मधेश आन्दोलनको डिजाईन बीपी प्रतिष्ठानबाट
रत्नप्रसाद आचार्य
धरान,१६ पौष । संयुक्त मधेसी मोर्चाको आन्दोलन पछिल्लो समय धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट हुने गरेको प्रमाण फेला परेको छ । विराटनगरको जोगवनी नाकामा प्रहरीको झडपका क्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएपछि उनी उपचारको बाहनामा प्रतिष्ठान भर्ना भएर मधेश आन्दोलनको डिजाइन गर्ने गरेको खुलासा भएको छ । विराटनगरको गोल्डेन अस्पतालबाट डिसचार्ज भएका पूर्व स्वास्थ्यमन्त्री महतोलाई प्रतिष्ठानकै पदाधिकारीहरुले अस्पताल भर्ना गरी मधेश आन्दोलन थप शसक्त बनाउन उचाल्ने गरेको प्रतिष्ठान श्रोतले जानकारी दिएको छ ।
राजेन्द्रलाई मधेश आन्दोलन शसक्त पार्न र आन्दोलनको स्वरुप परिवर्तन गर्न प्रतिष्ठानका उपकुलपती बलभद्रप्रसाद दास र निर्देशक अरविन्द सिन्हाले सल्लाह दिने गरेको प्रतिष्ठानका एक चिकित्सकले नाम नछाप्ने सर्तमा बताएका छन् । महतोलाई गोल्डेन अस्पतालमा छदा उपकुलपती दासले फोन सम्पर्क गरी धरान आउन आग्रह गरेपछि महतो मध्यरातमा प्रतिष्ठानको आईसीयू वार्डमा भर्ना भएको ति चिकित्सकले बताए । महतो प्रतिष्ठान आएपछि प्रत्येक रात मधेश आन्दोलनको समिक्षा गरी थप रणनिति तयार हुने गरेको श्रोतले जानकारी दिएको छ ।
जुनसुकै अस्पतालमा बिरामी भर्ना हुँंदा अस्पताको आकस्मिक कक्षमा भर्ना भइ आकस्मिक कक्षका चिकित्सकहरुको सल्लाह अनुसार कुन वार्डमा भर्ना गर्ने हो सोहि वार्डमा विरामी भर्ना गर्ने प्रावधान छ । तर महतोलाई उपकुलपती दास र निर्देशक सिन्हाको निर्देशनमा सिधै अस्पतालको आइसियु वार्डमा भर्ना गरी हाल पेइङ वार्डमा सारिएको छ । त्यसोत अस्पतालमा बिरामीको करुवा एक जनाभन्दा बढी बस्न नपाइने अर्को प्रावधान छ । तर हतोसंँंग करिव २ दर्जन केन्द्रिय सदस्यसहित कार्यकर्ता अस्पतालको बेडमै बसेर मधेश आन्दोलनको ग्रान डिजाइन गरिरहेका छन् ।
रातीको समयमा प्रतिष्ठानका उपकुलपती दास निर्देशक सिन्हा राति आएर बैठक बस्ने र मधेश आन्दोलनको डिजाइन गर्ने गरेको प्रतिष्ठानकै चिकित्सकहरुले बताएका छन् । दास र सिन्दा भने महतो स्वास्थ्य मन्त्री छदा राजनैतिक नियुक्ति पाएर प्रतिष्ठानको उपकुलपती र निर्देशक बनेका थिए । महतोको उपचार नेतृत्व गरिरहेका हाडजोर्नी विशेषज्ञ डाक्टर पशुपति चौधरीले महतोको थप उपचार गर्नु आवश्यक रहेको बताएका छन् । चौधरीका अनुसार प्रेसर र सुगर नियन्त्रणमा ल्याउन फिजिसिजनको सल्लाह वमोजिम महतोले औषधी सेवन गरिरहेका छन् । प्रेसर र सुगर नियन्त्रणमा नआएसम्म अस्पतालमा राख्नुपर्ने उनको भनाई छ ।
यद्यपी, स्वास्थ्यमा भने खतरा नभएको उनले प्रष्ट पारेका छन् । अस्पताल भर्ना भएका महतोलाई प्रतिष्ठानमै गएर संचारकर्मीहरुले मधेश आन्दोलनका विषयमा बोल्न आग्रह गर्दा महतो कम्मल ओढेर गुटुमुटु हुने गरेका छन् । प्रतिष्ठानका उपकुलपतिकै पहलमा नेता महतोलाई धरान ल्याएको भनिएपनि उपकुलपति बलभद्रप्रसाद दासले भने अस्वीकार गरे । महतो विराटनगरबाट आफै मध्यराती एम्बुलेन्समा प्रतिष्ठान आएकोले भर्ना गरेर थप उपचार सुरु गरिएको दासले बताए ।
किन प्रतिष्ठान भर्ना भए महातो ?
राजेन्द्र महतो गोल्डेन अस्पतालबाटडिसचार्ज लिएर बीपी प्रतिष्ठानमा मा उपचार गर्न आउनुमा यहाँका प्रतिष्ठानका पदाधिकारीसँग उनको निकटता प्रमुख कारण बनेको छ । प्रतिष्ठानका मुख्य चार पदाधिकारीमध्ये उपकुलपति डाक्टर बलभद्र प्रसाद दास, अस्पताल निर्देशक डाक्टर अरविन्दकुमार सिन्हा र शिक्षाध्यक्ष डाक्टर बिक्रम श्रेष्ठ महतो स्वास्थ्यमन्त्री हुदा उनले नै नियुक्त गरेका थिए । प्रतिष्ठानको सहकुलपति समेत हुने स्वास्थ्यमन्त्रीको सिफारिशमा उपकुलपति नियुक्ती हुन्छ भने उपकुलपतिको सिफारिशमा स्वास्थ्यमन्त्रीले अस्पताल निर्देशक र शिक्षाध्यक्ष नियुक्त गनेृ प्रावधान छ । हाल प्रतिष्ठानमा कार्यरत रजिष्टार तुलबहादुर श्रेष्ठलाई मात्रै तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारी ले नियुक्त गरेका थिए । उपकुलपति दास र अस्पताल निर्देशक सिन्हा महतोका निकट मानिन्छन् ।
प्रतिष्ठानका केही पदाधिकारी मधेश आन्दोलनको पक्षमा रहेको आरोप पनि लाग्दै आएको छ । संविधानसभाबाट संविधान जारी भएको रात प्रतिष्ठान परिसरमै प्रतिष्ठानमा कार्यरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले संविधान जलाएका थिए । उक्त घटनाप्रति प्रतिष्ठानको नेतृत्व गरेका उपकुलपती दास मौन रहेकाले उनकै नेतृत्वमा संविधान जलाउन लगाइएको आरोप दासमाथि लाग्ने गरेको छ । तर, उक्त आरोपको दासले खण्डन गरेका छन् । मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकाहरुलाई उपचारको लागि बीपी प्रतिष्ठान ल्याइएको थियो ।
त्यति बेला प्रतिष्ठानले उपचाररत घाइतेहरुको निःशुल्क उपचार भइरहेको भन्दै विज्ञप्ती निकालेपछि सामाजिक सञ्जालमा निक्कै आलोचित बनेको थियो । मधेश आन्दोलनका घाइतेहरुलाई सरकारले नै निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको थियो । यसअघिका विभिन्न आन्दोलनहरुमा घाइते भएकाहरु प्रतिष्ठानमा उपचार गरिए पनि विज्ञप्ती नै निकालेर निःशुल्क उपचारको व्यवस्था गरेको घोषणा भने प्रतिष्ठानले गर्ने गरेको थिएन् ।