व्यवस्थापिका संसदको बैठक बस्दै
काठमाडौं,१२ पौष । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो १ बजे बोलाइएको बैठकमा संविधान संसोधन विधेयकमाथि सैद्धान्तिक छलफल अघि बढाइने कार्यसूचीे छ । यद्यपी, आन्दोलनरत मधेशी मोर्चाको मागबारे साझा धारणा बनिनसकेकाले प्रमुख दलहरु आजको संसदको बैठक स्थगन गर्ने तयारीमा छन् । संसद् बैठअघि सभामुख ओनसरी घर्तीले दलका प्रमुख सचेतकहरुसँग पनि छलफल गर्दै हुनुहुन्छ । सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकले आफ्ना माग पुरा नहुने भन्दै मधेशी मोर्चाले विरोध जनाउँंदै आएको छ ।
मोर्चाले आफ्ना माग सम्बोधन नहुँदासम्म संसदमा अवरोध जारी राख्ने अडान राखेको छ । मधेशी मोर्चामा आवद्ध दलको नाराबाजीका बाबजुद सरकारले संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदको यसअघिको बैठकमा पेश गरेको थियो । प्रमुख दलहरुले मोर्चाका मागमा साझा धारणा बनाउने भनेपछि संविधान संशोधन विधेयकमाथि छलफल सुरु हुनबाट रोक्न यसअघि दुई पटक संसद् बैठक स्थगित गरिएको थियो ।