Live Streaming

अन्नपूर्ण दिनभर : कोरोनाको चौथो लहरको संकेत बढ्दैदेखी जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्याससम्म


अन्नपूर्ण खबर

संघ र प्रदेश निर्वाचनमा पनि गठबन्धन गरेर स्थिर सरकार बनाउने सत्तारुढ दलहरुको तयारी÷नेकपा फुटको गल्ती स्वीकार्न तयार नहुँदा वाम एकताको सम्भावना कमजोर बन्दै÷एक्लै चुनाव लड्ने एमालेको योजना ।

पार्टी पुर्नगठनको तयारीमा रहनुभएका पूर्वप्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता÷जसपाबाट अलग भएपनि आफू गठबन्धनमै रहेको भट्टराईको प्रतिक्रिया ।

नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि २ सय ७ स्थानीय तहले अझै बजेट पेश गर्न सकेनन्÷समयमा बजेट ल्याउन नसक्ने सबैभन्दा धेरै मधेस प्रदेशका ।

पाकिस्तानको सिन्धु नदीमा डुङ्गा दुर्घटना हुँदा २३ यात्रुको मृत्यु÷२६ जना बेपत्ता÷ ९० जनाको सकुशल उद्धार ।

एन्फाको कार्यसमिति बैठक बिहीवार बस्ने÷बैठकका लागि तय गरिएका १२ एजेन्डामा आफ्ना ५ एजेन्डा थप्न उपाध्य केसीको माग ।

गठबन्धन रणनीति र एमाले

सरकारले आगामी मंसिर पहिलो साता संघ र प्रदेश निर्वाचनको तयारी गरेसँगै राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आफूलाई फाईदा हुनेगरि आगामी निर्वाचनमा पनि हालको गठबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि काँग्रेसले सही निर्णय गरेको र गठबनधन यताउती हुन नहुने बताइसक्नुभएको छ । एकीकृत समाजवादी पनि गठबन्धन गरेरै जानुपर्ने पक्षमा छ । यद्यपि, एकीकृत समाजवादी पार्टीले भने स्थानीय तह निर्वाचनमा अपेक्षीत नतीजा नआएको भन्दै काँग्रेसले आफूहरुलाई धोका दिएको आरोप लगाउँदै आएको छ । 

आगामी निर्वाचनमा पनि गठबन्धनको पक्षमा रहेको एकीकृत समाजवादी सम्मानजनक सिट बाँडफाँडको पक्षमा छ । यदी सबै दलहरुले औपचारिक रुपमै गठबन्धन गर्ने निर्णय गरेपनि सिट बाँडफाँडमा भने लफडा हुने निश्चित छ । काँग्रेसले १०० सिटभन्दा कम दावी नगर्ने बताइरहदा एकीकृत समाजवादीले ४० सिटको बटमलाईन बनाइरहेको छ ।


यता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम, माओवादी नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरु समाजवादी केन्द्र निर्माणबारे छलफलमा जुटेका छन् । माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गैरकांग्रेस, गैरएमालेको सामाजवादी केन्द्र बनाउने विषयको प्रस्ताव प्रचण्डले गर्नुभएको थियो । 

सत्तारुढ दलहरु संघ र प्रदेश निर्वाचनमा गठबन्धन बनाएरै स्थिर सरकार बनाउने योजनामा लागिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने एक्लै चुनाव लड्ने मनशायमा देखिएको छ । हाल संगठन विस्तार भन्दै प्रदेश स्तरीय प्रशिक्षण चलाईरहेको एमाले आफूहरु जनआधारकै जगमा गठबन्धनलाई परास्त गर्ने दृढ विश्वासमा छ । विशेषगरि प्रतिनिधिसभा विघटनसँगै तिक्ततापूर्ण सम्बन्धमा रहेका कम्युनिष्ट पार्टीहरुबीच तालमेलको चर्चा समय क्रममा भएपनि नेताहरुका आ–आफ्न अडानले कम्युनिष्ट एकताको संकेत तत्काल देखिएको छैन । नेपाली राजनीतिक इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टी तत्कालीन नेकपा विभाजन हुँदा पुगेको क्षतिको दोष स्वीकार्न कोही पनि नेता तयार देखिएका छैनन् । 

