अन्नपूर्ण खबर : यौन हिंसासम्बन्धी विधेयक पारितदेखि किसानले मल नपाएको विषयसम्म
अन्नपूर्ण खबर
स्थानीय निर्वाचनमा गठबन्धनका अन्य दलहरुले घात गरेको कांग्रेस केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरुको रिपोर्टिङ÷दल बाहिरको गठबन्धनलाई महत्व दिएर पार्टीभित्रको एकता खलबलाउन नहुनेमा जोड ।
काठमाडौं उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने विद्येयक संसदबाट पारित÷कमिसन खान नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको एमालेको आरोप ।
पटक पटकको आश्वासनका बाब्जुत असार सकिनै लाग्दा समेत किसानले मल पाएनन्÷खरिद प्रक्रियामा ऐन बाधक बन्दै÷साउन पहिलो साता मल ल्याउने कृषिमन्त्रीको दाबी ।
गठबन्धन सरकार मृत भइसकेकाले यसले हैजा फैलाउने एमाले अध्यक्ष ओलीको टिप्पणी÷साँचो डिभोर्स गर्न नक्कली बिहे गर्न एमालेले हतार नगर्ने भनाइ ।
श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आगामी मार्च अघि आमनिर्वाचन हुने÷ राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्रीद्वारा पुष्टि ।
आईसीसी विश्वकप लिक टुमा अहिले नेपालले नामिबियासँग खेल्दै÷नेपाल पहिले बलिङमा ।
कांग्रेस बैठकमा प्रदेश सभापतिको रिपोर्टिङ : गठबन्धनका अन्य दलले घात गरे
नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धनका अन्य दलहरुले घात गरेको प्रदेश सभापतिबाट रिपोर्टीङ भएको छ । मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरूले घात गरेको आरोप लगाउनुभएको हो । आज केन्द्रीय समितिको बैठकमा चुनावी समीक्षा गर्दै उहाँले मधेश प्रदेशमा गठबन्धनका दलहरूले धोका दिएको बताउनुभएको हो । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले चुनावमा कांग्रेसले धोका दिएको आरोप लगाइरहेका बेला यादवले भने कांग्रेसलाई अन्य दलले धोका दिएको बताउनुभएको हो ।
त्यस्तै वाग्मती प्रदेशका सभापति इन्द्र बानियाले गठबन्धनले सफलता पाएको र कांग्रेसको स्थिति सुधार भएको रिपोर्टिङ गर्नुभएको छ । तर, उहाँले दलबाहिरको गठबन्धनलाई जोड दिएर पार्टीभित्रको एकता खलबलाउन नहुने बताउनुभयो । प्रदेश नम्बर एकका सभापति उद्दव थापाले स्थानीय निर्वाचनमा कांग्रेसको अवस्था सुधार भएको तर कतिपय ठाउँमा आन्तरिक किचलोले सफलता प्राप्त हुन नसकेको बताउनुभयो ।
यसअघि निर्वाचन परिचालन समितिका संयोजक उपसभापति पूर्णबहादुर खड्का र प्रचार समितिका संयोजक प्रकाशशरण महतले प्रतिवेदन पेस गर्नुभएको थियो । बैठकमा चुनावी समीक्षा, भातृसंस्थाका विधान र पूर्णता, सरकारको समीक्षा, पाँचदलीय गठबन्धन लगायतका विषयमा छलफल हुँदैछ ।
यसैबीच नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आजको लागि सकिएको छ । बैठक भोलि १ बजे पुनः बस्ने गरी सकिएको हो । बैठकको पहिलो दिन प्रदेशका सभापतिहरूले धारणा राखेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न एक जनालाई ७ मिनेटका दरले समय छुट्याइएको थियो ।
उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा गर्ने विधेयक पारित
‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण, र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभाबाट मा पारित भएको छ । काठमाडौं उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभाबाट मा पारित भएको हो । सदनमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकामा सदनमा सर्वसम्मतिले पारित गरेको हो । सो विधेयकमाथिको दफाबार छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी सहमति जुटेको थियो । सो सहमतिसहितको प्रतिवेदनमाथि सदनमा छलफल भएको थियो ।
