अन्नपूर्ण दिनभर : संसद्मा सभामुखको रुलिङदेखी अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न म्याद ७ दिन थप
एसपीपी अस्वीकार गर्ने पत्र नपठाएको भन्दै सत्तारुढ सांसदबाटै सरकारको आलोचना÷पत्राचार गर्ने निर्णय कार्यान्वयनबारे जानकारि दिन सभामुखको रुलिङ सोफाको नामबाट अर्को सैन्य सम्झौता भइरहेको देव गुरुङको दावी ।
निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिको समय ७ दिन थप÷पहिलो १० दिनमा समिति कुनै निष्कर्षमा पुग्न सकेन÷बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नभएको शर्माको बयान ।
नेपालमा ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीएफ प्वाइन्ट वान’ भेटियो÷पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि ।
भारतमा राष्ट्रपतिय निर्वाचनको पहिलो चरणको मतगणना सम्पन्न÷लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार मुर्मु दोब्बर बढी मतले अगाडी आजै मतपरिणा घोषणा गर्ने तयारी ।
र, साफ अन्डर–२० च्याम्पियनसिपमा नेपाली टोलीको नेतृत्व आयुष घलानले गर्ने÷एन्फा कार्यसमिति बैठक एजेन्डामा प्रवेस नै नगरी स्थगित ।
अन्नपुर्ण खबर
सभामुखको रुलिङ
सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी दिन रुलिङ गर्नुभएको छ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षका सांसदहरूले बारम्बार उक्त विषय संसद्मा उठाएपछि सभामुखले सरकारलाई मन्त्रिपरिषद्ले गरेका निर्णय र कार्यान्वयनको अवस्थाबारे संसद्लाई जानकारी हुनुपर्ने भन्दै रुलिङ गर्नुभएको हो ।
एसपीपी सम्झौता कार्यान्वयन गर्ने पत्र अमेरकिालाई नपठाएको भन्दै सत्तारुढ दलकौ सांसदहरुले सरकारको आलोचना गरेको छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङले परराष्ट्र मन्त्रालयले पछिल्लो समयमा तत्कालै पत्राचार गर्न नसकिने र विभिन्न पक्षहरुसँग संवाद, सल्लाह, परामर्श गरेर मात्रै गर्ने अभिव्यक्ति दुखद् रहेको बताउनुभयो ।
सांसद गुरुङले नेपालमा एसपीपी फेल भएपनि सैन्य प्रकृतिकै अर्को सम्झौताको तयारी भइरहेको आशंका गर्नुभएको छ । हालै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपिपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपिपी भित्रभित्रै सम्झौता गर्न लागिएको आशंका व्यक्त गर्नुभएको हो । सांसद गुरुङले म्युचिएल डिफेन्स ट्रिटी, स्टाटेजी डिफेन्स प्याक्ट, स्टाटस अफ फोर्स एग्रिमेण्ट सोफा लगायतका नामबाट एसपिपी सम्झौता गर्ने कुरा भइरहेको दाबी गर्नुभयो । एसपिपी सम्झौता पिस कोअप्रेशन एग्रिमेण्ट भनेर शीर्षक राखेर एसपिपी सम्झौता गर्ने प्रयास भइरहेको उहाँको दावी छ ।
त्यसअघि नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले पनि एसपीपीबारे मन्त्रीपरिषद्को निर्णय कार्यान्वयनमा ढिलाई भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उहाँले मन्त्रीपरिषद् भन्दा पनि ठुलो कार्यकारी अधिकार को सँग छ भन्दै प्रश्न गर्नुभयो ।
