अन्नपूर्ण दिनभर : शंकाको घेरामा प्रचण्डको भारत भ्रमणदेखी भारतमा राष्ट्रपति निर्वाचनसम्म
अन्नपूर्ण खबर
स्थिर सरकार दिन आमनिर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय÷अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न सरकारलाई आग्रह÷नेविसंघको पूर्णता माग गर्दै देउवाइतर समूहको भेला ।
राज्य बिचौलिया र उपभोग्य बजार कालोबजारीको कब्जामा रहेको एमालेको ठहर÷ राज्य ढुकुटी कुम्ल्याउन मन्त्री बन्ने रोलक्रम शुरु भएको विप्लवको आरोप ।
बजेट प्रकरणमा अनुसन्धान गर्नुपर्ने थप छानबिन समितिको निष्कर्ष÷सीसीटीभी फुटेज रिकभर गर्न प्राविधिकको सहयोग लिने तयारी ।
सिरहा नगरपालिकाका सामुदायिक विद्यालयमा दिवा खाजा र छात्रवृत्तिको नाममा व्यापक अनियमितता भएको खुलासा÷ विद्यार्थी संख्या अधिक देखाएर राज्य कोषको चरम लुट ।
भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा १३ यात्रुको मृत्यु÷१५ जनाको सकुशल उद्धार÷आज भएको राष्ट्रपतिको निर्वाचनमा ९९ सय प्रतिशत मत खस्यो ।
र, नेपाल टि–ट्वान्टी लिग खेल्ने चार टिम र मालिकको नाम सार्वजनिक÷प्रतियोगिता आगामी असोज ८ देखि कात्तिक ५ सम्म हुने ।
अन्नपूर्ण खबर
आमनिर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय
सत्तारुढ नेपाली कांग्रेसले आम निर्वाचनमा पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय समितिको बैठकले पाँच वर्ष स्थिर सरकार दिनका लागि गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
पार्टीलाई आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित गराउने भन्दै कांग्रेसले संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जननताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ ।
स्थानीय तहको निर्वाचन समग्रमा गठबन्धनसहित प्राप्त परिणामप्रति कांग्रेसले सन्तोष जनाएको छ । यस्तै बैठकले कांग्रेसबाट स्थानीय तह निर्वाचनमा निर्वाचन जनप्रतिनिधिहरुका लागि आचारसंहीता निर्माण गरि लागूगर्ने निर्णय समेत गरेको छ ।
यस्तै कांग्रेसले अर्थतन्त्रको वर्तमान अवस्थाबारे श्वेतपत्र जारी गर्न सरकारलाई सुझाव दिएको छ । केन्द्रीय कार्यसमितिको बैठकले अर्थतन्त्रको अहिलेको अवस्था, मुख्य समस्या, चुनौती र जोखिम न्यूनिकरण अपनाउन सकिने उपायसहित श्वेतपत्र जारी गर्न आग्रह गरेको हो । वर्तमान सरकारले संविधानलाई ट्रयाकमा ल्याएको उल्लेख गर्दै कांग्रेस बैठकले कोभिड खोप व्यवस्थापन, एमसीसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्वपूर्ण काममा सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ ।
बैठकले अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टीमा आबद्ध भातृ सङ्घहरुलाई यही साउनभित्र गठन गर्ने र पूर्णता दिने निर्णय पनि गरेको छ । त्यसैगरी पार्टीको आउँदो नीति महाधिवेशनको तयारी गर्ने जिम्मेवारी पनि केन्द्रीय कार्य समितिलाई दिने निर्णय गरिएको प्रवक्ता महतले बताउनुभयो ।
नेविसंघको पूर्णता माग गर्दै देउवाइतर समूहको भेला
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई पूर्णता दिनुपर्ने माग गर्दै पार्टी सभापति शेरबहादुर देउवाइतर समूहले राजधानीमा भेला गरेको छ । सभापति देउवाले नेविसंघको अध्यक्ष पदमा मात्रै मनोनयन गरेर कच्चा काम गरेको भेलाले टिप्पणी गरेको छ ।
