पाकिस्तानमा विस्फोट ,१५ को मृत्यु
एजेन्सी
काठमाडौं,२९ पौष । पाकिस्तानको क्वेटा सहरमा भएको एक विस्फोटमा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी मानिस घाइते भएका छन् । क्वेटा सहरको सेटेलाइट टाउनमा रहेको एक पोलियो सेन्टर नजिकै आज बिहान उक्त विस्फोट भएको हो । प्रत्यक्षदर्शीलाई उदृत गर्दै समाचारमा जनाइए अनुसार बिस्फोटले उक्त क्षेत्रको जमिननै हल्लिएको र विस्फोटपछि फायरिङग पनि भएको बताइएको छ ।
बिस्फोट लगत्तै सुरक्षाकर्मीहरूले उक्त क्षेत्र घरेका छन् । विस्फोटपछि प्रहरी र उद्धारकर्मीहरू पनि पुगेर घाइतेहरूको उद्दार गरेका थिए । विस्फोटबाट घाइते भएका मानिसहरूलाई क्वेटाको सिभिल अस्लतालमा पठाइएको छ । गत सोमबारदेखी क्वेटा र बलुचिस्तानका अन्य जिल्लामा एक तीन दिवसीय पोलियो विरोधी अभियान सुरू गरिएको थियो ।
आज त्यसको अन्तिम दिन थियो । यसै अनुसार पोलियो केन्द्रबाट बालबालिकालाई पोलियो खुवाउनका लागि टोली पठाउन लागिएको थियो । उक्त अभियानमार्फत उक्त क्षेत्रमा रहेका ५ वर्षमुनीका कम्तिमा साढे दुई लाख बालबालिकालाई पोलियो खोप लगाउने योजना रहेको थियो । यसमा अफगान शरणार्थीहरूका ५५ हजार भन्दा बढी बालबालिका पनि रहेको छन् । सुरक्षा संयन्त्रका अधिकारीहरूका अनुसार जुन समयमा विस्फोट भएको थियो ।
सो समय पोलियो टोली पोलियो केन्द्रतर्फ जान लागेका थिए । पाकिस्तानमा लामो समयदेखि पोलियो कार्यकर्तालाई जासूसी या मुसलमानहरूलाई बाझो बनाउने हल्ला फैलाउँदै निशाना बनाउने गरिएको छ ।