यस्तै आजको बैठकमा एम अधिकारी र एमाले सांसद भिम रावलले हिजोको बैठकमा रोष्ट्रम कब्जा गरेको बिषयमा पनि सवालजवाफ नै चलेको छ । एमाले सांसद महोश वस्नेतले एमालेको अर्थ विभागका सदस्य एम अधिकारी खोज्नेहरुलाई जवाफ फर्काउनुभएको छ । बस्नेतले देशी, विदेशी शक्ति गुहारेर राष्ट्रपति, प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस. देउवा, माओवपादी नेता पी. दाहाल र नेतृ ए. राणा देउवा खोजेर कारबाही गर्नुपर्ने होइन र ? भन्दै प्रश्न गर्नुभयो । अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा कानुनविपरीत गतिविधि गर्नेहरूलाई खोज्नुपर्ने उहाँको भनाइ थियो ।
यस्तै एमाले सांसद भीम रावलले प्रतिनिधिसभाको हिजोको बैठकमा रोस्ट्रम कब्जा गरी संसद्को गतिविधि अवरुद्ध गरेकोप्रति कांग्रेस सांसद रंगमति शाहीले आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा लामो संसदीय अनुभव भएको रावलले रोस्ट्रम कब्जा गरेको विषयलाई सभामुखले गम्भीर रूपमा लिनुपर्ने पनि सांसद शाहीको भनाइ थियो । प्रतिनिधिसभा नियमावली नमान्ने सांसद रावलको गतिविधि गलत भएको सांसद शाहीको भनाइ थियो । एमाले सांसद रावलको रोस्ट्रम कब्जा गर्ने कार्यले सभामुखको आसन नै कब्जा हुने हो कि भन्ने आशंका थपिदिएको उहाँको भनाइ थियो ।
त्यस्तै, प्रमुख प्रतिपक्षी एमालेका सांसद प्रदीप ज्ञवालीले जनतालाई मूल्यबृद्धि, महँगी तथा अत्यावश्यक वस्तुको अभावले समस्या पर्दा सरकार नदेखिएको बताउनुभएको छ । उहाँले सरकार रमितेका रूपमा पनि उपस्थित हुन नसकेको भन्दै आलोचना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञवालीले जनताका समस्यामा बहस गर्नुभन्दा पनि सरकारमा रहेका दलहरूले अन्य विषयमा कुरा गरिरहेको भन्दै असन्तुष्टि जनाउनुभयो ।
संसदीय छानबिन विशेष समितिको म्याद ७ दिन थप
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ । संसदीय छानबिन विशेष समितिको कार्यावधि ७ दिन थप गरिएको हो । असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । तर समितिले पाएको समय पहिलो १० दिन सकिँदासम्म समिति कुनै निष्कर्षमा पुगिसकेको छैन ।
त्यसपछि समितिले आज मात्रै सभामुख सापकोटालाई समय थप्न माग गरेको थियो । अझै केही व्यक्तिहरुको बयान लिन बाँकी नै रहेको छ भने सीसीटीभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ ।
यसअघि आजै निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले समितिमा जवाफ दिँदै बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको दाबी गर्नुभएको छ । समितिको बैठकमा बयान दिँदै शर्माले आफूमाथि लागेको आरोपको खण्डन गर्दै बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करको दर हेरफेर नगरेको दाबी गर्नु भएको हो ।
उहाँले स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा नै बजेट निर्माण गरिएको दाबी पनि गर्नुभएको छ । पूर्वअर्थमन्त्री शर्माले अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नरहेको जिकीर गर्नुभयो । सीसीटिभी फुटेजका बारेमा आफूलाई केही थाहा नभएको उहाँका जिकीर छ । यसअघिका बैठकमा अर्थ मन्त्रालयका अधिकारी, समाचार लेख्ने पत्रकार लगायतसँग सोधपुछ गरेको थियो ।
बाबुरामलाई प्रचण्डको प्रस्ताव : ‘माधवजीलाई समेटेर समाजवादी केन्द्र बनाऔँ’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकताको प्रस्ताव गर्नुभएको छ । आज बिहान ललितपुरमा भएको भेटवार्ताको क्रममा प्रचण्डले बाबुरामलाई समाजवादी केन्द्र निर्माण गरेर सहकार्य गर्न प्रस्ताव गर्नुभएको हो ।
