संसदको बैठक आज बस्दै
काठमाडौं, ८ पुस ।
ब्यवस्थापिका संसदको बैठक आज बस्दैछ । प्रमुख दलहरुले आन्दोलनरत मधेसी मोर्चासंग छलफल गरी निकास खोज्ने निर्णय गरेपछि गत साता संसद बैठक आज सम्मका लागि स्थगित गरिएको थियो । बैठक केहिबेरपछि सुरु हुनेछ । सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक माथी संसदमा गत शुक्रवार सैद्धान्तिक छलफल सुरु गर्ने कार्यक्रम रहेकोमा नेपाली काँग्रेस, नेकपा एमाले, एकिकृत माओवादी र राप्रपा नेपाललगायतका दलले बैठकले संसद् बैठक स्थगित गरी मोर्चासँग छलफल गर्ने निर्णय गरेका थिए ।
यो बिचमा दलहरुबिच परिणाममुखी वार्ता भने हुन सकेको छैन । सरकारले अघि बढाएको ३ बुँदे प्रस्ताव मधेशी मोर्चाले अस्विकार गरेको छ । उसले आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेको छ । मोर्चालाई सहमतिमा ल्याउन प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले मोर्चाका शीर्ष नेताहरुसंग पछिल्लो केहीदिनयता दैनिक जसो वार्ता गरिरहेको छ । हिजोको वार्तामा मोर्चाले प्रदेशहरुको पुनर्सिमांकनबारेको आफ्नो अडानमा केही लचिलो बन्ने संकेत गरेको र आज हुने छलफलबाट एउटा निष्कर्षमा पुगिने कंग्रेस नेताहरुले बताएका छन् ।