मधेसी दलका कार्यकर्ताहरुले ७० बोरा चिनी र ३० बोरा चना जलाए
वीरगन्ज ,९ पौष । बाराको सिम्रौनगढमा गएराति मधेसी दलका कार्यकर्ताहरुले ७० बोरा चिनी र ३० बोरा चना नियन्त्रणमा लिएर जलाइ दिएका छन् । सिमावर्ती भारतीय बजार घोडासहनबाट भन्सार छलेर ट्याक्टरमा नेपाल ल्याउँदै गरेको अवस्थामा मधेसी दलका कार्यकर्ताहरुले सिम्रौगढ नगरपालिकाको वडा नम्बर ९ सतुवाईन टोलमा चिनी र चना नियन्त्रणमा लिएर जलाएका हुन् । ट्याक्टरमा रहेको चिनी र चनाको बोरा सडकमा झारेर मधेसी दलकाकार्यकर्ताहरुले आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । सिम्रौनगढ र अमरपुरबाट गएका करिब २०÷२२ जना मधेसी दलका कार्यकर्ताहरुले टयाक्टर नियन्त्रणमा लिएर चिनी र चना जलाएर नष्ट पारेको स्थानीय दिनेश कुशवाले जानकारी दिनु भयो ।
मधेसी दलले चिनी र चनाको बोरामा आगो लगाएपछि स्थानीय महिलाहरुले केहि बोरा चिनी र चना लुटेर लगेको पनि प्रत्यक्षदशीले बताएका छन् । यसैबीच आन्दोलनरत मधेसवादी दलका कार्यकर्ताहरुले गएराति रौतहटमा एउटा बोलेरोमा आगजनी गरेका छन् । उनीहरुले रौतहटको सरमझुवामा बिआर ०१ पीए ६७९८ नम्बरको बोलेरोमा आगजानी गरेका हुन् । आगजनीबाट बोलेर पूर्ण रुपमा जलेको छ । भारतको घोडासहन बजारबाट राति नौ बजेको समयमा ५ सय लिटर डिजल बोकेर नेपाली बजार तर्फ आउँदै गरेको अवस्थामा रौतहटको सरमझुवा गाविस वडा नं ६ मा मधेसवादी दलका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर आगो लगाईदिएका हुन् ।
बन्द हड्ताल र नाकाबन्दीको अवज्ञा गरेको र पटक पटक भारतबाट तस्करीको समान नल्याउन आग्रह गरेपनि अटेर गरेकोले बोलेरोमा आगजनी गरिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका स्थानीय नेता अनिल सिंहले बताउनुभयो । आगजनीको खबर पाउना साथ प्रहरी गएपछि आगजनी गर्नेहरु भागेका थिए । प्रहरीले गाडीभित्र ५ सय लिटर डिजल रहेको जनाएको छ । अहिलेसम्म बोलेरो चालक र गाडी धनी सम्पर्क नआएको रौतहटका प्रहरी प्रंवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो । यसअघि अस्तीराति पनि मधेसवादी दलहरुले सख्खर बोकेको ट्रकमा आगजनी गरेका थिए । रौटहटको गौरमा आईतबार देखि
लगाईएको कफ्र्यु भने आज भने हटाईएको छ ।