प्रचण्डले बाबुरामलाई माओवादी केन्द्रमै फर्किन गरेको प्रस्ताव बाबुरामले अस्वीकार गरेपछि नयाँ प्रस्ताव अघि सारेको बाबुराम निकट स्रोतले बताएको छ । छलफलको क्रममा प्रचण्डले समाजवादी केन्द्र निर्माण गर्दा माधव नेपाललाई पनि समेट्न सकिन्छ भन्ने प्रस्ताव राखेको जनाइएको छ । चुनावसँग आपसी सहकार्यबारे निरन्तर छलफल गर्ने समझदारी समेत बनेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट कारवाही गरेपछि बाबुराम नयाँ यात्राको विकल्पबारे निरन्तर छलफलमा छन् ।
स्पष्ट उद्देश्य राखेर मात्रै गठबन्धन गर्छौं : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरुको बीचमा तालमेल हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले तालमेल के का लागि पहिले नै टुङ्गो लाग्नुपर्ने बताउनुभयो । महामन्त्री थापाले निर्वाचनपछि र अगाडिको तालमेल असफल भएको भन्दै आगामी निर्वाचनका लागि गरिने तालमेलमा न्यूनतम समझदारी बन्नुपर्ने प्रष्ट पार्नुभयो ।
निर्वाचन अघि गरिने तालमेल दलहरुका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने उहाँको भनाई । नेपाली कांग्रेस त्यसतर्फ सचेत रहँदै बहुमत ल्याउनका लागि तालमेल आवश्यक रहेको र बहुमत स्थिर सरकारका लागि आवश्यक रहेको थापाले बताउनुभयो । नागरिकसँग गरेका वाचा पाँच वर्षमा पूरा गर्नका लागि कांग्रेसलाई बहुमत आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो ।
राजेन्द्र लिङ्देनको राजनीतिक प्रस्ताव
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय निर्वाचनमा पाएको सफलताले पाटीपंक्तिलाई उत्साहित तुल्याएको बताउनुभएको छ । आजबाट सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै लिङ्देनले प्रतिष्पर्धी दलहरुको गठबन्धन र आफ्नो तयारी अभावका बाबजुद राप्रपाले लोकप्रिय जनमतमा उल्लेख्य सुधार गरेको बताउनुभएको हो ।
अपेक्षित नतिजा हात नलागे पनि निर्वाचनको क्रममा पार्टीका नेता कार्यकर्ताहरु परिचालित हुने, उम्मेद्वार बन्ने, विजयी हुने र मतदातासँग हातेमालो गर्ने क्रमले पार्टी संरचनामा सकरात्मक प्रभाव संचार भएको उहाँले बताउनुभयो । स्थानीय तहमा राप्रपाबाट चार पालिका प्रमुख, चार उपप्रमुखसहित ३०७ स्थानीय जनप्रतिनिधि निर्वाचित भएका छन् । लिङ्देनले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि आफ्नो नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने प्रस्ताव पनि गर्नुभएको छ । राप्रपाको केन्द्रीय समिति बैठक भोलीसम्म चल्नेछ ।
राप्रपा अध्यक्ष लिङ्देनले थपे ४९ केन्द्रीय सदस्य
पार्टीको केन्द्रीय समितिमा ४९ जना थप भएका छन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आज ४९ जनालाई केन्द्रीय सदस्य मनोनित गर्नुभएको हो । यसअघि राप्रपा छोडेर राप्रपा नेपालमा गएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङको राप्रपा केन्द्रीय समितिमा कमब्याक भएको छ । पौडेल राप्रपा नेपालमा उपाध्यक्ष र गुरुङ कोषाध्यक्ष थिए ।
