विहारबाट फर्किएपछि मोर्चाका नेता विरगञ्जमा बैठक बस्दै
विरगंज, २० माघ । तराई मधेसमा जारी आन्दोलनका बिषयमा भारतीय समर्थन जुटाउन बिहारको पटना पुगेका मधेसी मोर्चाका नेताहरु नेपाल फर्किएसँगै बैठकको तयारीमा जुटेका छन । मोर्चाको बैठक वीरगञ्जमा बस्ने तयारी भएको नेताहरुले बताएका छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव वीरगञ्जमा हुनुहुन्छ भने तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर बैठकका लागि भन्दै काठमाण्डौबाट वीरगञ्ज पुग्नुभएको छ । सद्भावना अध्यक्ष राजेन्द्र महतो भने विहारबाट फर्किएसँगै विराटनगर जानुभएको छ । मधेसी मोर्चाका शीर्ष नेताहरुको वीरगञ्जमा बस्ने बैठकले आन्दोलनको समिक्षा गरी आगामी रणनीति तय गर्र्नेे बताइएको छ । फोरम नेपालका अध्यक्ष यादव र तमसपा अध्यक्ष राय गएराति नै नेपाल फर्किनुभएको हो भने सद्धावना अध्यक्ष राजेन्द्र महतो आज आउनुभएको हो ।
हिजो बेलुकी मोर्चा नेताहरुले भारतीय जनता पार्टीका बिहार अध्यक्ष शुसीलकुमार मोदीसँग भेटवार्ता गर्दै नेपाल सरकारलाई आफ्ना माग पूरा गर्न दबाब दिन आग्रह गरेका थिए । मोर्चाका नेतात्रय राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र राय यादवले केन्द्रीय सरकारले आन्दोलन छाड्न र वार्तामार्फत समस्या समाधानमा लाग्न दबाब दिएको भन्दै दुखेसो गरेको थिए ।
गत तीन दिनदेखि बिहारमा रहेका मोर्चाका शीर्ष नेताले यसअघि भारतीय जनता दलका नेता लालु प्रसाद यादव र विहारका मुख्यमन्त्री नितिस कुमारसँग समेत भेटेर सहयोगको याचना गरेका थिए । मोर्चाका नेताहरुको पटना भ्रमण र त्यहाँ भएको गतिविधिका विषयमा नेपालमा आलोचना भएको छ ।