प्रधानमन्त्रीको अभिव्यक्ति पछि दोलखाली रुष्ट
काठमाडौं,१६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखामा फिल्मसिटी बनाउन उपयुक्त नभएको अभिव्यक्ति दिएपछि दोलखाली रुष्ट बनेका छन् । प्रधानमन्त्री ओलीकै पार्टी एमालेका नेता-कार्यकर्तासमेत उनको अभिव्यक्तिप्रति रुष्ट छन्। प्रधानमन्त्री ओलीले गत सोमबार एक कार्यक्रममा दोलखामा फिल्मसिटी बन्न नसक्ने अभिव्यक्ति दिएका थिए। दोलखाको लाँकुरीडाँडा गाविसको डाङडुङेमा निर्माणको क्रममा रहेको फिल्मसिटी गोरखा लान लागेको भन्दै दोलखावासी आन्दोलनमा उत्रिएका छन्। सामुदायिक वनको क्षेत्रमा पर्ने र फिल्म सिटीलाई आवश्यक पर्ने करिब १५ सय रोपनी जग्गा प्राप्ति अन्तिम चरणमा पुगेको छ फिल्मसिटी निर्माणको लागि सम्भाव्यता अध्ययन कार्य पूरा भइसकेको छ।चलचित्र विकास बोर्डले डाङ्डुङे डाँडामा फिल्मसिटी निर्माणको लागि चार वर्षदेखि विभिन्न चरणको कार्य गर्दै आएको छ।
त्यसको प्रारम्भिक प्रतिवेदनसमेत सकारात्मक आएको यसका अभियन्ता मदनदास श्रेष्ठ बताउँछन्। आयोजना निर्माणको लागि वातावरणीय प्रभाव मूल्यांकनको कार्यसमेत सम्पन्न भइसकेको छ। आर्थिक वर्ष ०७१-०७२ मा सरकारले वातावरणीय प्रभाव मूल्यांकन र सम्भाव्यता अध्ययन कार्यका लागि दुई करोड बजेट विनियोजन गरेकोमा हालसम्म ३७ लाख खर्च भइसकेको छ। कलाकार श्रेष्ठले सरकारले राष्ट्रिय प्राथमिकतामा राखेको आयोजनाविरुद्ध प्रधानमन्त्रीले बोल्दै हिँड्नु दुःखद भएको बताए। चार वर्षदेखि सरकारले खर्च गर्दै आएको र राष्ट्रिय प्राथमिकतामा परेको आयोजना सरकारी आयोजनाबारे थाहा नपाउनु दुःखद हो उनले भने।
फिल्मसिटिलाइदुई करोड बजेट विनियोजन गरेकोमा हालसम्म ३७ लाख खर्च भइसकेको छ।
फिल्म सिटीलाई गोरखामा लैजानुपर्ने अभिव्यक्ति प्रधानमन्त्रीले दिएको प्रति नेपाल चलचित्र विकास बोर्डले अनभिज्ञता प्रकट गरेको छ। बोर्डकी सदस्य रूपा रानाले चलचित्र विकास बोर्ड दोलखाको डाङ्डुङे डाँडामा नै फिल्मसिटी निर्माणको आयोजनामै लागिरहेको बताइन्। प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आफूलाई थाहा नभएको र बोर्डमा कुनै छलफल नभएको उनले जानकारी दिइन्। मंगलबार दिउँसो नेपाली कांग्रेस दोलखाले फिल्मसिटी गोरखा लैजान दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।
सो क्रममा कोणसभाको आयोजना गरी हरेक हिसाबले उपयुक्त रहेको डाङ्डुङे डाँडामा नै फिल्मसिटी निर्माण गर्न दबाब पनि दिइएको छ। त्यसैगरी दोलखा उद्योग वाणिज्य संघ, गौरीशंकर चलचित्र समाज, दोलखा र नागरिक समाज दोलखाले संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेका छन्। संयुक्त विज्ञप्तिमा प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति फिर्ता लिई निर्धारित डाङ्डुङे डाँडामा नै फिल्मसिटी निर्माणको कार्य यथाशीघ्र अघि बढाउन आग्रह गरिएको छ। नेकपा एमाले दोलखाका नेता दीपक धनुकेले प्रधानमन्त्रीको अभिव्यक्ति नसुहाउँदो रहेको बताउँदै तत्काल फिर्ता लिई दोलखामै फिल्मसिटी निर्माणतर्फ लाग्नुपर्ने बताएका छन्। लाँकुरीडाँडा गाविसका स्थानीय पनि आन्दोलित भएका छन्। उनिहरूले बुधबार केही समय चक्काजामसमेत गरेका थिए भने अब चरणबद्ध आन्दोलन गर्ने स्थानीय फुर्वा तामाङले बताए