Live Streaming

अन्नपूर्ण दिनभर : आजदेखी नयाँ आर्थीक वर्ष शुरूदेखी भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्यसम्म

आईओसीलाई भुक्तानी गर्न आयाल निगमलाई सात अर्ब ऋण दिने सरकारको निर्णय÷करिब ६० करोड अनुदान प्रदान÷माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनको म्याद दुई वर्ष थप । 

सरकारद्धारा ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ जारी÷सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर र शैक्षिक सापटी पाउने बाटो खुल्यो ।

भारत भ्रमणमा रहनु भएका प्रचण्ड र भाजपा अध्यक्षा नड्डाबीच भेटवार्ता÷माओवादी र भाजपाबीच संयुक्त कार्यक्रम गर्दै जाने समझदारी ।

भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६औँ चरणको वार्ता चुशुलमा शुरु÷ द्विपक्षीय उच्चस्तरीय सैन्यवार्ताका निम्ति आजको बैठकले मार्गप्रशस्त गर्ने अपेक्षा ।

र, विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल र स्कटल्याण्डबीचको खेल जारी÷सुखद अन्त्य गर्ने नेपालको लक्ष्य ।

अन्नपुर्ण खबर 

सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने

सरकारले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन नेपाल आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण दिने भएको छ । मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका कारण नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई भुक्तानी दिनका लागि सो रकम दिने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधिमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निगमले आईओसीलाई भुक्तानी दिन रकम अपुग भएकाले अर्थमन्त्रालयले त्यसबापतको रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएको हो । 

बैठकले पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ अनुदानस्वरुप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनको म्याद मन्त्रिपरिषद्बाट निर्णय भएको मितिले दुई वर्ष थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, विभिन्न १० वस्तुको पैंठारीमा लगाइएको बन्देजलाई भदौ १४ गतेसम्म निरन्तरता दिने, बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहत प्रदान गर्ने र सो रोग नियन्त्रणमा खटाइएकालाई प्रोत्साहनस्वरुप सुविधा प्रदान गर्ने मापदण्ड स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
 
दाहालले भाजपासँग गरे संयुक्त कार्यक्रमको समझदारी

भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय जनता पार्टी र माओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गर्नुभएको छ । भाजपा कार्यालयमा आज अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष दाहालले यस्तो जानकारी दिनुभएको हो । दाहालले भाजपा अध्यक्षसँगको भेटबाट निकै उत्साहित रहेको बताउनुभएको छ । उहाँले भारत भ्रमण फलदायी र उपलब्धीमुलक भएको उल्लेख गर्नुभयो । 

प्रचण्डले भाजपा मुख्यालयमै पुगेर नाड्डासंग  भेटवार्ता गरेका गर्नुभएको थियो । भेटका क्रममा विदेशमन्त्री डा. एस जयशंकर पनि उपस्थित रहनुभएको थियो । भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा प्रचण्ड गत शुक्रबा भारत भ्रमणमा जानुभएको हो । प्रचण्डले भारत भ्रमण सकेर आजै स्वदेश फर्कँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर फर्कने भनेपनि मोदीसंग भने भेट हुन नसकेको प्रचण्डको सचिवालयले जनाएको छ । 

सत्ता गठबन्धनले भारतीय चलखेल बढायो : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेललाई निम्ताएको आरोप लगाउनुभएको छ । आज पोखरामा आयोजित पत्रकार भेटघाटमा महासचिव पाखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणलाई त्यसकै उदाहरणको रुपमा प्रस्तुत गर्नुभयो । 