एमाले नेता शेरबहादुर तामाङले भने नेकपा फुटबाट आफूहरुले घाटा बेहोर्नु परेपनि आगामी चुनावमा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै तामाङले अहिले आफूहरु संठगन सुदृढीकरणमा लागिरहेको र साउन तेश्रो सातापछि मात्रै आगामी चुनावतिर ध्यान केन्द्रित गर्ने बताउनुभएको छ । तामाङले आगामी निर्वाचनमा तालमेलका लागि प्रयास नै नभएको भने भन्न नमिल्ने पनि बताउनुभयो । 

 बाबुरामसँग भेटपछि प्रचण्डले भने

अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि जसपाबाट अलग दल दर्ताको तयारीमा रहेका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज छलफल गर्नुभएको छ । पार्टी पुनर्गठनको तयारीमा रहनुभएका भट्टराईले भेटमा आफू सत्ता गठबन्धनबाट बाहिर नरहेको बताउनुभएको छ ।

भट्टराईसँगको वार्तापछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले भट्टराई जसपाबाट अलग भए पनि गठबन्धनबाट अलग नभएको बताउनुभयो । जसपाबाट अलग भए पनि बाबुरामसँग सहकार्य भने जारी रहने र माओवादी धाराको पुनःएकीकरणको विषयमा समेत छलफल भएको प्रचण्डले बताउनुभयो । प्रचण्डले कांग्रेसले आगामी चुनावमा गठबन्धन कायम राख्ने निर्णय गरेकोमा खुसी व्यक्त गर्दै आफूहरू पनि गठबन्धनकै पक्षमा रहेको उल्लेख गर्नुभयो । 

समितिको काम तीव्र 

बजेटमा अनाधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विषेश समितिले काम तीव्र बनाएको छ । समितिले आज हराएको सीसीटीभी फुटेज प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुसँग छलफल गर्ने भएको छ । सम्बन्धित विज्ञहरुसँग छलफल गरेपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको हो । समितिले हिजै अर्थमन्त्रीसँग सोधपुछ गर्ने बताएपनि सिसीटीभी फुटेजमाथि थप अनुसन्धान आवश्यक रहेको जनाएको थियो । समितिले हिजो अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेपछि सीसीटीभी फुटेजमा केन्द्रित भएको हो । 

चालू आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा सोमबारको बैठकमा अर्थ मन्त्रालयका आईटी विज्ञसँग सोधपुछ गरिएको थियो । समितिले सीसीटीभी फुटेज मगाएपनि जेठको रेकर्ड दिनुपर्नेमा मन्त्रालयले असारको रेकर्ड भएको हार्डडिस्क उपलब्ध गराएको थियो । डिलिट भएको सीसीटीभी फुटेज पुनः प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुको सहयोग लिन लागिएको समितिले जनाएको छ । 

राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो रहेको बताउनुभएको छ । नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा आज राजधानीमा आयोजित ६०औँ इन्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशलाई समृद्ध बनाउन सडक, पुल, पुलेसा, नहर जलविद्युत् आयोजना तथा सूचना र प्रविधिको विकासको आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले लागत किफायती, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुनै नयाँ नेपालको आधारशिला भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले मुलुकको वर्तमान आवश्यकतालाई मध्यनजर गरी इन्जिनियरहरूले दिगो, वातावरणमैत्री र जनताको जीवनयापनमा गुणस्तर वृद्धि हुने गरी कार्य गर्न आवश्यक भएको बताउनुभयो । नवीनतम विज्ञान र प्रविधिलाई देश सुहाउँदो हुने गरी आवश्यक पूर्वाधार निर्माणका माध्यमबाट देशलाई समृद्ध बनाउन इन्जिनियरहरु आगामी समयमा थप क्रियाशील हुनुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कसैले चाहँदैमा र सपना देख्दैमा एमाले नएक्लिने दाबी गर्नुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश १ ले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले कसैले चाहँदैमा एमालेलाई एक्ल्याउन नसक्ने जिकिर गर्नुभएको हो । एमाले स्पष्ट विचार बोकेर जनतामा आधारित हुँदै संगठनको बलमा अगाडि बढेको पार्टी भएकाले सपना देखेका भरमा एमालेलाई एक्ल्याउन सम्भव नभएको पोखरेलको भनाई छ ।

