बस तोडफोड गर्ने मोर्चाका कार्यकर्ता विरुद्ध मुद्दा
विराटनगर,१२ पौष । विराटनगरको अस्पताल चोकमा शनिबार यात्रुबाहक बस तोडफोडमा संलग्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ४ कार्यकर्ताविरुद्ध मोरङ्ग प्रहरीले मुद्दा दर्ता गर्ने भएको छ । विराटनगरको जोगवनी नाकामा हिजो प्रहरीको लाठी प्रहारबाट सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहित अन्य नेता कार्यकर्ता घाइते भएपछि विरोधमा उत्रेका मोर्चाका कार्यकर्ताले को १ ख ४६४० नम्बरको यात्रुबसमा तोडफोड गर्नुका साथै चालक इटहरी ५ का मोहन थापालाई घाइते बनाएका थिए ।
घटनामा संलग्न मोर्चाका कार्यकर्ता विराटनगर २ का मोहम्मद अस्लम र कियस मिश्र, विराटनगर ६ का निफिन अली र सुनसरी नर्सिङ ५ का मनोज यादवलाई प्रहरीले घटना स्थलबाटै पक्राउ गरेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले उनिहरु चारैजनाविरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको बताउनुभयो ।