Live Streaming

राजनीतक समयन्त्र बनाएर सीमाङ्कनको टुंगो : प्रचण्ड

कुमार लुइँटेल

विराटनगर,१२ पौष ।  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सीमाङ्नको विषय अहिले नै टुंगो नलाग्ने तर परिमार्जनको विषयमा राजनीतिक समयन्त्र बनाएर अघि बढ्न मधेशी मोर्चा सकारात्मक भएको बताएका छन् । उनले राजनीतिक समयन्त्र कस्तो बन्ने र कसले नेतृत्व गर्नेबारे तय भई नसकेको बताए । विराटनगर विमानस्थलमा आइतबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले भने,‘सीमाङ्नलाई टुंगोमा पु¥याउने तीन महिनासम्मको समय अवधिलाई लिएर मोर्चा सकारात्मक देखिएको छ अहिल्यै टुंगो नलागेपनि समन्वय गरेर अघि बढ्ने तयारी भएको छ ।’ प्रचण्डले जारी मधेश आन्दोलन र मधेशीका माग सम्बोधन गर्ने विषयमा  सहमति हुने अवस्था अएको दाबी गरे ।

केही दिनभित्रै नयाँ सहमतिअनुसार अघि बढ्न मोर्चा सकारात्मक देखिएको प्रचण्डको भनाई थियो ।प्रचण्डले अहिल्यै आफूहरुले सरकारको समर्थन नत्याग्ने र त्यो सम्भावना पनि नरहेको बताउँदै ठूलो मन्त्रीमण्डल बनेकोमा आफूहरुलाई पनि राम्रो नलागेको बताए । उनले भने,‘ठूलो मन्त्रीमण्डल बन्दा हामीलाई पनि चित्त बुझेको छैन् ।’  संविधान संशोधन प्रक्रिया अगाडि पनि बढेकोले छिट्टै नै समस्या समाधान हुनेमा आफू आशावादी भएको प्रचण्डले बताए । जोगबनीमा धर्ना बस्ने क्रममा सद्भावना अध्यक्ष राजेन्द्र महतो घाइते भएको कुरा दुःखद भएको बताउँदै आफूले घटना भए लगत्तै गृहमन्त्रीसँग टेलफोन गरेर बुझेको प्रचण्डले बताए । उनले भने,‘राजनीतिक रुपमा समस्या समाधान गरिनु पर्छ भन्नेमा हामी पनि सकारात्मक छौं ।’