ओलीले जथाभावी भाषण गरेर समय खेर फाल्यो : नेता खनाल
काठमाडौं,२८ पौष । नेकपा एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी भाषण गर्दै हिंडेर समय खेर फालिरहेको आरोप लगाउनु भएको छ । सरकार गतिशील र प्रभावकारी हुन नसकेको भन्दै उहाँले प्रधानमन्त्री ओलीलाई जिम्मेवार भएर बोल्न आग्रह गर्नुभयो ।
प्रेस चौतारीले कास्कीको पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमालेका वरिष्ठ नेता खनालले तीन महिने कार्यकालमा सरकारको कामकारवाही प्रभावकारी नदेखिएको र यसमा प्रधानमन्त्री ओली मुख्य जिम्मेवार रहेको बताउनु भएको हो । नेता खनालले सरकारले मधेशका जिल्लामा शान्ति सुरक्षा प्रभावकारी बनाउन नसकेको आरोप पनि लगाउनु भयो ।
उहाँले मधेशमा जुलुस निकाल्ने र जुलुसमा सहभागी नहुने सबैलाई सुरक्षित तुल्याउनु सरकारको दायित्व भएको उल्लेख गर्नुभयो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले माग गरे अनुसार मधेशका जिल्लामा २ प्रदेश सम्भव नरहेको बरू प्रदेशको संख्या भने ५ वटामा झारिनुपर्ने खनालको तर्क थियो । उहाँले सीमांकन हेरफेर गर्दा प्रदेशको संख्या घटाउन आफूले सक्दो पहल गर्ने पनि बताउनु भयो ।