आज वाल्मिकी क्याम्पस प्रदर्शनी मार्गमा भेलाको संयोजन गरेकी नेविसंघकी पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले नेविसंघ नेतृत्वविहीन बनेको भन्दै छिटोभन्दा छिटो पूर्णता दिन आह्वान गर्नुभएको हो । ढकालले अध्यक्ष मात्रैले सिंंगो संगठनको प्रतिनिधित्व गर्न नसक्ने बताइन्। नेपाल विद्यार्थी संघको सभापति भएर पटक–पटक पार्टी सभापतिका साथै प्रधानमन्त्री हुनुभएका देउवाले संगठनको पूर्णतामा जाँगर नदेखाएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।
एमालेको ठहर
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको एक वर्षमा कुशासनले सीमा नाघेको र राज्य बिचौलियाको कब्जामा गएको बताएको छ । मूल्यवृद्धिको एक वर्षको ग्राफ सार्वजनिक गर्दै पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले एमालेले सरकार छाडेको एक वर्षमा उपभोग्य वस्तुको मूल्य शत प्रतिशतसम्म वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको हो । एमालेले गठबन्धन सरकार आएपछि सार्वजनिक यातायातमा २८ प्रतिशत र ढुवानी भाडामा २६ प्रतिशत मूल्यवृद्धि गरिएको जनाएको छ । त्यस्तै बिचौलियाको प्रभावमा परेर दूधमा एकैपटक १४ रुपैयाँसम्म वृद्धि गरिएको र दही, घ्यू जस्ता पदार्थमा समेत १२ प्रतिशत मूल्यवृद्धि गरिएको एमालेको रिपोर्टमा छ ।
खाने तेलमा एकैपटक ११० रुपैयाँसम्म मूल्यवृद्धि गर्दा व्यापारीसँग सेटिङ मिलाइएको र दाल, चामल, चिनी जस्ता दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिमा समेत बिचौलियासँग सेटिङ गरिएको आरोप एमालेको छ । कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्चकी उपमहासचिव अधिवक्ता कुमारी खरेलले आयल निगमलाई निजीकरण गर्न १० अर्बको चलखेल भएको र केही रकम गठबन्धनका नेताले लिइसकेको सूचना आफूहरुसँग रहेको दाबीसमेत गर्नुभयो । विभागका प्रमुख तथा सांसद यज्ञराज सुनुवारले सुशासनका दृष्टिले बितेको एक वर्ष भ्रष्टाचार र राज्यको बिचौलियाकरणमा परिणत भएको र दैनिक उपभोग्य वस्तुको मूल्य कहालीलाग्दो ढंगले वृद्धि भएको बताउनुभयो ।
सोही कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिका नाममा अहिले देशमा वित्तीय गठबन्धन र बिचौलियाको राज चलेको आरोप लगाउनुभएको छ । सरकारले बनावटी मूल्यवृद्धि गराएकाले आम उपभोक्ता मर्कामा परेको आरोप लगाउनुभएको हो । वर्तमान सरकारले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको र कालो धनलाई सतो बनाउनका लागि गर्भनरमाथि बारम्बार हमला भईरहेको समेत आरोप लगाउनुभयो ।
विप्लवको गर्जन
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले मन्त्री बन्ने रोलक्रम सुरु भएको टिप्पणी गर्नु भएको छ । पार्टीको जनपत्रिका अनलाइनको उद्घाटन गर्दै विप्लवले राणा शासनमा जस्तै रोलक्रम लगाएर मन्त्री बन्ने भद्दा खेल भइरहेको बताउनु भएको हो ।
महासचिव विप्लवले देशमा राजनीतिक अस्थिरता गहिरिएको र संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल बनेको टिप्पणी गर्नु भएको छ । जनतालाई महंगीले थिचेको बेला नेताहरु कोही दौरा सुरुवाल सिलाउन त कोही थन्क्याउन तल्लिन रहेको विप्लवले बताउनुभयो । उहाँले पूँजीवादमा कुनै मानवीयता नभएको टिप्पणी गर्नुभयो । मानव पूर्खाले मानवजातिको हितका लागि सूचना र सञ्चारको प्रयोग गरेको साधन आज मानव जातिलाई नै खतरामा पार्ने प्रवृत्तिको कब्जामा पर्न थालेको उहाँको भनाइ छ ।
सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले आगामी चुनावको लागि उम्मेदवारी मनोनयनका दिनसम्म प्रतिनिधिसभाको आयु रहने बताउनुभएको छ । मनोनयनसँगै प्रतिनिधिसभा विघटन हुने उहाँको भनाइ छ । आज संसदीय मामिला पत्रकार समाजसँगको अन्तरक्रियामा सभामुख सापकोटाले यसबारेमा प्रधानमन्त्रीसँग समेत सामान्य छलफल भएको बताउनुभयो । सबै निकायसँग छलफल गरेर प्रतिनिधिसभाको आयुबारे टुंगोमा पुगिने सभामुख सापकोटाले बताउनुभएको छ । संसदमा दर्ता भएको संवैधानिक परिषद् सम्बन्धि विधेयकका बिषयमा चर्चा गर्न आवश्यक नभएको समेत सभामुख सापकोटाले बताउनुभयो ।
यस्त,ै सापकोटाले मन्त्री हेरफेरका कारण केही विधेयक पास गर्न नसकिएको र ढिलाइ भएको बताउनुभएको छ । केही महत्त्वपूर्ण विधेयक पारित भएको र केही विधेयक प्रक्रियामा रहेको उहाँले बताउनुभयो । सत्ता गठबन्धनका एकीकृत समाजवादी र जनता समाजवादीले आ–आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्री हेरफेर गरेको थियो ।
शंकाको घेरामा प्रचण्डको भारत भ्रमण
संघीय निर्वाचनको मुखमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अकस्मात ३ दिने भारत भ्रमणमा निस्किएर हिजो साँझ नेपाल फर्किनु भएको छ । उहाँको भ्रमणलाई विपक्षी दलहरुले शंकाको दृष्टिले हेरेका छन् । तर माओवादीले भने यो भ्रमण सम्बन्ध सुधारको भेट रहेकोले यसलाई सकारात्मक रुपले हेर्नुपर्ने बताएको छ । एक रिपोर्टः
संसदीय विशेष समितिले छानबिनको ‘क्लू’ नै भेटेन
चालु आर्थिक बर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई करका दर हेरफेरमा संलग्न गराएको आरोपमाथि छानबिन गर्न गठन संसदीय विशेष छानबिन समितिले अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ । छानबिन थालेको सातौं दिनसम्म पनि बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थमन्त्रालय प्रवेश गरेर करका दर हेरफेर भएका थिए कि थिएनन् भन्ने यकिन नभएपछि समिति थप अनुसन्धान गर्नुपर्ने निष्कर्षमा पुगेको हो ।
समितिले सीसीटीभी फुटेज रिकभर गर्ने लगायतका प्राविधिक विषयमा नेपाल इन्जिनियरिङ अध्ययन संस्थान र प्रहरीको साइबर ब्यूरोका विज्ञसँग छलफल गर्ने तयारी गरेको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । सोधेखोजका लागि बोलाइएका अर्थ मन्त्रालयका अधिकारीले बजेट निर्माणका क्रममा कोही पनि अनधिकृत व्यक्ति उपस्थित भएको अस्वीकार गरेका तर सीसीटीभी फुटेज नहुनुले आशंका उत्पन्न भएको छ । सोझै हेर्दा त्यो दिनको सीसीटीभी फुटेज नभेटिएपछि समितिले ’रिकभर’को प्रयास गर्नेछ ।
मुद्दा हारेपछि एआईजी विश्वराज पोखरेलले दिए राजीनामा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ । धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्धा हाल्नुभएका पोखरेलको पक्षमा सर्वोच्चले फैसला नसुनाएपछि प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिनुभएको हो । उहाँले दिएको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ ।
एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । सरकारले सिंहलाई आईजीपी बनाएलगत्तै पोखरेल विदामा बस्नुभएको थियो । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उहाँको एक महिने विदा स्वीकृत गर्नुभएको थियो तर निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिनुभएको हो । उहाँको कार्यकाल यही साउन २० गते सकिँदैछ ।
सर्वोच्चको आदेश
सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सरकारले निकालेको छात्रवृत्तिसम्बन्धी सूचनामा मधेशी समुदायका विद्यार्थीलाई समेत आरक्षणको व्यवस्था गर्न आदेश दिएको छ । प्रदेशको शिक्षा तथा सामाजिक विकास निर्देशनालय, दाङले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति दिने भन्दै ०७९ असार १३ मा सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो । तर, सो सूचनामा मधेशी समुदायका लागि छात्रवृत्ति कोटा नराखिएको भन्दै रुपन्देहीकी निशा हरिजनले अदालतमा निवेदन दिनुभएको थियो ।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले असार २१ गते अन्तरिम आदेश जारी गर्दै छात्रवृत्ति नियमावली, २०६ अनुसार सबै वर्ग र समूहले छात्रवृत्ति पाउन सक्ने व्यवस्था गर्न आदेश दिएको हो । अदालतले संवैधानिक प्रावधान, छात्रवृत्ति नियमावली, २०६० ले प्रत्याभूत गरेको आरक्षण कोटा र अन्य नजिरहरुका आधारमा यस्तो आदेश दिएको अधिवक्ता रक्षाराम हरिजनले जानकारी दिनुभयो । अदालतले लुम्बिनी प्रदेश सरकारका ‘विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६’ लाई संघीय सरकारको छात्रवृत्ति नियमावली, २०६० बमोजिम संशोधन गर्न समेत निर्देशन दिएको छ ।
१० दिनमा ५ न्यायाधीश पदमुक्त
न्याय परिषद्ले थप दुई न्यायाधीशलाई पदमुक्त गर्न सिफारिस गरेको छ । परिषद्को सोमबार बैठकले उच्च अदालत महेन्द्रनगरका न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुुभयो । दस दिनभित्र खराब आचरण र अनुचित प्रभावमा परेर फैसला गरेको भन्दै परिषद्ले ५ जना न्यायाधीशलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।
गत शुक्रबार उच्च अदालत जुम्लाका न्यायाधीश नसरुल्लाह अन्सारी र बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहलाई पदमुक्त गर्न सिफारिस गरेको परिषद्ले अघिल्लो असार २४ मा उच्च अदालत तुलसीपुर बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । धनुषाकी साहले योग्यता ढाँटेर नियुक्ति लिएको भन्दै असार २४ मा शाहलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
एकैदिन ४५७ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या १७ सय नाघ्यो
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । आज एकै दिन ४५७ जनामा कोरोना संक्रमण देखिएको छ । २ दिनमै संक्रमितको संख्या दोब्बरले बढेको छ । आइतबार १३५ जनामा संक्रमण देखिएको थियो । आज २ हजार ३४१ पीसीआर परिक्षणमा ३८६ र २ हजार ३१० एन्टीजेन परिक्षणमा ७१ ज्नामा संक्रमण देखिएको हो । संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १७७६ पुगेको छ । साथै मृत्यु संख्या पनि बढ्न थालेको छ । ४ महिनापछि आइतबार एक जनाको कोरोनाबाट मृत्यु भएको थियो । त्यस्तै आजपनि कोरोनाबाट १ जनाको मृत्यु भएको छ । आज ४८ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।
त्रिविसँग ११ बुँदे सहमतिपछि नेकपा एसका विद्यार्थीले तोडे अनसन