प्रतिनिधिसभाबाट यौन हिंसासम्बन्धी विधेयक पारित
प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उक्त विधेयक उपर बैठकमा छलफल भई उठेका प्रश्नको कानूनमन्त्री कोइरालाले जवाफ दिएपछि विधेयक पारित गरिएको थियो ।
प्रदेश प्रहरी कमजोर पार्न खोजिएको होइन : गृहमन्त्री
काठमाडौं उपत्यकामा रहेको संघीय राजधानीको सुरक्षा व्यवस्था नेपाल प्रहरीलाई दिएर प्रदेश प्रहरीलाई कमजोर पार्न नखोजेको गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धि विधेयकबारे प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफका क्रममा गृहमन्त्री खाँणले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर नेपाल प्रहरीलाई जिम्मेवारी दिन खोजिएको प्रस्ट पानुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाँणले काठमाडौं उपत्यकामा सुरक्षा चुनौतीको ख्याल गरेर त्यसको सामना गर्नका लागि नेपाल प्रहरीलाई जिम्मेवारी दिने कानुनी व्यवस्था गर्न खोजिएको प्रस्ट पार्नुभयो । काठमाडौं उपत्यकामा आन्तरिक र बाह्य सुरक्षा संवेदनशीलता रहेको भन्दै गृहमन्त्री खाँणले संघीय राजधानीको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीलाई दिन खोजिएको बताउनुभयो ।
यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै विरोध जनाएको छ । आज प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै प्रमुख प्रतिपक्षी दल एमालेका सांसद नवराज सिलवालले सरकारले ८४ करोड रुपैयाँ बराबरको हतियार किन्नका लागि बजेट रकमान्तर गरेको भन्दै त्यसप्रति आपत्ति जनाउनुभएको हो ।
उहाँले देशमा आर्थिक संकट आउन लागेको बेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात गरेको आरोप लगाउनुभयो । उहाँले हाल नेपाल प्रहरीलाई हतियार नचाहिएको भन्दै बिचौलिया र राजनीतिक व्यक्तिहरुलाई पैसा चाहिएकाले यो योजना अगाडि बढाइएको जिकिर गर्नुभयो । सांसद सिलवालले हाल नेपाल प्रहरीलाई हतियार नभई व्यारेक र प्रविधि चाहिएको भन्दै प्रहरीलाई प्रविधि भित्र्याएर अनुसन्धान योग्य बनाउनुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस सांसद संग्रौला
सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकारले संसदमा पेश गरेको ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ प्रति असन्तुष्टि जनाउनुभएको छ । सांसद संग्रौलाले सो विधेयक बलात्कारजस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्न पर्याप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपालमा भयावह ढंगले बढिरहेका त्यस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्नका लागि सरकारले अन्तर्राष्ट्रिय मापदण्ड र संयुक्त राष्ट्र संघको उदाहरणलाई ध्यानमा राखेर कानुन बनाउनुपर्ने माग समेत गर्नुभयो । सांसद संगौलाले बलात्कारका घटना ५० प्रतिशत मात्र प्रहरीकोमा पुग्ने र ५० प्रतिशत सहेरै बस्ने स्थिति रहेको पनि बताउनुभएको छ ।
नागरिकता विधेयकबारे गृहमन्त्री र माओवादी अध्यक्षबीच छलफल
सरकारले संघीय संसदमा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिनुभएको छ ।
प्रचण्डसँगको भेटपछि छलफल सकारात्मक भएको खाणले जानकारी दिनुभयो । सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो ।
सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको हो । पेस भएको विधेयकमा सहमति जुटाउनका लागि गृहमन्त्री खाणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्नुभएको छ । हिजो साँझ मात्रै गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग उहाँकै निवास बालुवाटारमा भेटघाट गर्नुभएको थियो ।