राप्रपाको केन्द्रीय सदस्यबाट राजीनामा दिएर राप्रपा नेपालतिर लागेका उनीहरु फेरि मुल पार्टीमा फर्केका हुन् । पूर्वमन्त्रीहरु जगत गौचन र रामचन्द्र राय पनि राप्रपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । हेर्टाैंडा उपमहानगरपालिकाको मेयरमा लडेर पराजित भएका दिपक बहादुर सिंहले पनि केन्द्रीय समितिमा स्थान पाएका छन् ।
यसैगरी, शिवराज नगरपालिकाका मेयर अजय थापा, रामग्राम नगरपालिकाका उपमेयर सम्झना चौधरी, पूर्वसचिवद्वय केदारवहादुर अधिकारी र केदार न्यौपाने पनि केन्द्रीय सदस्य बनेका छन् । अन्य थपिएकाहरुमा राजाराम श्रेष्ठ, परशुराम तामाङ, रामशरण पाठक, जयलाल पुन लगायत छन् । राप्रपामा २ सय ५१ जनाको केन्द्रीय समिति रहने प्रावधान छ । अझै केही केन्द्रीय सदस्यहरु रिक्त छन् ।
१२ प्रतिशत पुग्यो कोरोना संक्रमणदर
पछिल्लो २४ घण्टामा देशभर ४ सय ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ६९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै, संक्रमणदर १२.१ प्रतिशत पुगेको मन्त्रालयका जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५ सय २७ रहेको छ । यस्तै, नेपालमा ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीएफ प्वाइन्ट वान’ भेटिएको छ । धुलिखेल अस्पतालको ल्याबमा जिन सिक्वेसिङ गर्दा बीएफ प्वाइन्ट वान भेरियन्ट दुई जनामा भेटिएको हो । विज्ञहरूले सो भेरियन्ट सबैभन्दा छिटो सर्ने बताएका छन् ।
राम्रो नाम राख्न नसके अर्को संसदलाई छाडिदिऔं : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिचानका आधारमा प्रदेशको नाम राख्न नसके अर्काे संसदलाई जिम्मा दिनुपर्ने बताउनुभएको छ । प्रदेशको नाम लिम्बुवान किरात राख्नुपर्ने माग गर्दै पुगेको पहिचान पक्षधर ३२ वटा संघसंस्थाको ज्ञापनपत्र बुझ्दै उनले राम्रो नाम दिन नसके नाम राख्ने जिम्मा अर्को समितिलाई दिनुपर्ने बताउनुभएको हो ।
प्रदेश १ को चालु अधिवेशनबाटै नाम राख्ने गरी दलहरु छलफलमा छन् । तर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीलगायत प्रमुख दलको अलग अलग धारणा छ । नामका विषयमा छलफलका लागि साउन ८ गते प्रदेशसभाकोे बैठक बोलाइएको छ । मुख्यमन्त्री राई पहिचानका आधारमा नाम राख्नुपर्ने पक्षमा रहनुभएको छ ।
मुख्यमन्त्री राईले पालिकाहरुको नाम पनि पहिचानका आधारमा राखेको उल्लेख गर्दै प्रदेशको नाम पनि पहिचानका आधारमा राख्नुपर्ने समेत बताउनुभएको छ । लिम्बूवान किरात प्रदेशको माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउका लागि पुगेकाहरुले मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाउँदै प्रदेशको नाम पहिचानका आधारमा नराखे आठौं प्रदेशको माग गर्दै प्रदर्शन सुरु गर्ने चेतावनी दिएका छन् ।
यसैबीच लिम्बुवान किरात प्रदेश घोषणा गर्न माग गर्दै माइतीघरमा सांकेतिक प्रदर्शन भएको छ । पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगरमा भएको प्रदर्शनलाई समर्थन गर्दै राजधानीको माइतीघरमा प्रदर्शन गरिएको हो । उता विराटनगरमा पनि आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको छ । प्रदेश सरकारको कार्यकाल सकिनै लाग्दा पनि प्रदश १ को नाममा सहमति जुट्न नसक्दा नाम राखिएको छैन ।