अहिलेको सत्ता गठबन्धन आगामी चुनावसम्म टिकाउने भनेर दिल्ली भ्रमणमा गएको बताउँदै उहाँले नेपालको राजनीतिबारे बाहिर बसेर छलफल गर्ने स्थिति उत्पन्न भएपछि राष्ट्रिय हित र स्वाधिनताको प्रश्नमा योभन्दा अर्को लाचारी के हुनसक्छ ? भन्दै प्रश्न समेत गर्नुभयो । नेता पोखरेलले आन्तरिक मामिलामा सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्याएको आरोप समेत लगाउनुभएको छ । विगतमा नेपालको मन्त्रिपरिषद बैठकमा पनि भारतीय प्रतिनिधि रहने गरेको स्मरण गर्दै उहाँले अहिले सत्ता गठबन्धनले पनि त्यस्तै गर्न खोजेको आरोप लगाउनुभयो ।
  
कार्यकाल थोरै भए पनि सदनलाई प्रभावकारी ढंगले अघि बढाउनेछु

उपसभामुख पुष्पा भुसालले आफ्नो कार्यकाल थोरै समयको भए पनि सदनलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । सिंहदरबारस्थित कार्यकक्षमा पदवहाली गर्दै उहाँले जिम्मेवारी बढेको महसुस भएको प्रतिक्रिया दिनुभएको हो ।

यसअघि आजै उपसभामुख भुसालले सपथ लिनुभएको थियो । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सांसद भुसालले शुक्रबारको निर्वाचनमा एमालेकी विद्या भट्टराईलाई पराजित गरेर उपसभामुखमा निर्वाचित हुनुभएको थियो । 

गभर्नरविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेपपछि झडप

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध आन्दोलित विद्यार्थी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ । विवादित गभर्नर अधिकारीको राजीनामा माग गर्दै आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको गेटमा घेराउ गर्न पुगेका सत्तारुढ दल नेपाली कांग्रेस निकट नेविसंघ र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरुले निषेधित क्षेत्र तोडेपछि सामान्य झडप भएको हो । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरुमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी संगठनहरुले गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने उद्देश्यले प्रदर्शन गरेका हुन् । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे बहस र आलोचना सुरु भएको हो । अधिकारीको नियुक्ति ’राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्तिमात्र गभर्नर हुनसक्ने प्रावधान’ विपरीत भएको भन्दै युवा विद्यार्थी संगठनहरुले विरोधलाई जारी राखेका छन् ।

सभामुख सापकोटा र राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार भएको भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्त्वपूर्ण जिम्मेवारीबहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पु¥याउन सफल हुने विश्वास गर्नुभयो ।

नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५ औँ वर्ष मनाइरहेको सन्दर्भ स्मरण गर्नुभयो । नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले भारतको ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको स्मरण गराउनुभएको थियो । लामो र ऐतिहासिक सम्बन्ध रहेको दुवै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उहाँले ‘कनेक्टिभिटी’लाई अझ विस्तार गर्न सकिने धारणा राख्नुभयो । 

विभूषणका नाममा सरकारको करोडौं खर्च, २७४ पदक अलपत्र

सरकारले वर्सेनि प्रदान गर्दै आएको विभिन्न मानपदवीका लागि करोडौ रूपैयाँ खर्च हुने गरेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको हालै सार्वजनिक प्रतिवेदनले समाजको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएकालाई प्रदान हुने अधिकांश विभूषण अलपत्र अवस्थामा भएको औंल्याएको छ । २४ करोड ४१ लख ९३ हजार रूपैयाँ खर्च भएको विभूषण लिन पदक पाएका २७४ जना गएका छैनन् । 

विभूषणकै लागि सरकारले आर्थिक वर्ष २०७५÷७६ मा ५ करोड ५९ लाख ७७ हजार, २०७६÷७७ मा ८ करोड ५० लाख, २०७७÷७८ मा १० करोड २२ लाख १६ हजार रूपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विभूषणमा वर्षैपिच्छे लागत बढ्दै गएको भन्दै प्रतिवेदनले विभूषित हुनेको संख्या यकिन गरेर मात्र खर्च गर्न सुझाएको छ ।  पछिल्लोपटक आर्थिक वर्ष २०७८÷७९ मा सरकारले ८ सय ८७ जनालाई विभूषित गर्ने निर्णय गरेको थियो ।