त्रिवि सुधारको मागसहित आमरण अनसनमा उत्रिएको नेकपा एसनिकट विद्यार्थीहरूले अनसन तोडेका छन् । संगठन र त्रिवि वार्ता समितिबीच ११ बुँदे सहमतिसँगै अनेरास्ववियूका नेताले अनसन तोडेका हुन् । त्रिभुवन विश्वविद्यालयमा विभिन्न सुधारको माग राख्दै २८ गतेदेख अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्त आमरण अनसन बसेका थिए । त्रिविका उपकूलपति प्रा.डा. धर्मकान्त बास्कोटाको रोहवरमा भएको सहमतिसँगै अनसन पनि तोडिएको हो ।
सहमति भएका बुँदाहरूमा स्नातक, स्नातकोत्तर, एमफील तथा पिएचडी तहका नियमित र आन्तरिक श्रोतबाट सञ्चालित कार्यक्रमका सम्बन्धमा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस र निकायहरूले लिने शुल्क समायोजन र नियमिततर्फ लैजाने साथै पठ्यक्रम परिमार्जनका लागि आवश्यक सुझाव दिन कार्यदल गठन गर्ने, विद्यार्थी संगठनहरूको नेतृत्वसँग छलफल गरी स्ववियू निर्वाचन गराउन सरकारसाग समन्वय गर्नेलगायतका छन् ।
भैरहवामा गर्मी बढ्यो, एक साता विद्यालय बन्द
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन गर्मी बिदा दिएको छ । भैरहवा क्षेत्रमा अत्यधिक गर्मी भई विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले एक साता बिदा दिइएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयद्वारा जारी सूचनामा वर्षे विदाबाट कट्टी गर्ने गरी भोलीदेखि साउन ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय विदा दिने निर्णय भएको उल्लेख छ । पछिल्लो हप्ता भैरहवामा अत्यधिक गर्मी बढेपछि सर्वसाधारणको जनजीवन समेत प्रभावित भएको छ ।
आर्थिक खबर
भारत, बङ्गलादेश र भुटानसँग बढ्यो व्यापार घाटा
पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आव २०७८÷०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट १० अर्ब ६९ करोड ९५ लाख रुपैयाँको सामान मात्र निर्यात भएको छ । निर्यातभन्दा आयात बढी भएको कारण भारतसँग काँकडभिट्टा नाकामार्फत नेपालको व्यापार घाटा २५ अर्ब ४८ करोड २७ लाख भएको देखिन्छ ।
काँकडभिट्टा नाकामार्फत हुने व्यापारमा बङ्गलादेश र भुटानसँग नेपालको व्यापार घाटा क्रमशः १० अर्ब नौ करोड ९९ लाख र ७४ करोड ८६ लाख रुपैयाँ पुगेको छ । आव २०७८÷०७९ मा १० अर्ब ६५ करोड ३५ लाख बराबरको सामान बङ्गलादेशबाट आयात भएको थियो भने नेपालबाट ६० करोड ४५ लाख रुपैयाँको मात्र सामान निर्यात भएको भन्सारको तथ्याङ्कमा उल्लेख छ । सोही अवधिमा भुटानबाट एक अर्ब २० करोड ५३ लाख रुपैयाँको सामान आयात भएको थियो भने ४५ करोड ६५ लाख रुपैयाँका मात्र सामान निर्यात भएको थियो ।
आज शेयर बजार बढ्यो
शेयर बजार आज पनि बढेको छ । हिजो आइतवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज सोमवार १८ दशमलव ०३ अङ्कले बढेर दुई हजार २९ दशमलव ४३ विन्दुमा पुगेको छ । आज व्यापार र म्युचल फन्ड बाहेक अरू सबै समूहको शेयर बढेकोमा होटल तथा पर्यटन र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ११ कम्पनीको ३१ लख ४२ हजार कित्ता शेयर एक अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको नौ करोड ३४ लाख र एसियन लाइफ इन्सुरेन्सको सात करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो । आज वरुण हाइड्रोपावर शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशत र इमर्जिङ नेपालको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि सानिमा लार्ज क्याप फन्डको शेयर सबैभन्दा धेरै झन्डै ६ प्रतिशतले घटेको छ ।