आजदेखि एक हप्ता काठमाडौँको फोहोर नउठ्ने
काठमाडौँबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता फोहोर नउठ्ने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो । योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै ल्यान्डफिल साइट खुल्ने गरेको थियो । जसकारण उपत्यकाको फोहोर नियमित उठ्न सकेको थिएन ।
भिसा नवीकरण गर्न फर्जी कागजपत्र पेश गर्ने ४ नेपाली टोकियोबाट पक्राउ
कामै नगरिरहेको रेष्टुरेन्टमा काम गरिरहेको कागजपत्र पेश गरेर भिसा नवीकरण गरेको भन्दै जापान प्रहरीले ४ जना नेपालीलाई नियन्त्रणमा लिएको छ । जापानमा सञ्चारमाध्यमहरुले प्रकाशन गरेको समाचारअनुसार ४३ वर्षीय बहादुर भुजेल भन्ने व्यक्तिले झूटा विवरणहरु पेश गरी भिसा नवीकरण गर्ने गरेको भन्दै उनीसहित ४ जनालाई प्रहरीले टोकियोबाट नियन्त्रमा लिएको हो ।
समाचारअनुसार भुजेल भिसा नवीकरणसम्बन्धी कागजपत्र तयार गर्ने व्यक्ति र अरु भिसा नवीकरण गर्नेहरु हुन् । भुजेलले अघिल्लो वर्षमात्रै १०० जनाभन्दा बढीको यसरी नै झूटा कागजपत्र पेश गरी भिसा नवीकरणलगायतका काम गरेको समाचारमा उल्लेख छ ।
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालीकोटको पिलीमा पहिरो जाँदा बिहीबार दिउँसो अवरुद्ध भएको कर्णाली राजमार्ग पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आज विहान खाडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने सवारी साधनहरु अलपत्र परेका थिए । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार स्थानीय तहसँग समन्वय गरेर पहिरो पन्छाइएको हो । सड्क सञ्चालनमा आएसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।
यसैबीच आज बिहान कालिकोटकै टिपघाट खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पलाता गाउँपालिका– ७ फागोटि बस्ने वर्ष ४० का धर्मदत्त जैसी रहनुभएको छ । थिर्पुबाट घर फर्किंदै जैशीलाई टिपघाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ । पाण्डेका अनुसार अहिले प्रहरी र स्थानीयको संयुक्त टोलीले उनको खोजी कार्य गरिरहेको छ ।
पाँच सय बढी घर पहिरोको जोखिममा
डोटीको सायल गाउँपालिकामा बाढी पहिरोका कारण ५ सय भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउँपालिकाको वडा नं १, २, ४, ५ र ६ मा रहेका ५ सय ८४ घर पहिरोको उच्च जोखिममा रहेका गाउँपालिकाका स्थानीयवासी तेजबहादुर डुम्रेलले बताउनुभयो । गएको वर्षको असोज, कात्तिक महिनामा परेको अविरल वर्षाका कारण गाउँमाथिबाट पहिरो खसेको थियो । पहिरोमा परेर त्यतिबेला ६ जनाको ज्यान गएको थियो ।
तर, पहिरोका कारण जोखिममा रहेका ती बस्ती अहिलेसम्म स्थानान्तरण गरिएको छैन । गाउँपालिकाको तथ्याङ्क अनुसार वडा नं. ४ मा रहेका भल्मा, कुनाकाट्टे, घङारे, बाबनसैन र डौड लगायतका बस्तीका २ सय ५० घरधुरी जोखिममा परेका छन् । त्यस्तै वडा नं. ५ का ढिपु र सुनिबाटा गरी ६० घरधुरी, वडा नं. ६ को रौकल्लाका ७० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् ।
त्यस्तै, वडा नं. २ को सिर्मा गाउँका १ सय २० र घुर्केला गाउँका ३४ घरधुरी उच्च जोखिममा छन् । वडा नं. १ कुसिनाऔल र छपालीका ५० भन्दा बढी घरधुरी जोखिममा परेका छन् । पहिरोको जोखिममा रहेका बस्तीहरुमा बादल लाग्नेबित्तिकै फोन सेवा अवरुद्ध हुने गरेको छ ।
