Live Streaming

​भारतबाट थप ९० मेगावाट विद्युत आउने


काठमाडौं,१७ पौष । मुलुकमा चरम ऊर्जा सङकट उत्पन्न भएका बेला आगामी १६ माघभित्र भारतबाट थप ९० मेगावाट विद्युत ल्याउने तयारी भएको छ । निर्माणाधीन ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन यसै महिनाको अन्त्यसम्म पूरा गर्ने र आवश्यक प्राविधिक परीक्षणसमेत गरेर थप विद्युत् ल्याउने तयारी गरिएको हो ।

भारतबाट हाल विभिन्न विन्दुबाट २३५ मेगावाट विद्युत् आयात भइरहेको अवस्थामा नेपाल र भारतीय पक्षबीच भएको सहमतिअनुसार थप विद्युत् आयात गर्न लागिएको हो । राष्ट्रिय प्रसारणमा उक्त परिमाणको विद्युत् थप भएपछि विद्युत् भार कटौतीबाट एकाध घण्टा राहत मिल्नेछ । मुलुकभित्र हाल सञ्चालनमा रहेका आयोजनाबाट ७८० मेगावाट विद्युत् उत्पादन भइरहेको छ तर, माग भने कुल १३०० मेगावाट छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रसारण निर्देशनालयका प्रमुख कन्हैयालाल मानन्धरले रणनीतिक महत्वको आयोजनाको रुपमा रहेको ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमा उल्लेख्य प्रगति भएको जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरणले केही समय पहिले भारतीय पक्षसँग द्वीपक्षीय छलफल गरेर तत्कालै आयोजना सम्पन्न गर्ने र ९० मेगावाट विद्युत् आयात गर्ने समझदारी समेत गरेको थियो ।