विदेशका खबर
मध्य भारतमा बस नदीमा खस्दा १३ जनाको मृत्यु
भारतको मध्यप्रदेशको धार जिल्लामा एउटा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटना भएको बस सडकबाट केही तल नर्मदा नदीमा खसेको थियो । सो स्थानमा उद्धार कार्य जारी रहेको र १३ जनाको शव पानीबाट बाहिर निकालिएको छ भने १५ जनालाई सकुशल उद्धार गरिएको जनाइएको छ । बसमा ५५ जना सवार रहेको भनिएपनि संख्याबारे पुष्टी भइनसकेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।
मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानका अनुसार पाँच जना मृतकको पहिचान भइसकेको छ भने अन्य व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धासुमन अर्पण गर्दै उनीहरूका आफन्तजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
भारत राष्ट्रपति निर्वाचन
भारतको आज सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ९९ प्रतिशत मत खसेको छ । ७२७ सांसद र निर्वाचन आयोगले मतदान गर्न अनुमति दिएका नौ विधायकसहित ७३६ मतदाताले मतदान गरेका थिए ।
संसद भवनमा कुल ९८ दशमलब ९१ प्रतिशत मतदान भएको छ । आज साँझदेखि नै विभिन्न राज्यका सहायक रिटर्निङ अफिसरहरू सडक र हवाई मार्गबाट संसद भवनमा मतपत्र सिलबन्दी लिएर आउन थाल्ने राज्य सभाका महासचिव पीसी मोदीले बताउनुभयो ।
उहाँका अनुुुसार पहिलो मतपेटीका आज राति १० बजे संसद भवनमा आइपुग्ने र मतपेटिका सुरक्षित ढुवानीका लागि आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । संसद भवनको कोठा नं ६३ मा बिहीबार बिहान ११ बजेदेखि मतगणना हुनेछ र मतगणना लगत्तै नतिजा घोषणा गरिनेछ । निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीका उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका उम्मेदवार यशवंत सिन्हाबीच प्रतिस्पर्धा छ ।
खेल खबर
टि ट्वान्टी लिग खेल्ने टोलीको नाम सार्वजनिक
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको नेपाल टि–ट्वान्टी लिग खेल्ने चार टोलीको नाम र टिम मालिकको घोषणा भएको छ । आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा चार टिम र टिम मालिकको नाम सार्वजनिक गरिएको हो । प्रतियोगितामा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।
कान्तिपुरको टिम मालिकमा महेश्वर स्वाँर, लुम्बिनीको सञ्जय शर्मा, विराटनगरका विक्रम यादव र जनकपुरका गौरीशङ्कर धामनी रहनुभएको छ । पहिलो संस्करणको सो प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ । बाँकी दुई टिमको नाम र मालिक भने चाँडै सार्वजनिक गरिने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यतासमेत दिएको छ भने क्यानले सो प्रतियोगितालाई नेपालको आधिकारिक फ्रेन्चाइज लिग मानेको छ ।
साफ यू–२० च्याम्पियनसिपका लागि टिम घोषणा
नेपालले भारतमा आयोजना हुने साफ यू–२० पुरुष च्याम्पियनसिप फुटबलका लागि टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक मेघराज केसीले आज साफ यू–२० का लागि २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट मुख्य प्रशिक्षक केसीले साफ खेल्ने टिमको घोषणा गरेका गर्नुभएको हो । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।