जानकी प्रहरी चौकीमा प्रर्दशनकारीद्धारा पेट्रोल बम प्रहार
मनिका झा
जनकपुरधाम, पौष १३ गते । सद्भावना अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले विराटनगरमा दमन गरेको विरोधमा प्रहरी विरुद्ध प्रर्दशनमा उत्रिएका संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाका कार्यकर्ताहरुले जनकपुरको जानकी प्रहरी चौकीमा तीनवटा पेट्रोल बम प्रहार गरेका छन् । मोर्चाद्धारा जनकपुर बन्दलाई अझ बढि सशक्त बनाउने निर्णय तहत सोमबार विहानै देखि प्रर्दशनमा उत्रिएका आन्दोलनकारीहरुले जानकी मन्दिरको पछाडी रहेको जानकी प्रहरी चौकीमा ढुंगामुढा सुरु गरेपछि दुईतर्फी झडप सुरु भएको थियो ।
झडपको क्रममा प्रहरीले समेत प्रर्दशनकारीहरुलाई लखेट्दै कुटपिट गर्न थालेपछि प्रर्दशनकारीहरुले पेट्रोल बम प्रहार गरेका छन् । बम प्रहारबाट कुनै प्रकारको मानवीय क्षति नभएको जनाईएको छ । यता प्रहरीले समाचार संकलनमा गएका अप्पन टेलिभिजनको क्यामरा लठ्ठी प्रहार गरि फुटाउनुका साथै संचारकर्मी आश्तिक साह, रामह्दय यादव र क्यामरा मैन राकेश मिश्रलाई पक्राउ गरेको जनाईएको छ । त्यसैगरी जानकी चौकका १४ वर्षिय जितेन्द्र ठाकुर प्रहरीको कुटपिटबाट गम्भीर घाईते भएका छन् । प्रहरीले केही प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिएको जनाईएको छ ।