अन्नपूर्ण दिनभर : उपसभामुखमा पुष्पा भुसालदेखी अध्यक्ष प्रचण्ड भारत प्रस्थानसम्म
सत्ता गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल उपसभामुखमा निर्वाचित÷संसदमा समन्वयकारी भूमिका निर्वाह गर्ने नवनिर्वाचित भुसालको प्रतिबद्धता ।
सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद ३ महिना थप्ने सरकारको निर्णय÷विवादमा तानिएका गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने सत्तारूढ गठबन्धनको बैठकको निष्कर्ष ।
आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेलले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज÷दुई अर्थ सचिवलाई जिम्मेवारीबाट हटाउने आदेश दिन अस्वीकार ।
श्रीलंकाका प्रधानमन्त्री विक्रमासिंघेद्वारा अन्तरिम राष्ट्रपतिको रुपमा सपथ ग्रहण÷संसदबाट नयाँ राष्ट्रपति चयन प्रक्रिया शुरु गरिँदै ।
र, एसियाली क्याडेट तथा जुनियर जुडोमा नेपालका ४ खेलाडी सहभागी हुने । प्रतियोगिताका लागि नेपाली टोली आज बैंकक जाँदै ।
अन्नपूर्ण खबर
उपसभामुखमा पुष्पा भुसाल निर्वाचित
प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित हुुनुुभएको छ । प्रतिनिधिसभामा आज भएको निर्वाचनमा कांग्रेसकी सचेतकसमेत रहनु भएकी भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्नुुभएको हो ।
उपसभामुखमा निर्वाचि भुसालले १४८ मत प्राप्त गर्नु भयो भने एमाले उम्मेदवार विद्या भट्टराईको पक्षमा ९३ मत मात्रै परेको छ । साढे २ वर्षदेखि उपसभामुखविहीन रहेको प्रतिनिधिसभामा भुसाल निर्वाचित हुनु भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो ।
उपसभामुखमा निर्वाचित हुन तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । आजको निर्वाचनमा २४२ सांसद उपस्थित थिए । एक सिट रहेको नेपाल मजदुर किसान पार्टी भने निर्वाचनमा सहभागी भएन ।
२०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा तत्कालीन वाम गठबन्धनकी एमाले उम्मेदवार शिवमाया तुम्बाहाङ्फेबाट पराजित भुसाल अहिले वाम गठबन्धनमा रहेको माओवादी केन्द्र र तत्कालीन एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को भोटको बलमा उपसभामुखमा निर्वाचित हुुनुुभएको हो । भुसाललाई जनता समाजवादी पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टीले पनि भोट दिएका छन् ।
यसैबीच, नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले आफ्नो दायित्व थपिएको बताउनु भएको छ । संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामो समयदेखि रिक्त रहेको उपसभामुखको पदपूर्ति भएको भन्दै संविधानको पूर्ण पालना भएको पनि बताउनुभयो । उहाँले सो पदमा आफू निर्वाचित भएपछि दायित्व बढेको समेत प्रतिक्रिया दिनुभयो ।
सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद ३ महिना थप्ने सरकारको निर्णय
सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले दुवै आयोगको म्याद थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । संक्रमणकालीन न्यायसम्बन्धित दुवै आयोगको म्याद यही असार मसान्तमा सकिँदै थियो । आज नै मन्त्रिपरिषद् बैठकअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पु¥याउने सहमति भएको थियो ।
बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी ऐनहरु संशोधन गर्ने र त्यहीअनुसार आयोगहरुको संरचना तय गरी न्यायिक निरुपण गर्ने सहमति भएको हो । दुई आयोगको म्याद सकिनै लाग्दा द्वन्द्वपीडितहरूले दिएका हजारौं उजुरी र तिनमाथि हालसम्म भएका अनुसन्धानको अवस्था के हुने भन्ने प्रश्न उब्जिएको थियो । दुई वर्षका लागि भनेर २०७१ माघमा गठन भएका दुवै आयोगको अघिल्लो कार्यकाल चार वर्षसम्म चलेको थियो । त्यसको दुई महिनापछि दुवै आयोगमा हालका पदाधिकारी नियुक्त भएका थिए ।
मन्त्रिपरिषद्का निर्णयहरु
यस्तै, सरकारले नेपाल–चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । झन्डै एक दशकअघिदेखि रोकिएको नेपाल–चीन सीमा मामिला परामर्श बैठक नियमित रूपमा सञ्चालन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । आजको मन्त्रिपरिषद्को बैठकले सुशासन विधेयक पारित गर्ने र सुशासन आयोग गठन गर्ने, पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै नेपाली इँटा व्यवसायीको दुईपक्षीय परामर्श संयन्त्र स्थापित गर्ने, नेपाल र मोरक्कोको दुईपक्षीय सम्बन्धका विषयमा परामर्श गर्ने, राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ स्वीकृत गर्ने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बाधा, अड्चन फुकाउने निर्णयसमेत गरेको छ । यस्तै, सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । सरकारले २०७६ सालमा विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईको अध्यक्षमा आयोग गठन गरेको थियो । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि मन्त्रिपरिषद् बैठक बसेको थियो ।