आर्थिक खबर
साउन २१ सम्म वित्तीय विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन
बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गरिसक्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ संशोधन गर्दै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई चौथो त्रैमासको अन्तरिक वित्तिय प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशित गरिसक्न निर्देशन दिएको हो । यो सीमा यसअघि एक महिनाको थियो ।
यस्तै हरेक त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन ७ दिनभित्र राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित गर्न पनि भनिएको छ ।
पुँजी बजार विकास गर्न चेम्बर अफ कमर्सको नीतिगत सुझाव
नेपाल चेम्बर अफ कमर्सले पुँजी बजारको विकासका लागि सरोकारवाला सरकारी निकायमा विभिन्न नीतिगत सुझाव पेश गरेको छ । चेम्बरले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेश गरेको हो । पुँजी बजार स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट विभिन्न सुझाव पेश गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिनुभयो ।
विभिन्न कारणले पछिल्लो समय पुँजी बजार धराशयी बन्दै गएको एवं लगानीकर्ताहरू निकै समस्यामा परेकाले समाधानका लागि सरोकारवाला तीन वटै निकायमा छुट्टाछुट्टै सुझाव पेश गरिएको अध्यक्ष मल्लको भनाइ छ । धितोपत्र बजारबाट पुँजी निर्माणमा प्रोत्साहन हुने गरि अन्तरराष्ट्रिय स्तरमा प्रचलनमा रहेबमोजिम विभिन्न कोषहरू सञ्चालनका लागि कर सम्बन्धमा यथोचित व्यवस्था गर्न चेम्बरले अर्थ मन्त्रालयसँग आग्रह गरेको छ ।
धितोपत्रका विभिन्न औजारहरू कारोबारमा ल्याउँदा सोबाट हुने लाभमा कर लाग्ने व्यवस्था गर्दा लावान्वितले लिइने व्यवस्था गरि धितोपत्र औजारको विविधीकरणलाई प्रोत्साहन गर्न पनि चेम्बरले सुझाव दिएको छ ।
नेप्सेमा पाँच अंकको करेक्सन, भयो १ अर्ब ६४ करोडको कारोबार
नयाँ आर्थिक वर्ष सुरु भएसँगै लगातार उकालो यात्रामा रहेको नेप्सेमा आज ५ अंकको ब्रेक लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८७ अंकले घटेर २०४४.७२ अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक १६ अंकले बढ्दै २०५० विन्दुमा अडिएको थियो ।
आज बैंकिङ र अन्य समूहको उपसूचक बाहेक सबैजसो उपसूचकहरु ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक आज ०.१७ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक १.०९ प्रतिशतले बढेको छ । ट्रेडिङ समूहको उपसूचक १.५८ प्रतिशतले घटेको छ भने जीवन बीमा समूहको उपसूचक १.५२ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक १.०७ प्रतिशतले घटेको छ ।
यस्तै, डेभलपमेन्ट समूहको उपसूचक ०.९८ प्रतिशतले, निर्जीवन बीमा समूहको उपसूचक ०.७८ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक ०.७५ प्रतिशतले, हाइड्रोपावर समूहको उपसूचक ०.६१ प्रतिशतले, माइक्रोफाइनान्स समूह ०.४८ प्रतिशतले, म्युचुअल फन्ड समूह ०.४४ प्रतिशतले, म्यानु एण्ड प्रो ०.२५ प्रतिशतले र फाइनान्स समूह ०.९ प्रतिशतले घटेका छन् । ५ अंक माथिले घटेको बजारमा आज १ अर्ब ६४ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