सरकारले संसदमा प्रस्तुत गर्ने नयाँ विधेयकले अहिले देखिएको नागरिकता समस्यालाई सम्बोधन गर्नेछ । विधेयक पास भएमा नागरिकता नपाएका युवाहरू लाखौँ युवाले नागरिकता पाउनेछन् । ती युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पुर्याउने अपेक्षा सरकारको छ ।
किसानले मल पाएनन्
असार सकिनै लाग्दा समेत किसानले अँझै मल पाउन सकेका छैनन् । नेकपा नेतृत्वको सरकारदेखि नै कहिल्यै जिटूजी त कहिल्यै ठेकेदारमार्फत मल ल्याउने भनेर जनतालाई आश्वासन बाँडेपनि यसबर्ष समेत किसानले मल पाउन सकेका छैनन् । सरकारले धान दिवस र असार अन्त्यसम्म किसानलाई मल उपलब्ध गराइसक्ने प्रतिबद्धता जनाएको थियो ।
तर अझै किसान मल कहिले आउँछ भनेर आशमै बस्न बाध्य छन् । २०७८ जेठ २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएका शेरबहादुर देउवाले सत्ता टिकाउनकै लापि ९ महिनामा ७ मन्त्री फेरिसक्नुभएको छ । त्यसमा कृषिमन्त्री मात्रै दुई जना फेरिएका छन् । तर कुनैपनि मन्त्रीले किसानलाई मल दिन सकेका छैनन् । प्रतिनिधिसभा तथा राष्ट्रियसभामै पनि पटक पटक किसानका समस्याबारे सांसदहरुले प्रश्न उठाउँदा पनि सम्बन्धित मन्त्रीले जवाफ समेत दिएका छैनन् ।
प्रतिनिधिसभाको आजको बैठकमा पनि शून्य समयमा बोल्ने अधिकांश सांसदहरुदले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सांसद विमला विश्वकर्माले किसानले मल, बिउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । सांसद विष्णु शर्माले सरकारले मङ्सिर–पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैँ किसानले मल नपाएको बताउनुभयो ।
सांसद सत्यनारायण शर्मा खनालले अहिले पुरानो बिउ सकिएको र नयाँ बिउ देशभर पु¥याउन नसकिएको तथा मनसुन सुरु भएपछि रोपाइँ गर्न मल नभएको बताउनुभयो । सांसद हितबहादुर तामाङले कृषि उत्पादन बढाउने सरकारको घोषणा भए पनि खेतीको समयमा मल नपाउँदा नारा नारामै सीमित हुने अवस्था आएको बताउनुभयो ।
सांसद सरलाकुमारी यादवले सरकारले आउँदो आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिने भने पनि किसानले महसुस गर्न नसकेको बताउनुभयो । सांसद शान्तिमाया तामाङ पाख्रिनले किसानले मल तथा विद्यार्थीले पुस्तक नपाएको बताउनुभयो ।
यता कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवले भने साउन पहिलो साताभित्र सबै किसानले मल पाउने दावी गर्नुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै मन्त्री यादवले ओमानबाट १ लाख मेट्रिक टन मल ल्याउने प्रकृया सुरु भइसकेको बताउँदै साउन पहिलो हप्ताभित्र मल ल्याउने दाबी गर्नुभएको हो ।
मन्त्री यादवले सार्वजनिक खरिद ऐनमा नै समस्या औँल्याउनुभयो । ऐनमा उल्लेख सम्झौताको ४५ दिनले समस्या बनाएको उहाँको भनाइ छ । अन्र्तराष्ट्रिय बजारमा एक हप्तामै मूल्य निर्धारण हुने तर खरिद ऐनअनुसार ठेक्काको समयावधी ४५ दिन राखिदा पनि मल आपुर्तिमा ढिलाइ भएको उहाँको भनाइ छ ।
गठबन्धनको सरकार निष्प्राण भइसक्यो : अध्यक्ष केपी ओली
एमालेले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको यो सरकार निष्प्राण भइसकेकोले अब यसैलाई बोकेर हिडिँरहे समाजमा हैजा फैलाउने टिप्पणी गर्नु भएको छ । आज काठमाडौँमा सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै उहाँले गठबन्धन समेत मृत भइसकेको उल्लेख गर्नुभयो । उहाँले यस्तो गठबन्धन बोकेर हिँडेर काम नलाग्ने बताउँदै अब सतीदेवीको जस्तो अंग झर्दै जाने उल्लेख गर्नुभयो । उहाँले यो परमादेशी सरकारको कुनै अर्थ नभएको पनि बताउनुभयो ।
