आज पृथ्वी जयन्ती मनाइँंदै
काठमाडौं,२७ पौष । आज पुस २७ गते, अर्थात पृथ्वी जयन्ती । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २ सय ९४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमहरु गरी मनाईंदै छ । १७७९ साल पुस २७ गते गोर्खामा जन्मनुभएका शाहले आफ्नो शासनकालमा स साना राज्यलाई जोडेर राज्य विस्तारका क्रममा नेपाल एकीकरण गर्नुभएको थियो ।
यही योगदानलाई कदर गर्दै हरेक वर्षको पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२–२०६३ सालको दोस्रो जनआन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । यसपटक पनि मन्त्रिपरिषदमा छलफल भए पनि सहमति नजुटेपछि एकता दिवस मनाउने कार्यक्रम तय नगरिएको हो ।
उप प्रधानमन्त्रीहरु कमल थापा र सीपी मैनालीले नै मन्त्रिपरिषदमा प्रस्ताव लगे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद बढ्ने भन्दै अस्वीकृत गर्नुभएको थियो । तर जनस्तरमा भने यो दिवस मनाउने क्रम भने अझै कायमै छ । सरकारमा सहभागि दल राप्रपा नेपालले भने आज चियापान कार्यक्रम राखेको छ ।
सिंहदरबारको पश्चिम ढोकाको अगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण तथा एक कार्यक्रमको आयोजना गरिएको छ । यसवर्ष पनि जनस्तरबाट भव्यताको साथ यो दिवस मनाईदै छ । पछिल्ला वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारमाथि दबाब बढिरहेको छ ।
नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । तर कतिपयले भने शाहको आलोचना गर्छन् । तैपनि पृथ्वी नारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।