उहाँले आगामी निर्वाचनमा अरु दलले गठबन्धन गरेर आए पनि एमाले सामना गर्न तयार रहेको बताउनु भयो । उहाँले अहिले मुलुकमा बाम तालमेलको सम्भावना नरहेको धारणा समेत राख्नुभयो । यस्तै पोखरेलले गठबन्धन सरकार नालायक सावित भएको टिप्पणी समेत गर्नुभएको छ । पोखरेलले सरकार मूल्यवृद्धि तर्फ केन्द्रित भएको र जनताप्रति जिम्मेवार नबनेको आरोप समेत लगाउनु भयो । 

दिलनाथ गिरीसहित चार नेताले छाडे राप्रपा

राप्रपाका चार नेताले पार्टी छाडेका छन् । दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी छाडेको घोषणा गरेका हुन् । आज प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको भएको बताएका छन् । उनीहरूले अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनीहरूले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेकोले यो अभियानमा आफूहरू निरन्तर क्रियाशील रहने बताएका छन् । हालै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो । गत बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दिलनाथसहित नेताहरूलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो । दिलनाथसहितले अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।
 
प्रदेश १ को नामाकरण गर्न ६ गते सर्वदलीय बैठक

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले आफ्नो जिम्मेवारी बोध गरी सहमतिको आधारमा प्रदेशको नाम राख्न आग्रह गर्नुभएको छ । उहाँले साउन २० गतेभित्र प्रदेशको नामकरण हुने विश्वास व्यक्त गर्नुभयो । किरात राई यायोक्खाद्वारा आज आयोजित अनुसन्धानमूलक प्राज्ञिक पुस्तक ‘किरात सभ्यता’को लोकार्पण गर्दै यो सबैभन्दा पुरानो सभ्यता भएकाले यसको आधारमा प्रदेशको नाम किरात राख्नुपर्ने धारणा राख्नुभयो । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरणका लागि यही साउन ६ गते सर्वदलीय बैठकको आयोजना गरी सहजीकरण गर्ने बताउनुभएको छ । उहाँले दलहरुले देश र जनताका लागि दलीय स्वार्थभन्दा माथि उठी नामकरणमा सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो । 

पारित भयो तिलोत्तमाको बजेट 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट पारित भएको छ । असार १० गते नगरसभामा प्रस्तुत बजेट विवादका कारण रोकिएपनि सर्वदलीय सहमतिपछि बजेट आज पारित भएको हो । कांग्रेस र एमालेको विवादका कारण तिलोत्तमामा बजेट प्रस्तुत भएपनि प्रक्रिया अघि बढेको थिएन । न्यायिक समिति गठनमा विवाद हुँदा नगर सभा बैठक सुचारु हुन सकेको थिएन । गत असार ३१ गते र साउन १ गते बसेको नगरसभा बैठकमा गणपूरक संख्या नपुगेको भन्दै मेयर रामकृष्ण खाँणले बैठक स्थगित गर्नुभएको थियो । 

तर उपप्रमुख जागेश्वरी देवी चौधरी सहित एमालेका जनप्रतिनिधिहरुले आफूहरु बैठकमा उपस्थित भएपनि हाजिर गर्न नदिएर बैठक स्थगित गरेको आरोप लगाउँदै आउका थिए । नगरसभाले सहकारी ऐन दोस्रो संशोधन, पारित गरेको छ । त्यस्तै,  कार्यपालिका बैठकका निर्णय अनुमोदन र न्यायिक समितिको प्रतिवेदन अनुमोदन गरेको छ ।  नगरसभाबाट न्यायिक समिति, लेखा समिति, विधायन समिति, सुशासन समिति, विधेयक समिति गठन भएको छ । यसअघि समिति गठनमा सहमति नजुट्दा विवाद हुँदै आएको थियो ।

