Live Streaming

प्रमको सुरक्षा निकायलाई निर्देशन


काठमाडौं,२६ पौष । भारी हिमपात र चिसो बढेसँगै भुकम्प पीडितको विचल्ली भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राहत तथा उद्धारका कार्यक्रम अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । आज बिहान सिंहदरबारमा गृहमन्त्री शक्ति बस्नेत र रक्षा मन्त्री भिम बहादुर रावललाई बोलाएर भुकम्पपीडितलाई चाँडो भन्दा चाँडो चिसोबाट मुक्त गराउनको लागि सुरक्षा निकायलाई परिचालन गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

बैठकमा गृहमन्त्री, रक्षामन्त्रीसँगै सुरक्षा निकायका प्रमुखहरुको सहभागीता थियो । बैठकमा हिमपातले भूकम्प पीडित झन् समस्यामा परेका बेला अपनाउन सकिने सहयोगका विषयमा पनि छलफल भएको थियो । शुक्रबार राति हिमपात भएपछि गोर्खाका लाप्राक, बारपाक, गुप्सीपाखा, घ्याच्चोकलगायत क्षेत्रका बासिन्दाको बिचल्ली भएको छ ।

टहरोमा बस्दै आएका भूकम्प पीडित परिवारको दैनिकी कष्टकर बनेको छ  । यसैबिच प्रधानमन्त्री ओलीले भुकम्पपीडितको पुनरुत्थानका लागि सरकारले पहल गरीरहेको भएको छ । व्यवस्थापिका संसदको विशेष समितीमा प्रधानमन्त्री ओलीले भुकम्पपीडितका लागि मात्र सरकारले ५ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी निकासा गरिसकेको जानकारी दिनुभयो ।