मोर्चाको विवाद सतहमा देखिदै
काठमाण्डौँ, २२ माघ । आन्दोलनको स्वरुप बदल्नेबारे आन्दोलनरत संयुक्त लोकतान्त्रीक मधेसी मोर्चामा विवाद देखिएको छ । पाँच महिनायता नेपाल–भारत नाकालाई केन्द्रित गरि आन्दोलन चलाउँदै आएको मोर्चामा नाकाकेन्द्रित आन्दोलन अघि बढाउने कि शहर केन्द्रित गर्ने भन्ने दुई धार देखिएको हो ।
मोर्चाको घटक संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुर नाकाकेन्द्रित आन्दोलनमै जोड दिइरहेका छन् भने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने आन्दोलनलाई नाकाकेन्द्रित बनाउनुको अर्थ नरहेको बताउन थाल्नुभएको छ । बिहारी नेताहरुलाई भेटेर स्वदेश फर्किएका महतोले बिहिबार विराटनगरमा संचारकर्मीहरुसंग सबै नाका खुलिसकेपछि एउटामात्र नाका बन्द गर्नुको अर्थ नरहेको बताएपछि मोर्चाभित्रको विवाद सतहमा देखिएको हो ।
आफु उपचारका क्रममा दिल्लीमा रहेका बेला यता हुने दलहरुले सबै नाकामा चलेको शसक्त आन्दोलन कमजोर बनाएको भन्दै अध्यक्ष महतो असन्तुष्ट देखिनुभएको छ । तर कुनै निर्णय बिनै आन्दोलनको स्वरुप परिवर्तन हुने भन्दै अध्यक्ष महतोले दिएको अभिव्यक्तिप्रति भने मोर्चाकै अन्य नेताहरु खुशी छैनन् । तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता राम नरेश राय यादवले महतोप्रति व्यंग्य गर्दै दिल्लीमा बसेर आन्दोलन शसक्त नहुने टिप्पणी गर्नुभयो ।
रेडियो अन्नपूर्ण नेपालसंग कुरा गर्दै बरिष्ठ नेता यादवले दिल्लीमा बसेर सबै नाका बन्द नहुने भन्दै अध्यक्ष महतोको अभिव्यत्तिको खण्डन गर्नुभयो । उहाँले कस्तो आन्दोलन गर्ने हो भन्ने कुरा मोर्चाको बैठकले तय गर्ने बताउनुभयो । मोर्चाको बैठक केहीदिनमै राजधानीमा बस्ने तयारी भइरहेको रायले जानकारी दिनुभयो ।