सत्तारूढ गठबन्धनको बैठक
सत्तारूढ गठबन्धनको बैठकले विवादमा पर्नुभएका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । आज बालुवाटारमा बसेको बैठकमा विवादित छवि बनाएका कारण गभर्नर अधिकारले राजीनामा दिनुपर्ने विषय उठेको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले गभर्नरको विषय उठाउनुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर अधिकारीको राजनीतिक संलग्नता देखिएको कारण अन्यले राजीनामा माग्ने नभइ अधिकारीले स्वयंले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको बैठकमा सहाभागी एक नेताले जानकारी दिनुभयो । यद्यपी नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले भने बैठकमा गभर्नरको विषय उठेपछि प्रधानमन्त्रीले चासोमात्रै देखाउनुभएको दाबी गर्दै अहिल्यै त्यसबारे के गर्ने ? कसो गर्ने ? भनेर कुनै निर्णय नभएको बताउनुभएको छ ।
एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा नाम भेटिएपछि गभर्नर अधिकारी विवादमा तानिनुभएको हो । माओवादीले एमालेले अर्थ तथा योजना विभागमा राखेको एम अधिकारी महाप्रसाद अधिकारी भएकोले गभर्नरबाट राजीनामा दिनुपर्ने माग गर्दै आएको छ । एमालेले भने एम अधिकारी भनिएका व्यक्ति महाप्रसाद नभएको प्रष्ट पारिसकेको छ ।
अध्यक्ष प्रचण्ड भारत प्रस्थान
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । तीन दिने भ्रमणमा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुहुने छ । सत्ताधारी दल भारतीय जनता पार्टी भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड भारत जानु भएको हो । प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने छ । त्यहाँ उहाँले भाजपा अध्यक्ष नड्डा, भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेलाई भेट्नुहुने छ । भ्रमणमा प्रचण्डले विदेश मन्त्री डा एस जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रा र राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालबीच भेटवार्ता गर्ने बताइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ पाँच दिने भ्रमण सकेर बुधबार फर्किए लगत्तै प्रचण्ड भारत भ्रमणमा निस्किनुुभएको हो । प्रचण्डले आफ्नो भारत भ्रमण र चिनियाँ अधिकारीको नेपाल भ्रमणबीच कुनै सम्बन्ध नरहेको टिप्पणी गर्नुभएको छ । प्रचण्डले आफ्नो भारत भ्रमण राजनीतिक र सद्भाव केन्द्रित रहेको बताउनुुभएको छ । यो भ्रमणले भारतसँगको सम्बन्ध सुधारमा सहयोग पुग्ने विश्वास अध्यक्ष प्रचण्डको छ ।
दिल्ली उड्नुअघि उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले चीन र भारतलगायत सबै देशसँग राम्रो सम्बन्धको पक्षमा रहेको बताउनुुभयो । प्रधानमन्त्री पत्नी आरजु देउवाको भारत भ्रमण चलिरहेका बेला गठबन्धनकै अर्का नेता दाहालले दिल्ली जानुमा यसलाई संयोग मात्रै भएको उहाँले जिकिर गर्नुभयो ।
नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
प्रतिनिधिसभाको आजको बैठकबाट (नेपाल नागरिकता पहिलो संशोधन विधेयक) २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । लगातार तिनदिनदेखि दफावार छलफल भएको सो विधेयकमाथि आज दफावार छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले पारित भएको घोषणा गर्नुभएको हो । पहिले नै संसदमा टेबुल भएको नागरिकता विधेयक मन्त्रिपरिषद बैठकले फिर्ता लिएर पुनः संसदमा टेबुल भएको थियो ।
यसैबिच, गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले नेपाली नागरिक नागरिकता पाउने अवस्थाबाट वञ्चित नहुने र गैरनेपाली नागरिकले नागरिकता नपाओस् भन्ने अवधारणाका साथ विधेयक पेस भएको जानकारी दिनुभयो ।
नारिकता सम्बन्धी विधेयक यो सरकारले नल्याएको भन्दै उहाँले यसमा कसैले जस लिने र कसैलाई दोषारोपन गर्न आवश्यक नरहेको बताउनुुभयो । हालको विधेयक कार्यान्वयनमा गएपछि केही समस्या देखिए त्यसलाई परिमार्जन गर्न सकिने गृहमन्त्री खाँणको भनाइ छ ।
एआईजी पोखरेलको रिट सर्वोच्चद्वारा खारेज
प्रहरी महानिरीक्षकमा आफूलाई नियुक्ति गरिपाउँ भनेर सर्वोच्च अदालतमा रिट दायर गर्नुभएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको रिट खारेज भएको छ । सर्वोच्च अदलतका कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले पोखरेलको रिट खारेज गरेको हो ।