सरकारले दिने विभूषण लिन २ सय ७४ जनाले अस्वीकार गरे

सरकारले संविधान दिवसको दिन घोषणा गरी नयाँ वर्षको दिन प्रदान गर्ने विभूषण लिन २ सय ७४ जनाले अस्वीकार गरेका छन् । सरकारले पछिल्ला वर्षहरूमा दलका पहुँचवाला नेता तथा कार्यकर्तालाई बढी विभूषण वितरण गर्दै आएको छ । जसको कारण ‘विभूषण दिने मापदण्ड’का विषयमा प्रश्न उठ्ने गरेको छ ।   सरकारले विभूषणका लागि छनौट गरिएका नाम विवादमा परेपछि पछिल्ला वर्षहरूमा विभूषण अस्वीकार गर्नेको संख्या बढ्न थालेको हो ।  

महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९ औं वार्षिक प्रतिवेदनमा पछिल्ला वर्षहरूमा २ सय ७४ जनाले यस्तो विभूषण लिन नगएको उल्लेख गरेको छ । विभूषण ऐन, २०६४ मा चार प्रकारका १२ श्रेणीका मानपदवी, ९ प्रकारका अलङ्कार र १३ प्रकारका पदकबाट राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्ने उल्लेख छ । 
 
२०७ स्थानीय तहले ल्याउनै सकेनन् चालु आवको बजेट

नयाँ आर्थिक वर्ष सुरु भएको तीन दिन पूरा भए पनि हालसम्म २०७ स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन् । संविधानअनुसार स्थानीय तहले असार दोस्रो साताभित्रै बजेट पेश गर्नुपर्ने व्यवस्था छ । संविधानअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय तहले बजेट पेश गर्नुपर्ने व्यवस्था छ । कूल ७५३ स्थानीय तहमध्ये ५४६ स्थानीय तहले चालु आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको भए पनि २०७ स्थानीय तहले विभिन्न कारणले गर्दा बजेट प्रस्तुत नै गर्न सकेका छैनन् । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये १०७ स्थानीय तहले बजेट ल्याइसकेका छन् । सो प्रदेशका ३० स्थानीय तहले भने हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् । कूल १३६ स्थानीय तह भएको मधेस प्रदेशका ६५ स्थानीय तहमा विवादका कारण चालु आवको बजेट नै प्रस्तुत हुन सकेको छैन । सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशका पनि ३४ स्थानीय तहको बजेट तोकिएको समयमा पेश हुन सकेको छैन । 

यस्तै, गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ७६ स्थानीय तहले बजेट प्रस्तुत गर्दा नौ तहको भने बाँकी देखिन्छ । लुम्बिनी प्रदेशका कूल १०९ स्थानीय तहमध्ये ८४ वटाले बजेट ल्याएका छन् भने २५ वटाको हालसम्म सुुरसार नै देखिँदैन । केहीको भने विवाद देखिएको छ । कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ६० वटाले बजेट ल्याए भने १९ वटाको अझै बाँकी देखिन्छ । सुदूरपश्चिम प्रदेशको कूल ८८ स्थानीय तहमध्ये ६३ वटाले बजेट ल्याउँदा २५ वटाको अझै पनि बाँकी छ ।    

उद्योगहरूको आम्दानी वृद्धि खुम्चियो, उत्पादन क्षमतामा ह्रास

उद्योग परिसंघले नेपालका उद्योगहरूको औद्योगिक गतिविधि अध्ययन गरेर औद्योगिक प्रतिवेदन सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरे । गत आर्थिक वर्ष २०७८÷७९ को तेस्रो त्रैमासिक अवधिसम्मको उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदन अनुसार सो आवको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमास अवधिमा व्यवसायको उत्पादन क्षमता उपयोग खस्केको छ ।

