Live Streaming

​जोगवनीबाट लखेटिए राजेन्द्र महतो


विराटनगर, ११ पौष । विराटनगरस्थित जोगबनी नाका थु्न्न पुगेका सद्भावना पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो सहित प्रदर्शनकारीहरु भारततिर लखेटिएका छन् । त्यसक्रममा प्रहरी संगको झडपमा अध्यक्ष महतो सामान्य घाइते हुनु भएको छ ।

सवारीसाधन तथा मानिसहरुको आवागमन समेत ठप्प पार्ने उद्धेश्यले जोगबनी नाका पुगेका सद्भावना अध्यक्ष महतोसहित प्रदर्शनकारीहरु प्रहरीसँगको झडपपछि भारततिर भागेका हुन् । दसगजामा रहेका नेपाली सुरक्षाकर्मीमाथि ढुंगा हान्ने मोर्चाका कार्यकर्ताहरुलाई भारतीय फौज एसएसबीले हटाएको छ । अहिले नाकामा प्रदर्शनकारी छैनन् र प्रहरीले सुरक्षा घेरामा नाका संचालन भइरहेको छ । पछिल्ला दिन सहज रुपमा संचालन हुँदै आएको जोगबनी नाका थुन्न महतोको कमान्डमा मोर्चाका कार्यकर्ताहरु बिहानदेखि नाकामा जम्मा भएका थिए ।

प्रहरीमाथि प्रदर्शनकारीबाट व्यापक ढुंगामुढा भएपछि झडप भएको हो । नेपाली सुरक्षाकर्मीतर्फ ढुंगा प्रहार गर्दै आन्दोलनकारीहरु भारतीय भूमितिर भागेका हुन् । महतोसहितका नेता कार्यकर्ता  नाकामा धर्ना बसेपछि भएको झडपले उग्ररुप लिँदा जोगवनी नाका केहि बेर तनावग्रस्त भएको थियो ।