Live Streaming

महतोमाथि आक्रमणको विरोधमा मोर्चाको प्रदर्शन


काठमाडौं,१२ पौष । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि हिजो विराटनगरमा भएको आक्रमणको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले तराईका विभिन्न जिल्लामा आज बिहानैदेखि प्रदर्शन गरिहेका छन् । विराटनगरको जोगवनी नाकामा हिजो प्रहरीको लाट्ठी प्रहारबाट महतोसहित मोर्चाका अन्य नेता कार्यकर्ता घाइते भएका थिए । मोर्चाका कार्यकर्ता बिहानैदेखि विराटनगरका बजार बन्द गराउने प्रयास गरेपनि सुरक्षाकर्मीले त्यसलाई सफल हुन नदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले बताउनु भयो ।

मोर्चाका कार्यकर्ताले विराटनगरको महाविर रोड, रोडशेष चौक, मेन रोड, रंगेली रोड लगायतका स्थानमा प्रदर्शन गरीरहेका छन् । यसैगरी जनकपुरमा पनि मोर्चाका कार्यकर्ताले खानेपानी संस्थानलगायत केही सरकारी कार्यालयमा तोडफोड गर्नुका साथै प्रदर्शन गरिरहेका छन् । उनीहरुले केहि सरकारी कार्यलयमा आगजनीको प्रयास गरेपनि स्थानीयबासी तथा प्रहरीले रोकेका थिए । केहिदिनयता सामान्य बनेको बजार आज मोर्चाका कार्यकर्ताले बन्द गराएका छन् भने शिक्षण संस्थाहरु पनि सञ्चालन भएका छैनन् ।