यस अवधिमा उद्योगहरुले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशत उपयोग गरेको प्रतिवेदनले देखाएको छ । दोस्रो त्रैमासमा यस्तो क्षमताको उपयोग ७१ प्रतिशत थियो । माघ, फागुन र चैतको समष्टिगत अवधिमा उत्पादनमूलक उद्योगले औसतमा १०.९६ प्रतिशत ब्याज तिरेको प्रतिवेदनमा उल्लेख छ । जबकि गत वर्षको यसै अवधिमा ९.४ प्रतिशत थियो । यसले उद्योग क्षेत्रले तिर्ने ब्याजदर पनि बढेको देखाएको छ ।   

कोरोना संक्रमण बढ्दै

नेपालमा आज थप ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ३५७ नमूनाको परीक्षण भएकोमा ३५७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयअनुसार पीसीआरबाट १ हजार ८५७ नमूना र एन्टिजेनबाट १ हजार ५०० नमूनाको परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट २६८ र एन्टिजेनबाट ८९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितको संख्या हिजोको तुलनामा कम हो। 

हिजो ४५७ जनामा संक्रमण पुष्टि भएको थियो। यस दिन कोरोनाबाट १ जनाको मृत्यु भएको थियो। आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा  ३६ हजार ३४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। यसदिन थप ६२ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर १ हजार ९८२ जना सक्रिय संक्रमित रहेका छन्। 

चौथो लहरको संकेत 

नेपालमा कोरोनाको चौथो लहरको संकेत देखिएको भन्दै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । पछिल्लो समय कोरोना संक्रमितको ह्वात्तै बढेपछि आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न सार्वसाधरणलाई आग्रह गरिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत देखिएको बताउनुभयो । नेपालमा एकैदिन परीक्षणको झन्डै १० प्रतिशतमा कोरोना पुष्टि भएको छ । 

कोरोना भाइरसको सङ्क्रमण कम भएसँगै पछिल्लो समय लापरबाही र हेलचेक्र्याइँ बढ्दै गएको छ । विज्ञले जनस्वास्थ्यका मापदण्ड पालनामा गम्भीर हुन र कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेका छन् । सकेसम्म भिडभाडमा नजान, मास्कको प्रयोग गर्न र खोप लगाउन चिकित्सकको सुझाव छ ।

आजबाट काठमाडौंमा बुस्टर खोप लगाइने

काठमाडौंमा  आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा लगाउन सुरु गरिएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा लगाउन सकिने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । साउन ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । 

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । 

आठ वर्षीय बालिकामाथि बलात्कारको घटनामा गाउँमै मिलापत्र

मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीय बालिका माथि बलात्कार भएको घटना छ महिनापछि सार्वजनिक भएको छ । गत माघ ५ गते कानेपोखरी गाउँपालिका– ६ का एक पुरुषले बालिकालाई बलात्कार गरेका थिए । तर घटना भएकै दिन बेलुका गाउँमै मिलापत्र गरिएको खुलेको हो । 

मिलापत्र भएको छ महिनापछि घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । पीडित बालिकाका बाबुले असार ३० गते दिएको जाहेरीका आधारमा प्रहरीले कानेपोखरी गाउँपालिका– ६ का ४३ वर्षीय काजिमान पुरीलाई पक्राउ गरेको हो । पक्राउ परेका पुरीमाथि म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । 

बालिकाका आफन्तका अनुसार गत माघ ५ गते पुरीलाई बाटोमा खेलिरहेकी बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गरेका थिए । बलात्कारको हल्ला गाउँमा फैलिएपछि सोही दिन ७–८ जना गाउँका अगुवाले आरोपीलाई माफी माग्न लगाएर मौखिक मिलापत्र गराए । मिलापत्रका लागि भेला भएका अगुवाले क्षतिपूर्ति बापत केही रकम बालिकाको परिवारलाई दिएको स्रोतको भनाइ छ ।  

गायिका दिलमायाको हत्या भएको निष्कर्ष

लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले हत्या भएको निष्कर्ष निकालेको छ । प्रहरीले अनुसन्धान सकेर आज सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । प्रहरीले यस घटनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठले हत्या गरेको भन्दै प्रतिवेदन बुझाएको छ । 

