जना प्रजातन्त्र समर्थक कार्यकर्तालाई मृत्युदण्ड÷सत्ता कब्जा गर्ने आतंकवादी गतिविधिमा संलग्न भएको आरोप । 

र, साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र माल्दिभ्सबीचको खेल जारी÷३–० गोलले नेपालको अग्रता । 

अन्नपुर्ण खबर 

काठमाडौंको तीनकुने र गैह्रीगाउँका चिनियाँ कल सेन्टरमा प्रहरी छापा

कल सेन्टर मार्फत ठगी धन्दा चलाउनेविरुद्ध प्रहरीले सक्रियता बढाएको छ । ह्वाट्सएस, तथा एसएमएस मार्फत अश्लील म्यासेज पठाउने, चिठ्ठा प¥यो भनी ठगी गर्ने काममा सक्रिहरुका विरुद्ध प्रहरीले सक्रियता बढाएको हो । हिजो मात्रै रुपन्देहीबाट ९ जनालाई पक्राउ गरेको प्रहरीले आज काठमाडौंबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ तिनकुने गैह्रिगाउँको कल सेन्टरबाट प्रहरीले १ जना चिनियाँ नागरिकसहित ४१ जनालाई पक्राउ गरेको हो । 

चिनियाँ नागरिकले संचालन गरेको स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर केही मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनुभयो । कल सेन्टरको आवरणमा ‘ठगी धन्दा’ संचालन गरेको सुराकीका आधारमा प्रहरीले आज स्काई वर्ल्डमा छापा मारेको थियो ।

कल सेन्टरमा कार्यरत १४ जना महिला र २७ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकाहरुलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको छ । यसअघि हिँजो रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा भारतीय चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । प्रहरीले कल सेन्टरबाट अवैध गतिविधि गरेको आरोपमा ९ जना सञ्चालकलाई प्रकाउ गरेको छ । 

२०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका थिए । उनीहरू पनि अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा पक्राउ परेका थिए ।

नेपालमा साईबर सुरक्षा र कानून दुवै कमजोर हुँदा सरकारी वेभसाईट देखि सामाजिक सञ्जालमा समेत ह्याकरहरुले आफ्नो प्रभुत्व जमाउने गरेका छन् । 

सञ्चार कानूनविज्ञ रवीन्द्र भट्टराईले नेपालले साईबर क्राइम बनाएपनि त्यसलाई सिमीत गर्न खोजेको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यु अफ द डे मा कुराकानी गर्दै भट्टराईले सुचनाको माध्यमबाट गरिने अपराधलाई मात्रै हेरिएको र वस्तु विनिमय अपराधलाई नहेरिंदा समस्या भएको बताउनुभएको छ । 

भट्टराईले नेपालको कम्प्यूटराईज प्रणालीमा नेपाली लीपी नराखिनु साईबर सुरक्षाका लागि संवेदनशील भएको बताउनुभएको छ । अंग्रेजी लिपीलाई सरकारी साईटहरुमा समेत प्रयोग गर्नुले विदेशीहरुलाई नेपाली सर्भरमा प्रवेश गराउन सहयोग गरेको उहाँको भनाइ छ । 
 
प्रहरीले छानबिन समितिलाई बुझायो सीसीटीभीको ‘फरेन्सिक रिपोर्ट’

नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सीसीटीभी फुटेजबारेको रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई बुझाएको छ । प्रयोगशालाले आज समितिलाई रिपोर्ट दिएपनि सिलबन्द रहेको रिपोर्ट भोली बिहान समितिको बैठकमा खोलिनेछ । समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । 

बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । समितिका सदस्यबीच तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कल डिटेल हेर्ने÷नहेर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । समितिमा रहेका एमालेका सांसदहरूले वैज्ञानिक प्रमाणका रूपमा मोबाइलको कल डिटेललाई समेत आधार मान्नुपर्ने अडान राखेका छन् भने सत्तारूढ दलका सदस्यहरू व्यक्तिको गोपनीयताको हक हनन हुने भन्दै त्यतातिर जान नहुने तर्क गरिरहेका छन् । 

यसैबीच संसदीय विशेष समितिको बैठक आजपनि बसेको थियो । बिहान ८ बजेदेखि बसेको बैठक साढे ४ घण्टा बसेर भावी दिनमा कसरी काम गर्ने भनेर रणनीति बनाएर सकिएको समितिका सचिव सुरेन्द्र अर्यालले बताउनुभयो । सचिव अर्यालले भोलि बिहान ८ बजे पुनः समितिको बैठक बस्ने निर्णय भएको समेत बताउनुभयो । यस्तै, आज बसेको बैठकमा सामान्य छलफल भएको र कोहीसँग पनि बयान नलिइएको उहाँको भनाइ छ । १० दिनको कार्य अवधि पाएर गठन भएको ११ सदस्यीय समितिले थप ७ दिनको समय पाएको छ । जसमध्ये अब जम्मा ३ दिन मात्रै बाँकी छ । यस अवधिमा समितिले प्रतिवेदन तयार पारेर प्रतिनिधि सभामा बुझाउनुपर्ने छ । 

 नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, प्रस्ताव सर्वसम्मतिले स्वीकृत

राष्ट्रिय सभाको आजको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि संशोधन राख्न चाहने सांसदहरुले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सक्नेछन् । राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन १२ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।

त्यसअघि नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले नागरिकता सम्बन्धी विधेयक अल्पमतको विचार लागू हुने गरी ल्याइएको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै श्रेष्ठले सरकारले प्रतिवेदन अनुसारको विधेयक फिर्तालिने र फिर्ता लिइसकेपछि अल्पमतको विचार लागू हुनेगरी कानूनी व्यवस्था गर्न विधेयक प्रस्तुत गर्ने चलन चलाए लोकतन्त्र अत्यन्तै कमजोर हुने बताउनुभयो । 

श्रेष्ठले वैवाहिक अंगीकृत नागरिकताको लागि ७ वर्षे प्रावधान हटाउनुपर्नेकुनै कारण नभएको धारणा राख्नुभयो । यस्तै, सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताउनुभएको छ । देवकोटाले आमाको नामबाटवंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएपनि लोभ, लालच देखाएर अथवा धम्क्याएर, नक्कली आमा खडा गरिने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । त्यस्तै आमाको नामबाट नागरिकता दिन आमाले स्वघोषणा गर्नुपर्ने कुराले महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान भएको उहाँका भनाइ छ । 

नेकपा एकता राष्ट्रिय अभियानका संयोजनसमेत रहनुभएका राष्ट्रिय सभा सदस्य वामदेव गौतम नागरिकता विधेयकको समर्थनमा उभिनुभएको छ । आज राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले नागरिकताको समस्या समाधान गर्न सरकारले विधेयक ल्याएर ठिक गरेको भए पनि कतिपय प्रावधानहरु सच्याउनुपर्ने बताउनुभयो । वैवाहिक अंगीकृत नागरिकता लिनुअघि आफ्नो देशको नागरिकता परित्याग गर्नुपर्ने प्रावधान राख्नुपर्ने उहाँले बताउनुभयो । सदस्य डा. विमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको बताउनुभएको छ । उहाँले राज्य व्यवस्था समितिमा २२ महिना छलफल भएर ल्याइएको विधेयकलाई फिर्ता गरेर अर्को विधेयक ल्याइएको भन्दै सो प्रक्रियाप्रति आफ्नो असहमती रहेको स्पष्ट पार्नुभयो । 
 
आदेशविपरीत नियुक्ति गर्ने उद्योग मन्त्रालयको तयारीमा सर्वोच्चको ब्रेक

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आदेश मिचेर गर्न लागेको नियुक्तिलाई सर्वोच्च अदालतले फेरि रोक लगाएको छ । सर्वोच्च अदालतले यसअघि दिएको आदेशविपरीत मन्त्रालयले चारवटा सार्वजनिक संस्थानमा नियुक्ति गर्ने गरी तयारी अघि बढाएको थियो । तर अदालतले ‘स्टे अर्डर’ जारी गर्दै मन्त्रालयको योजनामा ब्रेक लगाएको हो । मन्त्रालयले हेटौँडा सिमेन्ट, उदयपुर सिमेन्ट, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेड र औषधि व्यवस्था लिमिटेडको अध्यक्ष पदमा आवेदन आह्वान गरेको थियो । यसमध्ये हेटौँडा सिमेन्ट लिमिटेडको अध्यक्षमा गणेशप्रसाद भेटुवाललाई सिफारिस नै गरिसकेको थियो । 

मन्त्रालयले गत असार २७ गते दरखास्त आह्वान गरेर साउन ८ गते भेटुवाललाई अध्यक्ष पदका लागि सिफारिस नै गरेको थियो । उपभोक्ता हित संरक्षण मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेको थियो । रिटमा अदालतकै आदेश बमोजिम नियुक्ति गर्नुपर्नेमा त्यसविपरीत हुन लागेको नियुक्त रोक्न मञ्चले माग गरेको थियो । सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले ‘स्टे अर्डर’ जारी गरेको हो । यसअघि मञ्चले नै दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सार्वजनिक निकायमा नियुक्ति सम्बन्धी ऐनको आवश्यकता औँल्याउँदै ऐन बनाउन सरकारलाई आदेश दिएको थियो । 