अध्यक्ष ओलीले यो सरकार कूशासनमा लिप्त रहेको आरोप लगाउनुभयो । वर्तमान सरकार घृणाको पात्र बनिरहेको बताउँदै उहाँले आफूहरुले चाहेको भए यो गठबन्धन उहिल्यै भत्किसक्ने दाबी गर्नुभयो । उहाँले आफहरुले गठबन्धन बनाएर, सरकार चलाएर हेरेको भन्दै साँचो डिभोर्स गर्न नक्कली बिहे गर्न हतारो नगर्ने बताउनुभयो ।
राज्यका हरेक अंगलाई विस्थापित गर्ने, संवैधानिक अंगलाई विस्थापित गर्ने काम बर्तमान गठबन्धनबाट भएको उहाँको भनाइ छ। थुप्रै ऐनहरु संविधान सम्मत बनाउनुपर्ने भए पनि ती कामहरु ठप्प भएको ओलीले बताउनुभयो ।
चुनावअघि कुनै पार्टीसँग पनि एकता हुँदैनः माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चुनावअघि कुनै पार्टीसँग पनि एकता नहुने बताउनु भएको छ । धनगढीमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले अहिले कुनै पार्टीसँग पनि एकता नगरिने बताउनुभएको हो । केही दिनअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र चुनावअघि नै एकता हुने भन्ने खबर आएका थिए । त्यसतर्फ लक्षित गर्दै उहाँले अहिले कुनै पार्टीसँग एकता गर्ने पक्षमा आफूहरू नरहेको बताउनुभएको हो ।
उहाँले अहिले कुनै पार्टीसँग एकता गर्नेतिरभन्दा पनि एकीकृत समाजवादीले संगठन विस्तार लगायतमा ध्यान दिइरहेको बताउनु भएको हो । फरक प्रसंगमा अध्यक्ष नेपालले गठबन्धन सरकार नभएको भए अमेरिकी स्टेट प्रोग्राम (एसपिपी) पारित हुने बताउनुभएको हो । उहाँले सुदूरपश्चिम सरकार एकीकृत समाजवादीको नेतृत्वमा बन्न सक्ने पनि बताउनु भएको थियो । प्रदेश सभामा एकीकृत समाजवादी ठूलो दल रहेकोले सरकार बन्नु स्वभाविक हुने बताउनुभयो ।
संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट फिर्ता हुन्छः गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुने बताउनु भएको छ । राष्ट्रिय सभामा दर्ता भएको विधेयक केही दिनमा फिर्ता हुने उहाँले बताउनुभयो । आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले संवैधानिक परिषद सम्बन्धी दर्ता भएको विधेयक अघि बढाउन नसकिने स्पष्ट पार्नुभएको हो । उहाँले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिनेबारे प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग कुराकानी भइसकेको पनि बताउनुभयो ।
कांग्रेस प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रतिनिधि सभामा उपसभामुख लामो समयदेखि नहुँदा संवैधानिक परिषदमा बहुमतको समस्या देखिएको बताउनुभएको छ । आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै महतले उपसभामुख चयन गर्ने प्रक्रिया छिट्टै अघि बढ्ने बताउनुभयो । सरकारले तीन जनाले मात्रै पनि परिषदले संवैधानिक नियुक्ति गर्न सक्ने व्यवस्थासहितको विधेयक ल्याएको छ । सो विधेयकमा तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेशमा जस्तै व्यवस्था भएको भन्दै विरोध भइरहेको छ । नेपाली कांग्रेसका नेता शेखर कोइरला, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि सो विधेयक फिर्ता लिनु पर्ने बताइसक्नु भएको छ ।
सुदूरपश्चिम प्रदेशसभा बैठक प्रतिपक्षी दलद्वारा बहिस्कार
