Live Streaming

​पूर्वी नेपालमा आठौं प्रदेश,राजधानी विराटनगरमा : गच्छदार

काठमाडौं,२९ पौष । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पूर्वी तराईमा आठौं प्रदेश बनाइ त्यसको राजधानी विराटनगर कायम गरिने बताउनुभएको छ । मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले पूर्वी तराईमा छुट्टै प्रदेश बनाउनु पर्ने बताउनु भएकोे हो ।

पूर्वी तराईमा आठौ प्रदेश बनाए मात्र मधेशका माग सम्बोधन हुने दाबी गर्दै उहाँले भन्नुभयो, ‘पश्चिमको कैलाली र कञ्चनपुरलाई तल्लो तथा पाल्पा, गुल्मी र अर्घाखाँचीलाई उत्तरतर्फको प्रदेशमा मिलाउनु पर्छ ।’ आन्दोलनरत मधेशवादी र प्रमुख दलको अतिवादी सोचका कारण पूर्वी तराईका जिल्ला विवादमा तानिएको बताउँदै गच्छदारले तीन जिल्लाका जनताको भावनाअनुसार नै राज्य बन्ने बताउनुभयो ।  

सप्तरी र सिराहको पूर्वी क्षेत्र पनि नयाँ प्रदेशमा समेट्न सकिने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘त्यो पनि हुन्न भने झापा, मोरङ र सुनसरीको अलग्गै प्रदेश बन्छ त्यसको लागि म अभियानको नेतृत्व लिन तयार छु ।’ गच्छदारले व्यवहारिक हिसाबले पनि पूर्वका जनताको भावना समेट्नका लागि आठौं प्रदेश चाहिएको र त्यसका लागि कांग्रेस, एमाले तथा एमाओवादी पनि सकारात्मक बन्दै गएको दाबी गर्नुभयो ।

एक अर्को प्रसंगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहनुभएका गच्छदारले पाँच महिनादेखि अवरुद्ध बनेको ड्राइभिङ लाइसेन्स सात दिनभित्र सुरु गरिने जानकारी समेत दिनुभयो ।