विदेशका खबर
भारतीय राष्ट्रपतिको निर्वाचन : द्रौपदी मुर्मूको फराकिलो अग्रता
भारतीय राष्ट्रपति निर्वाचनको मतपरिणाम आजै घोषणा गर्ने तयारी भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार देशको १५ औै राष्ट्रपतिको नतिजा आज साँझसम्म घोषणा गर्ने तयारी भएको हो ।
राष्ट्रपति चुनावको पहिलो चरणको मतगणना पुरा भइसकेको छ । जसमा सांसदको मतगणना सम्पन्न भएको हो । मतगणना अधिकारीका अनुसार द्रौपदी मुर्मूले ५४० र यशवंत सिन्हाले २०८ सांसदको भोट पाएका छन् । यस्तै १५ भोट भने रद्ध भएको समाचारमा जनाइएको छ ।
समाचारअनुसार द्रौपदी मुर्मूको भोट भ्यालु ३ लाख ७८ हजार रहेको छ । जबकी यशवंत सिन्हाको भ्यालु १ लाख ४५ हजार ६०० रहेको छ । संसदमा कोठा नम्बर ६३ मा संसदको मतगणना पुरा भएपछि राज्यको गणना सुरु भएको हो । यसपछि जीतको औपचारिक घोषणा हुनेछ । एनडीएकी उम्मेदवार द्रौपदीको जित लगभग सुनिश्चित रहेको समाचारमा जनाइएको छ ।
यसैबीच द्रौपदीको गाउँमा जितको खुसीयाली सुरु भइसकेको छ । भारतीय नवनिर्वाचित राष्ट्रपतिको शपथ जुलाई २५ मा हुने बताइएको छ । जुलाई २४ मा वर्तमान राष्ट्रपति रामनाथ गोविन्दको कार्यकाल सकिनेछ ।
खेल खबर
यू–२० फुटबल टिमको कप्तानमा आयुष घलान
साफ यू–२० च्याम्पियनसिपमा नेपाली टिमको नेतृत्व आयुष घलानले गर्ने भएका छन् । औपचारिक रूपमा घोषणा हुन बाँकी भएपनि सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी आयुष यू–२० को कप्तान रहने टिमका मुख्य प्रशिक्षक मेघराज केसीले जानकारी दिनुभयो । साफ यू–२० खेल्न भारत प्रस्थान गर्नुअघि बिदाइ कार्यक्रममा आयुष कप्तान भएको औपचारिक घोषणा एन्फाले गर्नेछ ।
नेपालले च्याम्पियनसिपको पहिलो खेल ११ साउनमा श्रीलंकासँग खेल्नेछ । त्यस्तै दोस्रो खेल १५ साउनमा भारत तथा १७ साउनमा बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोविनको पद्दतीमा हुने खेलको तालिकामा शीर्ष दुई टोलीले २० साउनमा फाइनल खेल्नेछन् ।
एन्फा कार्यसमिति बैठक पुनः स्थगित
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक स्थगित भएको छ । आज विहानका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बोलाइएको कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको हो । एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले बैठक स्थगित भएको घोषणा गर्दै बैठक कक्षबाट बाहिरिएपछि स्थगित गरिएको सदस्य जानकारी गराउनुभयो ।
अध्यक्ष बाहिरिएपछि बैठकमा गणेश थापा प्यानलका सदस्यहरुले अन्तराष्ट्रिय विभाग प्रमुखबाट नविन पाण्डेलाई हटाउन माग गर्दै निवेदन पेश गरेका थिए । एन्फाले कार्यसमिति बैठकका लागि १८ एजेन्डा तय गरिएको थियो । एन्फामा नयाँ नेतृत्व आएपछि सूचना र एजेन्डासहित पहिलो पटक बैठक बसेको थियो ।
यसअघि सोमबार बोलाइएको बैठक एन्फा अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि स्थगित भएको थियो । आज नेम्वाङ उपस्थित भएपनि कार्यसमितिका उपाध्यक्षसहित केही सदस्यले हाजिर गर्न नमानेपछि बैठक स्थगित भएको जनाइएको छ ।