पोखरेलसँगै आईजीपी नियुक्तिलाई अदालतमा चुनौती दिएका घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीको रिट पनि खारेज गरिएको छ । आईजीपीमा सरकारले आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै एआईजी पोखरेल रिट लिएर सर्वोच्च अदालत पुग्नुुभएको थियो । आईजीपीमा सिंहको नियुक्ति भएपछि पोखरेल आफ्नो ड्युटीमा पनि जानुुभएको थिएन । उहाँ साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाँदै हुनुुहुन्छ ।
अर्थ सचिवद्वयलाई जिम्मेवारीबाट हटाउने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
सर्वोच्च अदालतले अर्थ मन्त्रालयका सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुस्करलाई जिम्मेवारीबाट हटाउने आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले अर्थमन्त्रालयको बहुचर्चित सिसिटिभी प्रकरणसम्बन्धी रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको हो । अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र बाबुराम अर्याल लगायतले सिसिटिभी फुटेज सुरक्षित राख्न अनि सचिवद्वयलाई जिम्मेवारीबाट हटाउन माग गर्नुभएको थियो । सर्वोच्चले कारण देखाउ आदेश भने जारी गरेको छ । अनि मुद्दालाई प्राथमिकता दिन अग्राधिकारको आदेश दिएको छ ।
सरकारको एक वर्ष समयको बर्बादी मात्र
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको एक वर्षको समय को बर्बादी मात्र गरेको टिप्पणी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्षे कार्यकालबारे पार्टीको धारणा सार्वजनिक गर्दै एमालेले सरकारको नीति तथा कार्यक्रम, बजेट, संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधन र नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई हेर्दा यो सरकारले एक वर्ष समयको बर्बादी मात्र गरेको बताएको हो ।
संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशान र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको एमालेको निष्कर्ष छ । संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा सरकारले छेउ टुप्पो नै फेला पार्न समेत नसकेको एमाले सचिव योगेश भट्टराईले आरोप लगाउनुुभएको छ ।
बाबुरामको जसपा फुटाउने सपना चकनाचूर भयो : उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डाक्टर बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चकनाचूर भएको बताउनुभएको छ । केन्द्रिय समिति बैठकका निर्णय सार्वजनिक गर्न आज वीरगञ्चमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चकनाचूर भएको बताउनुभएको हो ।
काठमाडौंमा भएको भट्टराई निकटका नेताको बैठकले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरिएको समेत अध्यक्ष यादवले बताउनुभयो । जसपाको हिजो बसेको बैठकले विधानविपरीत, पार्टी हित विपरीत कार्य गरेको भन्दै संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना नेतालाई जिम्मेवारीबाट मुक्त गरेको थियो ।
विश्व बैंकद्वारा नेपालको लागि झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत
विश्व बैंकले नेपालको लागि १ सय मिलियन डलर अर्थात झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील कार्यक्रम र समावेशी विकासको लागि १२ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जेभोसले कोभिड–१९ महामारीपछि नेपालमा हरित र समावेशी विकासमा विश्व बैंकले सहायता केन्द्रित गरेको बताउनुभयो ।
उहाँका अनुसार सो ऋण सहायता पानी, भूमिको प्रयोग, कृषि, वन, शहरी विकास, फोहोर व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका क्षेत्रमा सरकारको मुख्य नीतिगत कार्यमा उपयोग गरिने भएको छ । सोही कार्यक्रममार्फत कोभिड, प्रकोप, जलवायु र वातावरणीय जोखिमलगायत नेपालको विकासलाई असर गर्ने जटिल चुनौतीको सामना गर्दै गरीबी निवारणमा सहयोग पुग्ने विश्व बैंकले जनाएको छ ।
कोरोना थपिँदै
नेपालमा आज थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ३७१८ नमूनामध्ये २२९ नमूनाको पोजिटिभ रिपोर्ट आएको हो। मन्त्रालयका अनुसार १६४४ नमूनाको पीसीआर र २०७४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआर विधिबाट १६१ र एन्टिजेनबाट ६८ जनामा संक्रमण पुष्टि भएको हो। आज थप ४८ जना कोरोनामुक्त भएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हाल सक्रिय संक्रमितको संख्या १२८४ रहेको छ। पछिल्लो २४ घन्टामा थप ८७ हजार ९७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
मोरङ कारागारमा फैलियो कोरोना
जिल्ला कारागार मोरङमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८ स्थित कारागारमा रहेका १९ जना कैदीबन्दीलाई अत्याधिक ज्वरो आएपछि कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेका मध्ये एक जनाको हिजो मृत्यु भएको छ ।
