Live Streaming

​संविधान संशोधनमार्फ मधेशी मोर्चाको माग पूरा गर्नसकिन्छ : सभापति कोइराला


काठमाडौं,१७ पौष । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधान संशोधन मार्फत मधेसी मोर्चाको माग पूरा गर्न सकिने बताउनु भएको छ । सिमांकन विवाद आयोग मार्फत टुंग्याउँदै अन्य माग तत्काल संविधान संशोधनमार्फत पूरा गर्न सकिने उहाँको भनाइ थियो । कास्कीको पोखरामा कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति कोइरालाले मधेसका माग वार्ता र छलफलबाट टुंगिने बताउनु भएको हो ।

कोइरालाले भन्नुभयो, सशस्त्र द्वन्द्वमा लागेको माओवादीलाई त वार्ता र संवादवाट समाधान दिन सक्यौं भने मधेसमा आन्दोलनरत दलका माग पनि हामी वार्ताबाटै समाधन गर्न सक्छौँ । प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका कोइरालाले वर्तमान सरकारको कार्यशैली सहमति बिगार्नेतर्फ उद्दत रहेको आरोप लगाउनुभयो ।

गृहमन्त्रीले पुरानै शैलीमा बन्दुकको डरधम्की देखाएर मधेसी जनतालाई तर्साउने प्रयास गरेको उहाँको आरोप थियो । फरक प्रसंगमा सभापति कोइरालाले कांग्रेसभित्र व्यक्तिवादी चरित्र हावी हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यसले पार्टीको एकतालाई नै खलबलाउनसक्ने भन्दै उहाँले व्यक्तिवादी चरित्र तत्काल छाड्न नेता कार्यकर्तालाई आग्रह गरे । कोइरालाले बाह्रौं महाधिवेशनले पार्टी एकताको सन्देश दिएपनि हाल गुटउपगुट मौलाएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभयो । मेलमिलाप दिवसको कार्यक्रममा सहभगि हुन हिजो स्याङजा पुगेका कोइराला आज कार्यकर्ता सम्वोधनका लागि पोखरा पुग्नु भएको हो ।