Live Streaming

आज क्रिसमस


काठमाडौं,१० पौष । नेपाललगायत विश्वभरका इसाई धर्मावलम्बीले आज क्रिसमस पर्व मनाउँदैछन् । जिसस क्राइष्टको जन्मोत्सवका अवसरमा हरेक वर्ष डिसेम्वर २५ मा यो पर्व मनाउने गरिन्छ । येशुको मारियमको कोखबाट जन्म भएको र मारियमको विवाह युसुफसँग हुन लागेको समयमा स्वर्गदूतले मानव समुदायको कल्याणका लागि संसारमा येशुले जन्म लिन लागेको भविष्यवाणी गरेको विश्वासमा यो पर्व मनाउने प्रचलन छ । क्रिसमसको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । 
आजै किराँतहरुले उधौली पर्व मनाउँदैछन् । लिम्बू, राई, याक्खा, सुनुवारलगायत किरात समुदायले अन्नबाली पाकेपछि प्रकृतिलाइ चढाएर यो उधौली पर्व मनाउँछन् । किराँत समुदायमा बाली लगाउने बेला वैशाखे पूणिर्मालाई उभौली र बाली भित्रयाउने बेला मंसिर पूर्णिमालाई उधौली पर्वका रुपमा मनाउने चलन छ । त्यसैगरी, नेवार समुदायले आज योमह्री पुन्ही अर्थात धान्य पूर्णिमा पर्व मनाउँदैछन् । योमह्री नामक रोटी पकाएर यो पर्व मनाउने गरिन्छ । कृषकहरुले धान भित्राइसकेपछि भकारीमा योमह्रीका साथै कुवेर, लक्ष्मी, कुमार, गणेश आदिका मूर्ति स्थापना गरी पूजा गर्ने गरिन्छ । 

यसैबिच, क्रिसमसका अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेबी भण्डारीले स्वदेश तथा विदेशमा रहेका ईसाई धर्मालम्बीहरुमा सुख शान्ती समृद्धि, आपसि सद्भाव भाईचारा एबम् प्रगतीको कामना गर्नुभएको छ । त्यसैगरी, उधौली पर्वको अवसरमा पनि शुभकामना दिंदै राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्न सबै एकतावद्ध भई अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । 
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि क्रिसमस र उधौली पर्वको शुभकामना दिंदै धार्मिक र साँस्कृतीक एकताले नै आपसी सद्भाव बढ्ने भन्दै वर्तमान सद्भाव दिगो र दरिलो बनाउन सबै धर्म, समुदाय र नेपालीहरु एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।