Live Streaming

अन्नपूर्ण दिनभर : देउवा सरकारको वर्षदिनदेखी, प्रधानमन्त्री कार्यालय कब्जासम्म

सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब पुग्यो÷गत आर्थिक वर्षमा मात्रै १ खर्ब १५ अर्ब बढी बेरुजु थपिएको महालेखाको प्रतिवेदन ।

देउवा सरकारको १ बर्षे कार्यकाल विकृति र विचलनमै सिमित÷ जनभावनाअनुसार काम गर्न असफल÷ सत्तारुढ दलकै नेता भन्छन्ः मुलुकको आवश्यकताअनुसार सरकार अघि बढेन । 
 
साढे दुई बर्षदेखि रिक्त रहेको उपसभामुख चयन गर्न शुक्रबार निर्वाचन हुँदै÷ पुष्पा भुसाललाई उम्मेदवार बनाउने गठबन्धनको तयारी ।

सिरहा नगरपालिकाको गुलरियास्थित एक आधारभूत पाठशालामा विद्यार्थीबिनै पाँच शिक्षक कार्यरत÷बसेरै मासिक एकलाख ५१ हजार रुपैयाँ तलब खाँदै÷राज्य कोष दूरुपयोगमा स्थानीय तहनै मतियार ।

श्रीलंकामा राष्ट्रपति निवासपछि प्रधानमन्त्रीको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा÷राष्ट्रिय टेलिभिजनको प्रशारण बन्द÷प्रधानमन्त्री विक्रमसिंघ कार्यवहाक राष्ट्रपतिमा नियुक्त ।

र, विश्वकप लिग टू को त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले अहिले स्कटल्याण्डसँग खेल्दै÷आईसीसीको एक दिवसीय वरीयतामा नेपालको स्थान यथावत् ।

अन्नपूर्ण खबर 

महालेखाको प्रतिवेदन

सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड भन्दा बढी देखिएको छ । महालेखा परीक्षक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको लेखापरीक्षण गर्दा सरकारको यति धेरै बेरुजु देखिएको हो । महालेखा परीक्षकका अनुसार गतवर्ष मात्रै १ खर्ब १५ अर्ब ५ करोड ५० लाख रुपैयाँ बराबर बेरुजु थपिएको छ ।

महालेखा कार्यालयले यो वर्ष संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, संगठित संस्था, समिति तथा अन्य संस्था समेतको ७५ खर्ब १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको जनाएको छ । अघिल्लो वर्षको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड रहेको थियो । उक्त बेरुजुमध्ये गतवर्ष ५० अर्ब २९ करोड बराबर मात्रै फर्छ्यौट भएको जनाइएको छ । 

आज सार्वजनिक भएको महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार संघीय सरकारअन्तर्गतका ३ हजार २ सय ८७ सरकारी कार्यालयको लेखापरीक्षण गरिएको थियो । यस्ता निकायहरुमा गतवर्ष २८ खर्ब २० अर्ब ३७ करोडको लेखापरीक्षण भएकोमा ४९ अर्ब ४७ करोड रुपैयाँ बेरुजु देखिएको छ । 

यस्तै, प्रदेशअन्तर्गतका १ हजार १ सय ३१ वटा निकाय र कार्यालयको २ खर्ब ९९ अर्ब ५७ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ७ अर्ब ४८ करोड रुपैयाँ बेरुजु देखिएको छ । स्थानीय तहको १० खर्ब ५१ अर्ब ९ करोड रुपैयाँको लेखापरीक्षण गरिएकोमा ४३ अर्ब ९० करोड बेरुजु देखिएको पनि प्रतिवेदनमा उल्लेख छ । साथै, देशभरका ४ सय ४८ समिति तथा अरु संस्थाको २ खर्ब ६ अर्ब १२ करोड रुपैयाँको लेखापरीक्षण गरिएकोमा १४ अर्ब १९ करोड बेरुजु देखिएको छ ।

