Live Streaming

​कार्यदल स्तरीय वार्ता सकारात्मक उन्मुख

काठमाडौं, २५ पौष- प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यदलबीच जारी वार्ता सकारात्मक उन्मुख देखिएको छ । कार्यदल सदस्य राम नरेस रायले आज बस्ने कार्यदलस्तरीय बैठकमा मोर्चाको ११ बुँदे मागमा प्रमुख तीन दलले ठोस धारणा राख्ने कार्यक्रम रहेको बताउनुभयो ।  दिउँसो ४ बजे तय गरिएको बैठकमा सीमांकन विवाद टुङ्गो लगाउन राजनीतिक सयन्त्र बनाउने र अरु विषय संविधान संसोधन मार्फत सहमति गर्नेमा वार्ता केन्द्रित हुने उहाँको भनाइ छ ।  

मोर्चाको मागप्रति ठोस धारणा लिएर प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीको कार्यदल आउने गरी हिजोको बैठक सकिएको उहाँको भनाइ छ । हिजोको वार्ता पनि मोर्चाका ११ बुँदे मागबारे छलफल केन्द्रित थियो । वार्ताले सकारात्मक मोड लिएको भन्दै कार्यदलका सदस्यहरूले छलफल निरन्तर हुने र अर्को वार्तामा ११ बुँदेबारे ठोस धारणा बनाएर छलफल केन्द्रित हुनेगरी हिजोको वार्ता सकिएको बताएका थिए । मोर्चाले उच्चस्तरीय राजनीतिक समितिमार्फत प्रदेशको सीमांकन फेरबदल गर्न तयार भएपछि प्रमुख दल समितिको कार्यविधिबारे छलफल गर्न खोजिरहेका छन् । तर, मोर्चाका नेताहरूले वार्ताको क्रममा राजनीतिक विषय पहिले टुंगो लगाउँदा सजिलो हुने बताइरहेका छन् ।