प्रतिपक्षी दलका प्रदेश सभा सदस्य नभएपछि सुदुरपश्चिम प्रदेश सभाको बैठक पुन स्थगित भएको । पाँचौँ लगत लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो । तर, बैठक एमाले, जसपा र राजपाले बहिस्कार गरेपछि बस्न नसकेको हो । सत्ता पक्षमा सांसद पनि निकै न्यून उपस्थित थिए । प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख अर्जुन बहादुर थापाले भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
असार १ गते प्रदेश सरकारले ल्याएको बजेट माथि अझै सम्म छलफल सुरु हुन सकेको छैन । सत्ता पक्ष र विपक्षका प्रदेश सभा सदस्यहरूले बजेट परिष्कृत नहुँदा सम्म पारित गर्न नसकिने बताउँदै आएका थिए । तर, सरकारले बजेट पारित गर्न दबाब दिइरहेका छन् । साउन १ अघि नै बजेट पारित गर्नु पर्ने संवैधानिक व्यवस्था छ । तर, सुदूरपश्चिममा सत्ता पक्ष र विपक्ष दुबै आफ्नो अडानमा यथावत् छन् । अब पाँच दिन मात्र बाँकी छ । यस्तो बेला बजेट परिस्कृत गर्ने, दलको बैठक ह्वीप जारी गर्ने र संसद् स्थगित गरेर अध्यादेश ल्याउने यी विकल्प छन् ।
एकै दिन १६८ जनामा कोरोना संक्रमण पुष्टि
पछ्रिल्लो समय नेपालमा कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लागेको छ ।केही दिनदेखी १ सय जना हाराहारीमा देखीरहेको संक्रमण पछिल्लो २४ घण्टामा १६८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८३४ पीसीआर परीक्षणमा १२९ जना र १ हजार १८६ एन्टिजेन परीक्षणमा ३९ जनामा संक्रमण देखिएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन् ।
धोबीखोलामा फोहोर फ्याँक्नेलाई २५ हजार जरिवाना
काठमाडौं महानगरपालिकाले धोबीखोलामा फोहोर फ्याँक्नेलाई कारबाही गरेको छ । धोबीखोलामा फोहोर फ्याँक्ने प्राक्टिकल वेस्ट सोलुसन प्रालिलाई २५ हजार जरिवाना तिराएको काठमाडौं महानगरपालिकाले जनाएको छ । हिँजो बेलुका सामाजिक सञ्जालमा रातोपुल नजिकैबाट डोजरले फोहोरलाई खोलामा फ्याँकिरहेको भिडियो भाइरल भएको थियो । त्यससँगै महानगरका मेयर बालेन साहको चर्काे आलोचना समेत भएको थियो । जसलाई छानबिन गरी कारबाही स्वरुप सो रकम तिराएको मेयर बालेन साहले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको हो ।
कमला नदी किनारमा दुई युवकको शव भेटियो
सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित कमला नदी किनारमा दुई युवकको शव फेला परेको छ । बन्दीपुरका १७ बर्षीय मोहम्मद अली र भारतको बिहार घर भएका १९ बर्षीय जफर शेखको शव सिरहा–धनुषाको बीचमा रहेको कमला नदी छेउमा फेला परेको प्रहरीले जनाएको छ । जफर शेख आफ्नो मामाको घर सिरहामा बकर इद पर्व मनाउन आएका थिए । हिँजो दिउँसो घरबाट निस्किएका दुबै जना घर नफर्केपछि खोजी सुरु गरिएको थियो । खोजीका क्रममा आज बिहान दुबैको शव फेला परेको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो । कपडा खोलेर दुबै जना पौडी खेल्न नदीमा पसेको जस्तो देखिएपनि कसरी मृत्यु भएको हो भन्ने बारे एकिन भइनसकेको र दुबैको शव पोष्टमार्टमका लागि लहान अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यातायातमा बिचौलियाको बिगबिगीविरुद्ध बोल्यो युवा संघ
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समर्थित राष्ट्रिय युवा संघले एकान्तकुनामा अवस्थित यातायात व्यवस्था कार्यालयले घेराउ गरेको छ । सवारी चालक अनुमतिपत्र वितरणमा लापरवाही एवम् ढिलासुस्ती भएको भन्दै संघले कार्यालय घेराउ गरेको हो । कार्यालयमा हुँदै आइरहेको विचौलियाको खेल बन्द गर्न र लाइसेन्स वितरण सहज गर्न संघले व्यवस्था कार्यालयका प्रमुखलाई आफ्ना मागहरु पेश गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् ।
जनसङ्ख्या दिवस मनाइँदै