१८ जना उपचाररत छन् । अस्पताल पु¥याइएका मध्ये १६ जनालाई एन्टिजेन पोजेटिभ देखिएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण छ । हिजो अस्पताल भर्ना भएका विरामीको आज एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारि दिनुभयो । सबैको पीसीआर परिक्षण गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।
अवैध मेडिकल सामग्री राखिएको घरमा प्रहरीको छापा, तीन जना पक्राउ
भन्सार नतिरी भारतबाट अवैध रुपमा मेडिकल सामग्री ल्याएर राखिएको जनकपुरधामस्थित एक घरमा प्रहरीले छापा मारेको छ । जनकपुरधाम उपमहानगरपालिका–९ स्थित घरमा छापा मार्दा ठुलो मात्रामा मेडिकल सामग्री फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुुभयो ।
मेडिकल सामग्री फेला परेपछि घरमा बसिरहेका तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्ने तीनै जना भारतीय नागरिक रहेको बस्नेतले बताउनुुभयो । ती सामानसहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याउने र अन्य अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
आर्थिक खबर
शेयर बजार
शेयर बजार आज झन्डै आठ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.९३ अङ्कले बढेर दुई हजार ९.४६ अङ्कमा पुगेको छ । आज बैकिङ, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर बढेको छ । दुई सय ३१ कम्पनीका ४० लाख ५१ हजार कित्ता शेयर एक अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको शेयर १९ करोड ७२ लाख रुपैयाँमा किनबेच भयो ।आज नेपाल इन्भेस्टमेन्ट डिबेन्चर र माछापुच्छ्रे बैंकको डिबेन्चरको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि ग्रीनलाइफ हाइड्रोपावरको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ ।
विदेशका खबर
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेद्धारा अन्तरिम राष्ट्रपतिमा शपथ
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आज अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिनुुभएको छ । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष कार्यबाहक राष्ट्रपतिको शपथ लिनुुभएको हो । राष्ट्रपति गोटाबाया राजापाक्षले दिएको राजीनामा संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले स्वीकृत गरेपछि प्रधानमन्त्री विक्रमासिंघेले अन्तरिम राष्ट्रपति बन्नु भएको हो । सभामुखले संसदद्वारा नयाँ राष्ट्रपति निर्वाचित गर्ने टुङ्गो नलागेसम्म प्रधानमन्त्री विक्रेमसिङ्घेलाई अन्तरिम राष्ट्रपति बनाइएको बताउनुभयो ।
श्रीलङ्काको संविधानको धारा ४० तथा १९८१ को विशेष प्रावधानको ऐन नं. २ का बमोजिम राष्ट्रपति चयन गरिने अबेयवर्देनाले बताउनुभयो । श्रीलङ्कामा देशैभरि वृहत् विरोध प्रदर्शन भइरहँदा आज सभामुख महिन्दा यापा अबयवार्देनाले राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजीनामा स्वीकृत भएको बताउनुभएको थियो । औपचारिक रूपमा राष्ट्रपति पद छाडेर सिङ्गापुर पुगेका राजापाक्षेले हिजो राजीनामा पत्र बुझाउनुुभएको थियो ।
अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स सङ्क्रमण पुष्टि
अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट एक हजार जनाभन्दा धेरै बिरामी भएका हुन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै एक सय ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन् । त्यसैगरी न्युयोर्कमा एक सय ५९ र इलिनोइसमा एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको सीडीसीले जनाएको छ ।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार बिफर र मङ्कीपक्स रोकथामका लागि उपलब्ध अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोप (जेवाईएनएनईओएस) को एक लाख ३२ हजारभन्दा बढी मात्रा देशव्यापी रूपमा लगाइएको छ । मङ्कीपक्सका सङ्क्रमित बढ्दै गएपछि स्थानीयस्तरमा खोपको अभावसमेत देखिएको छ ।
खेल खबर
जुडो च्याम्पियनसीपमा नेपालका ४ खेलाडी
थाइल्यान्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपको क्याडेटमा २ र जुनियरमा २ गरी ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा क्याडेट÷जुनियरमा १–१ पुरुष तथा महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । साउन १ देखि ७ गतेसम्म हुने च्याम्पियनसिपमा जुनियरको पुरुष ६० केजीमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले खेल्ने छन् ।
च्याम्पियनसिपका लागि ४ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्ने तयारी छ । नेपाली टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् ।