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर र शैक्षिक सापटी पाउने बाटो खुल्यो

योगदानमा आधारित सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ७५ लाख रुपैयाँसम्म घर सापटी र ३५ लाख रुपैयाँसम्म शैक्षिक सापटी पाउने बाटो खुलेको छ । ३६ महिना योगदान गरेकाहरुलाई साउनदेखि नै सापटी दिने व्यवस्था मिलाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आज ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ जारी गरेपछि अब योगदानकर्ताले घर सापटी ऋण पाउने बाटो खुलेको हो । 

कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका, उमेर र सेवा अवधिको आधारमा अवकाश हुन कम्तिमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गरिनेछ । अब योगदानकर्ताले नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ । घर सापटी स्वीकृत गर्दा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी रकम स्वीकृत हुनेछ । कोषमा कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकास हुन कम्तिमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । 
 
थप १३५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट एकजनाको मृत्यु भएको छ । 

यसैबीच जिल्ला कारागार मोरङ भित्र कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विराटनगर–८ मा रहेको मोरङ जिल्ला कारागार भित्र रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कारागार भित्र रहेका अन्य कैदीबन्दीमा पनि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको कारागार स्रोतले बताएको छ । कारागार भित्र संक्रमण फैलिएको र बजारमा पनि संक्रमण देखिएका कारण महानगरपालिकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो । महानगरले अत्यावश्यक काम बाहेक घर बाहिर नजान पनि आग्रह गरेको छ ।
  
२७ जिल्लाका बालबालिकालाई भोलिदेखि कोरोनाविरुद्धको दोस्रोमात्रा खोप दिइँदै

भोलिदेखि २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा खोप दिइने भएको छ । असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँच देखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भोलीदेखि साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन सकिने मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानरी दिनुभयो । 

उहाँले दोस्रो मात्रा खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लैजान अनुरोध गर्नुभएको छ । सोमबारदेखि प्रदेश १ का झापा, इलाम, मोरङ र सुनसरी, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर जिल्लामा दोस्रो मात्रा खोप दिइने छ । यसैगरी, गण्डकी प्रदेशका कास्की र नवलपुर, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर र डडेल्धुरामा खोप अभियान चलाइने मन्त्रालयले जनाएको छ । बाँकी जिल्लामा भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने सरकारको तयारी छ। 

मेयरले बैठक स्थगित गरेपछि तिलोत्तमा नगर सभामा तनाव

नगरसभा बैठक स्थगित गरेको बिरोधमा तिलोत्तमा नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका छन् । आज दिउँसो १ बजेका लागि बोलाइएको नगर सभा बैठक स्थगित भएको जानकारी गराएपछि  एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाएका हुन् । उनीहरुले नाराबाजी गरेपछि तिलोत्तमाको नगर कार्यपालिका कार्यालयबाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ । नगर सभा बैठकमा एमालेका ४८ जना जनप्रतिनिधि उपस्थित भएपनि प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले  हाजिर गर्न नदिई रजिस्टर कब्जा गरेर बैठक स्थगित गरेको एमालेको आरोप छ । एमाले जनप्रतिनिधिहरूले ज्ञवालीविरुद्ध नाराबाजी गर्दै उहाँको राजीनामा मागेका छ्न् । एमाले  जनप्रतिनिधिले गणपूरक संख्या पुग्दा पुग्दै बैठक स्थगित गर्नु गैर कानुनी काम भन्दै बैठक सञ्चालन गर्न माग गरेका थिए । 
 
