एम्वुलेन्स दुर्घटनामा तीनको मृत्यु
इलाम,१३ पौष । मेची राजमार्गको गोदक खण्डमा झापाबाट पाँचथर जाँदै गरेको एम्बुलेन्स सोमबार बिहान ३ बजे घट्टा गोलाईबाट खस्दा तीन जनाको मृत्यु भएको छ । घटनामा चालक सहित दुई घाइत भएका छन् । दुर्घटनामा परि फिदिम १ का आनन्द अघिकारी (४५), नरिमाया चौहान (५१) र रेनुका अधिकारी (३३)को घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । दुर्घटनामा घाईत भएका झापा सुरुङ ३ का ज्ञाननाथ प्रसाई (३६) र फिदिम १का टिकाराम अधिकारी (४३) लाई उपचारका लागि झापा विर्तामोडको विएनवी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
घोपाबाट उपचार पछि फर्कदै गरेका उनीहरु फिदिमको जनमैत्री सस्थाको मे १ च १७४० नम्बरको एम्बुलेन्समा घर फर्कदै थिए । विर्तामोड सम्म अर्के एम्बुलेनसमा आएका उनीहरु विर्तामोडबाट फिदिमको एम्बुलेन्समा घर फर्कदै गरेको गोदकका स्थानीय विष्णु गौतमले बताए । चालक प्रसाईले स्ट्रिङ लक भएर दुर्घटना भएकोको गोतमले बताए । एम्बुलेन्स सडकबाट ३ सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।