४ लाख घुससहित पक्राउ परेपछि ललितपुर एसएसपी हेडक्वाटर तानिए
काठमाडौँ, २२ माघ । मातहतका कर्मचारीको निगरानी गर्न नसकेको भन्दै ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीलाई हेडक्वार्टर तानिएको छ । ललितपुरका डीएसपीसहित तीन प्रहरी अधिकृत साढे चार लाख घुस सहित पक्राउ परेपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ठाडो निर्देशनमा अधिकारीलाई बिहिबार हेटक्वाटर तानिएको हो ।
केही दिन अघि ललितपुर प्रहरी परिसरका डीएसपी दयानिधि ज्ञवाली, इन्सपेक्टर रमेशकुमार सिंह र सई लालमणि पाण्डे साढे चार लाख रुपैयाँ घुस सहित पक्राउ परेका थिए । आफूमातहतका कर्मचारीलाई निगरानी नगरेको र आचरण विपरीत काम हुँदा पनि त्यसको नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्न नसकेकाले अधिकारीलाई हेडक्वाटर तानिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।