असार ११ गते शनिबार बिहान गायिका दिलमाया तार्केश्वर नगरपालिका–११ नेपालटारस्थित डेरामा मृत फेला पर्नुभएको थियो । सुरूमा दिलमायाले आत्महत्या गरेको आशंका गरिएको थियो । शनिबार बिहान १ः२० मिनेट जाँदा उनको फेसबुकमा ‘सुसाइड नोट’ भेटिएको थियो । जसकारण पनि उनले आत्महत्या नै गरेको हो कि भन्ने आशंका गरिएको थियो । तर अनुसन्धानको क्रममा उनीसँगै उनका प्रेमी खिलबहादुर श्रेष्ठ पनि बस्दै आएको खुलेको थियो ।  

जोरपाटीमा बोरिङ खन्दा ग्यास निस्कियो

काठमाडौंको जोरपाटीनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो । स्थानीय नगेन्द्रप्रसाद दाहालका अनुसार ३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको हो । बिहान १० बजेदेखि पाइपबाट ग्यासको मुस्लो निस्किेको उहाँले बताउनुभयो । सो स्थानमा ग्यासको जस्तो गन्ध फैलिएको र ग्यासको मुस्लो तीन तलामाथिसम्म पुगेको दाहालले बताउनुभयो । 
 
रोकिएका नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु

गत फागुनदेखि रोकिएको नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु भएको छ । साउन ८ र ९ गते नेपालबाट १०० जना नेपाली कामदार इजरायल पठाउन लागेको वैदेशिक रोजगार विभागले जनाएको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि सम्झौता गरेका नेपाली सहायक कामदारहरु मध्ये १०० जना कामदारको भिसासहित राहदानी काठमाडौंस्थित इजरायल दूतावासको कन्सुलर विभागबाट प्राप्त भएको विभागले जनाएको छ । विभागले भिसा आएकाहरुलाई आफ्नो राहदानी बुझ्न, उडान अनुसार बनाइने ग्रुपमा आफ्नो नाम समावेश गराउन र कोभिड विरुद्धको खोप लगाएको विवरण पेश गर्न साउन ४ गतेको समय दिएको छ । इजरायल उड्ने नेपाली कामदारले उडान गर्नुपूर्व ७२ घण्टाभित्र कोभिडको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ ।  

पचरौतामा स्वास्थ्य सेवा रोकियो

बाराको पचरौता नगरपालिकाले कर्मचारी नभएको भन्दै स्वास्थ्य सेवा बन्द गरेको छ । मेयर जलन्धर सिंह जैसवारले सूचना निकालेर नगर अस्पतालका सेवा, बर्थिङ्ग सेन्टरका सेवा र पिपरपाती पचरौता स्वास्थ चौकीको ल्याब सेवा बन्द गरिएको जानकारी दिनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएको र निमित प्रमुख प्रशासकीय अधिकृत पनि सम्पर्क बिहीन भएका कारण करारका कर्मचारीको म्याद थप्ने तथा नयाँ कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढाउन नसकेका कारण स्वास्थ्य सेवा नै बन्द गर्नु परेको सूचनामा उल्लेख गरिएको छ । 
 
आर्थिक खबर

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.२७ अङ्कले उकालो लागेर दुई हजार ४५.६९ मा पुगेको छ ।  ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३९१.५३ मा पुगेको छ । कूल २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर दुई अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब २१ अर्ब ३५ करोड ३४ लाख ९५ हजार ४६२ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ९७ लाख ७१ हजार ३३७ बराबरको कारोबार भयो । 


एक वर्षमा वाणिज्य बैंकहरूले बढाए ४ खर्ब ५४ अर्ब कर्जा,

गत आर्थिक वर्ष २०७८÷७९ मा वाणिज्य बैंकहरुले थप ४ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल बैंकर्स एसोसिएसनले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०७८ असार मसान्तसम्म कुल ३७ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २०७९ असार मसान्तसम्म ४१ खर्ब ७४ अर्ब पुगेको छ ।  यहीं एक वर्षको अवधिमा निक्षेप भने जम्मा ३ खर्ब ४० अर्ब बढेको छ । २०७८ असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन भएकोमा २०७९ असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब संकलन भएको छ । निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी भएकाले यस आर्थिक वर्षको सुरुवातमा पनि बैंकहरुमा तरलताको समस्या कायमै छ । 

