पञ्चेश्वर विकास प्राधिकरण सञ्चालक परिषदको बैठक सारियो
काठमाडौं, २२ पौष ।
दुइ दशकदेखि अलपत्र परेको पञ्चेश्वर विकास प्राधिकरण सञ्चालक परिषदको बैठकको मिति सरेको छ । भारतस्थित नेपाली राजदूतावासका अनुसार नेपाल र भारतका प्रतिनिधिहरु सम्मिलित परिषदको बैठक भोलीका लागि तय भएको थियो । तर केही समयका लागि बैठक मिति सार्न भारतका जलस्रोत सचिवले आग्रह गरेपछि तत्कालका लागि बैठक स्थगित भएको हो । तर झण्डै ६ हजार मेगावाट बिजुली उत्पादन सहितका लक्ष्य बोकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन दुवै देश उत्सुक रहेकाले बैठक चाँडै बस्ने भारतीय जलश्रोत सचिवको भनाइ छ ।
तराई अन्दोलन र नाकाको अवरोधका बारेमा भारतले देखाएको प्रतिक्रियाका माझ पञ्चेश्वर विकास प्राधिकरण पीडिएको सञ्चालक परिषदको बैठक सारिएको विषयलाई चासोपूर्वक हेरिएको छ । तर यो बैठक सारिनुमा वर्तमान द्धिपक्षीय सम्बन्धको अवस्थाले प्रभाव नपारेको नेपाली राजदूत दीपकुमार उपाध्यायले बताउनुभयो । डेढ वर्ष अगाडी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाल भ्रमणपछि झण्डै दुई दशकदेखि अलपत्र परेको सो आयोजना अघि बढाउन दुवै देशले तदारुकता देखाएका थिए । हाल एक भारतीय कम्पनीले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउने काम गरिरहेको बताइएको छ ।
नेपाल र भारतबीच गत वर्ष भएको उर्जा व्यापार सम्झौता पश्चात ९०० मेगावाट क्षमताका अरुण ३ र माथिल्लो कर्णाली आयोजना भारतको एसजेवीएन र जीएमआरले बनाउने सहमति भएको थियो ।