एकै घरका पाँच जनाको निसास्सिएर मृत्यु
ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । आज बिहान घरको बन्द कोठाभित्र चार जना मृत भेटिएका थिए भने अचेत अवस्थमा फेला परेका दुई जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले ‘कार्बन पोइजनिङका कारण उनीहरुको मृत्यु भएको देखिएको छ । कोठाभित्र कार्बन डाइअक्साइड बढी भएर निसास्सिएर मृत्यु भएको हुन सक्ने चिकित्सकलाई उदृत गर्दै ललितपुर प्रहरी परिसरका प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । कोन्ज्योसोम गाउँपालिका-४ नल्लुकी ५५ वर्षीया काइली स्याङताङ, २२ वर्षीया बुहारी शुष्मा स्याङताङ, ९ वर्षीय नाति आशिष र ५ वर्षीया नातिनी आश्मा स्याङताङ घरभित्रै मृत फेला परेका थिए । त्यस्तै, अचेत अवस्थमा फेल पर्नेमा २३ वर्षीय छोरा शुभाष स्याङताङ र दुई दिने नाति थिए । उपचारका क्रममा दुई दिने नातिको पाटन अस्पतालमा मृत्यु भएको र शुभाषको उपचार भइरहेको प्रहरीले बताएको छ । घटनास्थलमा कोइला बालेको भेटिएको थियो ।