सेतीमा बाढी, कटान रोक्न सशस्त्र प्रहरी परिचालन

लगातारको वर्षाका कारण डोटीस्थित सेती नदीमा पानीको बहाव बढेको छ । नदीमा आएको बाढीले यहाँका बानीडुग्रीसैन, कालागाढ, रामपुर, घोल्तडा, भागेतडा, गोपघाट, नारीदाङलगायत ठाउँमा जमिन कटान गरिरहेको छ ।  बाढीले कटान गर्न थालेपछि अहिले रोकथामका लागि डोटीको दिपायलस्थित सशस्त्र प्रहरीको ३६ नम्बर गणको टोली परिचालन गरिएको छ । गएराति मात्र शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा सेतीले कटान गरेपछि रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीको ३६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक डबलबहादुर ऐडीको नेतृत्वमा ४५ सशस्त्र प्रहरी खटिएको गणपति वीरसिंह साहुले जानकारी दिनुभयो । टोलीले ढुङ्गा तथा बालुवाका बोरा राखेर कटान रोक्ने काम गरिरहेको छ । सेतीमा पानीको बहाव बढेपछि सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ । काढीले विभिन्न स्थानमा धान खेतसमेत कटान गर्न थालेको छ । 

सडक बालबालिकाको मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ

काठमाडौंको सडकपेटीमा बस्ने सडक बालबालिकाहरुलाई फकाएर भारतको कोलकाता पु¥याई मिर्गौला बिक्री गर्ने गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले असार १५ गते भारतको कोलकता लैजानका लागि तयारी गरिरहेको अवस्थामा सुरुमा तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । प्रहरीले धुपेन्द्र शाही, विजय कुँवर, विमलबहादुर शाहीलाई अदालतबाट म्याद थप गरी सोधपुछ गरेपश्चात फरार रहेका विधान र हिमाल श्रेष्ठ भनेर चिनिने धनबहादुर रोका र आशिष तामाङलाई पक्राउ गरेको थियो । ब्युरोका अनुसार पक्राउ परेकाहरुमध्ये विमल र धनबहादुरले आफ्नो एउटा मिर्गौला भारतमा बेचिसकेको खुलेको छ । 

उनीहरुले आफ्नो मिर्गौला बेचेपछि अन्यलाई प्रलोभनमा पारेर मिर्गौला बेच्नका लागि तयार पार्ने गरेका थिए । प्रहरीका अनुसार उनीहरुले दुई बालकलाई असार १५ गते कोलकता लैजानका लागि आवश्यक मेडिकल परीक्षण गराएर तयारी अवस्थामा राखेका थिए । प्रहरीले दुवै बालकलाई पनि उद्धार गरेको छ । प्रहरीले पक्राउ परेकामध्ये धनबहादुर मुख्य व्यक्ति रहेको र उनैले मिर्गौला ग्रहणकर्तासँग मिर्गौला प्रत्यारोपणको लागि मोलमलाई गर्ने ग्रहणकर्ताको आवश्यकता अनुसारको मिर्गौला दाता खोज्नका लागि आफ्ना सहयोगीलाई परिचालन गर्ने गरेको पाइएको बताएको छ । प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

आजदेखि काठमाडौंको फोहोर 

आजबाट काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्न थालेको छ । महानगरले स्थानीयबासीसँग गरेको सहमति अनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने योजना अनुसार आजदेखि अलग अलग फोहोर संकलन गर्न थालेको हो । काठमाडौंको फोहोर फाल्ने गरिएको ल्याण्डफिल साइट बञ्चरेडाँडा वरपरका बासिन्दाले आन्दोलन गरेपछि वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्न महानगरले पहल थालेको हो । महानगरपालिकाले हिजो एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । 

आज साउने सङ्क्रान्ति, पशुपतिनाथ मन्दिरमा साउनको तयारी

सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।

माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।  

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताउनुभयो । साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ । 

आर्थिक खबर

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । निगमका अनुसार शनिबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने तत्काल सोअनुरुप लाभ नमिल्ने भएको छ । आईओसीले अहिले घटाएर पठाए पनि यसअघिको नोक्सानीको असर परिरहेकाले सोनुरुप नेपालमा तत्काल तेलको मूल्य नघट्ने निगमका एक अधिकारीले बताए । नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । 

सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै घट्ने अमेरिकी बहुराष्ट्रिय सीटी ग्रुपको प्रक्षेपण छ । सो ग्रुपले कच्चा तेलको मूल्य २०२२ को अन्त्यसम्म घटेर ६५ डलरसम्म झर्न सक्ने अनुमान गरेको छ ।

