मितेरी पुल तनावग्रस्त
वीरगन्ज,९ पौष । वीरगन्जको मितेरी पुलमा आन्दोलनकारी र तस्करहरु बिच झडप भएको छ । झडपका कारण मितेरी पुलको अवस्था हिजो रातभर तनावग्रस्त बन्यो । भारतको रक्सौलबाट सामानको तस्करी गर्ने तस्करहरुले मितेरी पुलमा आन्दोलनकारीले नाका अवरुद्ध पार्न राखेको बाँसको ढाट हटाएर सामान भित्र्याउन खोजेपछि झडप भएको हो । करिब सय जनाको संख्यामा आएका तस्करहरुले मितेरी पुलमा राखिएको बाँसको ढाट हटाउन खोजेपछि आन्द्योलनकारीहरुले प्रतिवाद गर्दा झडप भएको धर्नास्थलमा रहेका नेपाल सदभावना पार्टी पर्साका सचिव कृणा पटेलले बताउनुभयो ।
अहिले मितेरी पुलमा करिब एक सय जना आन्दोलनकारीहरु धर्नामा रहेका छन् । यसैबिच बाराको सिम्रौनगढमा हिजो राति मधेसी दलका कार्यकर्ताहरुले ७० बोरा चिनी र ३० बोरा चना नियन्त्रणमा लिएर जलाइ दिएका छन् । सिमावर्ती भारतीय बजार घोडासहनबाट भन्सार छलेर ट्याक्टरमा नेपाल ल्याउँदै गरेको अवस्थामा मधेसी दलका र्कायकर्ताहरुले सिम्रौगढ नगरपालिकाको वडा नम्बर ९ सतुवाईन टोलमा चिनी र चना नियन्त्रणमा लिएर जलाएका हुन् । ट्याक्टरमा चिनी र चनाको बोरा सडकमा झारेर मधेसी दलका कार्यकर्ताहरुले आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।