आज विश्व जनसङ्ख्या दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानअनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाउने गरिएको छ । सन् १९८९ देखि हरेक वर्षको जुलाई ११ तारिखमा विश्वभरिका जनसङ्ख्याका मुद्दालाई सम्बोधन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । यसपालिको नारा ८ अर्ब मानवको विश्व ः सबैका लागि समुत्थापित भविष्यतर्फ–अवसरको सदुपयोग तथा सबैका लागि अधिकार र चयनमा सुनिश्चितता भन्ने नारा तय गरिएको छ । नेपालको परिवर्तित जनसाङ्ख्यिकी बनावटको सही व्यवस्थापन गर्ने विषय चुनौतीको रुपमा रहेको छ । गरिबी, अशिक्षा, हिंसा विभेद जस्ता कारण सबैलाई समान पहुँचमा पुर्याउन चुनौती छ ।
अहिले जनसङ्ख्या वृद्धिद्धर घट्दै गए पनि जनसङ्ख्या स्थिर हुन अझै कम्तीमा दुई तीन दशक लाग्ने अनुमान छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार महिलाको सङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको छ भने पुरुषको सङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ । नेपालका ७७ जिल्लामध्ये उच्च हिमाल र मध्य पहाडका ३२ जिल्लामा जनसङ्ख्याको वार्षिक वृद्धिदर ऋणात्मक छ ।
आर्थिक खबर
सोधनान्तर स्थिति २६९ अर्ब घाटामा
मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको सोधनान्तर स्थिति चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्तसम्म) मा २६९ अर्ब रुपैयाँ घाटामा पुगेको छ । यो आर्थिक वर्षको पहिलो वर्षबाटै उच्च आयात, निर्यातको हिस्सा कम, विप्रेषण आप्रवाहमा कमी तथा पर्यटक आगमन कम हुँदा मुलुक भित्रने रकम कम भएको हो । यसले सोधनात्मक स्थिति निरन्तर घाटामा गएको हो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को यसै अवधिमा सोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको शोधनान्तर स्थिति यस आवमा भने २ अर्ब २६ करोड डलरले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
मूल्यवृद्धि ८.५६ प्रतिशत, उपत्यका र तराईमा उच्च महँगी
चालु आर्थिक वर्षको ११ महिनामा समग्र मूल्यवृद्धि ८.५६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको ११ महिनामा यस्तो मूल्य वृद्धि ४.१९ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०७८ जेठको तुलनामा यस जेठमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यु तेलको मूल्य २२.६० प्रतिशतले बढेको छ । यस्तै दुग्ध पदार्थ तथा अण्डाको मूल्यवृद्धि ११.२२ प्रतिशत छ ।
एक महिनामा बढ्यो ३० अर्ब विदेशी मुद्रा सञ्चिति
जेठ महिनामा वैदेशिक मुद्रा सञ्चितिमा आंशिक सुधार भएको छ । जेठ मसान्तमा आइपुग्दा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति कायम भएको छ । वैशाख मसान्तमा यस्तो सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबर रहेको थियो । एकै महिनामा २९ अर्ब ९६ करोड रुपैयाँ बराबरको सञ्चिति बढेको हो । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले घटेर २०७९ जेठमा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने बताउनु भएको छ । संसदको अर्थ समितिले गरेको मौद्रिक नीति सम्बन्धि छलफलमा सहभागी हुँदै गभर्नर अधिकारीले चालूआर्थिक वर्षमा मुद्रा स्फितिलाई साँढे ६ प्रतिशतमा कायम राख्ने लक्ष्य लिएकोमा मुद्रास्फिति लक्ष्य भन्दा माथि गएको बताउनुभयो ।
मूल्य वृद्धि यो भन्दा माथि जान नदिन ब्याजदर बढाउनुपर्ने उहाँको तर्क थियो । विकसित मुलुकहरूमा समेत यो वर्ष मुद्रास्फिति ५ दशमलव ७ प्रतिशत पुग्ने अनुमान रहेको बताउदै उहाँले नेपालमा पनि मूल्यवृद्धि सीमाभित्र राख्न कठिन भएको बताउनुभयो ।