सरकारको एक वर्षे उपलब्धि सार्वजनिक

पाँच दलको सर्मथनमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको आज १ बर्ष पुरा भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुुईपटक प्रतिनिधिसभा भंग गरेपनि सर्वोच्चले व्यूत्याइदिएपछि कुनैपनि दलको सपष्ट बहुमत नपुुग्ने भएपछि काँग्रेस सहित ५ दलको सर्मथनमा प्रधानमनत्री देउवा प्रधानमन्त्री बन्नुभएको थियो । 

तर देउवाको एक बर्षे कार्यकाल विकृति र विचलनमै बितेको छ । संविधानको रक्षा र प्रतिगमनलाई परास्त गर्न भन्दै गठबन्धन बनाएपनि वर्तमान सरकार पनि त्यही प्रतिगमनको बाटोमा हिडेको आभास जनतालाई दिलाएको छ । सरकारले आफ्ना धेरै कामहरको उपलब्धि सार्वजनिक गरेपनि स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुबाहेक खासै उपलब्धि देखिदैनन् । 

यद्यपी सरकारले भने १ वर्षमा गरेका कामको विवरण सार्वजनिक गर्दै एसपीपी सम्झौता रोक्नेदेखि ६८ वर्षमै वृद्धभत्तासम्मका कामलाई महत्वपूर्ण उपलब्धी मानेको छ । सार्वजनिक विवरणमा यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले निम्त्याएको अस्थिरता र कुशासनको अन्त्य गरेर देशलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल भएको दाबी गरिएको छ । 

यस्तै, पालिका चुनाव सम्पन्न, सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइएको, गरिबीको रेखामुनि रहेका परिवारलाई अत्यावश्यक वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन गरिब घरपरिवार परिचयपत्रको सुरुवात गरिएको, सङ्कटग्रस्त उद्योगधन्दा र विपन्न तथा बेरोजगारलाई विशेष प्याकेजको व्यवस्था लगायतका उपलब्धीहरु समेटीएको छ । 

यद्यपी सरकारको कार्यशैलीप्रति सत्तारुढ दल नै असन्तुुष्ट देखिएका छन् । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै नेकपा माओवादी केन्द्रक प्रमुख सचेतक देव गुरुङले मुलुकको आवश्यकताअनुसार सरकार अघि बढ्न नसकेको बताउनुभएको छ । सरकार संविधान र लोकतन्त्रको रक्षामा सफल भएपनि जन भावना अनुरुप सफल नभएको बताउनुभएको हो । 

संसदमा अघि बढ्यो नागरिकता विधेयक

सरकारले ल्याएको नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेश भएको छ । नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गर्नुभएको हो ।

एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा पहिलेको विधयेक फिर्ता लिएर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु समितिकै अवहेलना भएको बताउनुभयो । एमालेकै अर्का सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्मविपरीत विधेयक आएको बताउनुभएको छ । 

इसतै नेपाल मजदूर किसान पार्टीकासांसद सवालले भने खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलग अलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्नुभयो । तीनै जना सांसदको विरोधको सूचना अस्वीकृत भएपछि गृहमन्त्री खाँणले विधेयक पेश गरेपछि प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक अघि बढेको हो । 

सांसदहरुका कुरा 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संवैधानिक परिषदसम्बन्धी विधेयकमा प्रतिगमन भएको बताएका छन् । प्रतिनिधसभाको आजको बैठकमा एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले केपी शर्मा ओली सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अहिलेको विधेयकमा फरक नभएकाले विधेयक पनि प्रतिगामी भएको बताउनुभएको हो । 

सरकारले राष्ट्रिय सभामा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न विधेयक दर्ता गराएको छ । उक्त विधेयकमा विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका जस्तै व्यवस्था प्रस्ताव गरिएको छ । सो विषयको विरोध गर्दै तुम्बाहाङ्फेले अहिलेको सरकारले राष्ट्रिय सभामा दर्ता गरेको विधेयकमा के फरक ल्याउनुभएको छ भन्दै प्रश्न समेत गर्नुभयो । 

