Live Streaming

आगामी निर्वाचनमा गठबन्धनको रणनीति र एमाले

सरकारले आगामी मंसिर पहिलो साता संघ र प्रदेश निर्वाचनको तयारी गरेसँगै राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आफूलाई फाईदा हुनेगरि आगामी निर्वाचनमा पनि हालको गठबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि काँग्रेसले सही निर्णय गरेको र गठबनधन यताउती हुन नहुने बताइसक्नुभएको छ । एकीकृत समाजवादी पनि गठबन्धन गरेरै जानुपर्ने पक्षमा छ । यद्यपि, एकीकृत समाजवादी पार्टीले भने स्थानीय तह निर्वाचनमा अपेक्षीत नतीजा नआएको भन्दै काँग्रेसले आफूहरुलाई धोका दिएको आरोप लगाउँदै आएको छ । 

आगामी निर्वाचनमा पनि गठबन्धनको पक्षमा रहेको एकीकृत समाजवादी सम्मानजनक सिट बाँडफाँडको पक्षमा छ । यदी सबै दलहरुले औपचारिक रुपमै गठबन्धन गर्ने निर्णय गरेपनि सिट बाँडफाँडमा भने लफडा हुने निश्चित छ । काँग्रेसले १०० सिटभन्दा कम दावी नगर्ने बताइरहदा एकीकृत समाजवादीले ४० सिटको बटमलाईन बनाइरहेको छ ।


यता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम, माओवादी नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरु समाजवादी केन्द्र निर्माणबारे छलफलमा जुटेका छन् । माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गैरकांग्रेस, गैरएमालेको सामाजवादी केन्द्र बनाउने विषयको प्रस्ताव प्रचण्डले गर्नुभएको थियो । 

सत्तारुढ दलहरु संघ र प्रदेश निर्वाचनमा गठबन्धन बनाएरै स्थिर सरकार बनाउने योजनामा लागिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने एक्लै चुनाव लड्ने मनशायमा देखिएको छ । हाल संगठन विस्तार भन्दै प्रदेश स्तरीय प्रशिक्षण चलाईरहेको एमाले आफूहरु जनआधारकै जगमा गठबन्धनलाई परास्त गर्ने दृढ विश्वासमा छ ।

विशेषगरि प्रतिनिधिसभा विघटनसँगै तिक्ततापूर्ण सम्बन्धमा रहेका कम्युनिष्ट पार्टीहरुबीच तालमेलको चर्चा समय क्रममा भएपनि नेताहरुका आ–आफ्न अडानले कम्युनिष्ट एकताको संकेत तत्काल देखिएको छैन । नेपाली राजनीतिक इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टी तत्कालीन नेकपा विभाजन हुँदा पुगेको क्षतिको दोष स्वीकार्न कोही पनि नेता तयार देखिएका छैनन् । 

एमाले नेता शेरबहादुर तामाङले भने नेकपा फुटबाट आफूहरुले घाटा बेहोर्नु परेपनि आगामी चुनावमा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै तामाङले अहिले आफूहरु संठगन सुदृढीकरणमा लागिरहेको र साउन तेश्रो सातापछि मात्रै आगामी चुनावतिर ध्यान केन्द्रित गर्ने बताउनुभएको छ । तामाङले आगामी निर्वाचनमा तालमेलका लागि प्रयास नै नभएको भने भन्न नमिल्ने पनि बताउनुभयो ।