त्रिभुवन विमानस्थलबाट एक वर्षमा ४८० केजी सुन बरामद

गत आर्थिक वर्ष अन्तर्राष्ट्रिय हवाई यात्रुले ल्याएको ४८० केजी सुन बरामद भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन विमानस्थल भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ को विवरण सार्वजनिक गर्दै ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सुन एयरपोर्टमा नियन्त्रणमा लिइएको जानकारी दिएको हो । भन्सार कार्यालयअनुसार बरामद सुनबाट ४५ करोड ५८ लाख अतिरिक्त राजस्व पनि संकलन भएको छ । 

कानुनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार तिरेर ल्याउन पाउँछन् भने तयारी सुनको हकमा ५० ग्राम निःशुल्क र थप दुई सय ग्राम भन्सार तिरेर ल्याउन सकिने व्यवस्था रहेको छ । मापदण्डभन्दा बढी ल्याएमा वा लुकाएर ल्याएको हकमा जफत र कानूनअनुसार कारबाही हुन्छ । विमानस्थल भन्सारका अनुसार दैनिक औषत ३० यात्रुबाट १ केजी ५ सय ग्रामसम्म अवैध सुन बरामद हुने गरेको छ ।

नेप्से परिसूचक १.९३ अंकले बढ्यो

चालु आर्थिक वर्ष तथा साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसूचक केही दिनदेखि निरन्तर रुपमा वृद्धि हुँदै गएको छ । त्यसैको निरन्तरतास्वरूप आजपनि सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । 

आज नेप्से परिसूचक १.९३ अंकले बढेर २०११.३९ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०९ अंकले घटेको छ । आज कारोबारमा आएका २१० कम्पनीको ३० लाख ४५ हजार कित्ता शेयर १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से झिनो अंकले बढे पनि कारोबार रकम भने घटेको छ । नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ ।  

 विदेशका खबर

भारत–चीन सैन्य वार्ता चुशुलमा शुरू

भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६औँ चरणको वार्ता चुशुलमा शुरु भएको छ । भारतीय भूमि चुशुल–मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना फर्काउनेमा केन्द्रित रहेको स्रोतले जनाएको छ । वार्तामा भारतीय पक्षको नेतृत्व फायर एन्ड फ्युरी कोर कमाण्डर लेफ्टिनेन्ट जनरल ए सेनगुप्ताले गरेको जनाइएको छ । द्विपक्षीय उच्चस्तरीय सैन्यवार्ताका निम्ति आजको बैठकले मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ । 

यसअघि दुवै पक्षले सिमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमति जनाएका थिए । साथै दुवै देशले समाधान हुन बाँकी समस्या सैन्य र कूटनीतिक वार्ताका माध्यमबाट टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । सन् २०२० को अप्रिल देखि मेमा  चीन–भारत सिमानाको पश्चिमी क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षले एकतर्फी रूपमा यथास्थिति परिवर्तनको धेरै पटक प्रयास गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । 

 खेल खबर 

 त्रिकोणात्मक सिरिजमा नेपालले आज स्कटल्याण्डको सामना गर्दै  

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा अहिले नेपाल र स्कटल्याण्डबीचको खेल भइरहेको छ । स्कटल्याण्डको ग्लास्गोमा जारी खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
  
घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस अघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । स्कटल्याण्ड नेपाललाई हराएर सिरिजको सुखद अन्त्य समेत गर्न चाहन्छ । सिरिज अन्तर्गत नै नेपालले नामिबियासँग भने दुबै खेलमा हार व्यहोरेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो । 

नेपालसँग पराजित स्कटल्याण्डले भने नामिबियालाई दुबै खेलमा हराएको छ । नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको  छ ।  नेपालले १९ खेलमा १७ अंक जोडेको छ । स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ । स्कटल्याण्डले २३ खेलमा ३२ अंक जोडेको छ ।