यस्तै नेपाली कांग्रेसले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठाएको छ । नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर सार्वजनिक रुपमा आतंक फैलाएको भन्दै कांग्रेसले अधिकारीमाथि प्रश्न उठाएको हो । कांग्रेसका तर्फबाट सांसद मीनबहादुर विश्वकर्माले गर्भनर आफैंले मुुलुक श्रीलंकातिर जाँदैछ भनेर हिँडेको बताउदै एउटा देश संकटमा परेको बेला गिज्याउनु उपयुक्त नहुने भन्दै उनले यस्तो बोल्न बन्द गनुृपर्ने बताउनुभयो । गभर्नरले सल्लाहकार भएर सरकारलाई सहयोग गर्नुपर्नेमा सार्वजनिक मञ्चहरुबाट श्रीलंका हुन्छ, अब टाट पल्टिन्छ भनेर आतंक फैलाएको उहाँको आरोप छ । 

अर्थमन्त्रीका बिषयमा सत्ता र प्रतिपक्षका बीचमा सवाल जवाफ नै चलेको छ । नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले गर्भनरमाथि छानविन गर्न माग गर्नुभएको छ ।  गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैंकको ऐन, नियमावलीविपरीत कुनै पनि दलमा आबद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लंघन भएको टिप्पणी गर्नुभयो । उहाँले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुवै पक्षलाई कारबाही गर्न माग समेत गर्नुभयो । 

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टीको अर्थ योजना विभागका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेको छ । एमालेको अर्थ योजना विभागमा एम अधिकारी, खोटाङ भनिएका व्यक्ति राष्ट्र बैंकका गभर्नर अधिकारी भएको चर्चा चलेको बेला एम अधिकारी अरू नै व्यक्ति रहेको भन्दै एमालेले खण्डन गरेको गरेको हो । आज प्रतिनिधिसभा बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले गभर्नर अधिकारी नभई अरु नै व्यक्ति भएको भन्दै खण्डन गर्दै सरकारले आफ्नो असक्षमता लुकाउन गभर्नर प्रकरण उठाएको आरोप लगाउनुभयो । 

उपसभामुख निर्वाचन प्रक्रिया

लामो समयपछि प्रतिनिधिसभाले उप–सभामुख पाउने भएको छ । त्यसका लागि शुक्रबार निर्वाचन गर्नेगरि कार्यतालिका प्रकाशन गरिएको छ । योसँगै रिक्त रहेको साढे दुई वर्षपछि संसदले उपसभामुख पाउने भएको हो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिनुभएको थियो । 

असार ३० गते  बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने विज्ञप्तिमा उल्लेख छ । त्यही दिन साढे १ बजे दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने र ३१ गते शुक्रबार दिउँसो ३ बजे बैठकमा उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेस गरिने भएको छ ।

यसैबीच पाँच दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपभासमुखको उम्मेदवार बनाउने तयारी गरेको छ । उम्मेदवार चयन गर्ने विषयमा गठबन्धनका नेताहरुबीच छलफल भएको छ । छलफलका आधारमा भुसाललाई उम्मेदवार बनाउने गरी गृहकार्य अगाडि बढाइएको छ । तर, कांग्रेसमा उपसभामुखका लागि भुसाल बाहेक डिला संग्रौला लगायतले पनि दाबी प्रस्तुत गर्दै आएका छन । सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । 

सभामुखमा माओवादी केन्द्रका तर्फबाट सांसद निर्वाचित अग्निप्रसाद सापकोटा हुनुहुन्छ  । संवैधानिक व्यवस्था अनुसार उपसभामुखमा माओवादी केन्द्रबाट निर्वाचित सांसद दाबेदार हुन पाउँदैनन् । स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धनले जसलाई उम्मेदवार बनाउँछ उही उप सभामुख चुनिनेछन् । 