असारसम्म वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ । नेपाल बंगलादेश बैंकलाई आफूमा विलय गराई संयूक्त कारोबार गरेकाले गत आर्थिक वर्षसम्म नबिलको कर्जा सबैभन्दा धेरै ३ खर्ब ९ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ सम्म कर्जा प्रवाहमा एनआईसी एसिया सबैभन्दा अगाडि थियो । नबिलबाहेक कर्जा वृद्धिका आधारमा नेपाल बैंकले गत आर्थिक वर्षमा सबैभन्दा धेरै थप ३५ अर्बले कर्जा बढाएको छ । तीन बैंक स्टान्डर्ड चार्टड, सिभिल र सेन्चुरी बैंकको कर्जा प्रवाह १ खर्बमुनि छ ।


विदेशका खबर

पाकिस्तानको सिन्धु नदीमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु    

पाकिस्तानको रहिम यार खान शहर नजिक सिन्धु नदीमा डङ्गा डुब्दा २३ जनाको मृत्यु भएको छ । एकसय भन्दा बढी विवाहका पाहुना बोकेको डुङ्गा डुब्दा २६ जना हराइरहेका छन् । राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर खोजी तथा उद्धारमा खटिएको र उनीहरूले ९० जनालाई उद्धार गरेको सरकारी अधिकारीहरूले बताएका छन् । क्षमताभन्दा बढी यात्रु बोकेका कारण डुङ्गा डुबेको अनुमान गरिएको छ । 

दुर्घटनामा ज्यान गुमाउने अधिकांशमा महिला छन् । आपत्काल व्यवस्थापन प्राधिकरणका अनुसार १९ जना महिलाको शव नदीबाट निकालिएको छ । डुङ्गामा धैरे महिला र बालबालिका सवार थिए । गत साता सरकारले निरन्तर वर्षा भइरहेकाले नदीतटमा नजान सर्वसाधारणलाई आग्रह गरेको थियो ।   
   
खेल खबर

एन्फा बैठक बिहीबार

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । एन्फाले आज सूचना निकाल्दै बैठक बिहीबार बस्ने जनाएको हो । एन्फा कप्लेक्स सातदोबाटोमा बस्ने बैठक बिहान ७ बजे सुरु हुनेछ । यस अघि बैठक हिजोका लागि डाकिएको थियो । तर, एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ बिरामी भएपछि बैठक स्थगित गरिएको थियो । एन्फाले कार्यसमिति बैठकका लागि १२ वटा एजेन्डा तय गरिसकेको छ । जसमा महिला साफ च्याम्पियनसिपको तयारीदेखि विवादमा रहेको एनएसएल, विभिन्न पदाधिकारी नियुक्ति लगायतका एजेन्डामा छलफल र निर्णय हुने बताईएको थियो । यस्तै एन्फाका उपाध्यक्ष कुमार केसीले माग गरेको थप एजेन्डामा समेत छलफल हुने तालिका थियो । नवनिर्वाचित कार्यसमिति वार्षिक कार्यक्रम सहित अघि बढ्नुपर्ने बताउँदै केसीले बैठकमा ५ वटा एजेन्डा थप्न माग गरेका छन् ।

एसियन गेम्स २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने

एसियन गेम्सको नयाँ मिति तय भएको छ । २०२२ मा स्थगित भएको एसियन गेम्स अब २०२३ मा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले मंगलबार एसियन गेम्सका लागि नयाँ मिति तय गरेको हो । एसियाडसमेत भनिने १९ औं एसियन गेम्स चीनको होङझोउमा हुने छ । एसियन गेम्स यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुने तय थियो । तर कोभिड–१९ को कारण स्थगित भएको थियो ।