यसैबीच पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बाह्य क्षेत्रमा देखिएको दबावलाई व्यवस्थित गर्न गरेका प्रयासले अर्थतन्त्रमा दोहोरो समस्या पर्नसक्ने भन्दै राष्ट्र बैंकलाई सचेत गराउनु भएको छ । समितिको छलफलमा भाग लिँदै उहाँले विदेशी मुद्रा सञ्चितिमा चाप पर्नसक्ने र आर्थिक गतिविधि सिथिल हुने जिकिर गर्नुभयो ।
७७ अंकले घट्यो नेप्से परिसूचक
साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । आज सार्वजनिक बिदा परेपछि आज भएको कारोबारमा नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १३.०३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ५.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अंकले घटेको छ । आज कारोबारमा आएका २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा सबैभन्दा बढी व्यापार उपसमूहको ५.७८ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स उपसमूहको परिसूचक ५.७३ अंकले गिरावट आएको छ भने जलविद्युत उपसमूहको पनि ५.१९ प्रतिशतले गिरावट आएको छ ।
विदेशका खबर
श्रीलङ्काका राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्रीद्धारा पुष्टि
श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आगामी मार्च अघि आमनिर्वाचन हुने भएको छ । वर्तमान राष्ट्रपति गोताबाया राजपाक्षेले आगामी बुधबार संसद्का सभामुखलाई राजीनामा बुझाई राष्ट्रपतिको आफ्नो कार्यकाल अन्त्य गर्नुहुने र अर्को वर्ष मार्चअघि राष्ट्रपति र संसदीय निर्वाचन गराउने निर्णय गरिएको श्रीलंकाको स्थानीय समाचार संस्था डेली मिररले जनाएको छ ।
राष्ट्रपति राजापाक्षले पदबाट राजीनामा दिने बारेमा प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई जानकारी गराइसक्नु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । आन्दोलनकारीहरुको चर्को दबाबपछि उहाँले राजीनामा दिने तयारी गर्नु भएको हो ।
उहाँको राजीनामाको माग गर्दै आन्दोनलकारीहरुले शनिबारदेखि अहिलेसम्म पनि राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन् । सभामुख महिन्दा याप अबेवार्डेनले पनि पत्रकार सम्मेलन गरेर राष्ट्रपति राजापाक्षले यही असार २९ गते राजीनामा दिने जानकारी दिनुभयो ।
उहाँले यसअघि संसदमा पनि यस बारेमा जानकारी दिनुभएको थियो । श्रीलङ्काको संविधानअनुसार राष्ट्रपतिले सभामुखलाई पत्र पठाएपछि मात्र राजीनामा स्वीकृत हुन सक्छ । तर अहिलेसम्म उहाँले राजीनामा बुझाउनु भएको छैन । राष्ट्रपतिले औपचारिक रूपमा पदत्याग गरेको एक साताभित्र सभामुखले राजनीतिक दलहरूले संयुक्त सरकार आह्वान गर्ने व्यवस्था छ ।
यस्तै, प्रदर्शनकारीले प्रधानमन्त्रीले समेत राजीनामा दिनु पर्ने माग गरेकाले प्रधानमन्त्री विक्रमासिङ्घे पनि राजीनामा दिन तयार हुुनु भएको छ । राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्री विक्रमासिङ्घेले बताउनुभएपनि राष्ट्रपतिले नै भने यस बारेमा अहिलेसम्म केही बताउनुभएको सार्वजनिक भएको छैन ।
उहाँले आफैले सार्वजनिक रुपमा नभन्दासम्म विश्वास गर्न नसकिने प्रदर्शनकारीको भनाई छ । यसअघि आन्दोलनकारीहरुकै दबाबमा तत्कालिन प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिनु भएको थियो । मुलुकको आर्थिक सङ्कटको मुख्य कारण राजापाक्ष दाजु भाइ नै भएको भन्दै दुवै जनाको राजीनामा माग गरिएको छ । चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा केही महिनादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ ।