Live Streaming

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ८ जनाको सनाखत

रामेछापको सुनापाती गाउँपालिकामा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । घटनास्थलमा ९ र उपचारका लागि लैजाँदै गर्दा बाटैमा २ तथा एक यात्रुको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । आज बिहान बा ३ ख ८३९६ नम्बरको बस सुनापती–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा दुर्घटना भएको हो । 

सो दुर्घटनामा मृत्यु भएकामध्ये ८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी सुनापाती गाउँपालिका–५ की ६० वर्षीया तमरिता तामाङ, सोही ठाउँकी २२ वर्षकी विपना तामाङ, ३६ वर्षकी सञ्जु आलेमगर र ६० वर्षका खड्ग विक रहेका छन् । 

यस्तै, सुनापाती–४ की ६० वर्षीया सन्दीपा तामाङ, काभ्रे मण्डनदेउपुर–९ की ६० वर्षकी शुभलक्ष्मी मानन्धर, रोशी गाउँपालिका–४ का वर्ष नखुलेका कमल तामाङ र सुदीप गजमेरको घटनास्थलमै मृत्यु भएको रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिनुभयो । 

उहाँका अनुसार अस्पतालमा मृत्यु भएका तीनजना र घटनास्थलमै मृत्यु भएका एकको सनाखत हुन सकेको छैन । दुर्घटनामा २५ भन्दा बढी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको डिएसपी थिङले जानकारी दिनुभयो । 

सो बसका चालकले ब्रेक फेल भएकाले दुर्घटना भएको प्रहरीलाई बताएका छन् । प्रहरी नियन्त्रणमा रहेका बस चालक दोलखाका प्रेमबहादुर घतानीले सोधपुछका क्रममा ब्रेकफेल भएका कारण दुर्घटनामा परेको बताएका हुन् ।