कोरोना अपडेट 

नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ सय नाघेको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई हजार ८२ पीसीआर परीक्षणमा १ सय ७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २ सय ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ५ पुगेको छ । 

जसमध्ये ९ सय ८४ जना होम आइसोलेसनमा रहेका छन् भने २१ जना संस्थागत आइसोलेसन र १२ जना आईसीयूमा छन् । यस्तै, एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय निको हुनेभन्दा थपिने सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ५ सय ७ पुगेको छ ।

भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी, निभाउने कार्य जारी

काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । आगोबाट गोदाममा रहेका अरु पनि सामान नष्ट भएका छन् । दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो । आगलागी भइरहँदा अवलोकन गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि भृकुटीमण्डप पुग्नु भएको थियो । 
 
जलवायु परिवर्तन २५औं रिपोर्ट 

विश्वकै अग्लोदेखि निकै होचो भूभाग रहेको नेपालमा बर्षेनी विभिन्न प्राकृतिक विपत्तीहरु दोहोरीने गरेको छ । अधिकांश पहाडी र भौगोलिक विकट क्षेत्र रहेको नेपालमा बर्षेनी ठुलो संख्यामा भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपत्ति हुने गरेका छन् । अझ सिन्धुपाल्चोक लगायतका जिल्लामा त विपत्ती बर्षेनी जस्तो बल्झिरहन्छ । एक रिपोर्ट ः
 
अन्नपूर्ण समाचार 

रेडियो अन्नपूर्ण नेपालले आयोजना गरेको ‘भानु कविता महोत्सव’ आज समापन हुँदैछ । आसार–२३ गतेदेखि महोत्सवमा प्रतिस्पर्धाका लागि प्राप्त भएका कविताहरू मध्येबाट न्युनतम मापदण्ड भित्र पर्ने कविताहरूलाई सर्जकहरूकै आवाजमा रेडियोमा बाचन गराइएको थियो । भानु जयन्तीको दिन पारेर आज अन्तिम प्रतिस्पर्धीहरुमध्ये विजेता छनौट गरिने स्टेशन म्यानेजर शिरोमणि दवाडीले जानकारी दिनुभयो । 

उत्कृष्टलाई एक लाख नगद पुरस्कार र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । आज साँझ साढे ७ बजे भानु कविता महोत्सवको प्रत्यक्ष प्रशारण मार्फत विजेता घोषणा गरिनेछ । काठमाडौमा रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज र देशभरका अन्य साझेदार एफ एमहरूमा सुन्न सकिनेछ । गत बर्ष कोभिड महामारी बिषय तोकिएकोमा यस बर्ष भने जलवायु परिवर्तन र यसका असर तथा पर्यावरण र प्रकृति बिषय तोकिएको छ । 

 भानुभक्तको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक : प्रधानमन्त्री

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । आदिकवी भानुभक्तको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भएको हो ।

 नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । 

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन, अनुसन्धान र प्रकाशनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित २०९ औँ भानु जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन र अनुसन्धान गर्न सरकार सहयोगका लागि सकारात्मक रहेको बताउनुभएको हो ।

उहाँले राष्ट्रिय विभूति भानुभक्तको योगदानको बारेमा नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठान प्राङ्गणमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गर्नुभएको थियो । भानुभक्तको जन्म जयन्तीको अवसरमा प्रज्ञा प्रतिष्ठानले प्रभातफेरी कार्यक्रमसमेत गरेको थियो । 

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान गरेर मनाइँदै

आसाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् । त्यस्तै आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । 

आर्थिक खबर

विश्व बैंकबाट १० अर्ब ऋण लिने

खानेपानी र सरसफाइमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्नका लागि नेपालले विश्व बैंकबाट ८ करोड डलर (करिब १० अर्ब रुपैयाँ) ऋण लिने सम्झौता भएको छ । यस सम्झौतामा सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभयो ।

अति आवश्यक खानेपानी आपूर्ति र सरसफाइ सेवाहरू उपलब्ध गराउने र अति जोखिममा परेका समुदायहरूलाई पानीको सुनिश्चित गर्न तथा खानेपानी सेवाको स्तरलाई प्रवर्द्धन गर्न यसले मद्दत गर्ने अर्थ मन्त्रालयका सचिव मरासिनीले बताउनुभयो । 

आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनैतिक नगर र गाउँपालिकामा कार्यान्वयन गरिनेछ । यस आयोजनाले दुई प्रदेशका स्थानीय सरकारहरूलाई खानेपानी र सरसफाई सेवाहरू दिगो र प्रभावकारी रूपमा उपलब्ध गराउन सक्षम संयन्त्रहरू विकास गर्न मद्दत गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

विदेशका खबर

प्रधानमन्त्री कार्यालय कब्जा

राष्ट्रपति तथा प्रधानमन्त्रीको राजीनामा माग गर्दै उग्र प्रदर्शनमा उत्रिएका श्रीलंकामा प्रदर्शनकारीहरुले प्रधानमन्त्रीको कार्यालयमा पनि कब्जा जमाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार आज प्रदर्शनकारीहरुले प्रधानमन्त्री कार्यालय बाहिरको बार भत्काउँदै निवासभित्र प्रवेश गरेका हुन् ।

राष्ट्रपति गोटाबाया राजपाक्षे देश छोडेर भागेसँगै आज श्रीलंकामा उग्र प्रदर्शन भइरहेको छ । हजारौंको संख्यामा जम्मा भएका प्रदर्शनकारीहरुले बिहानैदेखि प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरिरहेका थिए । यसअघि प्रदर्शनकारीहरुले श्रीलंका सरकारद्वारा सञ्चालित राष्ट्रिय टेलिभिजनको कार्यालयमा पनि कब्जा जमाएका थिए । प्रदर्शनकारीले राष्ट्रिय टेलिभिजन कार्यालय कब्जा गरेसँगै प्रशारणसमेत बन्द भएको छ । 

यसैबीच, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ ।  संसद्का सभामुखले आज संसदलाई यसबारे जानकारी गराउनुभएको हो । संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबाय राजापाक्षले प्रधानमन्त्री विक्रमासिङ्घेलाई नियुक्त गरेको जानकारी आफूलाई गराएको सभामुख महिन्दा यापा अवेयवार्देनाले बताउनुभएको छ ।

यसबारे राजपक्ष आफैँले कुनै सार्वजनिक घोषणा भने गर्नुभएको छैन । राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि केही दिनदेखि सबै सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् । गत शनिबारदेखि राष्ट्रपतिको निवास पनि प्रदर्शनकारीको कब्जामा छ । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म राष्ट्रपति निवास नछोड्ने घोषणासमेत गरेका छन् । 

खेल खबर

लिग टू : स्कटल्याण्डको सामना गर्दै नेपाल

आईसीसी पुरुष विश्वकप लिग टू को त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले अहिले स्कटल्याण्डसँग खेलिरहेको छ । टस जितेर नेपालले फिल्डिङ रोजेपछि स्कटल्याण्डले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । तर, बलियो टोली स्कटल्याण्डलाई हराउँन नेपाललाई सहज भने छैन । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । 

पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो । लिग टू को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सिरिज Feature Imageअन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ । 
 
आईसीसीको एक दिवसीय वरीयतामा नेपालको स्थान यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एक दिवसीय वरीयतामा नेपाल यथावत् रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १९औँ स्थानमा यथावत् रहेको हो । एक दिवसीयको अघिल्लो वरीयतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो । नयाँ वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ भने इङ्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेका छन् । यस्तै, टी–२० वरीयतामा भने नेपाल १३औँ स्थानमा रहेको छ ।