तरुण दलको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन देउवाको निर्देशन

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेका तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई देउवाले यस्तो निर्देशन दिनुभएको हो । अध्यक्ष गुरुङले कार्यसमिति विस्तारका सन्दर्भमा पार्टीका अन्य नेताहरूसँग पनि भेट गरी सल्लाह लिइरहेको बताउनुभयो । 

वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने देखिन्छ  प्रचण्ड 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने देखिएको बताउनु भएको छ । स्वर्गीय नरबहादुर कर्माचार्यको स्मृतिमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । गाउँपालिकामा १० करोड खर्च गरेर चुनाव जितिएको बारेमा आफूले सुनेको भन्दै प्रचण्डले यही प्रणालीमा संघको चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति आएको बताउनु भयो । 

यही अवस्था रहे गरीबले चुनाव जित्ने कुरा सपना जस्तो मात्रै रहने उल्लेख गर्नुभयो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भएपनि यो निर्वाचन प्रणालीका कारण जनताले अनुभूति गर्न नपाएको उहाँले बताउनु भयो । गणतन्त्र पनि जनताको नभई बुर्जुवाको हुने हो कि भन्नेमा शंका रहेको उहाँको भनाइ छ । मुलुकमा माओवादीले परिवर्तन ल्याएको भन्दै प्रचण्डले परिवर्तन गर्ने शक्ति बलियो नहुँदा उत्पीडित वर्गले न्याय पाउन मुस्किल भएको र देशमा समस्या सिर्जना भएको बताउनु भयो । 
    
५६८ संक्रमित, एकजनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय  ६८ जना कोरोना संक्रमण पुष्टी भएको छ ।  देशभर गरिएको ४ हजार ८ सय नमूना परीक्षणमा ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो । आज १ जना संक्रमितको मृत्यु भएको छ । आज ९५ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ पुगेको छ । जसमध्ये काठमाडौंमा मात्रै १ हजार ९ सय ७६ जना ललितपुरमा ३४१ जना र भक्तपुरमा १०२ जना रहेका छन् । हाल देशभर २७  जना संक्रमित आइसियूमा‚ २ जना भेन्टिलेटरमा‚ १२७ जना संस्थागत आइसोलेशनमा र ३४ सय ७ जना होम आइसोलेशनमा उपचाररत रहेका छन् ।

१५ निर्माण कम्पनी परे अनुगमनको कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूको नाम सार्वजनिक गरेको छ । कार्यालयले कालोसूचीमा राखिएका १५ वटा कम्पनीको विवरण आज सार्वजनिक गरेको हो । कालोसूचीका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले १ देखि ३ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिदमा भाग लिन नपाउने व्यवस्था छ । जसअनुसार काठमाडौं बत्तीसपुतलीस्थित बिटी निर्माण सेवा प्रालि, कोटेश्वरस्थित सिद्धगढी इन्जिनियरिङ एण्ड बिल्डर्स प्रालि, दोलखा भीमेश्वर नगरपालिका–१ चरिकोटस्थित शिवराम कन्स्ट्रक्सन कम्पनी प्रालि, वनस्थलीस्थित दिनेशचन्द्र आर अग्रवाल इन्फ्राक्सन प्रालि, नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालि र कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालि जेभी कालोसूचीमा परेका छन् । 

यी ६ वटा कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ । एक वर्षका लागि कालोसूचीमा परेका कम्पनीमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित श्री आकाश एण्ड पवन कन्स्ट्रक्सन, काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–५ को श्री थोकर निर्माण सेवा, लयुल निर्माण सेवा र निभा निर्माण सेवा रहेका छन् । यसैगरी काठमाडौंको नयाँबानेश्वरस्थित ड्रप सप्लाई एण्ड सर्भिसेज प्रालि, जगदम्बा निर्माण कम्पनी प्रालि, भुवनेश्वरी एण्ड भैभव बिल्डर्स प्रालि र खोटाङ दिक्तेलको रुजन के निर्माण सेवा प्रालि छन् । कैलाली बर्दगोरिया–१ स्थित श्री अमन एण्ड इसा कन्स्ट्रक्सन प्रा लिलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको कार्यालयले सूचनामा उल्लेख गरेको छ । 

वन नियमावली संशोधन गर्न काष्ठ व्यवसायीको माग

लुम्बिनी प्रदेशका काष्ठ तथा फर्निचर व्यवसायीहरुले वन नियमावली संशोधन गर्न माग गरेका छन् । विदेशबाट काठ आयात गर्ने ठूला व्यवसायीको प्रभावमा परेर संघ तथा प्रदेशले संविधानसँग बाझिने गरी नियमावली बनाएको उनीहरुको आरोप छ । संघीय वन नियमावलीको दफा २५ को उपदफा ३ र प्रदेश वन नियमावलीको दफा २८ मा काष्ठ उद्योग, प्लाई उद्योग तथा भेनियर उद्योगले मात्र काठ लिलाम खरिद गर्न पाउने तथा अन्य कारोबार गर्न पाउने व्यवस्था गरिएको छ ।

जसअनुसार सामुदायिक, साझेदारी तथा राष्ट्रिय, धार्मिक, कबुलियत वनमा अब उद्योगहरुले मात्र बोलकबोल गर्न पाउनेछन् । लुम्बिनी प्रदेश काष्ठ व्यवसायी संघका अनुसार प्रदेशभर १ हजार ३०० काष्ठ व्यवसायी आबद्ध रहेकोमा ६० जनाको मात्र काष्ठ उद्योग रहेको र बाँकी फर्निचर उद्योगी तथा काष्ठ सप्लायर्स रहेको जनाएको छ । 

सिरहामा मिटरब्याजपीडितको प्रदर्शन, सीडीओसमेत सुदखोरसँग मिलेको आरोप

सिरहाका मिटरब्याजपीडितहरूले गोलबजारमा प्रदर्शन गरेका छन् । उनीहरूले सुदखोरले आफूहरूलाई उठीबास लगाएको साथै सुकुम्बासीसमेत बनाएको भन्दै न्याय मागेका हुन् । गोलबजारमा सम्रिका महतो, श्रद्धादेवी साह, गीतादेवीलगायतका साहुकरबाट घरबारविहीन भएका दर्जनौं पीडित प्रदर्शनमा उत्रिएका छन् । साहुकरहरूले कानुनविपरीत ३६ प्रतिशत ब्याज लिएको, कपाली तमसुकको भरमा सावाँलाई तेब्बरभन्दा बढी बनाएर आफूहरूलाई फसाइएको भन्दै पीडितहरूले प्रदर्शन गरेका हुन् । पीडितहरूका अनुसार गृहमन्त्रालयले मिटरब्याजीहरूलाई कारबाही गर्न सीडीओलाई परिपत्र गरे पनि कारबाही भने गरिएको छैन । पिडितहरुले पीडकसँगको मिलेमतोमा सीडीओले मुद्दा दर्ता नगरिदिएको आरोप लगाएका छन् । 

लागूऔषध कारोबारको आरोपमा दम्पतीसहित तीन पक्राउ

भारतबाट लागूऔषध बोकी नेपाल आएका दम्पतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका– १० बस्ने २७ वर्षीय प्रदीप सेन्चुरी, उनकी पत्नी २६ वर्षीया दिलमाया भुजेल र उनीहरूकै आफन्त २२ वर्षीय विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकार िदिनुभयो । आइतबार भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागूऔषध बोकी नेपाल प्रवेश गरेका तीनै जनालाई महोत्तरीको औरही नगरपालिका–४ कठुधारस्थित प्रहरी चौकीका प्रहरीले शङ्का लागी जाँच गर्दा उनीहरू पक्राउ परेका थिए । उनीहरूको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नाइट्राभेट–१० लेखिएको ९९ पिस लागूऔषध बरामद बरामाद भएको र तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएकोे थियो ।

काटियो सडक नजिकका २१ वटा रूख

भक्तपुरको सल्लाघारीमा रहेका २१ वटा पूराना रूख काटिएको छ । आज डिभिजन वन कार्यालय भक्तपुरले पूराना तथा कमजोर भएका २१ वटा रूख काटेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । हिँजो दिउँसो १२ः१५ बजेतिर सल्लाघारीस्थित इवामुरा अस्पताल नजिकै रूख ढलेको थियो । रूख ढलेर गुडिरहेको बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको भियो भने १२ यात्रु घाइते भएको थिए ।  

तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत पुग्ने प्रक्षेपण

आगामी ३ महिनामा मूल्यवृद्धि अझ तीब्र गतिमा बढ्ने राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । सर्वेक्षण अनुसार आउँदो तीन महिनामा मूल्य वृद्धिदर १४ प्रतिशत पुग्ने र एक वर्षमा १३.५ प्रतिशत पुग्नेछ ।  राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ले यस्तो देखाएको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमासको अपेक्षित मूल्यवृद्धि सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो । उक्त सर्वेक्षण २०७९ असार २० देखि असार २७ (जुलाई ०४ देखि ११ जुलाई, २०२२) सम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको थियो । प्रस्तुत परिणामहरू १ हजार १ सय ४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले जनाएको छ । सर्वेक्षणले २०७८ चैतको तुलनामा तीन महिना पछिको मूल्यवृद्धि बढ्ने र एक वर्ष पछिको तुलनामा थोरै घटेको अनुमान गरेका छन् ।

५४.४५ अंकले बढ्यो नेप्से परिसूचक

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर लगानीकर्ताहरु उत्साहित बन्दा नेप्से बढ्न थालेको छ । मौद्रिक नीतिपछिको पहिलो कारोबारको दिन हिँजो ६१.०५ अंकले बढेको नेप्से आज र ५४.४५ बिन्दुले बढेर २ हजार १३२.९६ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.०५ अंक बढेको छ भने फ्लोटइण्डेक्स ४.२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०३ अंक बढेको छ । आज कारोबारमा आएका २१४ कम्पनीको ९९ लाख ४४ हजार ४८ कित्ता शेयर ४ अर्ब १० करोड ६८ लाख रुपैयँ बराबरको शेयर कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि बढेको छ । आइतबार २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोकारमा आएका नेप्सेका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ । 

विदेशका खबर

म्यानमारमा चार जनालाई मृत्युदण्ड

म्यानमारको सैन्य सरकारले प्रजातन्त्र समर्थक चार जना कार्यकर्तालाई आतंकवादी कार्य गर्न मद्दत गरेको आरोपमा मृत्युदण्ड दिएको छ । पछिल्ला दशकमा म्यानमारमा मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । मृत्युदण्ड दिइएको मध्येमा प्रजातन्त्रवादी अभियन्ता जिम्मी भनेर चिनिने क्याव मिन यु र पूर्वसांसद तथा हिप–हप कलाकार फ्यो जेया थाउ रहेको ग्लोबल न्यू लाइट अफ म्यानमारले जनाएको छ । ५३ वर्षीय क्याव मिन र ४१ वर्षीया जेया थाउले गत जुनमा सजायविरुद्धमा अपिल गरेका थिए। जेया थाउ म्यानमारकी अपदस्थ नेता आङ सान सुकीका सहयोगीसमेत हुन्। मृत्युदण्ड पाउने अरु दुई जनामा ह्ला म्यो आङ र आङ थुरा जाव रहेका छन् । 

चारै जनालाई आतंकवाद विरोधी कानुन र दण्ड संहिता अन्तर्गत अभियोग लगाइएको थियो। गत जनावरीमा बन्द ढोकामा गरिएको सुनुवाइमार्फत उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । चारै जनालाई गत वर्ष एउटा विद्रोहमा सत्ता कब्जा गर्ने उद्देश्यले सेनासँग लड्न मिलिसियाहरूलाई सहयोग गरेको आरोप लगाइएको थियो । साथै आफ्ना विरोधीहरूमाथि रक्तपातपूर्ण कारबाही गरेको पनि उनीहरूमाथि आरोप थियो ।

असिस्टेन्स एसोसिएसन अफ पोलिटिकल प्रिजनर्स (एएपीपी) ले म्यानमारमा अन्तिम न्यायिक मृत्युदण्ड सन् १९८० को दशकमा भएको बताएको छ । गत महिना सैन्य प्रवक्ता जाव मिन टुनले मृत्युदण्डको बचाउ गर्दै यो धेरै देशमा प्रयोग भएको बताएका थिए । फ्यो जेयर थाउकी श्रीमती थाजिन न्युन्ट आङले आफ्नो पतिको मृत्युदण्डको बारेमा आफूलाई नभनेको बताइन ।

भारतका राष्ट्रपतिको सपथ ग्रहण 

भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । मुर्मुले आज बिहान एक विशेष समारोहका बीच पद तथा गोपनियताको शपथ लिनु भएको हो । प्रधानन्यायाधीश एनबी रमणले मुर्मुलाई शपथ गराउनु भएको हो । भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित ६४ वर्षीय मुर्मु भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नुभएको हो । उहाँले आजदेखि कार्यभार सम्हाल्नु हुने भएको छ ।

खेल खबर

साफ यू–२० च्याम्पियनसिप

साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी खेलको दोस्रो हाफ चलिरहँदा नेपालले ३–० गोलको अग्रता बनाएको छ । खेलको ४२ औं मिनेटमा दिपेश गुरुङले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका हुन् । 

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । त्यसैले नेपाल पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोड्न चाहन्छ । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले माल्दिभ्सपछि श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।